निबन्ध : पारदर्शी झ्यालहरूको कर्पोरेट आशक्ति

~गीता त्रिपाठी~Geeta Tripathi

‘कृपया झ्याल बन्द गरिदिनुहोस्! बाहिर जाडो बढ्दै छ।’

विश्वका महान् तर्कशास्त्री सोक्रेटसलाई सत्सङ्गमा सहभागी एक जना तर्कमित्रले यसो भनिरहँदा उनले प्रश्नार्थी जवाफ दिएका थिए— ‘मैले झ्याल बन्द गरिदिँदैमा भित्र कोठा न्यानो हुन्छ त?’

झ्यालले बाहिरी दुनियाँसँग जोड्छ यो सत्य हो। भित्ताभन्दा झ्याल सत्यतः सुन्दर हुन्छ। तर झ्याल सोक्रेटसले भनेझैं समस्याको समाधान दिन सदैव सक्षम हुँदैन। यो विश्वको इतिहासले बताएको छ। जहाँ झ्यालभित्रका लागि खुल्छ तर बन्द गर्दा बाहिरको लागि मात्र बन्द हुन्छ। झ्यालको परिकल्पना कसरी कुन युगमा भयो, त्यो यसै भन्न कठिन छ। हाम्रा प्राचीन साहित्यहरूमा झ्यालको सजावट निकै भव्य तरिकाले गरिएको चित्रण पाइन्छ। नाटकमा यसको दृश्य झन् लोभलाग्दो हुन्छ। सहरीकरणमा सिसाका झ्यालहरूले बन्द गरेपछि पनि बाहिरी जगत्सँग जोडिरहन्छ। साँच्चै बन्द गर्नका लागि पर्दाहरू आवश्यक हुन्छन्। ती पर्दा ठिक समयमा खुल्नु र बन्द हुनुसँग समाजको सम्बन्ध र सरोकार छ तर झ्यालका पर्दाहरू अत्यन्त द्वैध चरित्रका भइदिए भने कोठाभित्रको वातावरण कति अराजक हुन्छ, त्यो हाम्रो राजनीतिक इतिहासले पटक पटक अनुभव गराएकै छ।

यसर्थ झ्यालमाथि धेरै चिन्तनहरू भएका छन्। अनेक साहित्य लेखिएका छन्। वर्तमानको झ्याल एउटा झ्यालमात्र होइन, यो चेतनाको माथिल्लो उपकरण पनि हो। दायाँ मस्तिष्कलाई यही झ्यालले बायाँ मस्तिष्कसँग जोड्छ। झ्याल त्यसैले पनि प्रिय छ। ढोका थुनेर घन्टौं कोठामा बसिरहनेको जीवनशैलीमा झ्याल अन्तःप्रेरणाको निरन्तरता पनि हो। तर कहिलेकाहीँ झ्यालभित्रका दृश्यहरू बाहिरी दुनियाँसँग यसरी ठोक्किन्छन्, मानौं बाहिरको संसार झुठो हो। यही रणभुल्लमा परेको एउटा कवि हृदय यसरी झ्यालसँग बिथोलिन्छ—
टाँगेर झ्यालमा
झ्यालभन्दा पारदर्शी पर्दाहरू
समय भर्खरै नयाँ सडकमाथिको
रिवल्भिङ रेस्टुरेन्टबाट चियाइरहेछ…

कहिलेकाहीँ झ्यालहरू यति घातक हुन्छन्, मानौं ती आत्महत्याका लागि मात्र उभ्याइन्छन्। अथवा ती लुकेर गोली हान्नका निम्ति बनाइन्छन्। झ्यालको प्रारम्भिक अर्थ त्यस्तो पटक्कै थिएन। महात्मा रजनीशले झ्याल भित्रबाट मात्र खुल्छ भनेका छन्। यो सामान्य कुरामा कति गहन जीवनदर्शन पहिल्याउँछन् उनी। कविवर माधव घिमिरेले झ्यालभन्दा केही तहमाथि उक्लेर सन्यानदलको प्रयोग गरेका छन्, कवितामा। उनको सन्याख ल सामान्य झ्याल होइन, त्यो त संसारलाई चियाउने उचाइ र आँखा पो त!

आजभोलि खुल्ने झ्यालहरूको अर्थ अनन्त छन्। ती भित्रबाट खुल्छन् तर रजनीशले भनेजस्तो भित्रका लागि रहँदैन तिनको दृश्य। झ्याल खुल्छ भित्रबाट तर दृश्य बाहिरबाट देखिन्छ। तथाकथित पारदर्शिता आजको फेसन बनेको छ। यस्ता झ्यालभित्रको साँगुरो दृश्यले बाहिरको सम्पूर्ण जगत्लाई आन्दोलित बनाइदिन्छ। बुझ्नेका लागि गायत्री मन्त्र पनि त एउटा झ्यालै थियो! प्रकृतिबाट उब्जाइएको यो सिर्जना लामो समय प्रकृति अर्थात् नारीबाटै टाढा राखियो। यो पनि त बन्द झ्यालभित्रको कथा न हो। उज्यालोको अर्थलाई इमानदारीपूर्वक व्याख्या गरिहेर्दा मानिस झ्यालको उत्तराधिकारी हो किनकि विश्वलाई उसैको चेतना र सभ्यताले बचाउँछ।

आजभोलि आधुनिकताभन्दा अघि बढेका स्वैर र अतिरञ्जनात्मक झ्यालहरू जादुमयी पर्दाबाट चियाइरहन्छन्, सहरमा। भित्रको उज्यालोबाट संसार हेरिनु तिनका लागि पुरानोमात्र नभई थोत्रो परम्परा पनि हुन थालेको छ। यसैले आजको आधुनिक झ्याल स्थिरतामा होइन, हल्लिनुमा आनन्द मान्छ। तर यो हल्लाइमा जीवनको उत्सव रत्तिभर हुँदैन, मात्र भूकम्प हुन्छ। विनाश हुन्छ।

कथा यही झ्यालको हो। भारतीय कवि तथा निबन्धकार हरिवंश राय बच्चनले आफ्नो चौथो तथा अन्तिम आत्मकथा ‘दश द्वारसे सोपान तक’मा आफ्नो बाल्यकाल बितेको इलाहावादको घरको वर्णन गरेका छन्। उनलाई त्यस घरमा दस वटा ढोकाहरू छन् भन्ने विश्वास नै जीवन र सिर्जनाका लागि मूल प्रेरणा बन्थ्यो। उनी ती ससाना खोपाहरूलाई नै ढोका मान्थे। ठूलाले ती खोपाहरू बन्द गरेलगत्तै उनी त्यो खोलिसक्थे। उनलाई ढोका जतिसक्दो खुला रहेको मनपर्थ्यो। उनी कवि र प्राध्यापक थिए। दुवै व्यक्तित्व उच्च मानवताले सम्पन्न। उनी कतै कवि र राजनीतिज्ञ भइदिएको भए कस्तो हुँदो हो! सायद यो विश्वकै लागि एक बेजोड संयोग हुन्थ्यो होला!

काठमाडौंलाई देशेमरुझ्याको सहर भनेर गर्व गरिन्थ्यो। आज पनि यसको पुराताŒिवक सन्दर्भ जोडेर काठमाडौंवासीले गर्व गरेकै छन्। तर यही काठमाडौं आज सिसाको पारदर्शिता साटेर आफ्नो सिक्रेटलाई बजारु बनाइरहेछ। आफू हुनुको गोपनीयतालाई भंग गरेर भड्किलो अन्तर्वार्ता दिन काठमाडौंका प्रत्येक गल्ली गल्लीमा डिजिटल क्यामेराको लेन्स आफूतिर सोझ्याउने प्रतिस्पर्धामा छ। प्रत्येक गल्लीमा यसरी खुल्छन् झ्यालहरू मानौं ती प्रत्येक झ्याल एउटा एउटा फेसबुक आइडी हुन् र सस्ता स्टाटसहरू बाँचेर जीवनको संघर्ष र अस्तित्वको अवमूल्यन यो स्वयंको आइडेन्टिटी। ह्याङ भएका ह्यांगिङ सपनाहरूले अस्तव्यस्त छ काठमाडौं यतिखेर। यहाँको व्यस्त जीवनशैलीमा एउटा भयावह रिक्ततामात्र छ।

कोही राजधानी फर्किन्न कि भनेर गोहीको आँसु झार्न अभ्यस्त छन्। झ्यालबाट भित्र पसेकाहरू ढोकाको महŒव के जानून्! झ्याल बन्द गरिबस्नेले उज्यालोको आभा कसरी अनुभव गरून्! पहिले झ्यालतिर आँखा दगुराउनुको रहस्य नै अर्थपूर्ण थियो। आँखा र झ्याल क्रिया र प्रक्रियागत दुवै अर्थमा समानार्थी भाव बोक्थे। कवि दुर्गालालले ‘दैलो’ शब्द प्रयोग गरे भित्री आँखाको सन्दर्भमा। वास्तवमा झ्याल होस् वा दैलो दुवै कि त भित्रबाट बाहिरका लागि कि त बाहिरबाट भित्रका लागि हुने गर्छन्। खास त दैलो भित्र–बाहिर गर्ने दुवै उद्देश्यले निर्माण गरिन्छन्। त्यसैले दैलोको अर्थ व्यापक छ। यही व्यापक आर्थिक कारणले हुनुपर्छ कविवर घिमिरेले लेखे— ‘ढोका खोल मालती ढोका खोल हे…ढोका खोल्नु पहिले बोल बोल हे…।’ गीतकार दिनेश अधिकारीले लेखे— ‘ढोकामा बत्ती चोटामा बत्ती तैपनि मनमा उजेलो छैन…।’

सिद्धार्थ आर्ट ग्यालरीमा ढोका कविताको लामो शृंखला चल्यो, कविता र पेन्टिङको सहसिर्जना तर पेन्टिङका लागि ढोकाको क्यानभास कविताको भावअनुसार प्रतीकात्मक थिए, आधा खुला या बन्द।
यो ०६२/६३ को जनआन्दोलनको समय थियो। गणतन्त्रका निम्ति खर्चिएको त्यस समयमा यस्ता धेरै नै ढोकाहरूका कथा लेखिए कवितामा—
नगर्चीहरूले आफ्नै छाती उधारेर
बजाउने छैनन् साइतको कुनै दिन
त्यो ढोकाभित्रका अतिरञ्जित धूनहरू
रात छिप्पिनुपहिल्यै खोलिदिएको भए ढोका
आज आफ्नै घर
यत्ति बिरानो हुने थिएन…।

यस्ता कैयौं कथाहरू छन्, बन्द ढोकाभित्र। ढोका खुल्नु स्वतन्त्रताको बहाली हुनु हो तर झ्याल खुल्दा अन्तरको चेतनासमेत ब्युँझन्छ। आज ढोकाभन्दा झ्याल खुल्नु आवश्यक भएको छ। तर आजका झ्यालहरूभित्रको दृश्यले उल्टो, दर्शकलाई नै लज्जित बनाउँछन्। कोठाभित्रका नायकहरू आफ्नै स्वार्थको बन्द झ्यालभित्र स्वरतिमा रमाएका छन्। विश्वका आँखाहरू उनीहरूतिर लक्षित भइसक्दा पनि तिनलाई आफ्नै आँगनको घामसँग विश्वास लाग्दैन। मध्ये रातपछि बन्द भएका आँखाहरू दिन ढलिसक्दा पनि अँध्यारै देख्छन्। यही विडम्बनाले जेलिएको काठमाडौं पारदर्शी झ्यालहरूको कर्पोरेट आशक्तितिर तन्किरहेको छ।

झ्याल अलिक फरक छ, स्वतन्त्रताको अर्थमा ढोकाभन्दा। ढोका बढी उदार छ र बढी स्वतन्त्र छ। कवि हरिभक्त कटुवालले नयाँ सडककै कुनै भट्टीबाट बिहानको घामलाई चियाए र लेखे— ‘पोखिएर घामको झुल्काभरि संघारैमा, तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है…।’ त्यही नयाँ सडकमा आज सिर्जनात्मक साँझ हराइसकेको अनुभव हुन्छ। मानवताको ढोका बन्द हुँदै गएको चोकमा युगकविको प्रतिमा टोलाइरहेछ। विजय मल्लको ‘बौलाहा काजीको सपना’का स्वप्नद्रष्टा सिद्धिचरण आज पनि सपनाहरूको पराजय खपिरहेछन्। सांस्कृतिक अवमूल्यन हुनुमा राजनीतिको रङले माथ टेकाएको छ दुनियाँलाई। रिवल्भिङ अनुभूतिमा दुनियाँ झुमिरहेछ र यता झुमिरहेछ देशको राजनीति यही रिवल्भिङ सपनामा।

कला र साहित्यको समकालीन तस्बिर उतार्न ‘लेकिन दरवाजा’ लेखे भारतीय उपन्यासकार पंकज विष्टले। यसमा नीरस वर्तमानका पात्रहरू निलांवर र देवेनको समकालीन उदासी दरवाजाका माध्यमबाट पाठकका भित्री मनसम्म ओहोरदोहोर गरिरहन्छन्। आफ्नो समय, योग्यता र कलाको जोखिमलाई चिन्न नसकेका पात्रहरूको विडम्बना यस उपन्यासको औपन्यासिक यथार्थ हो। विसंगत समयलाई चियाउने एउटा गतिलो ढोका बनेको छ यो उपन्यास। बिटल्सपछिको चर्चित सांगीतिक ब्यान्ड ‘डोर्स’ले पनि समकालीनताको खोजी संगीतबाटै गरेको थियो। सिसेरोले पुस्तक नभएको घरलाई झ्यालविनाको माने। समाज र संस्कृतिको सापेक्षमा महान् आत्मा शुक्रराज शास्त्रीले लेखे— ‘न घरलाई घर कहिन्छ, नारी नै घरको द्वार हो…।’ यसरी सिसेरो वा शुक्रराज दुवैको आशय ज्ञान र प्रेमसँग जोडिएको छ। यी दुवैले लिएको प्रतीक झ्याल वा ढोका हुनु गम्भीर वैचारिकता हो। चिन्तनका आधारमा झ्याल अझ गम्भीर विषय हो। शरीरमा आँखा हो झ्याल। यसलाई आवश्यकताअनुसार भित्रबाट खोलिन्छ। भित्रको उज्यालोको मात्रा झ्यालले बढी तय गर्छ ढोकाको तुलनामा।

महाकवि देवकोटाभित्रको समालोचकले कथालाई सानो आँखीझ्याल मानिदियो, एउटा सानो संसारलाई चियाउन पुग्ने उज्यालो यसैभित्र निहित हुने कुरा यसले प्रस्ट पारिदिएको छ। कथाकै सन्दर्भमा समालोचक डा. ईश्वर बरालले ‘झ्यालबाट’ कृति तयार पारे। निबन्धलाई ‘सयपत्री’ भन्ने समालोचकले कथालाई हेर्ने दृष्टि झ्याल नै मान्नुको पछाडि झ्याल जीवनको सूक्ष्मतासँग बढी नजिक छ भन्ने अर्थ पनि छ त्यसमा। सहरीकरणले झ्यालको भावभंगीमा परिवर्तन गरिदिएको छ, तापनि यहाँ विकासको यात्रामा सहरीकरणलाई रोक्नुपर्छ भन्ने आशय अवश्य होइन। सहरीकरण सहरकै परिभाषामा साह्रै स्वागतयोग्य छ। काठमाडौंको सहरीकरण वास्तवमा हुनै सकेन।

सहरभित्रको व्यवस्थित जीवनशैली, राजनीतिक स्थिरता, सुसंस्कृतता तथा सामाजिक आरोह यी सबै कुरा काठमाडौंले अनुभव गर्न पाएकै छैन। सहरीकरणको नाममा कतै घरको साइज बढेर भवन बन्यो होला। भवनको साइज बढेर महल हुँदै मल संस्कृति विस्तार भएको होला। झ्यालका साइज बढेका होलान्। सडक केही विस्तार भए पनि अँध्यारोको साम्राज्य सहरीकरणको पहिलो अभिशाप बनेको छ। अँध्यारो त्यो पनि दुवैतिरको। बाहिरी आँखाका लागि चाहिने उज्यालोको अभाव छ। भित्री आँखाको उज्यालो त जन्मजात नै पृथ्वीका मानिसबाट हराउँदै गइरहेछ। मानवीय परिकल्पनाले हरियो आँखा अब पृथ्वीका मानिसमा नभएर अर्को ग्रहबाट आउने एलियनमा हुन सक्छ भन्ने अनुमान लगाइरहेछ हाम्रो कलाले। आधुनिकताभित्रको आदिमताले सहरलाई निलेकै छ।

पृथ्वीको राजधानी भनेका छन् आफ्नो निबन्धमा देवकोटाले नेपाललाई। यो नेपालको राजधानीमा जन्मिएका उनले राजधानीको खास स्वाद पाएका थिएनन्, त्यसैले त उनी पहाडी जीवनको प्यासले तानिन्थे समय समयमा। असारको पन्ध्र खोज्दै पुग्थे अक्षरको बीउ लिएर। जीवनमा अनेक कथासँग साक्षात्कार गरे उनले र त्यसलाई सही अर्थमा नियाल्न झ्यालको सापेक्षमा परिभाषा बनाए। आज एउटाले ढोका खोल्छ, अर्कोले झ्याल बन्द गरिबस्छ। त्यसबेला पनि राजनीतिको ताण्डवले जनतामा आजकै नियति लादेको थियो। आज पनि यही ताण्डव हिउँ र आगोको जम्ने र फैलने स्वभाव लिएर घरि काठमाडौं त घरि गाउँ पस्ने योजना बुन्छ। धेरै फरक छ एउटा कवि र एउटा नेताको दृष्टिकोण। नेताभित्रको नृपता हावी होउन्जेल ती ग्लेसियरझैं चड्किरहन्छन्, कहिले आफंैभित्र बाफिएर कहिले अरूको तापमा पग्लिन नसकेर।

झ्यालका निम्ति बौद्धिकताको पर्दामात्र काफी हुँदैन, हार्दिकताको रिङमा अड्काइनु यसको सौन्दर्य हो। झ्यालभित्र कति कति कुण्ठित मनोविज्ञानहरू बाहिरको उज्यालोमा चियाउन चाहन्छन्। कहिलेकाहीँ परिवर्तनको संघारमा उभिएका बेला यस्ता चियाइहरू असामाजिक र अराजक पनि ठहर्लान्। गोविन्दबहादुर मल्ल गोठालेले ‘पल्लो घरको झ्याल’ लेखे। यसमा ठूलै क्रान्ति छ, मानिसका प्राकृत र आदिम इच्छाका पक्षमा। तर यहाँ त प्रत्येक झ्याल यो सत्यको उद्घाटन गर्नुभन्दा सत्यलाई निर्वस्त्र बनाउनमा अग्रसर छन्।

एक कम्युनिस्ट नेताले ०४६ सालतिर भनेको सम्झन्छु। चुनावताका मात्र सकसकाउने प्रवृत्ति भएका कारण ‘हामी वेश्या हौं’ भनेर उनले सम्पूर्ण नेताका तर्फबाट आत्मस्विकारोक्ति दिएका थिए। यो अभिव्यक्तिको मर्म आज कति छ मलाई थाहा छैन। महाकविले पनि द्वैध चरित्रधारी राजनीतिलाई छिपेकी रन्डी भनेका छन्। यस्ता असभ्य विम्बहरू उभ्याउन एउटा सभ्य कवि किन बाध्य बनाइन्छ? यस्तो आवेग जन्माउने बन्द झ्यालभित्रको कथा लेखिनुपर्छ कि पर्दैन? पात्रत्वको मञ्चन हुनुपर्छ कि पर्दैन? देवकोटाका कवितामा व्यंग्य छवि धारण गरेका कालजयी नेताहरूलाई आजका नेपाली जनताको यो अहम् प्रश्न हो।

रनजित गजमेरले लेखेथे एउटा गीत। हिन्दी फिल्मका खतरनाक चरित्र अभिनेता डेनीले गाए— ‘झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ…।’ डेनी यो गीत गाउँदा त्यति नै संवेदनायुक्त लाग्छन्, जति संवेदनाविहीन खलनायकका रूपमा दर्शकमाझ अनुभव गरिन्छन्। वास्तवमा कलाले हृदयलाई जोड्छ, तोड्दैन। काठमाडौंमा अहिले केही कलारहित नाटक झ्यालबाट मञ्चन भइरहेछन्। सडक नाटकको क्रेज हुँदाहुँदै यो झ्यालमा मञ्चासीन हुनेहरू दृश्यमा कति नमिल्दा र भद्दा सेल्फीझैं देखिएका छन्। यो अर्को कुरूपता पनि देशेमरुझ्यामा भित्रिँदैछ। नेपथ्यले गाएर सावधान गराएथ्यो झ्यालका अधिकारीहरूलाई— ‘झ्यालैमा बसेर हो जिस्काउनु पर्दैन…। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले…।’ वर्तमानको कुहिरोले फेरि एकपटक देउराली डाँडालाई छेक्न खोज्दै छ। राजधानीको झ्यालमा बस्नेहरूलाई हिँड्नेहरूको स्वतन्त्र बाटोमा अवरोध दिने अधिकार कसैले दिएको छैन। कुहिरोको महत्ता गाउनेहरूको परासर सपनाहरू आज आएर दृष्टिभ्रम मात्र भइसकेको छ। आजको आमजनता मत्स्यगन्धाबाट सत्यवती बन्ने धोको राख्दैन बरु ऊ मत्स्यगन्धाकै अस्तित्व बाँच्न चाहन्छ। कुनै परासरको खोक्रो नैतिकताको इतिहास बनाउनुमा ऊ लालच राख्दैन। उसलाई कुनै कुहिरोको पर्दा मञ्जुर छैन।

त्यसैले झ्यालमा टाँगिएका पारदर्शी पर्दाहरू झ्यालैका निम्ति पनि एउटा समस्या बन्दै गएका छन्। तिनले बोकेको पारदर्शितामा कुहिरोको अस्तित्व छ। मस्तिष्कलाई जेलेर बसेको पातलो झिल्लीले सिंगै मस्तिष्कको रक्षा गरेको हुन्छ तर पारदर्शी पर्दाहरू सहरमा उज्यालोका निम्ति बाधक भएका छन्। कहिलेकाहीँ तिनका शल्यक्रिया गर्नु आवश्यक हुन्छ तर कहिलेकाहीँ पर्दाहरू फेर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ, खासगरी त्यस्ता पर्दाहरू जसलाई आफ्नै रङ र आकार थाहा छैन अर्थात् जसको रङ र साइज झ्यालको नाप नक्सासँग मेल खाँदैन। केही पर्दाहरू न पानीले धोएर सफा हुन्छन्, न तीबाट प्रवेश गर्ने उज्यालोमा जीवनको कुनै गति हुन्छ।

पानी र प्रकाशले अरूलाई चम्काउँछन् त्यसैले तिनको आकार र रङविहीनताप्रति कसैको गुनासो हुँदैन।

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.