कथा : नयाँ लुगा

~बसन्त विवश आचार्य~Basanta Biwash Acharya

पारी बस्तीबाट फुत्त झर्दै गरेको लाहुरेको “अच्छा लेकिन”ले वारि गाउँसम्म ध्वनि प्रदूषण गरेको छ । कालापहाडबाट सपना र रहरमा थोरै खुसीको जलप लगाएर जुँगामा ताउ लगाउँदै फर्किनेहरु विश्वविजेता नेपोलियनको अनुहार चोरेर हिडिरहेका छन् । यो मौसम देख्दा लाग्छ– यो संसारमा परदेशीका लागि खुसीभन्दा अर्को कुनै शब्द पनि जाती हुँदैन ।

कुनै षोडशीको शरीरजस्तो टम्म मिलेको बेंशी फाँटलाई गिज्याउँदै पहाडमा अडेस लागेर उभिएको छ जालसरा गाउँ । भगवानले फूर्सदमा सुन्दर मान्छे बनाए । तिनै मान्छेले फूर्सदमा सुन्दर गाउँ बनाए । फाँटको रक्षार्थ पहाडको छातीमा अग्ला–अग्ला तोपभन्दा पनि शक्तिशाली हरिया खम्बाहरु उम्रिएका छन् । तिनका हरिया केशराशीहरुलाई चुम्बन गर्दै बतास यताउता दौडिरहन्छ । बतासको वेगले मोहित भएर कति त त्यहीं बतासको प्रेमजालमा फस्छन् । बिचरा बतासको क्षणिक प्रेमलाई विश्वास गरेका हरिया केशराशीले कतिबेला आफूलाई भूइँमा पाउँछन् थाहै हुँदैन । बेंशीफाँटको किनारै किनार त्यहीं अग्लो पहाडलाई चिरेर आएको साँखु नदी कछुवा तालमा बगिरहेको छ । थाहा छैन यो नदी किन गन्तव्यमा पुग्न चाहन्छ ? किन यसको गति धिमा छ ? रहस्य कहिल्यै खोल्दैन साँखुले र त रहस्यमय छ ।

यही नदी हो, जालसरा गाउँलाई जीवन दिने, अनि मृत्यु पनि दिने । “परार साल साँखु बौलाएर गाउँ सोत्तर पा¥यो । धन्न डाँडामा बस्ने भएकाले मान्छेलाई केही पनि भएन । अग्ला सिपाहीजस्ता रुख जो थे, सुरक्षाका खातिर ।” गाउँका मानिसहरु अहिले पनि त्यो दिन सम्झदा मनमा भयानक आँधी आएको महसुस गर्दछन् । जीवन दिने साँखु कहिलेकाहीं मृत्यु पनि बनेर आइपुग्छ । दूध दिने गाईको लात पनि त सहनुप¥यो । गाउँलेहरुको केही गुनासो छैन साँखुसँग । छ त केवल आफ्नै भाग्य र ढुंगामा चित्र कोरिएर बनेका देवतासँग ।

वेपर्वाह पश्चिमबाट एक हुल बतासले अविचलित खम्बाका हरिया केशराशीहरु फर्फराइरहेका छन् । यी रुखका कोमल पातमा मिल्दो हो त मौरी परागसेचन गथ्र्यो होला । असोजको महिना भर्खर–भर्खर जाडो गाउँ पस्तै छ । जालसरा गाउँमा अन्तभन्दा छिट्टै जाडो पस्छ । यहाँ जाडोको आक्रमण बढेको केटाकेटीका कानेटोपी र बूढाबूढीको “बर्को”१ ले महसुस गराउँछ । बूढाबूढी र केटाकेटीका अनुहारले पोतिएको जालसरालाई जाडोले छिट्टै छोप्ने गर्छ । सानोतिनो जाडोलाई “बाल मतलब” दिने बलिया पाखुराहरु पैसा उमार्न परदेश जो भासिएका छन् ।

बेंशी फाँटले धानेका जिन्दगीहरुमध्ये एउटा जिन्दगी चनमती पनि हो । दुइ छोरीसहित चार जनाको चनमतीको परिवारमा दैवको आँखा परेछ क्यार ! पोहोर बाढी पसेर घरसँगै सिन्दूर पनि लगेपछि चनमतीको सिउँदोसँगै मन पनि उजाड बनेको छ । कालापहाडबाट खेती लगाउन गाउँ पसेका भक्तबीरलाई बाढीले एकै गाँस पारेपछि चनमतीको अनुहारका खुसीका रेखाहरु मेटिएका हुन् । दुई नाबालक छोरीहरुलाई बाबुको समेत ममता मात्रै होइन गाँसको समेत व्यवस्था गर्ने पूरापूर जिम्मेवारी चनमतीको काँधमा परेको छ । जमिन्दारको बाँझो भूमि खोस्रिएर जिन्दगीको बाटो हिड्ने यात्रा भक्तबीरको मृत्युसँगै मेटिएर गयो । घरभरि अभाव पस्दा पनि चनमतीले रोक्ने कुनै बाटो देखिनँ ।

पाँच कक्षामा पढ्ने छोरी बुनु र दुई कक्षामा पढ्ने छोरी कान्ताको अनुहारमा दशैंको रौनक छाइसकेको छ । पोहोर बाबुको जूठो परेको थियो, मन अमिलो बनाएर काटे । अहिले घाउ पुरिसकेका छन् । अभाव लेख्न र पढ्न मात्र जानेका छन् उनीहरुले । फूलजस्ता कलकलाउँदा छोरीहरुलाई दुःखको छायासम्म नपरोस् भन्ने सोचमा चनमती सधैं लागिरहेकी हुन्छे । मान्छे बाबु या आमा बनेपछि आफ्नो बारेमा कम सन्तानको बारेमा ज्यादा सोच्छ क्यार ! चनमतीले पनि सन्तानकै बारेमा सोची र त कैयौं पटक प्रस्ताव आउँदा पनि घरजम गरिन ।

कुनै बिरानो परदेशीजस्तै दशैं अचानक आँगनमा टुप्लुक्क आइपुग्यो । सबैका अनुहारमा खुसीका रेखा कोरिएका छन् । अनुहारले खुसीको भाषा बोलिरहेको छ । दशैंको उल्लासले मुग्ध छ सारा गाउँ बस्ती । चनमतीको घरसम्म पनि दशैं दौडिएर आइपुगेको छ तर मनमा भने कसरी आउनु ? दुःखजिलो गरेर जेनतेन बिहान साँझको छाक टार्ने चनमतीको आँखामा पेट भर्नुभन्दा खासै ठूला सपना अटाएका पनि छैनन् । आँगनमा छोरीहरु दशैंको उल्लासले रमाएका छन्, “दशै आयो , खाउँला पिउँला…” चनमतीको मनमा भने पीडाको बादल अटेसमटेस गरिरहेको छ ।

“आमा बजार कहिले जाने लुगा किन्न ?” सानी छोरीले अनुहारमा इन्द्रेणीको रङ चोरेर प्रश्न गर्छे ।

“जाने हो छोरी मलाई आजभोलि फूर्सद छैन ।” जवाफ चनमतीसँग केही पनि थिएन । तर पनि छोरीको मन बिटुलो नहोस् भनेर बनावटी जवाफ फर्काउँछे ।

“आमा हामीलाई पनि साथीहरुले लगाएजस्तै राम्रो लुगा किनिदिनुहोला है ।”

जेठी छोरीले पनि ओठको एक कुनामा गुरासको रंग भर्दै मौखिक मागपत्र पेस गर्छे ।

ऊ “हुन्छ” को भावमा टाउको मात्रै हल्लाउँछे ।

……..

चनमतीसँग एउटा आशाको त्यान्द्रो छ “खैरे” ।

माइती देशमा उसलाई एक वर्षअघि आमाले दिएकी हुन् खैरेलाई ।

यसपाला दशैं मनाउने आधार नै खैरे हो, उसका लागि ।

चालीस किलो जतिको भएको छ, त्यही काटेर छोरीहरुलाई लुगा, घर लिप्ने रङ अनि छुटपुट सबै काम पूरा गर्ने उसको सपना छ ।

सपनाको उचाइ पनि पैसाले बनाउने न हो ।

उसका आँखामा खासै ठूला सपनाहरु अटेसमटेस गरेर अटाउदैनन् ।

चनमती दुई दिन भयो साह्रै तनावमा छे । छोरीहरुको खुसी किन्नका लागि उसले पालेको बाख्रो दुई दिन भयो झोक्राइरहेको छ । कैयौं सन्ताप र ताप खेपेर हुर्काएकी हो उसले खैरेलाई । एकातिर नाकबाट निरन्तर चिप्लो पानी बगिरहेको छ भने अर्कातिर केही दिनदेखि केही पनि खाएको छैन ।

चनमतीको एक वर्षको सपना कतै हुरीले उडाउँछ कि ? मनमा आशंकाको आँधी वेगले हुत्तिएर आएको छ ।

“आमा खैरेलाई के भयो ?” अलि बुझक्की जस्ती जेठी छोरीले प्रश्न गर्छे ।

“खोइ बा दुई दिनदेखि सन्चो नभएको जस्तो गरेको छ, के भयो के भयो ?” चनमतीको अनुहारमा बैराग्य टाँसिन आइपुग्छ ।

“खैरे बिरामी भइरह्यो भने हामीले कसरी लुगा किन्ने आमा ?” कान्छी छोरी आफ्नै सुर्तामा छे ।

चनमतीसँग यसको जवाफ छैन । मनैबाट निस्किएका ताता आँसुले गाला भिजाउँछे, आँसु आफैले बनाएको डोबमा दौडिन्छ । आँसुको जवाफ के बुझ्थी बिचरा नाबालकले ।

“साथीहरु सबैले नयाँ लुगा देखाइरहन्छन्, मलाई त जसरी पनि किनिदिनुपर्छ है ।”

कान्छी छोरीका वचन उसको मुटुका शूल बनेर घोच्छ । जेठी छोरीले थप्छे, “अनि मासु नखाको पनि कत्ति धेरै दिन भयो । यसपालि त मज्जाले खाने हो ।”

दशैं घर्किसकेको छ । सबैका घरहरु रहर र खुसीले रङ्गिएका छन् । टोलका केटाकेटी को भन्दा को राम्रो भन्दै ठाँटिएका छन् । उनीहरुको खुसी नाप्न दशैंलाई समेत हम्मे–हम्मे परेको छ ।

व्यथाले च्याप्दै लगेपछि भेटेनरीबाट ल्याएको औषधि उसले बाख्रालाई खुवाइरहेकी छे । आशाको एउटा मात्र त्यान्द्रो त्यहीं खैरे त हो । उसका लागि जीवनमा सबैभन्दा ठूलो भन्नु नै त्यहीं बाख्रो भएको छ अहिले ।

छोरीहरु आमाले दशैंमा आवश्यकता पूरा गरिदिन्छे भन्ने आशा फुलाएर औंला भाँचिरहेका छन् । पञ्चमीको दिन भइसक्यो बाख्रो बीसको उन्नाइस भएको होइन । बरु एक्काइस भएर पो गएको छ त । छोरीहरुको ढिपी उस्तै छ । अलि बुझक्की भनिएको जेठी छोरीले पनि पञ्चमी कटेपछि जिद्दी गर्न सुरु गरिसकेकी थिइ ।

गाउँमा कतै पैसा सापटी माग्न जाउँ भने खासै आयश्रोत नभएकी चनमतीलाई कसले पो पत्याउँथ्यो र ? तैपनि साहस गरेर जुनेली कहाँ गइ । जुनेलीका बूढा भर्खरै साउदीबाट फर्किएका थिए । चनमतीका श्रीमान र उनी बालसखा थिए । उसले छोरीहरुका दुःख देखाएर सहयोगको याचना गरी । तर जुनेली र उसका बूढाले कुरा सुने मात्र । सहयोगको लागि मन पग्लिएन । चनमतीले एक्लो र बेसहारा हुनुको पीडा महसुस गरी ।

बेसहारा चनमतीका लागि अब एउटै सहारा थियो खैरे । सास रहुञ्जेल आश रहन्छ भनेझैं खैरे निको हुने आशामा चनमतीले आफूलाई सम्हालिरहेकी थिइ । सप्तमी भइसक्दा पनि खैरेको निको हुने कुनै छाँट रहेन । छोरीहरुले लुगा नकिनिदिएको विरोधमा खाना खान मनाही गरिसकेका थिए ।

चनमतीसँग सम्झाउने कुनै शब्द पनि थिएन । बिचरा छोरीहरु बाबुले संसार छाडेदेखि नयाँ लुगा कस्तो हुन्छ अनुभव गर्न पाएका छैनन् । बाल्यकालमा लगाउने, खाने रहर लाग्ने त भयो । सँगैका साथीहरु रङ्गीचङ्गी भएर रमाइरहेका छन् । सबैका घरमा मासुको मिठो सुवास आइरहेको छ । उसका घरमा भने साँझ बिहान खानका लागि समेत चामल छैन । बालबच्चा न भए, कसरी घर व्यवहारको कुरा थाहा पाउलान् ? फेरि बालापनका रहरहरु कहाँ हैसियत बुझेर आउँछन् त ? श्रीकृष्णले बालापनमै त होइन यशोदालाई चन्द्रमा भूइँमा ल्याइदेऊ भनेर जिद्दी गरेको ।

घरमा छाक बन्द हुँदासमेत गाउँका कसैले पनि चनमतीको दुःखतिर आँखा लगाउने प्रयत्न गरेनन् । मान्छे एक्लो भए साँच्चै सबैले एक्लै बनाउँदा रहेछन्् । मान्छेको जात न हो आफूलाई पो प्लेटले काटेको पनि दुख्छ अरुलाई खुकुरी हानेको पनि कहाँ महसुस गर्छन् र ?

चनमतीसँग अब हाँस्नका लागि अतीत मात्र छ । वर्तमान त उसका आँखा र मनभरि आँसुले भिजेको छ । आँखाको पानीले मनलाई सिचाइ हुने भए उसको छातीमा संसारको सबैभन्दा बहुमूल्य चीज उम्रने थियो । आँसुको पोखरी रित्तिदो हो त चनमतीको जीवनमा के नै सहारा हुन्थ्यो होला ।

भक्तबीरसँग मीठा सपना बोकेर चुक घोप्टिएको रात सधैंका लागि भागेर जाँदा चनमतीले कहिल्यै पनि आँसुको पीडाबोध गरिन । प्रेममा लिप्त मान्छेको दिमाग शून्य र मन सक्रिय हुन्छ । उसले पनि दिमाग शून्य पारी । कुजातसँग जात फालेको निहुँमा उसका लागि माइतको ढोका सधैंका लागि बन्द भयो । चनमतीले कहिल्यै अभाव महसुस गरिन । आमाले लुकी–लुकी माया गर्थिन् । बाबु कठोर थिए, कहिल्यै पनि मन पग्लाएनन् ।

खैरेलाई बचाउने सबै आशा करिब–करिब सकिएपछि चनमतीको ढुंगामा चित्र कोरिएका भगवानसँग प्रार्थना गर्ने एकमात्र बाटो बाँकी थियो । आशाका सबै डोरीहरु चुँडिएपछि त हो नि मानिसले भगवानलाई हात जोड्ने ।

आज नवमी, गाउँभरि परदेशबाट फर्कनेहरु सबै फर्किसकेका छन् भने दशैंको तयारी पनि सबैले गरिसकेका छन् । लुगाफाटो, मासुमात्र होइन कतिपयका घरमा ठूला–ठूला भित्ताभरि हुने टेलिभिजन सेट, कसैकोमा फ्रिज त कसैका घरमा मोटरसाइकल, गाडी, नानाथरिका सामानहरु जोडिएका छन् । चनमतीको घरमा त बत्ती पनि छैन । अरु कुरा त परै जाऊन् । फेरि उसका छोरीहरुले पनि खासै ठूला सपना देखेका पनि त छैनन् सिवाय एकसरो लुगा । तर पनि चनमतीको गरिबीले छोरीका सपनाहरु पूरा गर्ने सामथ्र्य राख्न सकेन ।

दशमीको दिन भइसक्दा खैरेले प्राण छाड्ने तरखर गर्दै थियो । भगवानले पनि खैरेलाई जीवन दिन नसक्ने भए । दश दिनदेखिको चनमतीको सपना अन्ततः अधूरो रहने भयो । छोरीहरु उस्तै आँखाबाट आँसु बगाएर रोइरहेका छन् । चनमतीका आँखा त झन् कहिले ओभाएका छन् र ? मान्छेले आफ्ना आँखाका आँसु जेनतेन थेग्ला तर सन्तानको आँखामा आँसु कहिल्यै पनि थेग्न सक्दैन ।

चनमती सरासर कोठाभित्र जान्छे । बर्रे२ घरको दलीनमा बाँध्छे अनि अन्तिमपटक संसार हेरेर पति गएको शहरमा जान्छे ।

सारा गाउँ दशैंको उन्मादमा रमाइरहेका बेलामा चनमतीको आँगनमा दुइटा लास छन्– खैरी र चनमतीको । रुने पनि दुइ जोर आँखा मात्रै छन् ।

‘आमा नयाँ लुगा चाहिदैन तर तपाइँ ब्यूँझिनुस् ।’

***

१ ऊनले बुनेको ओढ्ने लुगा
२ गाउँघरमा भारी बोक्नका लागि प्रयोग गरिने बाबियो÷भीमल वा भाङ्गोको डोरीबाट बनाइएको डोरी ।

(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.