जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दुःख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तति हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।
शनिबारको दिन थियो । हजुरआमा नाति र नातिनीका साथमा फूलबारीको फलैँचामा बसेकी छिन् । प्रत्येक शनिबार उनले कथा नभनी सुख पाउँदिनन् । आज पनि उनी कथा भन्ने सुरसार गर्न थालिन् ।
बाबू हो ! आज म तिमीहरूलाई एउटा अचम्भको कथा सुनाउँछु । नडराउनु नि । धैर्य गर, अधैर्य नामको रोग छ भने तुलसीको पत्ता खाओ र फुर्ती बढाओ । हिम्मत छ भने हुती बढाओ, छैन भने आँसु बगाओ ।
हजुरआमाको आज्ञा शिरोधार्य गर्न उनीहरू तुलसीको पत्ता चवाउन थाले । तुलसीको पीरोले उनीहरूका कान ठाडा भए । मस्तिष्क पनि छुराझैँ धारिलो भयो । घाम पनि झन् पारिलो भयो ।
उनी कथा भन्न थालिन्–एक समयमा एउटा लाम्चो गाउँ रहेछ । त्यस गाउँकी मालिक्नी म झैं सेतै फुलेकी तर दिमाख चाहिँ खुलेकी, ओठतालु खुइलिएकी तर सुखसयल भोग गर्न भुसुक्कै भुलेकी रहिछन् । उनको उमेर भने त्यस्तैे बाह्र कोरी नाघेको रहेछ । मेरो नाम “परी”, उनको नाम “नरी” हो । उनका तीन भाइ छोरा रहेछन् । बाँस जस्तै ठिङ्गरिङ्ग खडा हुने सबभन्दा अग्लो “सिकुटे” नामको जेठो छोरो, प्वाक्क मुखैमा हान्नूँ जस्तो स्वभावको भुक्क गाला भएको “भूक्के” नाम भएको माहिलो र उचाइका आधारमा सबभन्दा सानो अलिक श्याम वर्णको “लिखुरे” नामधारी कान्छो । जन्माउन त उनले सबैलाई एकै वेतमा जन्माएकी हुन् । को पहिले र को पछि जन्म्यो त्यसको हेक्का राख्ने फुर्सद उनलाई भएनछ । छोरा पाउनु थियो, पाइन । सुरुमा छोरा हुनेहरू “भुँइमा न भारामा कुकुर टाँडामा भए”जस्तो गर्छन् । सुख दियो भने त ठीकै छ । सानामा मर्ला कि भन्ने पीर, ठूलो भएपछि मार्ला कि भन्ने पीर हुँदा भने दाह्रा किटेर भन्न थाल्छन्–यो असती गर्भमै तुहेको भए हुन्थ्यो ।
नरीले प्रलय वेदना खपेर भए पनि जेनतेन तीनै छोराहरूलाई जोगाइन्, हुर्काइन् । किनभने नि नानी हो, त्यस गाउँदेखि दक्षिणतिर एउटा बडो शक्तिशाली सिंह बस्दो रहेछ, ऊ कसै गरेर कोही भेटिएमा चिरिप्पै पारूँला भन्दो रहेछ । त्यस्तै उत्तरतिर पनि एउटा अजङ्गको अजिङ्गर रहँदो रहेछ । ऊ पनि के कम ? कसै गरेर छेउछाउ आएका र देखा परेकाहरूलाई सिङ्गै निल्न पाए हुन्थ्यो भन्ने सोच्दो रहेछ । त्यसैले नरीलाई छोराहरू जोगाउन गाह्रो भएको रहेछ । पछि आएर भने उनका तिमरूजस्तै भाल्टाङ्गभुल्टुङ्ग नेप्टे, चेप्टे, थेप्चे, काले, घैटे, कैँटे, मुडुली, गुडुली, फुडुलीजस्ता नाना थरीका नामधारी अढाई कोटी भन्दा बढ्ता नातिनातिना भएछन् । त्यसपछि भने ती सिंह र अजिङ्गर अलिक डराएछन् र खूल्लमखुल्ला खाइहाल्ने विचार चाहिँ त्यागेछन् । हुन पनि हो, थोरैलाई हराउन सजिलै हुन्छ । धेरैलाई सिद्धध्याउन गाह्रो हुन्छ । त्यसपछि भने दुबै थरी बेग्ला बेग्लै रूपमा एउटै बोली भन्दा रहेछन्–ए नरीका छोराहरू हो ! तिमीहरू आओ । भेट गर । सल्लाह दिन्छु । मेरो इच्छा मुताविक मुखिया हुन पाउँछौ । तिमीहरूलाई खानु भनेको “हात्तीको मुखमा जिरा” मात्र हो । पेट भरिन्न । डर चाहिँ मान तर ज्यानै जाने त्रास नबोक । जे भने पनि मान । मानेनौ भने कानमा पक्रेर मामा घर घुमाउँदै, घुमाउँदै थानामा बुझाइदिउँला नि !
छिमेकीका कुराले नरी डराइछिन् । सिकुटे, भुक्के र लिखुरे भने आ–आफ्नो दाउ पर्छ कि भनी लुकिछिपी उनीहरूलाई भेट्न जाँदा रहेछ । उनीहरूको सबभन्दा बढी कृपा जसमाथि भयो ऊ नै त्यस गाउँको मुखिया भएर ढलिमली गर्न पाउँदो रहेछ । यस काममा भुक्के आठ, दश हात नै अघि रहेछ । उसले धेरै वर्ष मुखिया भएर मोजमस्ती गरेछ । विशेष गरेर उसैले नै सिंहलाई पनि दानापानी खुवाउँदै गएछ । सिकुटे र लिखुरे लगायत छोराछोरीहरूलाई पाखापाखै पारेर चिढ्याएछ । सहन नसकी उनीहरूले पनि भुक्केका विरुद्ध धुनचट्टी उठाउन सुरु गरेछन् । मर्ने र मार्ने खेल सुरु हुँदा हुँदै निकै वर्ष वितेछ । नरी रोइकराइ गर्न थालिछन् । भुक्के कसैका कुरा सुन्दो रहेनछ । अझ आफ्ना गाला भुक्क पार्नमै व्यस्त भएछ । यस्तो चर्तिकलाबाट रुष्ट भई आमाले नै अरू सन्तानलाई साथ दिइछन् । अब भने भुक्के बाबुको विहे देख्न थालेछ र मुखिया पद त्यागी हारगुहार माग्दै अघोषित रूपमा सिंहकै शरणमा परेछ ।
भुक्के सत्ताच्युत भएकोमा जताततै विजयोत्सव भएछ । केही दिनमै नयाँ मुखिया को हुने, कस्तो नियमले गाउँ चलाउँने भन्ने विषयमा विवाद देखा परेछ । आमाकै निर्देशनमा सबै मिली अन्तरिम कालको लागि अस्थायी मुखिया निर्योल भई अस्थायी नियम पनि बनेछ । हुँदाहुँदै मुखिया बन्ने र सर्वसहमतिले सधैँका लागि मूलनियम बनाउने कामका लागि चुनाव भई बहुमत ल्याउने जननिर्वाचित नयाँ मुखिया भएछ । पुनः किचलो सुरु हुँदा उसले राजीनामा दिएछ र अर्को तेस्रो दर्जाको मत ल्याउने चाहिँ नयाँ मुखिया बनेछ । किचलोबाट जन्मेको मुखिया किचलोमै फस्नु कुनै नौलो कुरो थिएन । सन्तान नियम बनाउनुभन्दा मुखिया पदकै लागि लुछाचुडी गर्न लागेकाले नरीको कन्पारो तातेछ र उनले भनिछन्– यत्तिञ्जेल त माहिलो भुक्केले मेरा अङ्गप्रत्यङ्ग लुच्छयो, लुछायो । दुःख दियो, दिलायो । अब त ऊ वनवासी भएको छ भनेर ढुक्क नमान । ऊ सिंहसँग मिलेर षडयन्त्र बुन्दै छ । तिमीहरू पनि उसकै मार्ग पक्रिँदै छौ । तिमीहरू आपसमा लड्न थाल्छौ । कमजोर हुन्छौ । अनि फेरि भुक्केको पालो आउँछ । अब ऊ मुखिया हुनु भनेको खुंखार तानाशाही शासक हुनु हो । त्यसपछि भने तिमीहरूले बात मात्र हैन लात सहेर ज्यान जोगाउनुपर्छ । मलाई थाहा छ– मेरा छोरानातीनातिनाहरू केकस्ता स्वभाव र आचरणका छन् भन्ने कुरा ।
नरीका कुरा सुनेर सबै डराए मात्र के भनेकी थिइन् परीले उनका नातिनातिनी त डरले थुरथुर पो काँप्न थाले । बाबूहरू हो ! यसरी किन डराएका, कतै कट्टु पो चिसो पारेऊ कि भन्दा दुबै कट्टु छाम्नतिर लागे । परी एक क्षण छक्क परिन् ।
उनले कथा भन्ने क्रम जारी राख्दै अगाडि भनिन्–बाबूहरू हो ! तिमीहरू थर्कमान नहोओ, नराम्रो काम गर्नेले पो थर्कमान हुनुपर्छ । तिमीहरू त हर्कमान नै भए पनि हुन्छ । अनि त्यही संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै उत्तरबाट अजिङ्गर र दक्षिणबाट सिंहले आमालाई दिनुसम्मको दुःख दिन थालेछन् । दुवैतिरबाट गाउँ फाँडफुँड बनाउन थालेछन् । यता घरकाहरू कानमा तेल हालेर र मुखमा लड्डू कोचेर बसेको देखेर नरी यसरी डाँको छोडेर रुन थालिछन् कि भनेर परीले अभिनय गर्न थालिन् । विचारा उनका दुबै नातिनातिनी हजुरआमा रुन थाल्नुभयो भनेर डाँको छोडेर रुन पो थाले । परीलाई फेरि आपत् आइपर्यो । उनले कुरा बुझाइन् । एक क्षणपछि नातीले भनेछ– हजुरआमा रुन थाल्नुभो भनी बहिनीले अनि रुन थालेको क्या !
अरुले भन्दैमा जे पनि गर्ने हो त ? बुद्धि र विवेक बन्धकमा राखेर काम गर्दै जाने हो भने एक दिन कन्धनी बाँधेर, लौटी भिरेर, झोलीतुम्मा बोकेर कि उत्तरतिर लाग्नुपर्छ कि दक्षिणतिरै भासिनुपर्छ । हर्दम होसको ओखती खाएर काम गर भनी परीले जसोतसो उनीहरूलाई सम्झाइछिन् ।
फेरि उनले कथा सुरु गरिन् – अँ, नानी हो ! एक दिन नरीले सुख्खा ठाउँमा ठूलो पोखरी खनिछन् र दुबै सिकुटे र लिखुरेलाई डाकेर ठूलो स्वरले भनिछिन्– पुत्रहरू हो ! मैले प्रतिज्ञा गरेकी छु । आजको तेस्रो दिनमा मैले यस पोखरीमा माछाका भुरा खसाउनु छ । पानी विना माछा बाँच्न सक्तदैनन् । तिमीहरूलाई दुई दिनको समय भयो, यो पोखरी टनाटन भर । यदि यत्ति पनि गर्न चाहदैनौ भने तिमीहरू पनि कुपुत्र रहेछौ भन्ने म ठान्छु । मैले लिएको अखण्ड प्रतिज्ञा असफल पार्छौ भने जाओ अजिङ्गर र सिंहको गुलाम गर्न । मेरो नजिक नबस । हैन भने, ख्याल गर, मात्र दुई दिनको समय छ ।
उनीहरू बडो विलखबन्दमा परेछन् । सुख्खा ठाउँको यत्रो ठूलो पोखरी कसरी भर्ने होला भनेर संकटमा परेछन् । आमाको अखण्ड प्रतिज्ञा पनि पूरा नगराई नहुने, बडो धर्मसंकट आएको महसुस गरी भएभरका सबै आफ्ना सन्तानलार्ई तुरुन्तै डाकी आमाका सम्पूर्ण कुरा सुनाए पछि लिखुरेले भनेछ– सबै मिलेर भर्न थाल्यौँ भने क्षणभरमै पोखरी भरिन्छ । आमाले हार्नु भनेको हामी पराइको दास बन्नु हो । त्यसकारण मिलौँ । सिकुटेले थपेछ– हातमा हात मिलाएर सबैजना आओ । घरघरैबाट घैलाका घैला पानी लिएर आओ । सबैले भरौँ पोखरी । यही पोखरीमा कमल फुलाऔँ । आमाको मुहारमा मुस्कान भित्र्याऔँ ।
अनि नि नानीहरू हो ! ती अढाई कोटी सन्तान मिलेर रातारात गरेर, घैलाका घैला पानी हाली क्षण भरमै पोखरी टनाटन पारेछन् । त्यसपछि नि एकाविहानै आमा आइछिन् र खुशी हुँदै सबैलाई सम्बोधन गर्दै भनिछिन्– उपस्थित मेरा प्यारा सज्जन सन्तानहरू हो ! आज मैले तिमीहरूको पौरख खान पाएँ । अघोरै खुशी छु । खुशीले मन र तन दुबै फुरुङ्ग छ । सधैँ यस्तै मेल रहोस् । मेले जे चाहेकी थिएँ आज शतप्रतिशत भेट्टाएँ । यसको अर्थ हो, आजसम्म तिमीहरू निदाएका रहेछौ । बल्ल जाग्यौ । यसरी नै सधैँ जाग । बुझ, निदायौ कि तिमीहरूको आफ्नु भन्ने कुरो अरूले लुट्नेछ, हाँडीमा मकै भुटेझैँ तिमीहरूलाई भुट्नेछ । तिमीहरूमा मेल भइरह्यो भने ऊ फेल भइरहनेछ । ऊ चलाख छ । उसले पुनः झेल गर्न सक्छ र कहरको पोखरीमा तिमीहरूलाई ठेल्दिन सक्छ । तिमीहरू एकताबद्ध भयौ भने उसको हप्की, दप्की र धम्कीको सामना गर्नुपर्दैन । आफ्नो मुखिया आफैँ छान्यौ, सबै मिली मूलनियम आफैँ बनायौ र मलाई मनैदेखि आदर गर्दै रह्यौ भने तिमीहरूको सधैँ जय हुन्छ, भय हुनै पाउँदैन । यही लय सधैँ पक्र, आफ्नातिर मात्र फर्क । अजिङ्गर डुक्रियोस् कि सिंह फुर्कियोस्, वास्ता नराख । ईर्ष्या, रिस, क्रोध, डाहा, अहङ्कार भए जति फेँक, मेरा प्यारा सन्तति भइरहू सधैँ एक ।
आमा नरीका कुराले सबै खुशी भएछन् । आमाको तेजस्वी मुहारतिर हेर्दै ढोगेछन् र हातेमालो गर्दै अघि बढेछन् ।
आजको कथा यत्ति नै । अन्तमा, पहिलेको कहिरन फेरौँ । त्यसपछि हेरौँ । नमान्नेलाई केरौँ । पेटमा भएको दुष्ट्याइँ जति छेरौँ । शत्रुलाई सबै मिली घेरौँ । सुन्नेलाई फूलको माला, बुझेर काम गर्नेलाई सुनको माला, यो कथा सबै नेपालीको मनमनमा जाला, काम बिगार्ने बखतमा झट्टै मनमा आइजाला ।
धन्यवाद ।
तपेश्वरी : १, उदयपुर, मो. नं ९८४२८२९२०६
हालः– लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज–९, सप्तरी ।
MAY 8, 2010
(स्रोत : Nandalal Acharya’s Blog)