खुल्दा–खुल्दैको आँखामा
बास बस्न आए थे
केहि थान बिम्बहरु
– सपनाजस्तै …………… ।।
सपना–‘कल्पनातित आकाश’
जुन,
मिर्मिरेमा
दुबोका पात–पात भएर सुसेल्ने गर्थ्यो
घामको पहिलो किरण बोकी उड्ने
परेवाका प्वाँख–प्वाँख भएर छरिन्थ्यो ।।
मध्यान्हको विरक्तिमा
घडिफूल भएर मुस्कुराइदिन्थ्यो
कहिले,
चौतारीको वरपिपल भएर सुस्ताइदिन्थ्यो
र कहिले
गोधुँलीका सारौंका तातिँ झैं
कुन्नि कता–कता हराइदिन्थ्यो ।।
ममा मोह थियो सपनाको
म मान्छे थिएँ/हुँ
एकपटक– त्यो पनि मान्छे बनेर आएको थियो
म सम्झन्छु ,
त्यसका नयनका निल गहिराइ
त्यही मैले आस्थाका उचाइहरु छुन खोजेको थिएँ
याद छ,
त्यसका हत्केलाका ब्यथित धर्साहरु
त्यही मैले भूगोलका सीमाहरु भेट्टाएको थिएँ ।।
आँखैमा छ
विषादले खुजमुज्जिएको त्यो निधार त्यसैमा त टाँसिएथे
‘तातो घाम खोजी ल्याउनु’ आमाका अश्रु–आर्शिवादहरु
अनि
च्यातिएको गोजि/ हरियो पासपोर्ट
त्यो सँगै त
वनबासी भएथे, सवै–सबै उज्यालाहरु ।।
(टुटेथ्यो मेरो सपना………………….)
टुटाइको
त्यही पलदेखी
छन् – मौन पाखाहरु
–निर्जन बाटाहरु
– आवाजहीन सल्लेरीहरु
र
छ गहिरिदो – मेरो स्वप्न मोह ।।
पोतिइरहेछन् /मेटिइरहेछन्
मै भित्रको क्यानभासमा
रंगहीन/रंगिन आकृतिहरु,
स्व–स्फूर्त
उभिदैछन् /बिलाउदैछन्
केही काव्यिक,केही स्वप्निल स्ट्याचुहरु ।।
उडिरहेकै छु म –आँधीमा
गाइरहेकै छु –चन्द्रसूर्यको गीत,
चाहिरहेकै छु –देख्न
फेरी सपना ‘सपनाको सपना’
………………………
जहाँ भेटियोस्
आस्थाको सिङ्गो पहाड– निर्जिव ढुङ्गो हैन
घुम्दै होउन्
झिलमिल झिलमिल जुनकिरी
जो कहिल्यै कतै अस्ताउने छैन ।।
(स्रोत : Bidhya Sapkota’s Facebook)

