‘ठोक् केटा हो,’ गुरुले भन्यो ।
त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्यौं । कुम हल्लाएजस्तो गर्यौँ । एक्सनसहित हावामा हात चलायौँ । खुट्टा तन्काएझैँ गर्यौँ । त्यसपछि छाती फुलाएर हामी मध्यम स्तरको कोठामा बसिरहेको उसको कुर्सीतिर बढ्यौँ । यति बेलासम्म ढोका बन्द भइसकेको थियो ।
छजना उस्तै मुस्तण्डे एकाएक कोठामा पसेर कुट्ने कुरा गरेपछि उसको अनुहार कालो नीलो भएको थियो । कुर्सीअगाडिको टेलिफोन समात्न खोज्दा गुरुले कड्केर भन्यो, ‘साला फोन गरिस् कि तँ गइस् । तैले हाम्लाई चिनेकै छैन । हामीसित कुरा गर् । पौसा खाएर नतिर्ने ।’ यतिन्जेल हामी कोही बोलेका छैनौँ । गुरुले कम्मरको पछिल्तिर लुकाइराखेको गलैँचा काट्ने कैँची फट्याएर टेबुलमा राखिसकेको छ । कैँची यसरी फट्याएर राख्दा तरबारजस्तो देखिन्थ्यो । त्यसपछि त्यो मान्छे झन् आत्तियो ।
‘बस्नोस् न, क्यै खाउँ ?’ झन्डै कामेको स्वरमा उसले गुरुतिर नहेरी भन्यो, ‘मैले त्यस्तो के गल्ती गरेँ र ? बसेरै कुरा गरौँ न ।’
‘केको कुरा’, हामीभन्दा केही अघि बढेर एउटा अश्लील गालीसहित गुरु कड्क्यो, ‘नबुझेजस्तो गर्ने ?’ त्यो दृश्य झन्डै फिल्मी शैलीको थियो ।
‘सल्लाह गरौँ न,’ दाहिने हातले गन्दै गरेको माला देब्रै हातमा राखेर तालु सुम्सुम्याउँदै चिवर लगाएको उसले मसिनो स्वरमा गुरुलाई भन्यो, ‘म सकेसम्म मिलाउँछु ।’ चिवर पहिरन, हातमा माला, छुस्स दारी, गठिलो ज्यान देखेपछि हामीले अनुमान गरिसकेका थियौँ, यो तिब्बतियन हो । ऊ गलैँचा कारखानाको साहु थियो वा ठेकेदार त्यो गुरुलाई मात्रै थाहा थियो, वा उसलाई पनि थाहा थिएन, थाहा छैन । उसको कारखाना थियो लिटिल एन्जेल्स स्कुलको ठीकअगाडि हात्तीवनमा ।
मैले काठमाडौं बुझिसकेको थिइनँ । बुझ्नु पनि थिएन । जसरी हुन्छ दुई छाक खाएर बाँच्नु थियो, बस् । त्यसका लागि म गैरीधारामा रामेश्वर श्रेष्ठको घरमा जाम र बियरका पुराना सिसी पखाल्ने काम गर्थेँ । गुरुले ‘हिंड केटा हो आज नयाँ पाटीको काम छ’ भनेर हामीलाई ट्याक्सीमा हालेर लगेको थियो । ‘फर्केपछि मासु भात खुवाउँछु । खान्छौ भने बियर पनि खुवाउँला,’ उसले भनेको थियो । त्यसका लागि मैले त्यस दिनको कम छाडिदिएँ । गुरुले यसरी लिएर हिंडेपछि काम के गर्नुपर्छ त हामीलाई थाहा थियो, तर यसपालि कहाँ जाने पत्ता थिएन । उसले हामीलाई कुनै ‘बि्रफिङ’ बिना लगेको थियो । त्यही भएर त्यति खतरा महसुस गरेका थिएनौं ।
दुई काममा ऊ हामीलाई लिएर हिंड्थ्यो कसैको पैसा उठाइदिनुपरे वा ‘ग्याङ फाइट’ गर्नुपरे । प्रायः ग्याङ फाइट गर्नुपर्दा गुरु हामीलाई ‘बि्रफिङ’ दिन्थ्यो । त्यहाँ पनि दादाहरू छन् भने ‘यस्तो हुन सक्छ’ भन्थ्यो । त्यो दिन उसले केही भनेन । मात्रै हिंड भन्यो । हामी हिंडिदियौँ । यसअघि कहिले ठमेल, कहिले नयाबसपार्क, कहिले स्वयम्भूमै पनि हामीले गुरुलाई साथ दिइसकेका थियौँ ।
यो झन्डै दुई दशकअघिको कुरा । त्यतिखेर म लेखक, पत्रकार होइन सितोरियो करातेको खेलाडी थिएँ । हाम्रो गुरु थियो मधु । चेलाचेली त धेरै थिए । गुरुको आदेशमा हिंड्ने चाहिँ हामी ४ थियौँ, राजकुमार, रमेश, मदन र म । कहिलेकाहीं अरू दुई साथी मिसिन्थे गोविन्द र भगवान ।
खेलेको त निकै वर्ष भइसकेको थियो तर तिनताका बल्ल हामीले करातेको हाफ ब्राउन बेल्टको ग्रेडिङ सकेका थियौँ । गुरुलाई छलेर वा ऊ नआएको दिन साथीहरू ग्रेडिङ बिनै ब्राउनबेल्ट लाएर हिंडिदिन्थे । त्यसदिन उनीहरूको चुरीफुरी अलि बढी हुन्थ्यो । सकेसम्म अबेरसम्म ती बेल्ट नखोली बस्थे । सबैसित मनमा देशको ठूलो खेलाडी बन्ने सपना थियो, हातमा काम थिएन । गतिलो कोठा थिएन । खाने बस्ने कनुै कुरा निश्चित थिएन । म सिसी धोएर महिनाको हजार पन्ध्र सय रुपैयाँ कमाउँथेँ, त्यो पनि निश्चित थिएन । ब्ल्याक बेल्ट लिने, गुरुजस्तै डोजो चलाउने, देशको प्रतियोगितामा भिडेर मेडल ल्याउने कल्पना हामीमा जीवित थियो । त्यसका लागि हामी ज्याकी चेन र ब्रुस्लीका फिल्म खुब हेथ्यौर्ँ, ‘स्टाइल’ र ‘टेक्निक’ नक्कल गर्न । उपत्यका स्तरका धेरै प्रतियोगितामा हाम्रो सहभागिता हुन्थ्यो । ज्याकी चेनको स्टायल हामीले त्यहाँ प्रयोग गर्न सकेका थिएनौँ । हाम्रो समूहका साथीहरूले मेडल जितिसकेका थिएनन् । प्रतियोगितामा अवसर पाउनकै लागि पनि हामी गुरुको आदेश मान्थ्यौँ र साथ दिन्थ्यौँ । गुरुको पछि लाग्दा भने ती स्टायल खुब काम लाग्थे ।
गुरुले हामीसित कहिल्यै कराते सिकाएको मासिक पैसा मागेन । दिनेसित ऊ लिन्थ्यो । ‘छैन, सक्दिन’ भन्यो भने ‘म छु पीर नगर, राम्ररी खेल्’ भन्थ्यो र आफ्नो समूहमा राख्थ्यो । त्यै भएर पनि हामी गुरुप्रति बफादार थियौँ । अहिले सम्भिmँदा लाग्छ, त्यसका लागि कतिले हाम्रो मुक्का र लात्ता खाए ? कतिको मुक्का र लात्ता खाइयो ?
समूहमा सबैभन्दा लुरे ज्यानको मै थिएँ । तर मेरा हात खुट्टा बडो छिटो चल्थ्यो । प्रत्येक प्रतियोगितामा भिड्नुपर्दा मेरो भागमा ४८ केजी समूह पथ्र्यो । गुरुले आदेश दियो भने म जस्तै ज्यानको भए पनि ‘सक्छु’ भनिदिन्थेँ । र मैले कसैको कुटाइ खाइनँ पनि ।
पातलो ज्यानको मदन अग्लो थियो । गुरु उसलाई भन्थ्यो, ‘तँ किक बक्सिङ खेल ।’ र, गुरु हामीलाई किक बक्सिङको तालिम दिन स्वयम्भूको मूल भर्याङमा कुदाइरहन्थ्यो । यस्तो विशेष तािलम लिने हामी ६ जनाको समूह थियो । सामान्य मान्छे सुस्ताउँदै हिंड्ने त्यो भर्याङका सयौँ खुड्किला हामी भ्यागुत्ते शैलीमा उप|mेर उक्लिन्थ्यौँ । सुरु सुरुमा तिघ्रा र पिंडुला बटारिएर भाउन्न होलाजस्तो भए पनि पछि पछि हामीलाई त्यो सजिलो अभ्यास भयो । तालिममा त्यति कडा अभ्यास नगरे गुरु लौरो बोकेर हिंड्थ्यो र पछाडिबाट अलिकति पनि माया नगरी पुट्ठामा ठटाइहाल्थ्यो । त्यही तालिमका कारण मदन ब्ल्याक बेल्ट लिएर एउटा तारे होटलमा बाउन्सर बनेको छ ।
राजकुमार मेरै साइजको तर निकै गठिलो थियो । हिन्दी फिल्म खुब हेर्ने, बेला बेला त्यही शैलीमा ‘डायलग’ बोल्ने गथ्र्यो । बे्रक डान्स भन्दै आफ्ना हरेक अंग मर्काएर हामीलाई हँसाइरहन्थ्यो । मलेसिया गएर फर्केपछि अहिले कता छ थाहा छैन । उसको आफ्नै शैली थियो, जिन्सको पाइन्ट फाट्दै गएपछि धागो निकालेर झुम्का बनाउँथ्यो र त्यसलाई स्टायल भन्थ्यो । कहिलेकाहीं तिघ्रामा तौली बेरेर पाइन्ट टाइट बनाउँथ्यो । त्यो तौली स्वयम्भूका कुनै पनि होटलका हुन सक्थे । इमानदार भाएर साँझ फेरि फिर्ता गथ्र्यो । झोला बोक्थ्यो र केही दाना काचो आलु बोक्थ्यो । भन्थ्यो, ‘साँझ केही खानेकुरा भएन भने कतै यसलाई उसिनेर खानुपर्छ ।’
रमेश होचो कदको दरिलो थियो । कम बोल्ने तर ठिक्क बोल्ने उसलाई दादागिरीमा खासै रुचि थिएन । ऊ असनतिरको एउटा स्टोरमा काम गथ्र्यो । पछि कतार गएको सुनियो । फर्केपछि अहिले व्यवसाय गरेर बसिरहेको छ ।
कहिलेकाहीँ हाम्रो ग्याङमा हिंड्ने गोविन्दलाई गायक बन्ने ठूलो सपना थियो । कमलादीमा कुनै संगीत गुरुकोमा भर्ना भएको थियो । शास्त्रीय संगीतको अभ्यासमा ‘राल सिंगान भएँ, म गायक बन्दिनँ’ भनेर पछि वेटरको तालिमतिर लागेको थियो । दादागिरीमा उसको पनि खासै रुचि थिएन । गुरु भन्थ्यो, ‘साला खेलकुद न संगीत साधना नगरी हुन्छ ? मुला हो । यी दुवै उस्तै हुन् जति अभ्यास गर्यो उत्ति राम्रो ।’ भगवान मान्छे कुट्न हिंड्ने भन्ने थाहा पाएपछि लुसुक्क भागिसक्थ्यो । भोलिपल्ट आएर भन्थ्यो, ‘ल मैले त थाहै पाइनँ ।’
म चाहिँ अलि पहिलेदेखि नै यस्ता कुरामा अभ्यस्त थिएँ । स्कुल पढ्दै गर्दा कराते खेल्न सुरु गरेको थिएँ । गुरु थिए नेत्र र नरबहादुर राई । दुवैले गलैँचा बुन्दै काठमाडौंमा सिकेका थिए । नेत्र ब्ल्याक बेल्ट र नर ब्राउन बेल्ट । मकवानपुरको छतिवनमै उनीहरूको डोजो थियो । भरखरभरखर गाउँमा कराते सिकाउने गुरु आएको उनीहरूको सान नै बेग्लै थियो । मसित कराते सिक्दा लगाउने गी थिएन, बेल्ट थिएन । भेस्ट र स्कुले पाइन्ट नै लगाएर अभ्यासमा सामेल भइन्थ्यो । त्यसैबीच हेटौंडाको मेन डोजोमा कुनै कायर् क्रमको तयारी भएको थियो ।
करातेकै कारण हेटौंडामा मेरा दुईजना नजिकका साथी भएका थिए पारु र अनु । अहिले पारु जापान छिन् । अनु सशस्त्र प्रहरीमा । उही उमेरका स्कुले शिक्षामा हामीभन्दा जुनियर भए पनि खेलमा सिनियर थिए । दिउँसोको खेल सकियो । साँझको खानपान कायर् क्रम सुरु भएको थियो । हामीबीच गफगाफ चल्दै थियो । डोजो बाहिर होहल्ला भयो । नरे गुरुले चौकीटोलको नाम चलेको एकजना खेलाडी धनेसित झगडा सुरु गरिसकेछ । हामी नरे र नेत्रे गुरु कराएको मात्र सुन्यौँ, ‘हत्यार नली आइज सबसित एकएक खेलिन्छ । कहाँ छ ए हाम्रो केटाहरू सब बाहिर आइज । कसैलाई छाडिन्न ।’ हामी स्कुले नै थियौँ । म थरथर कामिसकेको थिएँ । हामीले गर्न सक्ने चाहिं खास केही थिएन । र पनि हामी गएका थियौँ । के कसो गरेर झगडा मिल्यो । मेरोे मन ढक्क फुलिरहेको थियो । त्यसको तुष चाहिं पछिसम्मै थियो ।
एसएलसी सकेर काठमाडौं छिरेपछि पनि खेल्ने हुटहुटी मनमा थियो । तर कहाँ खेल्न जाने थाहा थिएन । एक्लो थिएँ । फर्केर हेर्नुपर्ने केही थिएन । हरेक दिन बिहान स्वयम्भू जाने तालिका थियो । एकबिहान स्वयम्भू परिक्रमा गर्दै गर्दा प्रहरी चौकीअघिको चौरमा कराते खेल्दै गरेको एउटा समूह देखियो । त्यसपछि गुरुसित मेरो भेट भयो । र, एउटा छोटेमोटे दादाहरूको समूहमा म पनि जानअञ्जानमै सामेल भएँ ।
मान्छे कुट्दै हिंड्ने रहर कसैलाई थिएन । हरेकसित एक एक सपना थिए । तर गुरुको कुरामा कोही नाइनास्ती गर्दैन थिए । मलाई चाहिं दादागिरी देखाउनु रमाइलै लाग्थ्यो । गुरुले पुरानो पेसा अझै छाडेको छैन । अहिले पनि नयाँ चेलाहरू उसलाई साथ दिन्छन् । चेला लिएर ऊ कहिले ठमेल, कहिले बालाजुतिर कुदिरहेको हुन्छ । गुरुमात्रै होइन, नेपालका अधिकांश मार्सल आर्टका खेलाडीको यस्तै दादागिरी देखाएर, यस्तै ग्याङ बनाएर कुदिरहेका छन् र खाने मेसो बनाएका छन् । गुरुले कतिपटक एमाले र राप्रपाका नेताहरू को सभामा पनि बडीगार्ड बनाएर लगेको छ ।
कुरा फेरि, हात्तीवनको तिब्बतियन गलैँचा साहुकै । केही बेरको गलफत्तीपछि त्यो मान्छे पैसा दिन राजी भयो । उसले बुद्धको तस्बिर अंकित थांका झुन्ड्याइएको छेउको स्टिलको दराज खोल्यो । भित्र पनि बुद्धका मूर्तिहरू थिए । घिउ रङको खादाको मुठो थियो । कोठाको भित्तामा टाँसिएका बुद्धका पोस्टरलाई पछाडि पारेर हामी उभिएका थियौँ । यस्तो लाग्थ्यो, त्यहाँ बुद्ध नै उपस्थित भएर सम्झाउन खोजे उसैले कुटाइ खान्छ । त्यहाँ बुद्ध कुनै अर्थ थिएन । त्यहाँबाट उसले रबरले बानेको पैसाको मुठो निकाल्यो । जसमा ५ सय र हजारका नोट थिए । भन्यो, ‘५० हजार छ ।’
हामीले बल्ल थाहा पायौँ, उठाउनु रैछ १ लाख ५० हजार । गुरुले ५० हजारको बिटो लियो । मैले त्यति ठूलो पैसाको बिटो त्यसअघि कहिल्यै देखेको थिइनँ ।
‘अरू कहिले दिने ?’, गुरुले सोध्यो ।
‘आज साझसम्ममा पठाइदिन्छु, मेरो केटाहरूले पुर्याइदिन्छ, तपैहरूले दुःख गर्नु पर्दैन,’ उसले निकै नम्र भएर भन्यो । गुरुले जवाफ फर्कायो, ‘भएन भने अब कुरा गरिन्न । डाइरेक्ट आएर ठोकिन्छ साला फेरि ।’
त्यो मान्छेले केही जवाफ फर्काएन ।
काम सकियो । ढोका ढ्याम्म पारेर हामी गुरर्र झर्यौँ । भित्र गलैंचा बुन्दै गरेकाले हामीलाई हेरे । हामी फेरि ट्याक्सीमा फर्कियौँ । ट्याक्सी सोझै बालाजु वाइपासको एउटा भोजनालयमा रोकियो । प्रतिवद्धताअनुसार गुरुले मासुभात खुवायो । रमेश, मदन र राजकुमारले बियर पनि पिए । मैले मासु थपेरै खाएँ । हरेकजसो यस्तो जमघटमा बियर पिउने साथीहरू हुँदा पनि मलाई कहिल्यै त्यसको लत लागेन । कहिलेकाहीं चुरोटको सर्को तान्थेँ, त्यो पनि आदत बनेन । बरु मासु चाहिं थपेरै खान्थें । होटलबाटै गुरुले कसै लाई फोन गरेर काम भएको र पैसा साँझ आउने जानकारी दियो । उताबाट के जवाफ आयो हाम्रो चासोको कुरा थिएन ।
होटलबाट निस्कँदा घाम पश्चिम पुगिसकेको थियो । हामी एउटा ट्याक्सी लिएर स्वयम्भूको भगवान् पाउतिर हिंडेका थियौँ । भाडा गुरुले दिएको थियो ।
घाम डुब्दै गर्दा पश्चिम सगर डढेर आगोको झरझराउँदो कोइलाजस्तो देखिएको थियो । त्यसबाट उछिट्टिएको घामको तीखो किरणहरू स्वयम्भूको गजुर र आँखामा ठोक्किएको प्रस्ट देखिन्थ्यो । ती आकर्षक तरिकाले चम्किएका थिए । स्वयम्भूका दुई आँखाले हामीलाई पच्छ्यायो पच्छ्याएन हामीलाई मतलब थिएन । किनभने साँझको छाक पनि हामीले बालाजुमै खाएर आइसकेका थियौँ ।
प्रकाशित: जेष्ठ १६, २०७१
(स्रोत : Kantipur – Koseli)