आलो रगतमाथि
बास्नादार विषको घडा पिलाएर
उज्यालोको खोजीमा हिडिरहेछन
व्यानर र झण्डा भिरेर
एक हुल मान्छेहरु
दुखिरहेका मुटुहरु
आशुका थोपामा सागर मिसाइरहेछन
बस एक पेट खानका लागि संघर्ष गर्नेहरु
दिनरात भाग्यको हवला सुनाईरहेछन
यति वेला ति एक हुल मान्छेहरु
सिंहदरबारको वरिपरि भन्किरहेछन झिंगा सरी
खोजीएन चाँदनी र सुस्ताहरु
विक्रि वट्टामा छन अनेकन सिमा र इतिहासहरु
आफू गुच्चा भएकोवेला
सडक छेउछाउमा राष्ट्रवादको नारा घनकाई रहेछन
त्यतिनै वेला प्राङ््बुङमा चेलीहरुको अस्मिता लुटिन्छ
उता साउदि र कतारमा पशिनाको धारो बगाएर
आफ्नो भन्ने परिभाषा खोजीरहेछन युवाहरु
यता भने एकहुल मान्छेहरु
रेडलेभल स्वादमा
राजदुतहरुलाई नमस्कारको सलामि दिईरहेछन
ग्यास छैन ,नुन तेल छैन
महगि अचकाली बढ्यो
अपराध थामिसक्नु भएन
दैनिक अखावारका हेडलाईनहरु यतै तिर घुमिरहेका छन
मेची देखि कालि सम्मका सम्भावनाहरु दिनानुदिन वलिवेदी चढ्दै गर्दा
हजुरआमाहरु सन्तानको वाटो हेरेर
मुजामा अमिलो थोपा खसाईरहेछन
यति वेला एक हुल मान्छेहरु
आलिसान सपनाको चंग बुनिरहेछन
जवरजस्त निरंकुशता लादेर
हुलका हुल
व्यानर र झण्डा सँग
मान्छेहरु पछि लगाएर
लोकतन्त्रका सस्ता नाराहरु सुनाउदै छन
एक हुल मान्छेहरु
देश मेरोपनि हो
तर मैले आफ्नो भन्न पाईन
पकेटको बैङ्क बनाए
एक हुल मान्छेहरुले
सडक किनारमा रोहि रहेछ एउटा बुद्ध
उकालीहरुमा
रगतका छिट्टाहरु खुट्टावाट उम्काउदै
भारी बोकिरहेछन आमाहरु
तन्त्रहरु फेरीएको धेरै भईसक्यो
आशाको आकास उस्तै धुम्म छ
धुम्म आकास मुनि सपना खोजीरहेकाहरुको नाममा आएको
डलरमा कमिसन खोजीरहेछन
एक हुल मान्छेहरु
(स्रोत : Rajbanskota.wordpress.com)

