व्यङ्ग्य-कविता : भ्रम–गीता

~रमेश श्रेष्ठ~Ramesh shrestha_1

कौरवहरू–प्रेमको संसार बुझेर
प्रेमगीत गाउने सुरमा
गिटारका तारहरू मिलाइरहेका छन्,
पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै
अझै व्यापार बढाउने लक्ष्य बोकेर
विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्,
देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी
लाज मानीमानी
शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्,
आफ्नो कपाल स्ट्रेट गर्न
ब्युटीपार्लर जाने हतारको मुडमा छिन्– गान्धारी,
इन्द्र प्रसाद र सूर्यकान्तसँग मोबाइलमा जिस्कँदै
पार्लर खोल्ने सोचका साथ
मसाजको कोर्स गरिरहेकी छिन्– कुन्ती,
केट्रीनासँग च्याट गर्दै
नयाँ गगल्स र आइफोन किन्नका लागि
युएस जाने भिसा एप्लाइ गरिरहेका छन्– धृतराष्ट्र,
वेश्यालयमै म्यारिज खेलेर टाट पल्टेपछि
महँगो घडी सस्तोमा बेचिरहेका छन्– मुर्ख विदुर,
भट्टीमा गुन्डागर्दीको शैलीमा हल्ला गर्दै
‰वाइँखट्टेसँग सुकुटी चपाउँदै
दीपिका पादुकोनको चर्चा गरिरहेका छन्–
बैंसालु द्रोण र कृपाचार्य,
जग्गा दलाल जस्तो
छुचो व्यापारीको भेषमा
न्युरोड गेटैमा गुँदपाक बेचिरहेका छन्–
कन्जुस कर्ण,
आमाको कुरै नसुनी
ट्याटुले छोपिएको ट्यापे शरीर बोकेर
स्वस्थ्यकर लामो आयुका लागि
जिम गइरहेका छन्– अभिमन्यु,
भद्दा मेकअप र वनपिस सुट्ससँगै
भरखरै खोलेको नयाँ बारमा
टकीलाको सट् हानिरहेकी छिन्–
चोथाले द्रोपदी,
ब्याक पेपर दिनका लागि
कोचिङ क्लास धाइरहेका छन्–
दूरदर्शी अस्वत्थामा,
सम्पूर्ण जीवन सत्यको उज्यालो भेट्न
सत्य भजन गाइरहेका छन्– शकुनी,
महान लेखक बन्ने धुनमा
अर्काकी छोरीलाई काखमा राखेर
लेख्न सिकाएको अभिनय गरिरहेका छन्– पाखण्डी व्यास,
पत्नी वियोगको चोटले
एकल पुरुषको जीवन बिताइरहेका छन्– सोझो कृष्ण,
अनुपस्थित छन् जिजीविषाका लागि मुग्लान भासिएका
सञ्जय, बार्बरिक, द्रोपद र थुप्रै गाउँलेजनहरू
म छु– महँगो गाडी चढेर पेटभरि खान पाएका जनता र
भोका, नांगा, अधिकार नपाएका नेताहरूका भीडमा
कविताको मधुरो न्यानोमा
जीवन तापिरहेको एउटा कवि–
मलाई माफ गर कविता!
यो ज्यादै दुब्लो आत्मसम्मान बोकेको
छियाछिया हृदयमा म तिमीलाई
अझै धेरै समय
भ्रममा राख्न सक्दिन,
मलाई माफ गर कविता!
जीवनको प्रीतिकरलयका लागि
नदी जस्तै अविश्रान्त बग्न लेखिएको गीतालाई
पाखण्ड प्रिय तस्करको चस्माको वरिपरिबाट
म भ्रमको आँखाले हेर्न सक्दिन।
हे ईश्वर, तिमी नमरेका भए
नयाँ गीत लेख्न
म तिमीसँग नै युद्धको आह्वान गर्थें,
म तिम्रो नयाँ मृत्युबाटै
मेरो नयाँ सभ्यताको सुरुवात गर्थें।

११ असोज, २०७१

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.