कथा : सुदूर प्रेम

~क्षितिज समर्पण~Kshitij Samarpan

आज बिहानै अखबारका ‘हेडलाइन’हरुले मन विरक्त बनाएका छन् । अक्सर म रेडियो सुन्दिन । बिहानै रेडियो सुन्नु पनि झिजो लाग्छ । सायद रेडियो सुन्ने बानी हुँदो हो त यो विक्षिप्तता केही घण्टा पहिलेदेखिनै शुरु भइसक्ने रहेछ । कहिलेकाँही त लाग्छ रेडियो नसुन्ने बानी गरेरपनि ठिकै गरिछु ।

……..

थाहा छैन हामीमध्ये कसले पहिले ‘रिक्वेस्ट’ पठाएको थियो कुन्नी ? एकदिन ‘च्याट लिस्ट रिफ्रेस’ गर्ने क्रममा मैले उसलाई फेसबुकमा भेट्टाएको हुँ । ‘हाइ’ भनेर बोल्नुपूर्व नै मैले सर्रर एकपटक उसको प्रोफाईल हेरेँ । र, उसको ‘टाइमलाइन’ नियाले । ‘लाइभ इन ट्वीनफल्स स्टेट, युनाइटेड स्टेट अफ अमेरिका । फ्रम नेपाल । वर्किङ एट स्टुडेन्ट ।’ यही थियो उसको प्रोफाइलमा । अनि, चोकोभन कलरमा सजिएको ठूलो कलेजको अगाडिपट्टि जमेको सेतो हिउँसित ओभरकोट लगाएर उभिएको उसको कभर फोटो ।

‘वाउ ! हाउ स्वीट, नाइस पिक् !’

कमेन्ट बक्समा यत्ति लखिसकेपछि हतारहतार किबोर्डको इन्टर नथिचेर डिलिट थिचे । ‘कुराकानी शुरु भएकै छैन, किन कमेन्ट गर्नु ?’ सायद यस्तै सोचेथ्यो मनले । अचेल फेसबुकमा राम्रा–राम्रा युवतिको फोटो राख्दै बनेका ‘फेक आइडी’ को विगविगि छ । जसरी अचेल हाम्रा गाउँतिर लामखुट्टे पसेका छन् । केही समय पहिले एउटा यस्तै आइडीले समस्या पारेपछि अचेल म ‘रिक्वेस्ट एसेप्ट’ गर्नुपूर्व नै उसको ‘प्रोफाइल’ हेर्ने गर्छु –जसरी मेरी आमाले भात पकाउनुपूर्व चामलमा ढुङ्गा छ कि छैन भनि हेर्ने गर्छिन । र, म त्यस्ता ‘आइडीमा’ सकेसम्म ‘रिक्वेस्ट’ पनि पठाउँदिन आफूले । प्रोफाइल पिक्चरले पहिल्यै मन तानिसकेको थियो । उ केटी नै हो भन्ने ‘कन्र्फम’ भएपछि मैले उसलाई बडो औपचारिक तवरले बोलाएँ ।

‘हाई, नमस्ते ।’

‘नमस्ते’ उसको रिप्लाई आइपुग्यो ।

‘क्यान यु स्पिक नेपाली लैंग्विज प्लीज ?’ सोध्न मन लाग्यो ।

‘ओ ! स्योर, मलाई नेपाली राम्रोसँग आउँछ ।’ उसको यो जवाफले मलाई निकै सहज बनाइदियो । त्यसपछि त के र । रोमनमा लेख्न थालियो ठुटे अंग्रेजी जोडेर ।

‘आइ एम राहुल, फ्रम नेपाल । अनि तपाई कता हो नी ?’

‘म त युएसए छु’ उसको जवाफ ।

……..

उसका विषयमा जिज्ञासाहरु विस्तारै मेटिदै गए । आफ्नो परिवारसहित अमेरिका गएकी रैछ । पूर्वी नेपालको झापास्थित वेलडाँगी भुटानी शरणार्थी शिविरबाट केही समय अघि तेस्रो देश पुर्नवास कार्यक्रम अन्र्तगत अमेरिका छिरेका रहेछन् उसको परिवार । र, मैले यो पनि थाहा पाएँ उसकी आमा नेपालमै छिन् । तेस्रो देश पुर्नवासले ल्याएको ‘समस्या’ को चेपुवामा उ पनि रैछे, आम भुटानी शरणार्थी परिवारजस्तै । तेस्रो देश पुर्नवासले शरणार्थी परिवारमा कति विचलन र विग्रह ल्याएको छ ? त्यो उसको भनाईबाट पनि प्रष्ट हुन्थ्यो ।

विगत दुई दशकदेखि दक्षिणपूर्वी नेपालको झापा र मोरङ जिल्लाका सात शिविरमा भुटानी शरणार्थी बस्दै आएका छन् । ती भुटानी मूलका नेपाली हुन् जसले आधा शताब्दीअघिसम्म कम बसोवास भएको त्यस हिमाली अधिराज्यको दक्षिणी भेगमा आफ्नो पसिना बगाए । पूर्वी नेपालका पहाड र भारतका पूर्वोत्तर राज्यबाट तिनलाई दक्षिण भुटानमा बसोवास गराउन त्यतिबेला राजतन्त्रले नै प्रोत्साहित गरेको थियो । तर, २२ वर्र्षअघि भुटानी शासकहरुले नेपाली मूलका नागरिकलाई मुलुकबाट विस्थापन गर्न थालेपछि ती शरणार्थीका रुपमा फेरि नेपाल भित्रिए । भुटानी शरणार्थी समस्या दक्षिण एसियाकै एउटा प्रमुख शरणार्थी समस्याका रुपमा रहिआएको छ । यसबीचमा शरणार्थीबाटै पटक–पटक घर फिर्तीका प्रयास भएका छन् तर जब–जब उनीहरु सीमावर्ती मेची पुल तरेर आफ्नो देश र्फकन अगाडि बढ्छन्, भारतीय सुरक्षाकर्मी तगारो बनेर तेर्सिदिन्छन ।

‘आमा क्यानडा जाऔँ भन्नुहुन्थ्यो’ मैले आमालाई किन एक्लै नेपालमा छोडेको त ? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उसले एकदिन कुरैकुरामा भनेकी थिई, ‘तर बा’ले मान्नुभएन । म, बा र दाई यता आयौँ, आमा नेपालमै हुनुहुन्छ ।’

‘आमालाई भेटन् नेपाल आउँदिनौँ’?, मैले सोधे ।

‘सायद आउँछु अप्रिलतिर’ उसले जवाफ दिइ ।

……..

प्रेम सम्बन्ध स्थापित हुनलाई कुनै निश्चित अवधी नचाहिदो रहेछ । एउटै भूगोल नचाहिदो रहेछ । र, नहुँदो रहेछ यसको कुनै लक्ष्मण रेखा । थाहा छ, ऊ मेरो देशभन्दा कोशौँ पश्चिम छ । तर, यो भूगोलको दुरी मनको दुरीसँग सम्बन्धित नहुने रैछ । र, यो पनि थाहा छैन कि उसँग जीवनको कुनै क्षण भेट होला नहोला । तर, म किन उसलाई यतिविधि प्रेम गरिरहेछु । किन फुक्काफाल भइरहेको छ यो मन ? प्रेम त उसले पनि गर्छे मलाई, यदि म भ्रममा छैन भने । एकदिन उसले भनेकी थिई–
‘राहुल आइ रियल्ली लभ यू’ ।

यसरी फेसबुकमा भेट हुँदा पनि किन सँगै भएको अनुभूति भईरहेको छ हामीमा । यो पागलपन हो या प्रेम ?

उसँग फेसबुकमा माया र प्रेमका कुरा मात्र भएनन् । यौनका विषयमा पनि खुलेर कुरा हुन थाले ।

‘गोराहरु त सेक्सको मामलामा उदार हुन्छन् रे हो ?’ एक अवोध बालकले जस्तै मेरो प्रश्न आएपछि सायद उ केही असामञ्जस्यतामा परि । केहीबेर रिप्लाई आएन । के लेखौँ, के लेखौँ भयो । उसको च्याट विन्डोज्जमा टाइपिङ भन्ने देखिएको केही बेरपछि रिप्लाई आयो– ‘हो नेपालमा जस्तो छैन यहाँ ?’

उसको जवाफले रनभूल्लमा पर्ने पालो मेरो ।

नेपालमा जस्तो छैन भनेर के भन्न खोजेकी उसले ?

नेपालमा जस्तो लुकिलुकि पोर्न फिल्म हेर्दैनन् । पश्चिमा संस्कृतिको प्रभावमा परेर रहरै रहरमा, दवावमा वा लुकेर दुईजना बीचको पोर्नाेग्राफिलाई क्यामेरामा कैद गर्र्दैनन् । नेपालमा जस्तो बलात्कारका घटना हुँदैनन् ? या आम नेपाली जस्तो यौनकै विषयमा उनीहरु सोचेर बस्दैनन् ? के भन्न खाजेकी उसले ?

जवाफ स्पष्ट नआएपछि कतै प्रश्न स्पष्ट नभएर हो कि भनेर फेरि सोधे–
‘गोराहरु त बाटोमै सेक्स गर्छन रे ?’

‘हामी नेपालीहरुको कमजोरी भनेकै यही हो’ उसले भनि, ‘हो उनीहरु यौनका मामलामा हामीभन्दा खुलस्त छन् । यसको मतलब यो होइन की उनीहरु जहाँनेर पायो त्यहाँनेर जोसँग पायो उसैसँग यौनक्रियाकलाप गर्छन् ।’

‘हाम्रो देशमा किन बलात्कारका घटना बढ्छन थाहा छ राहुल ?’, उ भन्दै थिई, ‘हामीमा यौनप्रति गलत धारणा छ । हामी यौनका विषयमा अनावश्यक कुण्ठा पालेर बस्छौँ । र, हाम्रा दिमाग नै यौनिक जिवाणुबाट ग्रसित छन् ।’

उ भन्दै गई –
‘तिमीलाई लाग्ला किन यसले यसरी कुरा गर्दैछ । पश्चिमा देशमा गएर यसले पनि यौनका विषयमा खुल्ला धारणा राख्ने भइछ । हो म यस मानेमा ओपन छु । तर, यसको मतलब यो होइन राहुल, ममा फिजिकल रिलेशनसिफको एक्सपेरियन्स छ । किनकी, अहिले यहाँ आएपनि म नेपाली नै हुँ । ममा नेपाली राष्ट्रियता छ । विवाहपूर्वको रिलेशन मलाई ठीक लाग्दैन । हामी नेपालीले सिकेको त्यही होइन, चार डेट, दुई सेक्स !’ के के न उपती पारे जस्तो । अनि कुनै होटलमा दुई युवायुवति आफ्नो इच्छाले शारीरिक भोग मेटाउन बसेका बेला हाम्रा प्रहरी छापा मार्ने नाममा ‘डिस्टर्ब’ गर्न जान्छन् । र, पत्रिकामा ठूलो अक्षरमा समाचार आउँछ ‘फलानो होटलबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ’ यस्तो पनि हुन्छ ? के उनीहरुको गोपनियता हुँदैन ? यदि एक जोडी बन्द कोठामा बसेर शारीरिक क्रिया गर्छन् र त्यसलाई आपत्तिजनक अवस्था भनिन्छ भने तिमी, हामी पनि त आपत्तिजनक अवस्थाबाटै जन्मेका होउँला । हामीलाई जन्माउने अभ्यास गर्न के हाम्रा बाआमा सडकमा गएका थिए र ?

उसले मुखभरीको जवाफ दिई । म चुप्प लागेर बसे । छेउमै भए कसरी पढ्दी हो उसले मेरो अनुहार ? सायद आत्माग्लानीले भरिएको होला । त्यसदिनदेखि मैले यौनको प्रसंग कहिल्यै उठाइन ।

……..

‘म नेपाल आउनुअघि एकपटक तिमीलाई हेर्न चाहान्छु राहुल ।’ एकदिन उसले भनि ।

‘तर यो कसरी सम्भव छ ?’ यत्ति भन्न के पाएको थिएँ हपारी हाली– ‘स्काइप छ नि लाटा ! ’

‘फोटोहरु देखेकै छौँ, किन स्काइप चाहियो र ?’, मैले कुरा मोड्न खोजे, ‘बोली नै सुन्ने हो भने बरु कल गर ।’

‘अँ अब यहाँबाट कल गरेर सम्भव हुन्छ ?’ उ भन्दै थिई, ‘प्लीज स्काइप आइडी खोल न ।’

म अवाक छु ।

उ भन्छे –
‘तिमी स्काइपमा आएनौँ भने भिजा क्यान्सील गर्दिन्छु ।’

उफ् यसलाई किन यसरी स्पाइपको भूत चढेको होला । किन नेपाल आउनुअघि उसले मलाई हेर्न चाहान्छे । मैले बुझ्न सकिरहेको छैन । मेरो अनुहार मात्र हेर्ने भए त ठीकै थ्यो । म स्काइपमा उसलाई भेट्न राजी हुँला अरे । तर, उ भन्छे, ‘तिम्रो हाइट कति, बडीस्ट्रक्चर कस्तो छ । म पुरै हेर्न चाहान्छु राहुल ।’

सायद मैले उसँग यो कुरा लुकाएर ठूलो गल्ती गरे । मौका नै कहिले पो मिल्यो र ? मैले उसलाई मेरो बाँया खुट्टा छैन भन्नलाई । आफ्नो कुरा उसलाई भन्ने प्रयास नगरेको पनि कहाँ हो र । एकदिन कुरैकुरामा उसलाई भनेको थिएँ, ‘तिमी मलाई किन यति विश्वास गर्छ्यौँ ? म मा केही कमजोरी पनि त हुनसक्छ ।’

‘यू आर प्रफेक्ट राहुल । लाग्दैन तिमीमा केही कमजोरी होला ।’ यस्ता कुरा गर्छे ऊ । विचरीलाई के थाहा म कुनै बेलाको समर यात्री थिएँ । र, त्यही यात्राको क्रममा मैले आफ्नो खुट्टा गुमाएँ । अहिले बैसाखीको भरमा जिन्दगीलाई धकेलिरहेछु । कुनैबेलाको एउटा महान क्रान्तिकारी योद्धा अहिले बैसाखीसँग लडिरहेको छु भन्ने विचरीलाई के थाहा ? र, के थाहा शरीर सग्लो नभएपछि पार्टीले दूधको झिङ्गा निकाले झैँ निकाल्देको कुरा । हाय !

आफूमा जुन कुराको कमजोरी छ, त्यसैको फाइदा अरुले उठाउँछ कि भन्ने डर लागिरहँदो रहेछ । जुन दिन उसले स्काइपमा भेट्ने अनुरोध गरि मैले त्यसैदिन आफ्नो आइ डी नै डियक्टिभेट गरिदिएँ । किनकी उसले सर्च गर्दा नि नभेटियोस् ।

अब भेटमा नै बताउनेछु उसलाई मेरो सम्पूर्ण कथा । मेरो बैसाखीको कथा । यदि उसले मलाई साँचो प्रेम गर्दिरैछ भने म उसको लागि स्वीकार्य हुँला । तर, उसले मेरो शारीरिक कमजोरीलाई देखाएर भाग्न खोजी भनेपनि म उसलाई निष्फिक्री छोडिदिनेछु । फुक्लाफाल छोडिदिनेछु उसलाई । र, मलाई विश्वास पनि छैन । र, रहर पनि छैन कि, उसले मलाई निःशर्त स्वीकारोस् । मनमा यस्तै कुरा खेलिरहन्छन् अचेल ।

……..

‘राहुल मेरो प्रोसेस पूरा भो । १५ अप्रिलमा म नेपाल आइपुुग्छु । हाम्रो भेट १६ अप्रिलमा हुनेछ ।’

केहीदिन अघि मात्र त हो उसको अफलाइन मेसेज आएको । त्यसपछि खुशीले मेरो खुट्टा भुईमा नभएझै लाग्यो । उसले बेलडाँगी शिविरमा गएर आफ्नी आमासँग भेट गराउँछु भनेकी छ । र, हाम्रा बीचमा यो पनि सल्लाह भएको छ कि हामी नेपालका सुन्दर हिमाली भेगतिर ट्रेकिङमा जानेछौँ । उससँगको प्रेमील पलहरुको कल्पनामा मेरा दिनहरु बितिरहेछन् । लाग्छ, भोली व्युझिएको बेला एकैपटक १५ अप्रिल भएको होस् । अब १६ अप्रिलमा उसँग मेरो भेट हुँदैछ, उ अर्थात शोभा । मैले उसलाई विदेशी नाम राखिदिएको छु, ‘मिस शुभियाना ।’ तर, उ आफूलाई शोभा भन्नुमै गर्व गर्छे र त्यसैमा नेपाली राष्ट्रियता देख्छे । कति अगाध प्रेम छ एउटा शरणार्थी केटीको । जो दोस्रोपटक शरणार्थी भएकी छ । र, भन्छे म मा नेपालीपन र नेपाली राष्ट्रियता छ । तर, हामी आफूलाई सच्चा नेपाली भन्न रुचाउनेहरु भने कुल्चिरहेछौँ हाम्रो राष्ट्रियता ।

तर, आज मेरा आँखा अगाडि थुप्रिएका अखबारहरुले मेरो मन बेसरी रुवाएका छन् । बेसरी चिथोरेका छन् मलाई । खोसिदिएका छन मेरा सारा खुशीका रंगहरु । कुनैदिन अस्पतालमा डाक्टरले मेरो खुट्टा काटेर फाल्ने कुरा गरिरहँदा, मेरो खुट्टा मेरै अगाडि काटेर फालिदिदा पनि म यसरी विक्षिप्त भएको थिइन । र, रोएको पनि थिइन यसरी । प्रिय शोभा, आज अखबारका मूख्य पानामा छापिएको तिम्रो अर्धनग्न तस्विर । रगत लटपटिएको निलडाम अनुहारले मलाई निकै विक्षिप्त बनाइरहेको छ । भाउन्न भइरहेछ मलाई । आफनै शरीर आफ्नो होइन जस्तो लागिरहेछ । शरीरको कुनै अंग हराउनुको भन्दा ठूलो पीडा भइरहेको छ । आकाश खसेजस्तो, जमिन भासिएजस्तो अनुभूति भइरहेछ । लाग्छ, यो सब सपना भइदियोस् । मलाई नै हेरिरहे जस्ता तिम्रा निला आँखा जो यो अखबारको पानामा पनि खुल्लै छन् । लाग्छ ती मेरै लागि हुन् । तिम्रो फोटोको मात्थिर यसो लेखिएको छ, ‘तेस्रो देश पुर्नवासका क्रममा अमेरिका पुगेकी एक युवतीको बलात्कार पछि हत्या, परिवार भेट्न नेपाल आएकी उनलाई एअरपोर्टबाटै पछ्याइरहेको आशंका ।’

शोभा, तिम्रो स्वागतका निम्ती पर्खिरहेको म, भन अब कसलाई पर्खिउँ ? तिमीलाई देखाउनकै लागि भनेर अस्ति मात्र किनेको नयाँ बैसाखी, अब कसलाई देखाउँ ? न मैले तिमीलाई भेट्न पाएँ, न त तिमीले मेरो नयाँ बैसाखी र मलाई भेट्न पायौँ । न स्काइपमा भेट्ने धोको पुरा भयो । शोभा, यदि मान्छेले भन्ने गरेको स्वर्ग छ भने मलाई विश्वास छ तिमी स्वर्गमै पुग्नेछौँ । किनकी तिमीले कुनै पाप गरेकी छैनौँ । तिमी त अरुको पापबाट मारिएकी छ्यौ । हिजो मैले तिमीलाई पर्खेको थिएँ । अब पर्खिेने पालो तिम्रो भएको छ । मलाई विश्वास छ शोभा, तिमी मलाई पर्खिरहनेछौँ । र, हाम्रो भेट एकदिन जरुर हुनेछ, यो दुनियाँभन्दा अलि पर । यो समयभन्दा अलि टाढै । सुदूर वस्तीमा ।

क्षितिज समर्पण, जाजरकोट

(स्रोत : DigitalSanchar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.