गएका महिना भारतको कर्नाटक राज्यको यात्रामा थिएँ । तीन दिनको रेल यात्रा, एक दिनको बस यात्रा र केही दिन सहर घुम्ने क्रममा धेरै मान्छे भेटिए । जहाँ गइयो, मान्छेकै कथा सुनियो । लाग्यो, सिमानाले मान्छेका पीडामा तात्त्विक भिन्नता ल्याउन सक्ने रहेनछ । जुनसुकै भाषा बोल्ने हुन्, काला-गोरा जुनसुकै रंगका हुन्, उनीहरूको व्यथा र जीवनका संघर्ष उस्तै हुँदो रहेछन् । मेरो लगाव प्रेममा बढी थियो । त्यसैले प्रेमका कथा धेरै सुनियो । तीमध्ये तीन कथा यस्ता थिए…
आयाम एक
मेरो नाम कुलदिप अय्यर, वर्ष २८, घर महाराष्ट्रको नागपुर । हैदरावादको एस बैंकमा असिस्टेन्ट म्यानेजर छु ।
हिजो मेरो एउटा मात्र काम थियो- एउटी युवतीलाई मन पराउनु । उनकै कल्पनामा रमाउनु । जुन रात उनलाई सपनामा देख्थें, भोलिपल्टको बिहानीको उज्यालो नै फरक लाग्थ्यो । मानिसका अनुहार नै मुस्कुराइरहे जस्तो हुन्थ्यो । गाडीको हर्न पनि संगीत लाग्थ्यो । म उनलाई प्रेम गरेरै जीवन बिताउन सक्छु भन्ने मान्थें ।
जब हाम्रो विवाह हुने पक्का भयो, मेरा जिम्मेवारी थपिँदै गए । अब घर, गाडी, हनिमुन, जीवनका सपना सबै थपिँदै गएका छन् । हिजो प्रेम गर्ने मात्र काम थियो, आज प्रेम कम, जिम्मेवारी बढी महसुस हुन थालेको छ । के प्रेम भनेको यस्तै हुन्छ ? प्रेम, प्रेममात्र हुन सक्दैन ? जिम्मेवारी बिना प्रेम गर्न सकिँदैन ? तपाईंलाई सुटुक्क भन्छु, जुन दिन हाम्रो विवाह हुने निर्णय भयो, उनी नराम्रोसँग रोइन् । भन्दै थिइन्, ‘अब तिमीले मलाई पहिलेजस्तो प्रेम गर्नेछैनौ ।’ सम्वभत: उनी ठीक भन्दै थिइन् ।
आयाम दुई
मेरो नाम रामाकृष्णा नन्दम्, ४० वर्षको भएँ । पाण्डुचेरीमा मेरो बुवाको करोडौंको सम्पत्ति छ तर म यहाँ बेंगलोरमा गाडी चलाएर जीवन बिताउँदैछु । पाण्डुचेरीमा मेरा छोरी र श्रीमती छन् । उनीहरूलाई म धेरै माया गर्छु । तैपनि म घर नगएको पाँच वर्ष भैसक्यो । सम्भवत: अब कहिल्यै जान्नँ ।
मैले कलेज पढ्दादेखि नै मन पराएकी केटीसँग विवाह गरेको थिएँ । उनी पनि मलाई साह्रै माया गर्थिन् । विवाह गरेको केही महिनापछि उनी मसँग झगडा गर्न थालिन् । मलाई नालायक भन्न थालिन् । पहिले त मसँग किन रिसाइन्, बुझ्न सकिनँ । पछि थाहा पाएँ, उनको र मेरो यौनसम्बन्ध सोचेजस्तो राम्रो हुन सकेन ।
पछि हाम्रो यौन राम्रो हुँदै गएजस्तो पनि लागेको थियो, तर एकपटक मनमा गाँठो परेपछि फुकाउन नसकिने रहेछ । मानिसहरू भन्छन्, प्रेम शुद्ध हुन्छ, यसमा स्वार्थ हुँदैन तर त्यो गलत हो । प्रेममा यौनले धेरै ठूलो भूमिका खेल्दो रहेछ । यौनको असन्तुष्टिले जस्तोसुकै प्रेमका सबै पर्खाल भत्काउन सक्छ ।
आयाम तीन
मेरो नाम सरस्वती, वर्ष २९, घर मुम्बई । कलेज पढ्दा प्रत्येक महिनाजस्तो युवाहरूले प्रेम प्रस्ताव राख्थें । म राम्री छु भन्ने मलाई थाहा थियो, तर कलेजका हरेक युवाले मन पराएपछि थाहा भयो, म साँच्चै राम्री छु । केही महिना मोडलिङ पनि गरें । केही युवासँग डेटिङ पनि गएँ तर त्यस्तो युवक फेला पार्न सकिन, जोसँग जीवन बिताउन सकियोस् ।
५ वर्षअघि आर्ट अफ लिभिङको कोर्स गर्न म बेंगलुरु आएकी थिएँ, जुन दिन गुरु श्री श्री रविशंकरलाई देखें, लाग्यो, म जस्ालाई प्रेम गर्छु, त्यो पुरुष यही हो । जब उहाँका ध्यान र योग गरें- थाहा भयो, शुद्ध प्रेम भनेकै यही हो ।
अब आजीवन यही आश्रममा बस्ने निर्णय गरेकी छु । सारा जीवन गुरुले देखाएको मार्गमा हिँड्नु, आश्रममा आउनेहरूको सेवा गर्नु नै मेरो काम हो । मलाई थाहा छ, गुरुले मलाई चिन्नुहुन्न । तैपनि उहाँले एक नजर हेर्दा पनि म तृप्त हुन्छु ।
प्रकाशित: पुस २५, २०७१
(स्रोत : Kantipur – Saptahik)