झयापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको थियो । त्यसमाथि जुम्रा परेर रातदिन कपाल कन्याइ रहन्थ्यो । ऊ राती आरामसँग सुत्न पनि सक्तैनथ्यो । उसका आमा, बा र तीन वटी दिदीहरुले उसलाई कपाल काट्न् धेरै पटक भन्दा पनि उसले मानेन ।
एक दिन साँझ भात खाने बेलामा झयापुल्लेले उधुमै मच्चायो । उसले कसैको पनि कुरा टेरेन । उल्टै रिसाएर ऊ भात नखाई सुत्न गयो ।
झयापुल्ले सुत्न गएपछि उसका आमा, बा र दिदीहरुले उसलाई कसरी तह लाउने भन्ने सल्लाह गरे । उसको कपाल नकाटि हुँदैन भन्ने निधो भयो । राती ऊ मस्तसँग निदाएको बेलामा उसको कपाल काटिदिने योजना बन्यो । तर ऊ मुडुलो नदेखिने गरी कपाल छोटो मात्रै पार्ने सल्लाह भयो ।
राती झयापुल्लेकी आमा उठिन् र सुस्तरी उसको कोठामा गइन् अनि धारिलो कैंचीले बिस्तारै झयापुल्लेको कपाल अलिअलि काटिदिइन् ।
केही बेरपछि झयापुल्लेको बा उठयो । आमाचाहिँले झयापुल्लेको कपाल काटिसकेको कुरा उसलाई थाहा भएन । ऊ पनि चाल मारेर झयापुल्लेको कोठामा गयो र थाहा नपाउने गरी कपाल छोटयाइदियो ।
रात धेरै छिप्पिइसकेपछि झयापुल्लेकी ठूली दिदी उठिन् । सल्लाह अनुसार उसले पनि सुस्तरी झयापुल्लेको कोठामा गएर उसको कपाल काटेर आफ्नो कोठामा आएर निदाइन् ।
ठूली दिदीले झयापुल्लेको कपाल काटेको कुरा मस्त निन्द्रामा परेका दुइटी बहिनीहरुले थाहा पाइनन् । उनीहरुले पनि पालैसँग चाल मारेर झयापुल्लेको कोठामा गएर कपाल काटिदिए ।
भोलि बिहान झयापुल्ले उठ्दा उसले आफ्नो ओछयानभरि रौंका गुजुल्टा छरिएको देख्यो । ऊ हत्तपत्त ऐना हर्ेन गयो । ऐनामा उसले एउटा मुडुला भालु देख्यो । उसले हात टाउकोमा लगेर छाम्यो । ऐनाको मुडुला भालुले पनि त्यस्तै गरेको देखेर ऊ एक्कासी चिच्यायो । “मलाई कसले मुडुला बनाइदियो-” ऊ रुन कराउन र भुइँमा लडिबुडी गर्न थाल्यो ।
झयापुल्ले रोएको सुनेर सबै जना उसको कोठामा पुगे । उसको मुडुलो कपाल देखेर उनीहरु सबै छक्कै परे । अनि एकअर्कालाई हर्ेर्दै सोध्न थाले ।
आमा, “कसले यति छोटो गरेर काटिदियो – मैले त थारै मात्रै काटेकी थिएँ ।”
बा, “तिमीले पनि यसको कपाल काटिदिइछौ -“
ठूली दिदी, “कसैले पनि काटेन होला भनेर मैले पनि थोरै काटिदिएकी थिएँ ।”
“हे भगवान मैले पनि यसको कपाल काटेकी थिएँ ।” माइली दिदीले भनिन् ।
“पाँचै जनाले कपाल काटिदिँदा हेर मेरो भाइको अनुहार कास्तो भयो । बिचारा !” भन्दै कान्छी दिदी भाइसँगै रुन थालिन् ।
(स्रोत : कोपिला, कान्तिपुर बालकोसेलीमा २०५९ मंसिर २० गते शुक्रबार प्रकाशित)