हास्य कथा : स्वयमसेवक

~दीप हाँडीगाउँले~

धेरै अगाडीको कुरा हो हाम्रो टोल (हाँडीगाउँ)मा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु। बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई तीन बजे सम्म लागि परेका हुन्थे। रीले भोक हडताल भने जस्तो उनीहरुको काम पनि त्यै रीले आदर्शले प्रेरीत थ्यो। तर कोई कोई त कामको निरन्तरतामा समर्पित थिए।

के गर्थे त स्वयम सेवकदाईहरु? धेरै थियो काम। जस्तै– झिसमिसेमै उठेर चुरोट सल्काउँदै ठीटीहरु अलि धेरै हुने ठाउँमा दर्शन गर्न जान्थे–उनीहरु भन्थे ठीटीहरु भनेको आगो हुन। आगो भन्या बल्या बेलाँ हो ताप्ने। स्वयम सेबकहरु दार्शनिक पनि थिए। भनेको कुरा सधै बुझाउँदैन थिए। आफै बुझ्नु पर्थ्यो।

मन्दिरतिरको कार्यक्रम पछी उनीहरु भिमसेनथानमा छेउको पर्खालमा कोई टुक्रुक्क बसेर कोई ढल्केर कोई पलेटी मारेर कोई अढेस लाग्दै ग्वाटेमालामा को राष्ट्रपति भो, बुरुण्डीको प्रति ब्यक्ति आय कति हो, श्रीदेबीले बोनी कपुर संग किन बिहे गर्या हो जस्ता अन्तराष्ट्रिय ज्ञान आदान प्रदान गर्थे। स्वदेशको बारेमा त सबैलाई एउटै कुरा थाह थ्यो। “खत्तम्” । स्वदेशको बारेमा यै एउटा शब्दले काम पुर्याउँथ्यो।

दिनभरी सडकाँ भाका बत्तिमा तारो हान्थे, अनि मध्यरात तिर भट्टी हुँदी बाट नागबेली हान्निदै आउँदा एकातिर ढलमा जाक्किन्थे अनि भन्थे यो चोर नगरपालीकालाई आगो लाउन नपुग्या — साँझैमा यस्तो केई देखिदैन — झन रात परेसी के गर्ने?

दिनभरी सड्क निरीक्षणमा हुन्थे। काँ हिन्या दाई? भन्यो “यत्तिकै” भन्थे–कैले बानेश्वरमा भेटीन्थे कैले बालाजुमा कैले कुपण्डोल तिर पुग्या हुन्थे। त्यता तिर उनीहरु गएका होईनन, पुगेका हुन्थे। अनि साँझ तिर कैले थाकियो भन्दै कैले जाडो भो भन्दै भट्टी तिर छिर्थे। उनीहरु निस्किदा भुस्याहा कुकुरहरुको सा रे ग म सुरु भाको हुन्थ्यो। स्वयम सेवकदाईहरु पनि स्वरमा स्वर मिलाउँथे। कति जाँड खाए त्यो उनीहरुले गीत बाट थाह हुन्थ्यो, नेपाली, हिन्दी, नेवारी, अंग्रेजी सबै खाले गीत गाउँथे। एउटाको लयमा अर्को भाषाको गीत पनि सजिलै गाईदिन्थे। त्यस्तरी राती को एक दुई बजे सम्म बसेर सांगीतिक कार्यक्रम पेश गर्दा पनि बिचराहरुले जस भने पाउँदैन थिए। श्रोताहरु बेला बेला बरु झ्यालाँ आएर सराप्थे। तै पनि स्वयम् सेबकहरुको हौसलामा कुनै कमी हुँदैनथ्यो।

त्यो स्वयम सेबकदाईहरुमा एउटा दाई थिए। धुर्बदाई। उनी मसिनो बोल्थे तर मात्रा पुर्याएर। उनी जाँड खाएर अर्कै टोलमा गीत गाउन जान्थे रे। हामी स्कुल जाँदा भिमसेन थानमा चिया र चुरोट तान्दै हुन्थे। स्कुलबाट फर्किदा नी त्यै हुन्थे। कुरा गर्न खप्पीस थिए।

भिमसेन थान अगाडी चिया नास्ता पसल थियो। अरु स्वयम् सेवकहरुको खाता धमाधम बन्द हुँदा पनि उनको चै खुलेकै थियो।

१०० रुप्या उधारो पुगे पछी, उन्ले १० रुप्या साहुजीलाइ दिदै भनेछन, साहुजी यो चै ब्याज हो है। सय रुप्या त म डक्कै तिर्छु। यो साउँमा नघटाउनुस। १५० रिन पुगे पछी २० रुप्या ब्याज तिरेछन। साउँ त छदै छ। ५०० रिन पुर्याए पछी १०० रुप्या
ब्याज तिरेछन धुर्बदाइले। ५०० त साउँ हो म ड्य्याक्कै तिर्छु साउजी भने छन। साउजी पनि दंग। ब्याजैले साउँ तिर्न आँटीसक्यो भन्थे रे दंग पर्दै। पछी पछी धुर्बदाई पसल भित्रै गहकिला चिज पनि खाँदै गरेका देखिन थालेका थिए।

एउटा शनिबार दिउँसो म पनि त्यै साहुजी कहाँ पाउरोटी किन्न गाको, साहुजी त बहुला कुकुर जस्तो भाका रे छन। एक छिन केही नबोल्ने, घोरीईरहने, फेरी एक्कासी जाई लाग्ने। धुर्बदाईले रिन तिरेनछन भन्ने बुझ्न मलाई केही समय लागेन। सधै देखिने धुर्बदाई थिएनन वरीपरी त्यो दिन। साहानुभुती त दिन मन थ्यो साहुजीलाई। ध्रुबदाईले डुबाए हो साहुजी भन्दै कुरा सुरु गरम की जस्तो नी नलाग्या त होईन, तर फेरी त्यै पाउरोटी काट्ने स्याङीले तिघ्रा रेटलान भनेर केई नभनी निस्कें।

बाहीर भिमसेनथानमा अरु स्वयम् सेवक थिए। त्यहाँ गएर, धुर्बदाइले साउँ नतिर्ने भए जस्तो छ नी हो दाई? भनेर एउटालाई सोधेको, उन्ले लामो सर्को छोडदै झर्केर भने “आफुलाई ह्याँ क्या ट्र्याजीडी परीरा बेलाँ —” “

के भो दाइ?” मैले ती स्वयम सेबकलाई सोधें।

“धुर्बेले बुढाको छोरी लिएर हिन्देछ–त्यै एउटी थिई” उनले फेरी लामो सर्को ताने।

——

अस्ति एक्कासी धुर्बदाईलाई यहाँ एउटा ठुलो पसलमा भेट भो। “धुर्बदाई हैन?” मैले सोधें।

उनले यसो एकछिन नियालेर “ल हेर —” भन्दै दरो सँग हात मिलाए। भलाकुसारी भो। “स्कुले झोला बोकेर हिन्या देख्या तिमीलाई— कति बर्ष भो कति नी है–अनि तिमी यतै हो? ” उनले सोधे।

“हो दाई म यहीँ नजिकै छु। अनि दाई नी?” मैले सोधें।

म त भरखर हो यता सरेको , पैले उता तल भर्जिनिया तिर थिएँ — यता टाउनहाउस किन्या छु, आउन — ल हिन अहिलेई हिन — पुराना दिन सम्झाएउ तिमीले बुझेउ भाई?” उनले दङ पर्दै भने।

यत्तिकैमा एउटी उमेर ढल्केकी दीदी र बैंसमा चम्केकी ठीटी आए अनि धुर्बदाई सँगै उभिए।

उनले श्रीमती र छोरी चिनाए, मैले नी चिने। नहेरम भन्दा भन्दै पनि छोरी चैंलाई धेरै हेरीईछ।

“ल त है भाई” उनले बिदा माग्दै हिने।

“घर जाने भन्या हैन त दाई?” मैले नी त्यान्द्रो भए पनि किन छोडीहाल्नु भनेर सोध्या “म फोन गरम्ला” भनेर हिने।

फोन त अब उनले मलाई छोरीको बिहे अघि गर्या गरेइ हो।

****************

(स्रोत : Sajha )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.