~लक्ष्मण वियोगी~
म त्रि–चन्द्र क्याम्पसका कोठाकोठा चिच्याउँदै हिँडेको छु, ‘कोई हुनुन्छ? सहयोग गर्नुस् न प्लिज! ‘बी पोजेटिभ ब्लड’ हुने कोई हुनुन्छ?” मेरो चिच्च्याई कोठाका भित्तामा ठोक्किँदै झ्यालबाट बाहिर उछिट्टिन्छ अनि घन्टाघरको सुईमा ठोक्किन्छ। त्यसपछि कानका जाली फाट्ने गरी घन्टाघर बज्छ– ट्वाङट्वाङ˜˜।
बोली नबिकेपछि रन्थनिँदै म जमलतिर बत्तिन्छु। पाइला जमलको माइक्रो स्टप पुगेर थामिन्छन्। गुन्द्रुक खाँदेझैँ मान्छे खाँदेर बतासिँदै आएको माइक्रोको पिलन्धरे खलासी फुत्त चिच्याँउछ, ‘टिचिङ–कान्ति–चक्रपथ… टिचिङ–कान्ति–चक्रपथ! ल दाइ पसिहाल्नु, लैनचौरबाट पूरै खाली हुन्छ।’
दिमागमा एक्कासि सय भोल्टको बिजुली दगुर्छ। खुट्टा टेक्ने भुइ“ छैन। भन्छ– लैनचौरबाट पूरै खाली हुन्छ! बजियालाई घुमाएर एक दिऊ“ जस्तो लाग्छ। नाथे मेरो बिजुली बेला–कुबेला यसरी चम्किनुबाहेक अर्थोक गर्दैन।
उसका अगाडि म जैरेले चम्किनुको के तुक! फुकिढल केटो जिन्दगीको तावामा निमेकको रोटी पकाइरहेछ। ड्राइभर बाघझैं उति बेलै गर्जिन्छ, ‘ए साला भातमारा! मान्छे बोला। खाली गाडी कुदार तेरो बाउले तिर्छ साउलाई पैसा। खान चाइँ तँलाई भुँडी उछिट्टिने गरी चाहिन्छ।’
म कोचिँदा उसको भुँडी भरिन्छ भने ठिकै छ। ठस्ठसाउँदै गुन्द्रुक बन्न कोच्चिन्छु, अर्को सागको झुइनो बनेर। छिर्नासाथ ह्वास्स अमिलो गन्ध नाकमा ठोकिन्छ। सासै रोकिएलाझैं। न्वारनदेखिको बलले उभिने प्रयास गर्छु।
एउटी कोरली बैंसका फूल मेरै ढाडमा रगड्दै टाँसिन आउँछे। मेरो दिमागमा फेरि बिजुली दगुर्छ– यसलाई बैंसले कुत्कुत्याएकी, कुन दिन स्वाँठको फेला पर्छे।
मेरो दिमाग चम्किनु न निभ्नुको के अर्थ! कहिल्यै आफ्नो पाइन देखाउन सके पो।
माइक्रोमा मान्छेका खुट्टा र हात थपिँदै जान्छन्। ज्यानका तीन चौथाइ भाग माइक्रोको फख्लेटोमा चमेरो बनेर झुन्डिएका छन्। खलासी कान्छाको लैनचौर आएकै होइन। म भने खाँदिदै, चेपिँदै, कन्दै र कोच्चिँदै टिचिङ अस्पताल पुगिसक्छु।
अस्पतालको आँगनमा भरिएका मान्छे, मान्छे लाग्दैनन्। आफ्नो तुनेलोमा दगुरेका छिचिमिरा लाग्छन्। छिचिमिरे भीडबाट आँखा बटारिएर चन्द्रागिरिको शिरमा ठोक्किन्छन्। त्यहाँ पन्यालो अँध्यारो पोखिँदै गएको छ। उता शिवपुरीको डाँडामाथि पनि घामले मधुरो बक्ररेखा कोरिसकेका छन्।
रगतको जोहो गर्ने काम मेरो हुतीले गरेन। म समस्याका हाँगा उमार्दै अझै रन्थनिएकै हुन्छु। मेरो पाराले माखो मारेको होइन। अब समस्या अजिंगर भएको छ। त्यो छाताजस्तो यमानको फणा पिँ्कजाएर अगाडि ठिंग उभिएको छ।
उता कोलाहलले अस्पताल घेरिएको छ। ऊ दशकौंदेखि यही हविगत भोगिरहेको छ। रोगी लिएर, रोग च्यापेर र च्यापिएर आएका सबै आफ्नै जिन्दगीको अन्तरिक्षमा रकेट कुदाइरहेछन्। कसैसँग सेकेन्ड रोकिने फुर्सद छैन, न रोकिन चाहन्छन्।
…
माधवको अनुहार अघि केही हँसिलो थियो। अहिले नीलो पानीको रहमा परिणत भएको छ। उनको अनुहारमा बिजुलीको थोरै चमकसमेत देखिँदैन, न बिजुली निभ्दाको अँध्यारो। डढेलोले उजाड बनाउँदै गएको पाखो मात्र देखिन्छ। जहाँ काला र राता रागेपाटे दागले पाखोलाई उजाड बनाएका हुन्छन्।
समस्याको मेलो सम्याउने चटारो भए पनि उनीसँग खेताला छैनन्। खेताला खोज्ने हिम्मत छैन। उनको मुखबाट ‘बेटरी’ सकिएको जिबाका पालाको रेडियोझैं ध्यारध्यार मात्र निस्कन्छ, ‘सर! था’ पाउनुभो? त्यो २१ नम्बरको बेडकी केटीको हिजो अप्रेसन भएछ। तर, बच्चा मरेछ। आमा बेहोस् छ रे!’
ती कलिली केटीको फोटो आँखामा आएर टपक्क टाँसिन्छ। सत्र काटेकी हुँदी हुन्। हिजै हो उनको लाग्नेसँग चिनापर्ची भएको। भन्थे, ‘घर रामेछाप। उनी काठमान्डू वसुन्धाराकी। क्याम्पस पढ्दा माया बस्यो। ‘लभ म्यारिज’ गरियो। यति छिट्टै चाहना थिएन तर अचानक वर्ष नहुँदै गर्भ रह्यो। उनका बा–आमा था’ पाएर पनि आएनन्। क्यै छैन। मै काफी छु, उनको स्याहार गर्न।’
टाउको भननन्न रिंगाउँछ। दुई हातले टाउको समात्छु। आँखा बन्द हुन्छन्। केटी सुतेको बेडको कुनामा सल्बलाइरहेको गहुँगोरो बच्चो देख्छु। झन् खपिनसक्नु हुन्छ र थुचुक्क बस्छु। हिजो राति उनको लोग्नेसँग बाक्लै बोलचाल भएको हो। तर, अब भेट्न मन छैन। उनको पीडामा मलम लाइदिन, एक चिम्टी आँट उमार्ने मन मसँग छैन।
माधवका ओठले फेरि त्यै ध्यारध्यार बजाउँछ, ‘सर! मेरो पनि कतै…, अस्पतालको बास तीन दिन भइसक्यो। उपाय निस्केको होइन। म त दोबाटाँ उभिएको बटुवा भएँ। खै गरूँ गरूँ! डाक्टर भन्छन्, अप्रेसन गर्नुपर्छ। ब्लड चाहिन्छ। फ्रेस ब्लडका लागि दुई जना मान्छे ‘रेडी’ पार्नु रे।’
उनको बोलीको मिटर घट्दैघट्दै शून्यमा बिलाउँछ। आँखाबाट भुइँमा तप्प आँसु झार्छन्। लाग्छ, उनको समस्या हल गर्ने सुत्र संसारमा मबाहेक अरूसँग छैन। म उसका लागि तीन लोक चौधै भूवनको अधिपति भएर उभिएको छु। ‘तथास्तु’ भन्नासाथ आकाशबाट उपायको उल्का झर्छ। तर, म परेँ– सहरको यजमानी गर्ने पिलन्धरे मनुवा। यो यजमानीले मेरै समस्या टार्न धौधौ हुन्छ। मसँग उल्का झार्ने जादू छैन न अस्पतालमा दाइ, काका वा मामा मेरा आफन्त छन्।
‘नआत्तिनुस् केही हुन्न,’ यी शब्द माधवतिर फ्याँकेर म फेरि क्याम्पसतिरै हाँकिन्छु। माइक्रोमा अघिजस्तै कोच्चिँदै र ठोक्किँदै। नजिकका सहपाठीसँग कर जोडेर विनय गर्छु, ‘बी पोजेटिभ ब्लड चाहिएको छ। कतै व्यवस्था गर्न सकिन्छ भने प्लिज!’
केही पर केटाहरूको भीडबाट बजेको धोद्रो पुरुष आवाज कानमा ठोकिन्छ, ‘कसलाई चाहियो रगत? हट् त केटा हो।’ म आशाको जूनकीरी बालेर टाउको उठाउँछु। भीड छिचोल्दै मधुकर मनेर आइपुग्छन्।
म खिरिलो रूखझैं ठिंग उभिएर दस औंला जोड्छु, ‘दाइ! मेरी दिदीका लागि ब्लड चाहिएको हो। डेलिभरी केस हो, डाक्टरले फ्रेस ब्लड खोज्नु भनेका छन्।’ उनका अघि मैले यत्ति भन्न सक्छु। दर्शनढुंगो जस्तो वस्तु गुडुल्किँदै आएर रुद्रघन्टीमा अड्किन्छ। मुखको ट्याउट्याउ बन्द हुन्छ। आँखाबाट तुरुक्क आँसु चुहुन्छन्।
‘कोई छ, रगत दिनी?’ जम्मा भएका कसैको मुखबाट बोली भुइँमा खस्दैन। केवल मुखामुख मात्र गर्छन्।
मधुकर बोलीमा कहिल्यै खाक्सी घोटेर बोल्न जान्दैनन्। यी मुला भातमारा ठेट्नाहरू कोरलीलाई बाहेक काम लाग्दैनन्। ‘ए! मुला किन रुन्छस्, तेरो हजुरबाउ मर्यास छैन! मेरै छ, बी समूहको रगत। ल हिँड्’ भन्दै उनी मेरो पिलन्धरे पाखुरा तान्छन्। उनैको आरएक्स मोटरसाइकलमा बसेर टिचिङतिर हुइँकिन्छौं।
प्रसूति वार्डको २६ नम्बर बेडमा तीन दिनदेखि माधव सरिताको कुरुवा बसेका छन्। अघिल्तिर दुई सहयोगी देख्दा उनको अनुहारमा आशाको गुलुब बल्छ।
मधुकर सरितालाई इंगित गर्छन्, ‘उनैलाई हो रगत?’
म टाउको हल्लाउँछु।
ड्युटीमा रहेकी एउटी नर्सलाई रगत जोहो भएको जानकारी दिन्छु, ‘सिस्टर! २६ नम्बर बेडको बिरामीका लागि फ्रेस ब्लड व्यवस्था भएको छ। कहाँ हो ब्लड दिने?’
उसको रूपको लावण्य जति चम्केको थियो, बोली उल्टो रै’छ। छोयो कि काट्लाजस्तो कर्द। अर्नाले झैं टाउको उठाएर ओठे जवाफ फर्काई, ‘हामीलाई था’ हुँदैन। डाक्टरसँग सोध्नूस् कि कुर्नूस् एक घन्टा।’ जैरीले मेरो बोली कानका प्वालमा नहुली उडाइदिई।
मधुकर एक्कासि केबिनको टेबुलमा मुड्की बजार्छन्, ‘केको रमिता हो यो? यता बिरामी सिकिस्त छ। बिरामीलाई सान्त्वना दिनुछैन। यै हो, डाक्टर–नर्सको धर्म?’
नकटी नर्स च्याँठिन्छे, ‘चर्को स्वरमा बोल्ने होइन। कसले बिरामी पार्नु भन्याथ्यो?’
मधुकरमा यतिन्जेल भैरव जागिसक्छ, ‘ए! तँ जाँठी बढी हुन्छेस्। चुट्की बजाएर तेरो चुरीफुरी झार्न सक्छु। निउँ खोज्छेस्। साला! बिरामी भनेका तैंले खोरमा पालेका सुँगुरका पाठा हुन्!’
उसले त्यहीँ तोरीका फूल देखी। जिन्दगीमा सायद उसका तीन पुस्ताले यसरी उसको झाँको झरेका थिएनन्। खैरो रुमाल निकालेर मुख पुछ्न थाली। नजिकै बसेको अधबैंसे डाक्टरसमेत अवाक भयो।
उसले नम्र हुँदै भन्यो, ‘सर! नरिसाउनुस्। हामीले हाम्रो काम गरेकै छौं। दिनरात बिरामीको सेवा गर्दा हामी मेसिन भइसकेका छौं। हाम्रो पनि मन हुन्छ। बुझिदिनुपर्योस। बिरामीलाई मनपरी गर्न हाम्रो मनले मान्छ र! आवेशमा आउनुअघि हाम्रो ठाउँमा बसेर सोचिदिनुस्। तपाईंको बिरामीको अप्रेसन गर्नुपर्ने अवस्था छ। शरीरमा प्लेटलेट्सको मात्रा कम छ। फ्रेस ब्लडबाट त्यो छुट्याएर ल्याउनुपर्छ। बेथा लाग्ने इन्जेक्सन दिइएको छ। त्यसले रियाक्सन गरेन भने आज राति वा भोलिसम्म अप्रेसन गर्नुपर्छ।’
‘तिमेर्ले अघि नै यसो भनेको भए मैले भैरव जगाउनुपर्थ्यो,’ मधुकरमा चढेको भैरव अझ उत्रेको छैन। माधव अलि पर भित्तामा टाँसिइरहेको छ।
मधुकरले मेरो पाखुरा समाते, ‘ल हिँड् केटा ब्लड बैंक।’ हामी त्यै टुकटुके मोटरसाइकल चढेर भृकुटीमण्डपतिर हिँड्यौं। ब्लड बैंकमा मधुकरको ब्लड निकालियो र प्लेटलेट्स निकाल्ने मेसिनमा पठाइयो।
मेरा लागि उनी सुमेरु पर्वतै घुमे। एक गिलास अनारको जुस ख्वाएर मैले उनलाई बिदा गरेँ। मोटरसाइकल स्टार्ट गर्दै भने, ‘क्यै गाह्रो भए फोन गर्नु। जति बेला पनि म हाजिर हुन्छु।’
प्लेटलेट्स छुट्याउनै तीन घन्टा लाग्ने रै’छ। तीन घन्टाको समय खर्च गर्न म पुनः टिचिङ हानिन्छु। अस्पताल पुग्नासाथ नजिक सरेर माधव फुस्फुसाए, ‘सर! २१ नम्बर बेडकी बिरामीको अघि भर्खर अप्रेसन भयो। उसको छोरी रै’छ, मरेको। आमा रोएको रोयै छ, बिचरा!’
उनको अनुहार कमलपित्तझैं पहेँलो देखिन्छ। आँखाका कोसबाट बगेका आँसुका ढिका उनी जतनले रुमालमा पट्याउँछन् र पाइन्टको गोजीमा घुसार्छन्।
‘साँच्चै अब अस्पताल अस्पताल रहेन। गाडीले कुकुर किचेर मर्नु र डाक्टरको हातबाट बच्चा मर्नु उस्तै भयो। मानवता झिकेको अस्थिपञ्जर हुँदै छन् डाक्टर। मानव वधशाला!’ मनमा विचारका ज्वारभाटा यसरी नै उम्लिन्छन्।
मेरै टाउकामाथि डाक्टरको चिरुवा कैंची चचहुई गदै पिङ खेलेझैं लाग्छ। म एकाएक गर्भे शिशुमा फेरिन्छु। मन भयभित हुन्छ– डाक्टरको आरो नछिर्दासम्म त हो, सल्बलाउने। त्यसपछि त मेरो बाँच्ने अधिकार गर्भमै चिलिम!
घडी हेर्छु। दुई घन्टा घर्किसकेछ। ‘क्यै हुन्न, नआत्तिनु। म ब्लड लिएर आउँछु,’ माधवलाई ढाडस् दिँदै बाहिर निस्कन्छु।
घरी टिचिङ त घरी ब्लड बैंक गर्दा रातको पहिलो प्रहर छिप्पिसकेको छ। निदाउँदो रात बिथोल्दै सडकमा बेहिसाब ट्याक्सी र मोटरसाइकल गुडेका छन्। शिवपुरीको पिँधबाट ठोक्किँदै आएको कुकुरको भ्वाङभ्वाङ पर…घरका भित्तामा ठोक्किएर हराउँछ।
म रगतको पोको झुन्ड्याउँदै हस्याङफस्याङ प्रसूति वार्डभित्र छिर्छु।
‘ऐ्यया आमा! मर्छु कि क्या हो। लौन, डाक्टर बोलाइदेऊ। डाक्टर! मलाई अपे्रसन गर्दिनुस्। म सक्दिनँ।’ नारी चित्कारले मेरो होस उड्छ। एक्कासि मेरो रिसको मिटर चढ्छ– लाज पचेका आइमाईका जात! कति चिच्याउँछन्।
मानवीयता भनेको ढुंगो हो वा नौनी– मेरो गिदीले महसुस गर्दैन।
माधव दगुर्दै आएर ‘ब्रेकिङ न्युज’ सुनाउँछन्। ‘सर! तपाईं गएपछि ८ र १२ नम्बर बेडका महिलाको अप्रेसन भयो। ८ वाला त ठिक छ रे १२ वालाका आमा र बच्चा दुवै आइसियुमा राखिएको छ रे,’ यत्ति भनिसक्दा उनका आँखा आँसुले पुरिन्छ।
‘सरितालाई खतरा छ, सर। भिडियो एक्स–रे गरेको, बच्चाको मेरुदण्ड छैन रे। बच्चा बचाउँदा आमाको ज्यान जान सक्छ रे।’
यत्ति सुनेपछि मलाई भाउन्न हुन्छ।
गर्भवती महिला अस्पतालमा बच्चा जन्माउन होइन, भु्रणहत्या गराउन आउँछन् जस्तो लाग्यो। डाक्टर गर्भे शिशुको हत्या गर्ने यमदूत लाग्छन्। आखिर अस्पतालमा भइरहेछ के? तीन दिनभित्र आधा दर्जन बढी भ्रुणको हत्या भएको छ। नारीले सृष्टिको रचना गरिरहेछन् या संहार!
‘सरी! हामीले तपाईंको बच्चा बचाउन सकेनौं। केही ढिलो भएको भए आमाको ज्यानै जान सक्थ्यो,’ तीन दिनसम्म मैले डाक्टरबाट यही बोली सुनिरहेको छु।
डाक्टरसँग भन्नलाई नयाँ शब्द छैन, न सहानुभूति दिने हृदय। उनीहरू एउटै शब्द दिनमा सयौंपटक ‘कपी पेस्ट’ गरिरहन्छन्।
सुत्केरीका चित्कार, डाक्टरको सुगारटाइले शिथिल बनाउँछ। चिटचिट पसिना आउँछ। टाउको भीससेनकै ढुंगो हुन्छ। भाउन्निएर चिसो भुइँमा थ्याच्च बस्छु।
पर कुनामा सुतेकी सरिताले आफ्नो गर्भे शिशुको मृत्यु कुरिरहेझैं लाग्छ। उनका आँखामा गाजलको हल्का कालो रेखी बसेको छ। ती आँखाभित्र हर्षको कान्ति देखिँदैन न विस्मात नै।
सृष्टिको रचना गर्नेले बिस्तारै हरेक पुरुषको बाबु नाता टुंग्याइरहेको छ। सृष्टि र संहार गर्नेको मुकुन्डो अचेल डाक्टरले लाएका छन्। नत्र किन? सम्बन्धको पेरुंगोमा बँाधिएको बाबु नाता पुरुषका लागि अभिशाप हुँदै छ? महिलाको प्रसव पीडा रगतमा मात्र किन बगिरहेछ? अस्पतालभित्र ममा यिनै प्रश्न मात्र तेर्सिन्छन्।
मेरो एकाग्र माधवले भंग गरिदिन्छन्। उनी केही नबोली क्वाँक्वाँ रोएको देख्छु। यस्तो पुरुष यसरी रोएको मैले सायदै देखेको छु। ‘हैन! के भयो माधव सर? प्लिज नरुनुस्। भन्नुस् के भयो?’ म दुई वर्षे बच्चाझैं फुल्याइरहेछु।
उनी घुक्कघुक्क गरिरहन्छन्, ‘मेरो साथीको बच्चा पनि मरेछ सर। हिजो राति विराटनगरबाट ल्याएर इमर्जेन्सीमा भर्ना गरेको रै’छ। म पनि बरबाद हुने भएँ। मेरो बच्चा बाँचेन भने म सारा डाक्टर मार्दिन्छु। अस्पताल मसानघाट बनाइदिन्छु!’
चित्कारको बाढी एकैसाथ उर्लिन्छ, ‘ए आमा˜˜ मरेँ! म बाँच्न चाहन्नँ। लौन डाक्टर, म सक्दिनँ। मार्देऊ बरु।’
‘सर! सरितालाई अप्रेसन गर्न लगे। अब के हुने हो,’ माधव उही वाक्य दोहोर्या उँछन्, ‘मेरी सरिता र बच्चा केही भयो भने म डाक्टर साक्टर भन्दिनँ।’
रातको तेस्रो प्रहर घर्किंदो छ। अघिल्लो दिन सास्ती खेपेर जोहो गरेको रगत तर लाउने संकेत छैन। त्यो डाक्टरकै खोपीमा छ। कुनै डाक्टर वा नर्सले क्यै भनेका छैनन्।
एक्कासि प्रसव चित्कार सुनिन्छ। पुरुषले प्रसव व्यथा खप्नुपर्दो हो त? …मेरो जिउभरि काँडा उमि्रन्छन्।
‘सर! सरितालाई ब्लड दिनुपर्छ, पर्दैन। सोध्नुस् न।’
माधवको बोलीले झस्किन्छु, ‘केस जटिल छ। नआत्तिनुस्, ठिक हुन्छ। ब्लड चाहिए डाक्टरले भन्छन्।’
‘ती डाक्टर होइनन् सर, राक्षस हुन्। तिनले क्यै भन्दैनन्। भकाभक गर्भ तुहाउँछन्। मैले व्यर्थै यो अस्पताल ल्याएँ,’ उनी एकोहोरो बर्बराउँछन्।
…
चौथो दिन अनिँदोले रात खर्लप्प निलेको छ। घामका किरण अस्पतालका झ्यालबाट भित्र छिरेका छन्। तर, सरिताको अवस्था बेखबर छ। घृणा, क्रोध र डर एकसाथ उर्लेर मन बगाउन थाल्छ। म सोध्छु, ‘डाक्टर साप! अझै कति टाइम लाग्छ, बाहिर ल्याउन?’ डाक्टर ओठे जवाफ फर्काउँछन्, ‘अवस्था ठिक छ। केही बेरमै बाहिर पठाइन्छ।’
अप्रेसन कोठाबाट बाहिर निस्केर अघिल्लो दिनकै नर्सले मलाई इसाराले बोलाई। ‘हेर्नुस्, उहाँको बच्चा असामान्य थियो। बाँचेको भए नि काम लाग्थेन। बचाउन सकिएन। यस्ता केस ‘नोमिनल’ हुन्छन्। उहाँलाई सम्झाउनुस्, प्लिज,’ यति भनेर ऊ स्वात्त भित्र छिरी।
माधव दगुर्दै छेवैमा आउँछन्। ‘के भयो सर? मेरो बच्चा मारे?’ उनले यसो भन्दा म उभिइरहन्छु मात्र। मानौं मेरो मुख कहिल्यै नखुल्ने गरी सिलाइएको छ। उनलाई कसरी भनूँ– तिम्रो बच्चा मर्यो।!
माधव चिच्याउन थाल्छन्, ‘मेरो बच्चा मारे। म पनि यिनलाई मार्छु। बाँकी राख्दिनँ म। अस्पतालमा राक्षसको बास छ।’ चिच्याउँदा चिच्याउँदै उनी बेहोस भएर ढल्छन्।
१७ श्रावण, २०७१
(स्रोत : NagarikNews )