फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।”
“कैले भेट्छौ त ?”
“नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको परिवारबाट पाएँ। उनीहरू पनि मलाई लुबीसँग भेटेर आइदियोस् भन्ने चाहन्छन्।”
लुबीबारे बोल्न थालेपछि अल्फ्रेड थामिएन। ऊ घरी वेगियो, घरी सुसाइरह्यो।
सिमसिम पानी परिरहेको रमाइलो छ। कालो ह्याटमा सजिएको अल्फ्रेड र म सडक पेटीमा हिंडिरहेका छौं। पर भेडा फार्म र गाईका लागि छुट्याइएको विशाल चरनहरू देखिन्छ।
“याँ त बडो गज्जब र’छ। सबको लागि निश्चित ठाउँ छुट्याइएको, पशुहरूले पनि नियम मान्नुपर्ने। हाम्रो कंगोमा त सब स्वतन्त्र…।”
मैले पनि नेपाल सम्झिएँ, तर केही भनिनँ।
“म पनि भविष्यमा लुबीसँग यतै बस्छु होला…”, अल्फ्रेड स्वप्निल बन्यो।
“उसले बिहे गरिसकेकी रहिछे भने?”
“नो, त्यस्तो हुनै सक्दैन।”
“तिमीलाई वास्ता गरिनँ भने…”, मैले जिस्क्याउन खोजें।
“अरे यार, ऊ युरोप आउँदैमा मन बदल्ने खालको केटी होइन। ऊ हाम्रो भविष्यको लागि कमाइरहेकी छे। दुई वर्ष अघि युरोप आई, किन्सासामा घर र गाडी किनेर परिवारलाई राखी। आइ यम प्राउड अफ हर!” उसले ह्याट उचालेर आकाशतिर हेर्यो।
“सीप हुनेका लागि युरोपमा पैसा छ। लुबी यहाँको कुनै इटालिएन रेस्टुरेन्टमा कुक छे। पहिले पनि ऊ साह्रै मीठो पकाउँथी। उसलाई भेटेर म इटालियन डिस खानेछु”, अल्फ्रेडले सास नफेरी भन्यो।
उसको कुरा सुनेर सोचे– आखिर मान्छे जहाँसुकैको भए पनि आशा चाहिं उस्तै हुँदोरहेछ।
अल्फ्रेड एकदम फरासिलो र उस्तै सहयोगी छ। हाम्रै क्लासकी जोयसको लागि उसले क्यान्टिनबाट चिया, कफी र कहिलेकाहीं त लन्च पनि ओसारिदिन थाल्यो। हुँदा–हुँदा होमवर्कमा पनि अल्फ्रेडले जोयसलाई सहयोग गर्यो। जोयस ऊसँग निकै नजिकिई। जे गर्दा पनि अल्फ्रेड खोज्न थाली। एक साँझ् ऊ बहकिई, अल्फ्रेड, यु आर सो गुड।” “थ्यांक्यु जोयस”, अल्फ्रेड खिसिक्क हाँस्यो।
नाइजेरियाकी ‘ब्ल्याक ब्युटी’ जोयस अल्फ्रेड भन्दा करीब दश वर्ष जेठी हुँदी हो। ऊ आफ्नो कालो ओंठमा रातो लिपिस्टिक र छोटो घुंग्रिएको केसमाथि कृत्रिम कपाल लगाउँथी।
म होस्टलको डाइनिङ्ग हलमा बसेर अल्फ्रेडले लुबीसँग मस्की–मस्की फोनमा कुरा गरेको नियालिरहेको छु। जोयस छेउमा आएर कुरा सुन्न थाली। स्वाहिली भाषा नबुझ्ेपछि बीचैमा सोधी, “कोसँग कुरा गरेको?”
मोबाइल सेटको रिसिभरपट्टि औंलाले छोप्दै अल्फ्रेडले भन्यो, “एउटी साथीसँग, यहीं आम्सटर्डममा काम गर्छे।”
“को साथी?” जोयसले जान्न खोजी।
“मेरो बचपनको साथी लुबी। बहुत राम्री र प्यारी छे…”, दुईतिर बात गर्दागर्दै अल्फ्रेडले कुरो फुत्कायो। लुबीको प्रसंगमा ऊ हरेक पटक यसरी नै फुस्किन्छ। भोलिपल्टदेखि जोयस चिया–कफी लिन आफैं जान थाली।
फ्राइडे इभनिङ म अल्फ्रेडको रूममा छु। उसले सुटकेश खोलेर केही फोटाहरू निकाल्यो। त्यसमध्येको एउटामा स्कूलको चौरमा बसेका भुराभुरी देखिन्छन्।
“लौ चिन, यसमा कुन चाहिं म हो?” अल्फ्रेड मुस्कुरायो। खासमा ऊ लुबीको फोटो देखाउन चाहन्थ्यो।
मैले नियालेर हेरें, तर अल्फ्रेडलाई नै चिन्न सकिनँ। सबै केटाकेटी उस्तै लागे मलाई। आखिरमा उसैले छेउमा उभिएको एउटा न्याउरे केटो देखाउँदै भन्यो, “सानोमा म यस्तो थिएँ। मैसँग उभिएकी यो लुबी हो। ऊ राम्री छैन त?”
“कति वर्ष भयो लुबीसँग भेट नभा’को?” मैले छोटो बाटो समात्न खोजें।
“१२ कक्षापछि ऊ राजधानी किन्सासा आई, त्यसको दुई वर्षमा युरोप उडी। म उतै रहें। हामी आमने–सामने नभएको चार वर्ष भयो, तर मनले हरदम सँगै छौं।”
आम्सटर्डमको आकाश खुलेको छ। गाढा नीलो आकाशमा बेला–बेला प्लेनहरूले बनाएका सेता धर्सा देखिन्छन्। यता जमीनमा रेल, ट्राम, बस र कारहरू गन्तव्यको आतुरीमा छन्। देश―देशका मान्छेहरूको इन्द्रेणी बनेको छ, शहर। भीडमा कालाहरू देख्दा हरेक पटक अल्फ्रेड भन्छ, “यिनीहरू सुडानतिरका हुन् कि?”
अल्फ्रेडले ग्रे कलरको लङ्ग कोट लगाएर सपिङ सेन्टरको ऐनामा आफूलाई धेरैबेर नियाल्यो।
“गज्जब सुहाएको छ, लुबी विल बि इम्प्रेस्ड” मैले उकासें। युरोलाई मनमनै कंगोलिज फ्रयान्कमा ढालेर आत्तिइरहेको अल्फ्रेडले १०० युरो खर्चने आँट गर्यो। हामी पानीका विभिन्न क्यानलहरू क्रस गर्दै आम्सटर्डमको रेड लाइट एरिया छिर्यौं। मानिसहरू सिसाका झयालहरूमा आँखा अड्काएर सडकमा हिंडिरहेका छन्। सिसाभित्रका युवतीहरू विभिन्न हाउभाउका साथ अपील गरिरहेका छन्। लगभग अवाक् अवस्थामा ५०–५५ अर्धनग्न हेरिसकेपछि अल्फ्रेड बोल्यो, “यो के तमासा हो!”
“हामी रेडलाइट एरिया हेर्न आएका हौं” मैले सहज बन्ने प्रयास गरें।
‘आइ नो द्याट…” अल्फ्रेडले भन्यो।
आम्सटर्डमको यो भागको एउटा कुनोबाट अर्को कुनो, एउटा छेउबाट अर्को छेउ, सबैतिरको नजारा उस्तै छ। अँ, सेक्स टोय र डीभीडीका पसलहरूले विविधता थपेको भन्न सकिन्छ।
“यिनीहरू भन्दा त ऊ सयौं गुणा राम्री छे” अर्को पटक आउँदा लुबीलाई पनि ल्याउने इच्छा व्यक्त गर्दै अल्फ्रेडले भन्यो, “ऊसँग यहाँ घुम्दा मज्जा आउँछ, उसलाई यो ठाउँबारे धेरै थाहा पनि छ।”
अब हामी रेलमा फर्किन सेन्ट्राल स्टेशनतिर सोझ्िने गल्लीमा छौं। अल्फ्रेड अघि–अघि, म पछि–पछि। अचानक ऊ टक्क अडियो र दुवै हातले टाउको समायो। मेरो पनि टाउको दुख्न थालेको थियो, मैले पनि समाएँ। तर, छेउमा पुगेपछि मलाई महसूस भयो– अल्फ्रेडलाई त्योभन्दा बढी भएको छ। यसो नियालें, ऊ पूरै ‘फ्रिज’ भएको छ। केही क्षणमा उसको मुखबाट एक उच्छवास निस्क्यो, ‘लुबी ककक …!”
दाहिनेतिरको शोकेसकी युवती अश्रुपुरित नजरले अल्फ्रेडतिर हेरिरहेकी थिई– अपलक। उसको सौन्दर्यमा कुनै शंका थिएन।
साहित्य विशेष मंगलबार, आश्विन २१, २०७१
(स्रोत : हिमालखबर)