महाभारतकालीन समयमा भीषण संग्राम भयो। संग्रामस्थल कुरुक्षेत्रले विशिष्ट नाम कमायो । मिथकमा, पाण्डव र कौरवका नाम आफ्नै वंश, बन्धुबान्धवलाई धुलाम्य तुल्याउने कलामा पारंगत योद्धाहरूका रूपमा अंकित भए।
महाभारतकालीन जमानाका सिद्ध-प्रसिद्ध महानुभावहरूका लामालामा कथा कथ्ने व्यास ऋषिमुनिले त्यत्रो इतिहास लेख्दा एउटा कुरा भने मजाले छुटाएछन् भन्ने मलाई अहिले लागिरहेको छ। कसैका ध्यान नपुगेको भए, म अहिले ध्यानस्थ गराउँछु। त्यो थियो-महाभारतकालीन समयमा पाककला कस्तो थियो ? पाण्डव र कौरवहरूका दैनिक भोजन-सूचीमा के-के खानपिन अंकित थिए ? कसैकसैले त कस्तो आशंका पनि उमार्छन् भने, त्यत्रा सोह्र सय गोपिनी खेलाउने श्रीकृष्णले त्यस बेला कतै भियाग्रा वा यार्सागुम्बा त प्रयोग गरेका थिएनन् ? उनले गरे वा गरेनन्, राम जाने !
रामायण लेख्ने वाल्मीकि ऋषिले पनि आफैं प्रत्यक्षदर्शी भएझैं टोपली त्यत्रो कहानी उतारे। तर, उनले पनि रामायणकालीन भोजन-व्यवस्थाबारे मौनता नै साँच्न उचित ठाने। राम बाह्र वर्षसम्म जंगलमा बसे वा बसेनन्, यो चासोको विषय रहेन। तर, वाल्मीकिले के भनेका छन् भने जंगलमा बस्दा राम, लक्ष्मण र सीताको दैनिक भोजनको सूचीमा कन्दमूल र फलफूलहरू पर्थे।
होला पनि। पत्याउनै पर्यो। रामको एकमात्र कुशल बडिगार्ड हनुमानले जडीबुटीयुक्त हिमालय पर्वत बोकेको प्रसंग त उल्लेख छ नै, तर उनले कुन कुन भोजन जुटाए भन्ने कुराले महाभारतमा कतै पनि स्थान पाएको छैन। तसर्थ, हनुमानले आयुर्वेदिक औषधालयमा राम्रै ज्ञान आर्जन गरेका भए पनि उनी कुशल भोजन-प्रबन्धकमा दरिएनन् भन्ने मलाई लाग्छ।
अहिले उनी यो भूतलमा आए पनि सञ्जीव कपुरलाई उछिन्न सक्दैन भन्ने मलाई लाग्छ।मानिसको पहिचान, उसको संस्कृति, संस्कारलगायत यावत् पक्षहरूमार्फत नै किटानी हुन्छ। यो परम्परागत पक्ष हो।
कुन मानिस कस्तो संस्कारबाट हुर्किंदै आएको छ भन्ने कुराको यथेष्ट प्रमाण नै उसको खानपिनको स्तर कस्तो छ भन्नेबाट नै फेला पर्छ। हेप्न खोजिएको होइन कसैलाई पनि। तर, नेपाली समाजमा अझै पनि कथित उच्चदेखि तल मानिएकाका जाति, जनजातिहरूलाई नियाल्ने अनेक ऐनामध्ये खानपिन पनि एउटा सफा र भरपर्दो ऐना हो भन्ने मेरो स्पष्ट बुझाइ छ।
खानपिनले मानिसको संस्कार, संस्कृति, रहनसहन, आनीबानी सबैको ढोका एकैपटक उघार्छ। चाहेर होस् वा नचाहेर होस्, भोजन-संस्कृतिले त्यस्तो ढोका घरक्कै उघारिदिन्छ, एकैपटक।
भोजनको आफ्नै इतिहास छ। जहिल्यै, भोजन-इतिहास मानिसको आर्थिक समृद्धि र दरिद्रताको साँध कोर्न लालायित रहँदै आएको छ। आर्थिक रूपले उकालोमै रहेका मानिसका भोजन-सूचीमा विशिष्ट वस्तुहरूले स्थान जमाउँछ। तर, दरिद्र भूगोलमा बा“चिरहेका मानिसको भोजन-सूची भने निकै नै संकुचित अर्थात् दैनिक छाक टार्ने तहसम्मको मात्रै हुन्छ।
निश्चय नै, भोजनसित मानिसको समृद्धि र दरिद्रता प्रत्यक्ष रूपमा जोडिएको छ।यो एउटा यथार्थ पक्ष होला। तर, म कस्ता-कस्ता दृश्यहरूसित परिचित छु भने, आर्थिक रूपले माथिल्लो तहमा रहेकाहरूले पनि ‘करेलामा झोल हालेर’ पेट भरेको देखेको छु र निकै निम्न स्तरका मानिसहरूले पनि आफ्नो भान्सामा आफ्नै खेतबारीमा उत्पादित वस्तुलाई अत्यन्तै मीठो र स्वादिलो तरिकाले पकाएर पाहुनाका जिब्रोको छट्पटीलाई पूर्णतया साम्य पारेको देखेको छु।
मलाई बारम्बार एउटा घटना स्मरण हुन्छ। त्यति बेला, टिनएजका दिनहरू गन्दै थिएँ। दसैंको रमझममा मेरो गाउँभन्दा एउटा गाउँ पर्तिरको अर्को गाउँमा सांस्कृतिक कार्यक्रम राखिएको थियो। हारमोनियम बजाउन म त्यस भेगमा गनिएको हुँदा त्यही प्रयोजनका निम्ति मलाई डाकिएको थियो।
हामी आफ्नो प्रतिभा देखाउने लालसामा नित्य दुई घन्टाको बाटो पार गरेर सिन्धुलीको त्यो गाउँ अर्थात् चपौली पुग्थ्यौं। अरू दिन त हामीलाई खानपिनको व्यवस्था गरिएको थिएन। तर, एक दिन भने त्यही गाउँको एउटा नामी घरमा हाम्रो लागि खानपिनको व्यवस्था भएको थियो।
त्यो फूलपातीको दिन थियो। मीठो खाने दिन। हामीले पनि के कल्पना गर्यौं भने आजको हाम्रो भोजन निकै नै ‘ऐतिहासिक’ हुनेछ। दसैंको प्रथम दिनमा हामीलाई साथीहरूले रोजेरै घर छानेका रहेछन् भन्ने पनि लाग्यो। त्यो दिन, त्यस घरमा हामीले जेजस्तो भोजन गर्यौं, त्यो ऐतिहासिक रहन त रह्यो तर विपरीत पाटोबाट।
भोजन ग्रहण गर्ने बेलामा हाम्रो थालीमा चामलकै भात त थियो तर तरकारी भने…! के भन्नु खै ? पहाडतिर फल्ने र हामीले आ“खै नलगाउने तीते करेलाको तरकारी थियो, त्यसमा हालिएको थियो पूरै झोल। एक त करेलाको तरकारी, त्यो पनि झोलयुक्त।
घरमा दूध, तर, घ्यू र मीठामीठा तरकारीहरूको स्वादमा पल्किएको हाम्रो जिब्रोले परित्यक्तकै सूचीमा आबद्ध तीते करेला र अझ त्यसमा हालिएको झोलबाट मीठो स्वाद टिप्ने कुरा अकल्पनीय नै थियो।
तर, एक त पाहुना, त्यसमा गुनासो गर्ने अधिकार कहाँ सुरक्षित थियो र हामीसित ? खाए खा, नखाए घिचको मनोदशाबीच उभिँदै, तीते करेलाको झोलमा भात मुछेर हसुर्यौं । यो जति दरिद्र खान्की मैले जिन्दगीको कुनै पनि पलमा, कुनै पनि ठाउ“मा हसुर्न परेको थिएन।
जिन्दगीमा धेरै ठाउँका भोजनमा स्वाद बसालियो। एकाध ठाउँको भोजनको स्वाद मात्र अहिले पनि दिमागमा तरोताजा ढंगले उत्रिन्छ । मेरो जिब्रोमा अहिले पनि खुर्कोटका केशव देवकोटाकी आमाले पकाउनुभएको खानाको स्वाद टाँसिइरहेको भान हुन्छ।
मैले एकाधपटक केशवजीकी आमाले पकाउनुभएको खाना खाने अवसर पाएको छु। तर, यति मीठो र स्वादिलो लाग्थ्यो कि, उहाँको हातमा के त्यस्तो जादु छ, जसले हरेक चिजलाई स्वादिलो बनाउन चाहन्छ। केशवजीको आमाले पकाउनुभएको जस्तो खाना त मैले अहिलेसम्म कुनै पा“च वा साततारे होटलहरूमा पनि चाख्न पाएको छैन। झूठो बोलेको भए, मरिजाऊँ।
प्रायः नेवारहरूले पकाएको खानपिनलाई मीठो नै ठान्दछन्। मीठो पनि हुन्छ नै । त्यसमा दुईमत नहोला । तर, धेरै नै चिल्लो र पिरोपन पनि नेवारहरूको खानाको विशेषता हो। चिल्लो र पिरो नरुचाउनेका निम्ति नेवारी खाना वा खाजा कुनै भोजन ठहरिँदैन।
तर, भोजनमा मलाई पहाडका सम्भ्रान्त ब्राह्मणको भान्सामा पाक्नेका भोजनजति मीठो, स्वादिलो र स्वास्थ्यवर्धक अरू कुनै पनि भोजन लाग्दैन। हावापानी त्यस्तै भएर हो वा अरू कुनै कारणले हो, पहाडे ब्राह्मणका भोजन अहिलेसम्मकै उत्कृष्टको सूचीमा पर्छ भन्ने लाग्छ। तर, पहाडका गरिब, दरिद्र र दुना टक्टक्याउ“दै हिँड्ने वर्गका होइन, केही हुनेखाने वर्गका बाहुनको घरको कुरा हो यो।
अरू जातिका भोजनमा अनुशासनले त्यति स्थान पाउँदैन। तर, बाहुनहरूको भोजनमा भने अनुशासन अत्यन्तै हावी भएर आउँछ। अहिले पुराना मान्यता क्रमशः हट्दैछन् तर घोतीपाटा फेरेर, खानुअघि देउतालाई चढाएर खाने संस्कृति बाहुन समाजमा छ, त्यसले भोजन ग्रहण गर्नुको अर्थ केवल पेट भर्नुमात्र होइन, त्यो एउटा संस्कारसित आबद्ध पक्ष पनि हो भन्ने बोध गराउन त्यस्ता क्रियाकलापले भरथेग सहयोग पुर्याएको ठान्न सकिन्छ।
अहिले स्वयं पाक्य भोजन गर्नेहरू त्यति धेरै नहोलान् तर त्यसमा वैज्ञानिक तथ्य भने मौजुद छ । किनकि, जसले आफू स्वयंले पकाएर खान्छन्, स्वयंपाक्यवालाहरूले आफ्नै स्वादअनुसारका चिजबिजहरू खानामा सम्मिलित गर्छन् । त्यस्तो खानाले न कुनै असर गर्छ, न त कोहीप्रति गुनासो गर्ने आधार नै बाँकी रहला।
नेपाली समाज जातीय विभेदको संकीर्ण र अँध्यारो ओढारभित्र निस्सासिएको छ। वर्षौंदेखि नै जातीय विभेद हामीकहाँ व्याप्त छ। केही वर्षपहिले, जातीय विभेद मेटाउने हिसाबले नेपालका तराई र पहाडका केही थलोमा सहभोजको ‘रमाइलो’ गरियो। तथापि, अझै पनि हिमाली क्षेत्र जातीय विभेदका हिसाबले त्यति बदनाम छैन।
उच्च र कथित तल्लो जातका भनिनेहरू एकै ठाउँमा बसेर भोज गरे र सहभोजको पगरी गुथाइयो। यस्तो क्रियाकलापले समाजमा राम्रै सन्देश प्रवाह त गर्यो होला तर सहभोज जातीय विभेद मेटाउने आधारभन्दा पनि ‘एउटा मुद्दा’को रूपमा मात्र सीमित रह्यो। तसर्थ, भोजन भन्ने एउटा यस्तो पक्ष रहेछ, जसले जातीय विभेद र दूरी घटाउने कार्यमा पनि सहयोग पुर्याउँछ।
यसलाई आक्षेपको तहबाट मात्र हेर्नु उपयुक्त नहोला तर अझै पनि केही जनजातिको भोजनसंस्कृति अत्यन्तै परिधिकृत छ। उनीहरूका भोजन-संस्कृतिले कुन दिन वा पल केन्द्रीय मान्यता पाउलान्, त्यो अहिल्यै भन्नसक्ने स्थिति छैन। म जुन समाजमा हुर्किएँ, त्यो समाजमा तामाङ जातिको बाहुल्य छ।
एउटा ऐतिहासिक दिन थियो त्यो, छयालीस सालको चैत २४ गते। त्यही दिनमा नै, नेपालको राजनीतिमा तीस वर्षसम्म चम्किएको पञ्चायती शासन व्यवस्थाको किल्किलेलाई नेपाली जनताले एकैचोटि अँठ्याएका थिए र त्यही दिनबाट सास फेर्न नसकेर ‘वाक्के’ बसेको पञ्चायती व्यवस्था त्यसको तीन दिनपछि नै मृत घोषित हुन पुगेको थियो।
हो, त्यही दिन स्कुले जीवन चहारिरहेका मलगायत एक दर्जनजति साथीले मरिन खोलाको पञ्चकन्या पोखरीमा पिकनिक मनाउन जाने निधो गरेका थियौं । र, मरिन खोलाको किनारमा हामीले पिकनिकको रमझमसँगै पञ्चायती व्यवस्थाको अवसानको सपनामात्र देखेका थिएनौं, एकाध दिनभित्रै व्यवस्था ढल्ने अनुमानका पोकापन्तुराहरू फुकाएका थियौं।
नभन्दै, तीन दिनपछि त ढली नै हाल्यो पञ्चायत। तर, हामीले त्यो रात यस्तो सास्ती बेहोर्नु पर्यो, सीधा बाटो नभएर जंगलको बाटो हु“दै घर फर्किनुपर्ने भयो। र, मरिन खोलाबाट घाँघर खोला हुँदै बेल्टारको बाटो पक्रियौं।
बेल्टार, तामाङ-बाहुल्य बस्ती। त्यो बस्तीमा अधिकांश तामाङ नै छन् । हामीले आफूले लिएर गएका चामल, दाल, आलुलगायतका तरकारी पकाएर खाने इच्छासहित केही तामाङका घरमा भाँडा माग्न गयौं। तर, प्रायः सबैले भाँडाकुँडा नपखाली राखेका हुँदा रहेछन्।
हामी जुन घरमा पुग्थ्यौं, तिनै जुठा भाँडा हामीलाई टक्र्याउँथे। हामी आजित भयौं । र, बेल्टारको एउटा अन्तिम घरमा भने हामीले सफा र टिलिक्क टल्किएका भाँडाहरू प्राप्त गर्यौं र त्यही नै खाना बनाएर खायौं। सायद, अहिले त्यो समाजमा त्यस्तो स्थिति नहोला, तर त्यति बेलाको कारुणिक पक्षले भने मलाई के कुरा बोध गरायो भने, यो भोजन-संस्कृतिमा व्याप्त परिधिकृत विचार नभएर व्यवहारको उपज हो।
मेरा आत्मीय मित्र शोभियत ढकाल भोजनमा अत्यत्नै सोखिन छन्। उनी बारम्बार पोखरावरिपरि क्षेत्रमा फल्ने जेठ-बूढो धानको भात, कर्कलाको तरकारी, लोकल कुखुराको मासु, ग्रामीण खेतको आलीमा फलेको मासको दालजस्ता रैथाने नेपाली खाद्य सामग्रीको उदाहरण पस्किँदै आफ्नो स्वाद-पारख दौंतरीहरूलाई पस्किन चाहन्छन्।
उनले आफूले ग्रहण गरेका भोजनबारे जब बयान गर्छन्, वरिपरि बसेर सुन्नेहरूका जिब्रोले आफूलाई नियन्त्रण गर्न सक्दैन। कुनै न कुनै रूपमा जिब्रोले प्रतिक्रिया जनाइहाल्छ । यताउता चल्मलाएर होस् वा रसिलो पानी निकालेर होस्, जिब्रोले आफ्नो गुण र धर्म निर्वाह गरेरै छाड्छ।
साँच्चै, यो भोजन भन्ने कुरा संस्कृति, संस्कार, आचारविचार, व्यवहारमा मात्रै टाँसिएको हुँदैन रहेछ, यो त मानिसको हरेक अंगप्रत्यंगको चल्मलाहट, क्रियाकलाप र विकासमा पनि उत्तिकै सन्निहित हुँदो रहेछ।
त्यसैले मलाई के लाग्छ भने, महान् व्यंग्यकार भैरव अर्यालले ‘जयभुँडी’ भनेर केवल भुँडीको अर्थतन्त्रमात्र केलाउने प्रयत्न गरे, भुँडीको अर्थतन्त्र त अहिलेसम्म संसारकै मजबुत अर्थतन्त्र रह्यो नै।
त्योसँगै भुँडीलाई सन्तुष्ट तुल्याउन भोजनको इतिहासले पनि उत्तिकै गहन भूमिका खेल्दो रहेछ भन्ने लागिरहेको छ। र, खेलिरहेको छ आजपर्यन्त पनि। त्यसका निम्ति, जिब्रोलाई धन्यवाद दिनुपर्छ। जय-जिब्रो, जय-स्वाद, जय-भोजन।
२०७२ आस्विन १८ सोमबार
(स्रोत : AnnapurnaPost)