झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर
शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर ।
खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल
मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।।
अनगिन्ती हात गोडा कहाँ के के समाउँछ
बगैंचाको हरीयोमा राज गर्दै रमाउँछ ।
कमला फूलका पत्र कमला पातका मुना
निःशव्द भै चपाएर पचाई बस्छ दिन्दिन ।।
फूलका पत्रको खाजा बास्ना केशरको धुलो
सुग्घरी ठाँटमा बस्छ लाग्न दिन्न कतै हिलो ।
फूलबारी छ बिर्ता झैं माली छन् सब सेवक
पुर्पुरो नै बलियो छ झुसिले मोज गर्दछ ।।
न कुनै कामको चिन्ता न कुनै मनमा व्यथा
फूलको डसनामाथि परीको कल्पना कथा ।
चराचुरुङ्गी छन् शत्रु देख्तैमा चाल पाउँछ
कुनातिर लुकी बस्छ भित्रभित्रै हराउँछ ।।
मालीले छुन खोज्दामा उसका कलिला भुवा
चिलाउने झूस बन्छन् मालीको हुन्छ दुर्दुवा ।
सिन्को लिई चलाएमा गुँडुल्किन्छ सरक्कन
दया लाग्दो बनी बस्छ मन नै थाल्छ पग्लन ।।
विभिन्न रङगका फूल खाएर तिनको रस
पखेटामा सजाएर पुतली बन्न पुग्दछ ।
आकाशमा सैर गर्छ मस्कँदै मस्त चालमा
परी झैं पुतलीसाथ नाचे झैं ताल तालमा ।।
विश्व नै उसको देश स्वागतम् छ सबैतिर
सबैतिर छ सम्मान चर्च या मठ मन्दिर ।
फूलकै पत्रका बीच हुर्कन्छन् उसका भुरा
कहिलेको पुण्यले हो भाग्यमानी झुसिल्किरा ।।
कमलपोखरी, काठमाडौं
2014-09-12
(स्रोत : Fitkauli )