सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछी
आँखाले गलत देख्दो रहेछ
मुखले गलत बक्दोरहेछ
नाकले गलत सुँघ्दोरहेछ
यहाँसम्मकी कानले समेत गलत सुन्दोरहेछ
र त म जसलाई झुकेर सम्मान गर्थेँ
उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ,
उसोर,
होसियार!! इमान्दारीताको गलबन्दीमा तातो खोज्नेहरुहो!
पछाडिबाट कसैले सुर्किने कसिदेला!!
नाकको टुप्पोमा अहमको पर्खाल चुलिएपछी
घोक्नेहरु सल्बलाउँछन्
खोक्नेहरु उचालिन्छन्
बोक्नेहरु चल्मलाउँछन्
यहाँसम्मकी सापटीको बैसाखीले ध्रूबतारा चोर्न खोज्छन्
र त जसलाई मैले एक मुस्कान उपहार दिएथेँ
उसैले मेरो ओठ सिलबन्दी गर्दै रहेछ
उसोर,
होसियार! भरोसाको खास्टोमा लपेटिनेहरुहो!
लुट्पुटिएको बहानामा तिम्रै ओत झ्याङ्ग्प्वाल पारीदेला!
देखासिकीको लिपिस्टिक भित्र
कुरुप ओठको चिरा लुकाउनेहरुले
गालाको बोक्रामा गुराँस फक्राइ
मुट्ठीमा तेजाब बोकेका हुन्छन्!
उसोर यो एक झक्झक्याइ मात्रै हो,
सम्बोधनको रामनामीमा पुलकित हुनेहरु हो!
deepssanu@gmail.com
(स्रोत : Milankosansar)