कथा : मधेसी

~सन्तोष पौड्याल~Santosh Paudyal

गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो ।

मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल लोड गरेपछी मुरली जिपको अगाडि गएर थपक्क बस्यो । लक्षुमनले साहुसँग बिल मागेर कमिजको खल्तीमा राख्यो । ढोका ढ्याम्म लगाएर जिप स्टार्ट गर्‍यो । उनिहरु चामल डेलिभरी गर्न निस्किए ।

बिहान सात बज्दा नबज्दै पसलमा अर्डर आउन सुरु हुन्छ । झमक्क साँझ नपरुन्जेल लक्षुमन र मुरलीलाई पिशाब फेर्ने फुर्सद हुँदैन। यस पसलमा मुरलीलाई काम लगाएको लक्षुमनकै चिनजानमा हो । यि दुबै पोहोरसाल परासीसँग जोडीएको सौवाटिकेट गाउँ बाट आएका हुन । मुरली लक्षुमन भन्दा केही महिना पछाडि ।

“बस्न त उतै रमाइलो है?” मुरली लक्षुमनतिर फर्केर बोल्यो।

“के गर्छस त! बस्न दिएनन क्यारे तेरा बाउबाजेले” लक्षुमनले जवाफ फर्कायो।

“मेरा बाउबाजे भएको भए म यहाँ आउथें नि? ” मुरली झर्कियो।

“कसियाको खेत, दोर्बेको आँप, र शन्तिचौरमा तजियाको मेला कती रमाइलो थियो है हाम्रो जिन्दगी” लक्षुमन कुरैकुरमा मधेस पुग्यो।

…………

लक्षुमन र मुरली एकै दिन जन्मिएका हुन। पिचन्द्र अस्पताल परासीमा। २०४२ साल जेठको २३ गते । धानको बिउ राख्ने चटारो थियो। चन्दरलाई बिउ छर्न लगाएर कुटमेरे लोकल कुखुराको झोल र बट्टाभरी भात भरेर साइकलमा परासी पुगे। दुई सुत्केरीले बाँढिचुढी खाए। लक्षुमनका बुवा कुटमेरेले सम्झाइ रहन्थे “तिमी दुई त जुम्ल्याहा जस्ता हौ।”

चन्दर नि मुरलीलाई भन्थे रे ” है लक्षुमन तोहार माइ के दुध पिके बढल हो।”

गाउभरी थारु र मधेसीको बाहुल्यता थियो। लक्षुमनका हजुरबा कुटमेरे पन्डितलाई राणाहरुले शिकार खेल्न अाउँदा भान्सा र पूजापाठका लागि तराइ लिएर आएका थिए। उनी यतै घरजम गरे। लक्षुमनका बा कुटमेरे जेठा पनि तराइमै जन्मिए, यतै बिहेबरी गरे। लक्षुमनको पहाडतिर नाता छुटेको १०० बर्ष भन्दा बढी भइसक्यो।

चन्दर र कुटमेरे दाजुभाइ जस्ता थिए। जोडीएको घरबिचमा साझा आगन थियो। अैचोपैचो देखी मेलापात र अर्मपर्मसम्म सँगै गर्थे।

चन्दरलाई एउटै कुराले खाइरहन्थ्यो र कुटमेरेसँग गुनासो गर्थे “हमार नागरिकता नाही बा। लैकनके नौकरीमे परशान होइ”।

“पछी बनिहाल्छ नि, चिन्ता नगर। नबने पनि आफ्नै यत्रो खेत-खलियान छ, गरेर खान्छ।” कुटमेरेले ढाडस दिन्थे।

मुरलीका पुर्खा भारतको सिस्वाबाट नेपाल आएका हुन रे। इलाहबाद नजिकैको सिस्वा गाउँबाट कहिले सौवाटिकेट आए भन्ने उस्को बालाई पनि यकिन छैन। तर त्यो बेला सौवाटिकेटमा घना जङल मात्रै थियो रे। उस्का पुर्खाले जङल मासेर बस्ती बसेछन। पछी अरु मानिस पनि भरिएछन्। पुर्खाले त्यो बेला जङल मासेर आर्जे मध्येको १ बिगाह जग्गा ऐले चन्दरले कमाउँछ। नागरिकता नभएकोले उसको जग्गा दर्ता छैन।

………..

मङ्सिरको महिना पारिलो घाम लागेको थियो। चन्दर र कुटमेरेले धानको खराइ लगाउँदै थिए। चन्दरले तलबाट धानका मुठा सित्त-सित्त माथि हुर्याउँथे। कुटमेरे समातेर खराइ लगाउँदै थिए। धानका मुठा लगभग सकिनै लागेका थिए। चन्दरले धानको मुठा च्याप्प समाते। मुठाबाट एउटा मुसा फुत्त झरेर दौडिन थाल्यो।

“हौ देख मुस। सब खलियान काट देइ”। चन्दर मुसाको पछाडि दौडिन थाले। कुटमेरे खराइको माथि दुबै हात कम्मरमा लाएर हेर्दै थिए।

मुसो कता गयो पत्तै भएन। खराइ नजिकका पराल सोहोर्दै जाँदा एउटा प्वाल देखियो। प्वालमा मुसाले पुच्छर चलाएको देखियो।

“अरे कुटमेरे, देख हो” खराइको माथि हेर्दै चन्दरले भने “बिलिया मे मिलल”।

चन्दरले प्वाल कोट्याएका मात्र के थिए, फँडा फिजाएर निस्केको गोबन सर्पले खुट्टामा टोकेर भाग्यो। कुटमेरे अताल्लिदै खराइबाट हाम फाले। नजिकैको नाम्लो फुकाएर पिडौला निर कसिदिए।

चन्दरको खुट्टा एकाएक निलो भयो। मुरलीकी आमा नाहरी लिएर अाइन्। चन्दरलाई देखेर रुन थालिन। कुटमेरेले नाहरीमा ल्याएको खुर्सानी टोक्न दिन लगाए।

मुरलीकी आमाले रुदै सोधिन “तित भईल?”

“नाही।” मुरलीकी आमा अल्ली ढुक्क भईन।

चन्दरलाई ख्याल गर्न भन्दै कुटमेरे गुरुवालाई डाक्न गाउँतिर पसे।

कुटमेरे गुरुवाको घरमा पुगे। गुरुवा खेत जोत्न गएका रहेछन। ह्स्याङ्-फस्याङ गर्दै खेतमा पुगेर गाँठो फुकाए। गुरुवाले जुवा खोलेर गोरु खेतमै छाडिदिए। दुबैजना दौडेर खलियान पुगे। चन्दरका परेला लत्रिसकेका थिए। जिब्रो मोटो देखिन्थ्यो। मुखबाट फिँज बगेको थियो। खुट्टा निलो भएर सुन्निएको थियो। गुरुवाले एकछिन झारफुक गरे। बुटी टिपेर घाउमा लगाइदिए। धेरैबेर मन्त्र जपे। केही सिप चलेन । चन्दरले खुट्टा ताने।

लक्षुमन र मुरली खोलाको छेउमा भैंसी छाडेर पौडी खेल्दै थिए।

टाढाबाट कोही करायो “अरे मुरली, तोहार दादाके गौवन काटल”।

गोवन सर्पको नाम सुन्नसाथ मुरलीको हंसले ठाउँ छोड्यो। बगरबाट सिधै खलियान तिर दौडियो। मुरलीको कट्टु र गन्जी समातेर लक्षुमन पछी-पछी आयो। खलियानमा हेर्ने मान्छेको ताँती थियो। बिचमा उसका बुवा मुढो पल्टेझै पल्टेका थिए। आमा छाती पिटेर रोइरहेकी थिइन। उ अक्क न बक्क भयो। आमाको सोरसोरैमा मुरली पनि रुन थाल्यो। मुरलीको बालाई त्रिबेणी लगेर जलाइयो। आठ बर्षको उमेरमा मुरली टुहुरो बन्यो।

त्यो बर्षको धानबाली भित्राइवरी हिउदको अन्नबाली गाउँले र लक्षुमनका परिवार मिलेर छरिदिए। जेठ नलाग्दै बर्षा सुरु भयो। फेरी धानको बिउ छर्ने देखी रोपाइ, गोडाइ र कटाइ सबै काममा लक्षुमनका बुवा-आमाले सहयोग गरे।

………..

मङ्सिरको तेश्रो साता थियो। बिहानको १० बजेतिर मुरलीको आमा लक्षुमनको ढोकामा आएर बोलाइन “दिदी आज म बजार जान्छु, छिट्टै अाइन भने मुरलीलाई केही खान दिनुहोला है”। उनी लक्षुमनको घरमा प्राय नेपालीमा नै बोल्थिन।

“किन र? पर्सी त म पनि जाने हो। संगै जान हुन्थ्यो नि।” लक्षुमनको आमाले फर्काइन।

“महिनाको अन्तिममा मुरलीको बुवाको बर्खी छ। पोहोर उम्किँदाको ॠण पनि तिर्न पाको छैन। खानलाई पुरानै धान छ। यसपालिको धान बेचेर पोहोरको ॠण पनि तिर्छु, बर्खी पनि सबै गाउँलेलाई बोलाएर गर्नुपर्ला भनेर”।

“अनी के मा लैजाने त धान? लक्षुमनको बुवा नि गाडामा मल लिएर खेत निस्किसक्नुभो”।

मुरलीको आमाले कुरो टुङ्ग्याउदै भनिन “पर्दैन, टिम्मलको गाडा बोलाकी थें। लोड भाईसक्यो”।

“हुन्छ त”। लक्षुमनको आमाले सहमती जनाइन। मुरलीको आमा बाटो लागिन् ।

“केही काम पनि हामीसँग सल्लाह नगरि नगर्ने मुरलीको आमालाई आज के भएछ?” मनमा कुरा खेलाउदै लक्षुमनको आमा भित्र पसिन्।

पाँच बजे मुरली र लक्षुमन स्कुलबाट फर्किए। मुरली आफ्नै घरमा पस्यो। लक्षुमन आफ्नै घरमा आयो।

“खै त मुरली”? लक्षुमनलाई आमाले सोधिन्।

“आफ्नै घरमा”।

“उसको आमा अाइन् र?”

“अाइ होलीन् नि, ढोका खुल्लै थियो” लक्षुमनले झोला फालेर कट्टुको खल्तिमा चिउरा राखेर बेल-फोडान खेल्न बगैचातिर दगुर्यो।

साँझ साढे साततिर कुटमेरे सपरिवार खाना खादै थिए। मुरली निलो मुख पार्दै अाइपुग्यो। ढोकैमा उभिएर सोध्यो “ठुलिआमा हाम्रो आमालाई देख्नुभएन?”

कुटमिरनी झास्किन् ” आकी छैनिन् तेरी आमा? ए लक्षे तैले अघिनै अाइन् भनेको होइन?” लक्षुमनलाई गाली गरिन्।

“ढोका खुलै थियो भनेको, मलाई के था” लक्षुमनले भन्यो।

बजार गएकीछन्, आउँदै होलीन् भन्दै काखमा राखेर आफ्नो भागको खाना खुवाइन्। आठ बज्यो, नौ बज्यो, मुरलीकी आमाको अत्तो-पत्तो देखिएन। दुबै केटाहरु निदाए। कुटमेरे बुढाबुढिको मन आत्तियो। कुटमेरे सोधेर आउछु भनेर टिम्मलको घरतिर लागे। टिम्मलले आफुले बिहानै बजार छाडेर फर्केको कुरा सुनायो। दुबैजना मिलेर माथिसम्म हेर्न पनि गए। केही मेसो आएन। कुटमेरे अबेर राती घर फर्किए। मध्यरात सम्म बुढाबुढी गन्थन्-मन्थन गर्दै बसे।

बिहानै उठेर एकहुल गाउँले मुरलीकी आमाको खोजिमा निस्किए। बुढापाका भलाद्मीहरुले घरको फेरो मारे। घरमा लत्तोकपडा, भाँडाकुँडा, अन्नपात र गरगहना केही पनि थिएन। बजारमा पसल थाप्नेले देखेको रे, मुरलीकी आमा त् दिउसो एक बजेतिर धान बेचेको पैसा र केही समान लिएर एउटा लोग्नेमान्छेसँग गाडी चाढिन् रे! भन्ने खबर लिएर खोजीमा गएका केटाहरु फर्किए। बाउ मरेको एक बर्षमा मुरली अनाथ भयो।

गाउँमा भेला बस्यो। मुरलीलाई कसले हेरबिचार गर्ने भन्नेमा छलफल चल्यो। कसैले मुरलीलाई राख्ने रुची देखएनन। केही जेथा छैन, भएको खेत पनि ऐलानी हो। कसले गर्छ टुहुरामा झन्झट भनेर सबै तर्किए। मुरलीलाई नै कस्को घरमा बस्छस? भनेर सोधे। उसले कुटमेरनीलाई देखाउदै “ठुलिआमाको घरमा” भन्यो।

भेलाले छिनोफानो गर्‍यो ” मुरली ठुलो नहुँदासम्म मुरलीको खेत पनि कुटमेरेले गर्ने, मुरलीलाई पनि उनैले लालनपालन गर्ने र पढाउने। कुटमेरेले हुन्छ भने। सभा उठ्यो।

……….

कुटमेरेले खेतमा बैसठ्ठी सालको धान गोड्दै थिए। दुई युवक टुप्लुक्क अाइपुगे। एउटालाई उनले २० बर्ष र अर्को लाई ११ बर्ष लालनपालन गरेर २० बर्षे लक्का-जवान बनाएका थिए। एउटा उनको छोरो लक्षुमन थियो। अर्को मुरली, छोरो भन्दा कम थिएन। आउँदा आउँदै तात्तातै सुनाएको खबरले उनका आँखा रसाए। आज दुबैले अाइ. ए. पास गरें। मुरलीले गणित र लक्षुमनले अर्थशास्त्र बिषयमा। उनिहरुले बेल्बासको बोर्डिङमा पढाउन सुरु पनि गरे। एउटाले तीन हजार र अर्कोले पच्चिस सयमा।

चन्दरको स्वर्गेबास पछिका बर्षहरु उनका लागि त्यती सहज भएनन्। गाउँमा सिमावारी, सिमापारी, कता-कताबाट बसाइ सरी आउनेको घुइँचो लाग्यो। पच्चिस घरधुरीको गाउँ बढेर असी घरको भयो। पुराना मान्छे पातला र नयाँ गाउँले बाक्लिदै गए। आड दिने कोही भएन। उनी एक्लिए। अर्कोतिर जती पछी गयो, देशमा क्रान्तिको आगो उत्ती सल्कदै गयो। भूमिगत नेताहरु गाउँ गाउँमा आएर किशोर र युवाहरुलाई ओसार्न थाले। मान्नेलाई सम्झाएर, नमान्नेलाई धम्काएर लडाईमा लैजान थाले। गरिवलाई धनी बनाउने, बेरोजगारलाई रोजगारी दिने, नागरिकता नहुनेलाई सबैलाई नागरिकता दिने आदी इत्यादी भनेर आश्वासन बाँढे। जलाई जे भन्दा क्रान्तिमा सारीक हुन्छ त्यही भने। पुरै गाउँ क्रान्तिका पक्षमा उभियो। कुटमेरेलाई छोरा जोगाउन मुस्किल पर्‍यो। आफ्ना जेहेन्दार छोराहरु लडाईंमा गएर मर्ने हून् कि? भन्ने चिन्ताले रातमा निद्रा परेन। उनले छोराहरु बुटवल राखेर पढाउने निर्णय गरे। बुढीसँग सल्लाह गरेर लक्षुमन र मुरलीलाई डेरा खोजेर पढाउन राखे।

बिगत १२ बर्षदेखी सङ्लिएका स्‍मृतिहरु आसुँ बनेर तप्प खसे। धान गोड्न छाडेर तिनैजना घरतिर लागे।

………

बैसठ्ठी सालमा क्रान्तिले उत्कर्स लियो। खुल्ला पार्टीहरु समेत भूमिगत पार्टीसँग मिलेर पुरानो शासन अन्त्यका लागि घर-जंगल जताततैबाट आन्दोलन गर्न थाले। सालको अन्त्यतिर दुईहप्ता भन्दा बढी आम्-हड्ताल भयो। सैनिकले गोली बर्साउँदा समेत सरकारको केही सिप चलेन। सत्रौ दिनमा पुरानो ब्यवस्थाले घुँडा टेक्यो र आन्दोलनकारीको सरकार बन्यो।

त्रिसठ्ठी सालको सुरुवातमै सरकारले पूर्णता पाएपछी क्रान्तिका समय बाँढिएका आश्वासनका चाँङहरु खुल्न थाले। त्यसले परासी बजार सँग जोडीएको सौवाटिकेटलाई चोखो राख्ने कुरै भएन। गाउँमा नेता बन्नेको लर्को लागेको थियो। थुप्रिएका अश्वासनहरु छरिएर सतहभरी छरपस्ट भए। तर सम्बोधन हुने छन्द देखिएन। जम्मा भएको फोहरमा आगो सल्कन बेर लागेन। आगोको लप्का फैलेर पुरै मधेशलाई जलाउन थाल्यो । केही बर्ष अगाडि सिमापारबाट सौवाटिकेट आएर भूमिगत पार्टीमा लागेकाहरु अब मधेसी जनाताका मुक्तिदाता भएर निस्किए।नागरिकताको मुद्दालाई ढाल बनाएर धमिलो पानीमा माछा मार्न थाले ।आदिकालदेखी नेपालमा रहेको जातिय सद्भाबलाई बिथोल्न सकेमा आफ्नो स्वार्थको बिजय हुने देखी पहाडीया समुदाय माथि धावा बोल्न थाले। आन्दोलनले जातिय रङ लियो ।

पहाडीयाहरु माथि दुरब्यवहार, हातपात, हिंशा र बिभेद हुन थाल्यो।पहाडबाट नयाँ बसाइ सरी आएकाले धमाधम आफ्नो जेथा कौडिको मोलमा बेचेर बिस्थापित हुन थाले। कुटमेरे भने बाजेको पालादेखी तराइमा बसेकाले आफुलाई केही नहुनेमा ढुक्क थिए।

साँझ अगेना छेउ बसेर गन्थन मन्थन गर्दा डराएकी कुटमेरनीलाई भने उनले “हामी यहाँ बसेको पाचासौ बर्ष बित्यो। हाम्रो भेश-भुषा, भाषा सबै मिल्छ। हामी पो हौ, मधेसी। यि त सिमापारबाट अल्ली अस्ती आएका मान्छे हुन।”

“तपाईंलाई के थाहा र? कुटमेरेले चन्दरको जमिनजेथा हड्पेर लियो भनेर गाउँमा गाइंगुइं चलेको छ रे।” कुटमेरनी चुलोको डिलमा गाभा केलाउँदै भनिन्।

“यत्रा गाउँलेलाई थाहा छ। कुन बन्दनमा चन्दरको खेत कमाएको हो भन्ने। त्यसै हड्पियो भनेर हुन्छ?” कुटमेरेले रेडियोको कान बटार्दै भने।

“पुराना गाउँमा को नै छन र? भएका पनि बैरी भएका छन। अलि पहिला क्रान्तिलाई असहयोग गर्न आफ्ना छोरा शहर पठायो भन्थे। आजभोलि त सुराक गर्ने यही हो, भन्छन रे।” कुटमेरनी मलिन स्वरमा जवाफ फर्काइन। “मुरली पनि ठुलो भयो। बरु बुढा उसको नाशो फर्काइदीम्।”

एकछिन घोरिएर कुटमेरेले मुन्टो हल्लाए। बिए पढ्न लक्षुमनसँगै बुटवल बसेको मुरलीलाई संकेत गर्दै भने “भोली फोन गर्छु”।

साँझ आठ बजेको समाचार आयो। बिराटनगरमा आन्दोलनकारी र पुलिसबिच झडप हुँदा ५ जना मधेसी र एक जवानको ज्यान गयो। बजारमा त राँके जुलुस निस्किहाल्यो। तर बजार सँगै जोडीएको सौवाटिकेटमा खासै असर देखिएन।बुढाबुढी खाना खाएर सुते।

………………

बिहान आठ बजेतिर कुटमेरे दतिवन गर्दै थिए।कुटमेरनी चिया बसाल्दै थिइन्। बजारपट्टीबाट “पहाडीया राज अन्त कर। पहाडीयन के पहाड खदेर।” भन्दै मान्छेको हुल गाउँ पस्यो। भिड उनको घर अगाडि आएर अडियो।

“है पहाडीया के कोठी हो”। भिडबाट एउटा बोल्यो। उनको सम्पत्तिमा आँखा लगाउने मनिसहरुको एक-स्वर भयो।कुटमेरेलाई बिस्थापित गर्न सके उनको सम्पत्तिसँग १ बिगाहा ऐलनी खेत पनि जिप्ट्याउन पाइने स्वार्थ हाबी भयो।

“नाही, है पन्डित जि के घर हो”। अर्को बोल्दाबोल्दै ढुङ्गा र बोतल हान्न सुरु भईहाल्यो।

कुटमेरेको आवाज भिडमा मधुरो भयो। घुसपैठ गर्नेले उनलाई लछारपछार गर्न थाले। बजारमा होटेल गर्ने रामबिलाल यादव र मोटरसाइकल मिस्त्री बेलास भरले उनलाई जोगाए।उनिहरुले ढुङ्गामुढा नहान्न भन्दै थिए। गाउँमा भर्खर बसाइ सरेर आएको केटाले घरमा आगो झोसिदियो। गर्मिको महिना, आगो दन्कियो। भित्रबाट बुढी चिच्याउन थालिन्। जख्मी भएका कुटमेरे भित्र पसे। बेलास भर पछीपछी गयो। बुढालाई तान्न थाल्यो। ढोका भित्र र बाहिर घम्साघम्सी भयो। तानतान गर्दागर्दै छानोबाट खसेको आगोको मुल्कोले उनको हातखुट्टा र शरीर जलाइदियो। बेलासका हात पोलिए। बुढा त्यही पल्टिए। बुढीलाई निकाल्न सकिएन। रामबिलाल र बेलास मिलेर उनलाई अस्पताल पुर्याए। परासी जलिसकेको थियो । अस्पतालमा घाइतेको बजार लागेको थियो।

…………….

मधेस भरी आतंक मच्चियो। सरकारले आन्दोलन लाई ब्यापक दमन गर्‍यो। आन्दोलनकारी पनि खरो उत्रिए। नयाँ नेता बनेकाले आन्दोलनमा आउने सबैलाई नागरिकता बाढ्ने गुलियो छरे। यसको फाईदा सिमापारिकाले उठाए। ट्याक्टरका ट्याक्टर मनिस हरु ओसारिन थाले।

सरकार पछी हट्यो। नागरिकता समस्या हल गर्ने सम्झौता गरी आन्दोलन टुङ्गियो।

नागरिकता नपाएका सबै मधेसमुलका नेपालीले नागरिकता पाए। मुरली पनि त्यसैमा पर्‍यो।धेरै गैह्र-नेपालीले मौकाको फाईदा उठाउदै नागरिकता लिए। त्रिसठ्ठी सालमा मधेसमा एकैपटक १६ बर्ष माथिका लाखौं शिशुको जन्म भयो।

…………….

भर्ना गरेको ३ दिनमा कुटमेरेले आँखा उघारे। ब्युझँदा एउटा आँखामा लक्षुमन र अर्को आँखामा मुरली थियो। दुबैको कपाल मुसारे। आगोले प्लास्टिक झै गुजुमुज्जु परेका अनुहारका खोल्साबाट आसुँका खहरे बगे। केटाहरुले पनि आफुलाई सम्हाल्न सकेनन्। रोइदिए।

उनले बिगत सम्झिए। यहाँ पिएको पानी सम्झिए। बिताएको जवानी सम्झिए। मुखबाट भक्कानो फुट्यो। मुटुमा गाँठो पर्‍यो। हिजो बटुवा बास बस्न घरभित्र छिर्यो, आज घरबेटीलाई निकालेर आँफै मालिक बन्यो। जो मधेसमा जन्म्यो, हुर्क्यो उ मधेसी भएन। आफ्नो घर चिनाउन छिमेकी आउनुपर्‍यो। मधेस चिनाउन बिदेस आउनुपर्‍यो। आफुलाई चिनाउन पराइ डाक्नुपर्‍यो। उनलाई यो माटोको रहर पुग्यो।

“बाबु अब तेरो नागरिकता पनि बन्यो। पढिस, बढीस, आफुलाई पाल्न पनि सक्छस। अब तेरो नाशो फिर्ता लैजा। म मेरी बुढीको चिता माथि चयन काट्न सक्दिन। अस्पतालबाट निस्कदा जेथा बिक्री भए बेचेर नभए छोडेर म यो माटो छोड्नेछु।” मुरलीलाई नजिक बोलाएर कुटमेरेले भने।

मुरलीले हेरेर बसिरह्यो। उनी लक्षुमनतिर फर्के र भने ” बजारमा जग्गा किन्ने कोही भेटिए लिएर आउनु, मोलतोल केही नगर्नु।”

लक्षुमनले टाउको हल्लायो।

एक महिना अस्पतालको बास बसेर कुटमेरे बाहिर निस्किए। जेथा किन्छु भन्नेको लाइन लागेको थियो। अन्तिम पटक गाउँ गएर मुरलीलाई उसको बाउको ऐलनी खेतको चौकिल्ला देखाइदिए। आफ्नो श्रीसम्पती बेचेर लक्षुमनलाई लिएर काठमाडौं हानिए। तिनैजना आसुँका धारा बोकेर छुट्टीए।

………..

लक्षुमन छुट्टीएपछीको दुई महिना मुरली बुटवल बस्यो। पढाएको तीन हजारले कोठा भाडा तिर्न ठीक्क भयो। के ले खाने? के ले कापी कलम किन्ने? उ खर्च धान्न नसक्ने भयो। परासी तिरै डेरा र काम खोज्ने मनशायले गुन्टा कस्यो।

उ सिधै सौवाटिकेट पुग्यो। आफ्नो पुरानो घर भएको ठाउँमा एउटा छाप्रो देख्यो। उ ताजुप पर्‍यो। भर्खर बनेको छाप्रोनजिक पुग्यो। भित्रबाट कालो बर्ण र लामा जुँगा भएको मानिस निस्कियो।

“यहाँ किन छाप्रो हालेको?” उसले सोध्यो।

“तोहार मतलब?” जुँगावालले उल्टै प्रश्न गर्‍यो।

“यो मेरो सम्पत्ति हो।” मुरली बोल्यो।

“खिस्कल का?” भन्दै जुँगावाल बाटो लाग्यो।

उ खोला किनारको खेतमा पुग्यो। खेतमा पनि आठ दश वटा नयाँ छाप्राहरु देख्यो। त्यहा गएर सोध्यो। पर्ती जग्गा ओगटेको भन्ने थाहा पायो।

“समितिसँग कुरा गर, मिले तिमीलाई नि एउटा टुक्रो देलान्।” छाप्रो हाल्न आएको नयाँ मान्छे भन्ने ठानेर एउटाले जुक्ती सिकायो।

कुटमेरे गएपछी उसको खेतबारिको हेरबीचार गर्ने कोही भएन। उसको घर भएको ठाउँ कुटमेरेको घरजग्गा किन्नेले हड्पेछ। गाउँमा हालिमुहाली गर्नेको मिलेमोतोमा ऐलनी जग्गा भागबन्डा लगाइएछ। मुरली दुई चार ठाउँ डुल्यो। आफुसँग बलियो प्रमाण नभएकाले घरजग्गा फिर्ता नहुने पक्कापक्की भयो।

उ पनि काठमाडौं आयो। लक्षुमनले आँफैले काम गर्ने पसलमा छिरायो।

…………..

झमक्क साँझ परेको थियो। पसलको काम सकेर पराग चपाउदै दुईजना कोठातिर लागे। मधेसी लवजमा बोल्दै साँघुरो गल्लिबाट हिड्दा एउटा जगल्टे केटासँग हल्का ठोक्कियो।

केटो जङ्गियो “ओेए धोंति, आँखा देख्दैनस्?”

मन अमिलो पार्दै केटाहरु अँध्यारो कोठाभित्र छिरे। कुटमेरे चाइनिज बत्ती बालेर खाना पकाउदै थिए।

छोराहरुको निभेको मुहार देखेर उनले सोधे” के भयो आज फेरी?”

लक्षुमनले बतायो।

बुढाले हरेक साँझजस्तो मनका बह पोख्न थाले।

मधेशमा मधेसी हुँ भन्दा मनिएन। यता मधेसी होइन भन्दा मनिदैन। गाली लन्छना सुन्नुपर्छ। न त देश ले मधेसी चिन्यो। न त मधेशले मधेसी चिन्यो।

मुरली ले थप्यो “खासमा यो देशले चिनेन मधेसी। मेरा पुर्खा यो देशको नागरिक नभइ मर्नुपर्‍यो।के उनिहरु अौलोसँग लडेर सिमानाको पहरेदारी गर्नु नेपाली हुनुको प्रमाण थिएन? आज आएर मलाई र पारीपट्टीका अपराधीलाई एउटै कित्तामा राखेर नागरिक बनाइयो। देशले योगिको भेषमा आएको रावण र इश्वर पुजेर बसेको योगिलाई चिन्न सकेन।”

लक्षुमनले भन्यो ” भाई र पराइ किन चिन्दैन मधेस? बिदेशीलाई सत्तामा पुर्याएर कहिलेसम्म आफ्ना अधिकारमाथि राज गर्न दिन्छन् यिनिहरु?

बुढाले छोराहरुको कुरामा सही थाप्दै भने “भोली देशले मधेस र परदेश कुन हो भनेर घोरिनु पर्ने दिन नआओस्। मधेसी र मधेसीको खोल ओढेका अपराधीलाई देशले चिनोस्। मधेसले चिनोस्। देशबासीले चिनुन् ।“

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.