भएरै पनि चार खुट्टा
हिँड्न सक्तिनँ म
मानिसहरूले अंकमाल गरेर
नापेदेखिन् मेरा पुर्खाको छाती
निस्प्राण भएँ म
र फेरियो जात पनि
थाहा छैन–
कोको आए र गए
कोको बसे र छुट्टिए
मलाई थाहा छ–
मच्चिँदा–मच्चिँदै कलिलो बालकले
पाएथ्यो निर्दयी थप्पड
र कठोर बनेथ्यो उसको हृदय
त्यसै दिनदेखि
मलाई थाहा छ–
वर्षौंदेखि थिचिँदैछ गर्भमा
गराइँदैछ गर्भपतन
र मर्दैछन् नजन्मँदै
कैयौं बुद्ध, मार्क्स र सुकरातहरू
उभिएरै
गरिरहन्छु सेवा मान्छेको
जसरी उभिरहन्छन्–
छोरो डाक्टर बनेको सपना देख्दै
सेक्युरिटी गार्डहरू हस्पिटल गेटमा
जो पनि बस्न सक्छन्
मेरो काखमा
लाग्न सक्छन् अडेसा
मेरो छातीमा
ढल्न लागे अस्तित्व
जोगाउन चाहन्छु म
सुते पनि सिंगो संसार
जाग्राम पहरा दिइरहन्छु म
देख्छु–
टेबल आसपास हुने
दोस्रो दर्जाका पूजाकर्म
बोल्न सक्तिनँ म
लेख्न सक्तिनँ म
उफ्रिएरै झार्न सक्तिनँ
मेरो काखमा टासिएका किर्नाहरू
चुसिरहेछन्–
रित्तिँदै गएको ‘रसभोग’
टाक्सिँदैछ जीवन
थोत्रिसकेको छ मेरो शरीर पनि
लाग्छ–
छिट्टै भत्कन्छ वर्तमान
बन्नेछौं हामी सबै इतिहास
भएरै पनि चार खुट्टा
हिँड्न सक्तिनँ म
(स्रोत : Nagariknews)