कहिले
बीच गालामा आउँछ
कहिले निधारको छालामा आउँछ
कहिले अनुहार पुरै ढाक्छ
त कहिले खिल पल्टेर पाक्छ
कहिले दुखेर सताउँछ
फुटाउँदा भने आनन्द आउँछ
मलाई मात्र किन भगवान
जहिल्यै डण्डिफोर आउँछ!
जब कसैले
भोजको निम्तो गर्छन्
चिटिक्क परेर जाने रहर हुन्छ
कुनै सुन्दरीसँग नजर
जुधिहाल्ला कि भन्ने ठहर हुन्छ
बिहान नुहाएकै हुन्छु
लुगा पनि सुहाएकै हुन्छ
तर पनि जब
जेल लगाएर कपाल बनाउँछु
अनि ऐनामा यस्सो नजर लगाउँछु
आफैँसँग दिग्दार लागेर आउँछ
नाकको टुप्पोमै डण्डिफोर आउँछ!
कहिले
बेसनको पीठोले मुख धोइयो
जडिबुटि खोजेर अनुहार सजाइयो
सुन्तलाकै बोक्रा पनि कुटेर लगाइयो
राती-राती श्रीखण्डको लेपले
मुहार रातै रंग्याइयो
डाक्टरले मलम पनि दियो
हजामले ब्लिचिंग गर्दियो
केहि दिन चाहिँ हराउँछ
आत्मविश्वास पनि बढेर आउँछ!
तर जब सुन्दर बनेर
सुन्दरीहरूसँग भेट्ने दिन आउँछ
ठ्याक्कै त्यसैबेला खै कुन्नि
कता-कताबाट अप्ठेरो ठाउँमा
डण्डिफोर आउँछ!
(स्रोत : Suresh Badal’s Facebook )