कथा : खराब सोचाई

~सरण राई~Saran Rai

बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन ।

यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु । दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ । साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु । म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ, कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ । तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ, मलाई साँपले डसेकै छैन । म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ ।

केहि दिन अगाडी माछाको तरकारी खाँदा ‘माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्’ भन्ने सम्झदै खाईरहेको थिएँ । मेरो पनि घाटीमा काडा अडकिए म निकाल्ने सक्तिनँ’ भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा चपाई रहेको थिए, बेसुधमा निलेछु एउटा काडा साँच्चै गाडिएको महसुस गरें । घाँटीमा होइन जिब्रोको जरामा जसलाई मैले निकै निकाल्ने प्रयत्न गरें, हरेस खाएर डाक्टरकहाँ पुगेपछी मात्रै छुटकारा पाएँ । कस्तो साक्षात सोचाई । त्यस्तै आजको खराब सोचाई पनि साक्षात भयो भने ….

केवल एक घण्टा !
मात्र एक घण्टाको मेरो जीवन । मेरा असख्य दायित्वहरु; एक घन्टाभित्र म के गर्छु ?
मेरा प्रियजनहरुको चेहरा मेरो आँखामा झुल्किन्छ । मेरो प्रिय पत्नी, एक वर्ष नपुगेको छोरो, भर्खर स्कूल जान लागेकी छोरी । बैंशले छाडेका मातापिता, भाईबहिनी सब ममाथि आश्रित छन् । आयु सिध्दिएको मृत्युको मुखमा भएको म उनीहरुलाई कस्तो शन्देस दिन्छु होला ।

पत्नीलाई — मेरो अभावमा तिम्रो सुखमा बाधा नपरोस । तिमी विवाह अघि झैं स्वतन्त्र छौ, तर छोराछोरीलाई राम्रो लालन पालन गर्ने तिम्रो अभिभारा ।

मातापितालाई — दु:ख नमान्नु नातिनातिनीको चेहरामा मेरो अपूर्णताहरु पूर्ण भएको हेरर सन्तोष गर्नु । भाईबहिनीलाई— सधैं उन्नति र श्रम गरेर जीवनको उज्यालोले धरतीलाई आलोकित पार्नु ।

छोराछोरीलाई — आमालाई नसताउनु । मेरो अधुरो कामहरु पुरा गर्नु । मेरो हार्दिक कामना र आशिर्वाद ।

साच्चै म यस्तै कामनाहरु व्यक्त गर्छु होला त ! विवादास्पद कामनाहरु । म आफै शङ्का गर्छु । म त्यति महान भएर त्यस प्रकारको कामना सायद गर्न सक्तिन । यदि गरिहालें भने पनि बाँच्नेहरुले मेरो सन्देसको पालना गर्न सक्ने छैनन् र त्यसभन्दा बेग्लै प्रकारको इच्छा पनि सायद म व्यक्त गर्न सक्तिनँ । मेरो पत्नीलाई मैले स्वतन्त्रता दिएँ, सुखको कामना साथै छोराछोरीको लालनपालनको अभिभारा सुम्पे तर्कसङ्गत छैन, व्यवहारमा साकार हुन सक्तैन । त्यस्तै अरूप्रतिको मेरो इच्छा पनि ।

जसलाई पहिले आफ्नो मृत्युको निश्चितता थाहा भएको हुन्छ, उनीहरुले पनि यस्तै इच्छा व्यक्त गर्छन त ? अँ ह मलाई थाहा छैन । बेग्लाबेग्लै इच्छा बेग्लाबेग्लै मानिसहरुले व्यक्त गरेका छन् जुन इच्छाहरुले वास्तवमा उनीहरुको जीवनको इच्छाको पूर्णताको झलक दिन सक्तैन । इच्छा, संदेश, कामना सधैं अधुरो हुन्छ जसमा गर्नेको आदर्श पूर्णतया प्रतिविम्वित हुन सक्तैन । आदर्श प्राप्ति त बाँचेर निरन्तर सङ्घर्ष गर्दा केहि अंश अंशमा प्राप्त हुने वस्तु हो । साँच्चै म पनि एकै घण्टा बाच्ने भए भने …

बाँच्ने अभिलाषा, जीवनप्रति मोह, स्नेह, विरक्ति, खिन्नताको भावहरुले भरिएको मेरो चेहरालाई हेरेर मेरा प्रियजनहरुको आँखामा आँसु ढळपळ भएको देख्दा म यी सन्देशहरु सायद भन्न सक्तिन होला । अनि मलाई जीवनप्रति अगाध, असिम, अतुलनीय मोह उब्जेर एउटै मात्र चित्कार गर्न पुग्छु होला — मलाई बचाउ, म बाँच्न चाहन्छु । सायद म बाच्दिन भन्ने थाहा भएर पनि बाच्दिन वा बाँच्छु कि भन्ने आफ्नै विषयमा सोच्दा र बाँच्ने प्रयत्न गर्दागर्दै सायद अरु कसैको बारेमा सोच्ने पो सक्दिन कि ? आफ्नै बारेमा मात्र सोच्दासोच्दै मेरो प्राण पखेरु उडी हाल्छ कि ?….

म अझै कति वर्ष बाँच्छु ? छि कस्तो दु:खदायी खराब सोचाई !

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.