कथा : विरहको क्यानभासमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन् । त्यो पत्र यसप्रकारको थियो –

प्रिय छोरा
शुभाषिर्वाद

पत्र कहाबाँट सुरु गरूँ, अल्मलिएकी छु । शब्दहरू दुब्लाएका छन् । भावहरू साँगुरिएका छन् । भौतिकरूपले तिमीलाई नदेखेको पूरा तीनवर्षचार महिना भयो । तर तिम्रो अभौतिक आत्मा सधैँ मेरो साथमा हुन्छ । तिम्रो उमेरका पुरुषहरू देखेँ भने तिनमा म तिम्रै रूप र लक्षण खोजिरहेकी हुन्छु । अनि विगतमा पुग्छु । कतै तिम्रो रूपसँग मिल्ने बालक देखेँ भने म नचाहँदानचाहँदै पनि अतीतमा तानिन्छु । तिमी कति पिलन्धरे थियौ – ठ्याक्कै मैले देखेको बालकजस्तै । तिमी सानामा धेरै वर्षपेटको विमारले सताइयौ । पेटमा खानेकुरा नपच्ने अनौठो रोग थियो तिम्रो । कति डाक्टर, धामी, झाक्री गरेता पनि रोग निको भएन । अन्त्यमा गाउँकै अहेव जसलाई सबै डाक्टर भन्थे उसैले निको पार्यो । कैयौँ पटक तिमी कट्टुमा नै आपत बिसाएर आउथ्यौ । बूढो दिसाको कपडा धुदाँधुदाँ मेरो पेट नै फर्केलाझैँ हुन्थ्यो । तर पनि मातृत्व वात्सल्यताले त्यो गन्ध पनि पाचन गर्दथ्यो । लाग्थ्यो त्यो गन्धमा प्रेमको मीठो वासना मगमगाइरहेछ । म आफ्नो आत्मीय भावना तिम्रो यस्तै क्रियाकलापमा पोखिरहेकी हुन्थेँ । अनि त्यसबाट आत्मसन्तुष्टिको परम आनन्द प्राप्त गर्दथे । तिमी सेलरोटीको सारै सौखिन थियौ । गाउँमा कतै पूजा हुँदा तिम्रा लागि सेलरोटी म लुकाएर ल्याउने गर्दथे र तिमीले खाएको त्यो सेलरोटी म आफूले खाएकोभन्दा बढी आनन्द मानेर हेरिरहन्थे । लाग्थ्यो तिमीलाई मनपर्ने सारा खानेकुरा ल्याएर दिऊ । तर आर्थिक अभावले मे्रा सारा चाहनाहरू मुसलीले चामललाई पीठो पारेझैँ चुठदथे । तिमी हुर्कदै गयौ । तिमी हुर्कदै गएको मलाई थाहा थियो । तर मलाई मेरो वैश रित्तिदै गएको पटक्कै होश भएन । जुनबेला तिमी बिहे गर्ने बेलाको भइसकेका थियौ, त्यसबेला मेरो वैश रित्तिसकेको थियो ।

गोरखा रेजिमेन्टको आर्मीको जागिर तिम्रो बुबाले माग्नेबित्तिकै मेरा बुबाआमाले दिएका थिए । तिम्रो बुबासँग जागिरमा म काश्मिर गएकी थिएँ । मेरो भाग्यमा ठूलो दुर्घटना हुनु लेखिएको रहेछ । तिमी मात्र दुइवर्षा थियौ । राति अचानक तिम्रो बुबाको प्राणपखेरु सुतेको ठाउँमा नै गयो । तिम्रो बुबालाई उच्चरक्तचाप थियो । त्यो दिन निकै पिएर आउनुभएछ । मलाई त थाहा पनि भएन । बिहान अचानक सोफामा सुतेको अवस्थामा मृत शरीर लडेको पाएँ । विभिन्न कानूनी प्रावधान पूरा गरी दईवर्ष बालक तिमीलाई च्यापेर कसरी नेपाल आइपुगे, मलाई थाहा भएन । तिम्रो बुबा लर्डाईमा मारिएका भए वीरगति प्राप्त गरेको भनी सरकारबाट नै धेरै सुबिधाहरू पाउन सक्थे । तर त्यसो नभएको स्थितिमा तिम्रो लालनपालन गर्नचाहिँ भारतीय सरकारबाट किस्ताबन्दीको रूपमा पैसा पाउन थालेँ । जसले गर्दा तिमीलाई सामान्य तवरले पालनपोषण गर्न सकेँ । नत्रभने मैले कुनै पनि पेशा अपनाएर तिम्रो पालनपोषण गर्नुपथ्र्यो । त्यसको लागि मैले आफ्नो सतीत्व गुमाउन पनि तयार हुनु पर्दथ्यो ।

प्रिय छोरा, म विगतमा मात्र अल्झिरहेँ मैले तिमीलाई वर्तमानको तीतो यथार्थ पोख्नुअगाडि विगतको पृष्ठभूमि पहिल्याउन उचित ठानेर यो सब भन्दै छु । तिम्रो बिहेपश्चात घरमा खर्चको महामारी चल्न थाल्यो । जसलाई निमूल पार्न तिमीले विदेश गई कमाएर पत्नी र आमालाई सुखसाथ पाल्ने विचार पोख्न थाल्यौ । तिमी विदेश जाने कुराले मेरो मन भक्कानिएर आउँदथ्यो । म आफूलाई शून्य र एकान्तिक महसुस गर्न थालेँ । तिम्रो र बुहारीको जोडी कति सारो सुहाएको थियो । देख्नेहरू भन्थे ‘तपाईँको छोराबुहारीको जोडी त दैवले नै जुराएको होला । कस्तो ढुकुरको जस्तो जोडी † तिमीहरूको जोडी देख्दा आफूले एकल जीवन काट्नुपरेको सबै पीडा बिर्सन्थेँ । कैयौँ रात जागै बसेको पीडा तिमीहरूको खुसीसँग साट्ने गर्दथे । जब तिमी विदेश जाने कुरा गर्दथ्यौ मेरो मुटुगाँठो परेर आउँदथ्यो । सानोमा मुनामदनको कथा पढेर बुबाले सुनाउनुभएको दृश्य आँखामा झल्झली आउँदथ्यो । तिम्रो बिछोड के गरी बुहारी र मैले सहने होला – कल्पना गर्दा पनि म त्यसै वेहोश होला जस्तो हुन्थेँ । समय उड्दै गयो । सुखका समय पङ्ख लगाएर उड्दा रहेछन् तर दुखका समय पलपल घिस्रिदै हिँडदो रहेछ । तिमी जानेकुरा गर्दा बुहारी दोजियाकी थिई । तिम्रो भिसा र जागिर मिलिसक्दा बुहारीले रहरलाग्दो छोरा पनि पाइसकेकी थिई । तिमी जानेबेलामा बुहारी सुत्केरी नै थिई । बिदाइको क्षण तिम्रो पनि मुहारमा उदासीका हजारौ लहरहरू झल्किरहेका थिए । देशले भोगको जनयुद्ध अनि सङ्क्रमणकालले खाएको देशको दुरावस्थाको प्रत्यक्ष प्रमाण तिमी विदेसिनुले दिईरहको थियो । धेरै युवाहरू विदेशिनु पर्ने बाध्यताको प्रतिनिधित्व गर्दै तिमी विदेशिएका थियौ- खाडीदेशको तातो हावा खान । त्यसपछि प्रत्येक दिन, साँझ, बिहान तिम्रो समाचार , फोनको प्रतिक्षामा हामी हुन्थ्यौँ । बुहारी त त्यसै मणि हराएको नागझैँ भएकी थिई । मैले पढेकी मुनामदनको कथा अहिले झल्झली चलचित्र भएर मेरो आँखामा सचित्र उत्रिएको थियो । बुहारीको मस्त यौवनमॉ तिम्रो अभावले मलाई सारै पीडा दिन्थ्यो किनभने त्यो पीडालाई मैले भोगकी थिए । लक्ष्मीप्रसाद देवकोटा कति दुरदर्शी रहेछन् । झण्डै साठी वर्षअगाडिको नेपालको सामाजिक चित्रण गरिसकेका रहेछन् ।

प्रिय छोरा, मानिसका सबै पीडा मुखले व्यक्त गर्ने हुँदा रहेनछन् । कतिपय पीडा अव्यक्त हुन्छ र त्यसले भित्रभित्रै खाइरहदो रहेछ । हो तिम्री श्रीमतीलाई पनि भित्रभित्रै अव्यक्त रोगले खाइरह्यो । त्यो कुरा पहिले त मलाई थाहा भएन तर पछि जब एकदिन अचानक बिमारी भएर वेहोश भई तब मलाई करेन्टको झट्का लागेझैँ भयो । तुरुन्त नजिकको हेल्थपोष्टबाट अहेब बोलाएर चेकअप गराएँ । उसले केही औषधि दिएर गयो । बुहारी होशमा आएर फेरि सदाझैँ काम गर्न थाली । तर उसलार्इृ अहेबले बेलाबेलामा हेल्थपोष्टमा औषधि लिन आउनुपर्छ भन्यो । बुहारी प्राय हप्ताहप्ता दिनमा हेल्थपोष्ट जाने गर्दथी । त्यसपछि बुहारीलाई बिमारले भेटेन । हेल्थपोष्ट जाने दिन ऊ असाध्यै खुसी हुन्थी । सानो छोरा मेरो जिम्मा लगाएर जान्थी । सुरुसुरुमा साथी लिएर जान्थी तर पछि एक्लै जान थाली आज यो उमेरमा आफ्नो बुहारीको चरित्रहिनताको कथा आफ्नै छोरालाई सुनाउनुपर्दा मलाई मृत्य किन नआएको होला भनी भगवानसँग प्ररार्थना गरिरहेछु । अब तिम्री मुनाजस्ती श्रीमती मुना रहिन । समयको वेगले उडाएर उसलाइृ धेरै टाढा पुर्याइसकेको छ । यसमा उसको पनि म केही दोष देख्दिनँ । त्यैपनि केही सम्झाउन खोज्यो भने झर्कोफर्को गर्छे तिम्रो पनि खास कमाइ हुनसकेन । एकदिन काकाको छोराले ल्याइदिएको भनी मलाई मोबाइल देखाई । हुन पनि हो अहिलको समयमा खुट्टामा जुत्ता नहुनेसँग मोबाइल हुन्छ भने उसँग हुनु कुन अचम्म हो र – तर अब ऊ हरदम मोबाइलमा हराउन थाली यो चाहिँ असामान्य भएको छ । त्यसरी मोहनी लगाउने चीज त्यो मोबाइलमा के हुँदोरहेछ । हुन त एसएमएस हो कि के हो मा केके लेखेर पठाउने गर्छन् रे । तर मलाई त चलाउन पनि आउँदैन बाबु । लुगा कपडा पनि फेरिफेरि लगाउन थालकी छे । यति हुँदाहुँदै एकदिन उसका कोठामा पानामा एउटा कविता देखेँ । त्यो कविता पढेपछि मलाई कस्तो-कस्तो लाग्यो । त्यसपछि मैले सोचेँ तिमीलाई यताको सत्यताको जानकारी दिनै पछै । नत्र समय धेरै ढिला हुन्छ । त्यो पानामा कविता लेखिएको थियो र त्यो यस प्रकारको थियो-

प्रिये आज एसएमएस गरिन्
प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको उपवासमा बसेकी छु ।
उपवासको भोक मेटाउन कविताको फलाहार लिइरहेकी छु ।
हामी धेरै हरायौ
एसएमएसमा, फोनमा, च्याटमा र पत्रहरूमा
हामी कहिले आकृतिविहीन भएर हरायौ
हामी कहिले रङ्गविहीन भएर हरायौ
हामी कहिले संवादविहीन भएर हरायौ
हामीले आफूले आफूलाई चिन्न नसकिने
गरेर हरायौ
त्यसैले प्रिये आज एसएमएस गरिन्

प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झना उत्तरआधुनिककालको
गुफामा गुप्तवास बसेको छ ।
विज्ञानको युग, साइवरको युग
एक्काइसौँ शताब्दीको युग
तर पनि भावनाहरू
किन यसरी मुक्तवास खोज्छन्
फोनले तिर्सना किन मेट्दैन ।
कम्प्युटरले सपना किन देख्दैन ।
उत्तरआधुनिकताले भविष्यवाणि किन गर्दैन ।
विज्ञानले अविश्वासलाई किन मार्दैन ।
तिम्रो विश्वासको सफल आरोहरण गर्न पनि
मैले आज एसएमएस गरिन् ।

प्रिये,मैले आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको धरातलीय
क्षेत्रफल नाप्न बसेकी छु ।
कलम र कापीले सम्झनाका
लम्बाइ र चौडाइ नापीरहेकी छु ।
हामी असीमित लम्बाई चौडाइमा फैलियौ ।
फैलनुको कुनै सीमा रहेन ।
कुनै रेखा रहेन ।
कुनै कोण रहेन ।
तर पनि हामी स्वयम् शून्यमा हराइरहेका छौ ।
सायद शून्यको अगाडि एक अङ्क थप्न सके
हामी पूर्ण हुन्थ्यौ होला ।
तर त्यो हाम्रो जीवनको
गणितीय सिद्धान्तको विपरीत छ ।
हाम्रो जीवन शून्यमा हराइरहेको हुनाले पनि
प्रिये आज एसएमएस गरिन्
मलाई माफ गर प्रिये
आज मैले एसएमएस गरिन्

यो कविता पढेपछि मैले थाहा पाएँ बुहारीको चरित्रमा दाग लाग्दैछ र यो कुरा तिमीलाई खबर गर्नैपर्छ भनेर । सायद तिम्रो पनि हालत खाडीको तातो हावामा सम्हाली नसक्नुभएको होला । हाम्रो सुखी परिवारलाई अभावको अगुल्टोले जलाएर खरानी पार्दै छ । यो हाम्रो मात्र होइन धेरै नेपालीको यथार्थ हो । विदेश गई नकमाई नेपालीको जीविका नचल्ने नेपालीको कस्तो विडम्बना – अब यो विडम्बना तिमीहरू जस्ता धेरै युवाले तोड्नैपर्छ । तिमी चाँडोभन्दा चाँडो घर फर्केर आफ्नो सुखी परिवारमा लागेको आगो समयमा नै निभाउने छौ भन्ने आशा राखेकी छु ।

उही तिमीलाई धेरैभन्दाधेरै माया गर्ने आमा

कथाकार दिवाकर नेपालीज्यू, यो एउटी आमाको विरह र वेदनाले भरिएको पत्र पढेपछि म निकै भावुक भएँ। वास्तवमा आज हजारौँ आमाहरू यसरी नै छोराको अभावको पीडा र बुहारीको अव्यक्त पीडाबाट पीडित छन् । यस्ता आमाका पीडालाई तपाईँको कलमले कसरी व्यक्त गर्छ म भन्न सक्दिनं । तर मसँग यस्ता आमाहरूप्रति सहनुभूतिका हजारौं शब्दहरू समर्पित छन् ।

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.