कथा : मान्छे जागेको दिन

~लेनिन बन्जाडे~Lenin Banjade

दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं। संसारमा सबैभन्दा बलवान र शक्तिशाली मान्ने बाउ मुख सुकाउँदै अँगालो मारेको उसले सायद पहिलोपटक महसुस गर्दै थियो। पाँच वर्षको पुन्टे छोरोमा बिस्तारै उमि्रँदै गएको जीजिविषाको मुना मैले निमेषमै छामेँ। र, जबर्जस्त छामेँ।

संसार हल्लाउने रोटेपिङ एउटा बिन्दुमा पुगेपछि अडियो र मेरो छातीबाट छोरो लुसुक्क बाहिर निस्कियो। र, देख्यो— कोठाभरि बिस्कुनझैं झरिएका सिक्का। अघिल्लो जन्मदिनमा पाएको त्यो सानो खुत्रुकेका खाप्टा परसम्म उछिट्टिएका थिए। उसको मन त्यही ‘पिगी ब्यांक’ फुटेको पराकम्पनले भित्रैदेखि हल्लिएको थियो। पुलुक्क हेरेँ— अर्को खुत्रुके त्यही दराजमा टक्क अडिएको थियो।

पसिनाले निथ्रुक्क अनुहार पुछ्दै दुई रुपैयाँको ढ्याक टप्प टिपेर भन्यो, ‘बाबा, भूकम्पलाई दिनुस् न।’

एकमन लाग्यो— त्यो ढ्याक जोडले झ्यालबाहिर फ्याँकेर भूकम्पलाई कतै टाढा पठाइदिऊँ। छोरोलाई हम्मेसी लाग्यो— भूकम्प बाटामा माग्दै हिँड्ने हर्क्युलिसजस्तै अजंगको कुनै मगन्ते हो। र, दुई रुपैयाँको ढ्याक दिएपछि ऊ लुसुक्क आफ्नो बाटो लाग्छ। या उसले ढोकाको कोप्चेरोमा ठड्याएर राख्ने लठ्ठीले हिर्काएपछि भूकम्प अलप हुन्छ।

ममा त्यही दुई रुपैयाँको ढ्याक उठाउन सक्ने ताकत थिएन। सायद उसले पहिलोपटक बाउलाई यति कमजोर र निरीह देख्दै थियो।

त्यो ३० सेकेन्डजतिको कम्पन सकिँदा कोठाभित्र कैद हामी पाँच जना एउटा सिंगो जुनी बाँचेर सास फेर्दै थियौं।

वरपर मान्छे चिच्याउँदै कतै दौडिँदै थिए। डरले चाउरिएको भाइ (दीपक) झ्यालमा बसेर बाहिर हेर्दै हामीलाई भन्दै थियो, ‘अब ठूलो आउन्न, केही हुन्न नडराउनुस्।’

भूगर्भशास्त्र पढेको भाइले यति भन्दा कोठाभित्रका हामी पाँच जनाको अनुहारमा अचम्मको कान्ति छायो। अगाडि घरको पर्खाल सडकमै लम्पसार परेको थियो।

‘अलिअलि झट्का आउँछन् तर यत्रो आउन्न,’ ऊ भन्दै थियो, ‘आत्तिएर बाहिर निस्किनु हुन्न, झन् डर हुन्छ।’

बूढीले दुई–तीन वटा सिरानी लिएर छोरो र मेरो टाउकोमाथि राखी। उसका हात भूकम्पभन्दा बढ्दा काँपिरहेका थिए। पलङमा बसिरहेकी सासू आत्तिएर भन्दै थिइन्, ‘के हुन लाग्यो के नानु यस्तो?’
सान्त्वना दिँदै भाइ भन्दै थियो, ‘नडराउनुस् अब, आउनुपर्ने आइसक्यो।’

वरपर गाइँगुइँ चल्दै थियो, दराजबाट अर्को खुत्रुके भ्यात्त खसेर भुइँमा बजारियो। र, सँगै ठिंग उभिएका हामी हल्लिएर अचानक थ्याच्च बस्यौं। लाग्यो— सायद जीवनले आजै यहीँ विश्राम लिँदै छ। पाँचै जना हतास भएर कक्रक्क पर्यौं कुनामा। यस्तो जबर्जस्त कम्पन हामी पाँचमध्ये कसैले कहिल्यै न भोगेको थियो, न कतै कल्पना गरेको थियो। आफू बसेको दुई वर्षमा यो घरको यति माया कहिल्यै लागेको थिएन।

डरले सबैभन्दा अठ्याएको थियो— छोरोलाई। बिठ्याइँ गर्दा ‘भूकम्पले लैजाला है’ भन्न थालेदेखि उसमा भूकम्पप्रति अत्यासलाग्दो डर बसेको थियो। न हामीले उसलाई बुझ्यौं, न उसले हामीलाई बुझायो। आज आफ्नै घर फनफनी घुम्दा हामीभन्दा जोडले ऊ डराउनुमा सायद यही मनोविज्ञानले डोर्या्एको थियो। र, मर्नुभन्दा बढी उसलाई भुइँभरि छरिएका सिक्काले जिस्काइरहेका थिए।

यो त्यस्तो शनिबार थियो, जुन उसको जीवनमा सर्वाधिक शान्त र अस्थिर दुवै थियो।

दोस्रो झट्काले सिंगो सहर हल्लाइसकेपछि वरपरका मान्छे बिस्तारै घरबाहिर निस्किएको देख्यौं। झ्यालभित्रबाट भाइ चिच्याएर भन्दै थियो, ‘ननिस्किनुस् अहिले, घर भत्केर लाग्ला!’

उसले बोलिनसक्दै छेवैको घरबाट ११ दिनकी सुत्केरी बच्चा च्यापेर दौडिइन्। र, उनीसँगै पछि लागे अरू मान्छे। छेउका सग्ला घर सग्लै थिए तर मन सग्ला थिएनन् कसैका। मनका अनेक कुनामा चिर्का परेको थियो, कति चर्किएका थिए, कति चर्किंदै थिए।

कोठाभित्रका हामी पाँच जनाका खुट्टाले भुइँ टेक्न सकेका थिएनन्, अझैसम्म। कम्पन त आएर गयो, मनको कम्पनले झनै जोडले हल्लायो।

अनि चौथो तलाबाट घरबेटी लुसुक्क फेदको हाम्रो कोठाबाहिर झुल्किए। उनीसँगै क्रमशः हरेक तलाबाट झर्नेहरू हाम्रै कोठाबाहिर गुचुमुच्च परे।

‘यहाँ बस्नु ठिक हुन्न, जाऊँ बाहिर,’ भिडबाट कोही बोल्यो। डरले म कान नसुन्ने भइसकेको थिएँ, मान्छे ठम्याउन सकेको थिइनँ।

छोरोलाई च्याप्प समातेँ र छातीमा टाँसेँ। वरपरका धेरैजसो मान्छे त्यसैगरी केटाकेटी च्यापेर दौडिँदै थिए। वयस्कहरूको अनुहामा देखिने अत्यास स्वाभाविक हो, केटाकेटीमा त्यस्तो कुन मनोविज्ञान हुन्छ, जसले उनीहरूलाई भूकम्पको डरले कक्रक्क पार्छ, मैले बुझ्न सकिनँ। मृत्यु र जीवनप्रति उनीहरूमा कति छिट्टै चेतना जागिसक्दो रहेछ! लाग्यो— जीजिविषा मान्छेको जन्मसँगै जन्मिन्छ र मान्छेसँगै वयस्क हुँदै जान्छ!

त्यही जीजिविषाले डोर्याँएर हामीलाई खुला चौरमा पुर्याजयो, जहाँ मैले चिनेका र यसअघि कहिल्यै नदेखेका मान्छे पसिनाले निथ्रुक्क भएर झोक्राइरहेका थिए। अनि देखेँ— घर हुने साहु र घर नहुने हामी डेरावाला एउटै चौरमा, एउटै धरातलमा आमनेसामने थियौं।

बिस्तारै–बिस्तारै खबर सुनिन थाले। टि्वटरमा अनेकथरी अपडेट आइरहेका थिए। नेटवर्कमा ओभरलोड भएको थियो, घरमा फोन लाग्न सम्भव थिएन। यस्तोमा एसएमएस पठाउनुपर्छ भन्ने बुझेको थिएँ तर मेरो बुवा एसएमएस खोलेर हेर्न सक्नुहुन्न। टिभी, रेडियोमा ब्रेकिङ न्युज आउँदा सवा चार सय किलोमिटर पर बस्ने बुवाआमाको मन कति भाँचियो होला! र, जसोतसो घरमा खबर पुग्यो— हामी सकुशल छौं तर धरहरा भाँच्चियो!

छोरो दुई हातले आँखा छोपेर डेढ घन्टासम्म आमाको छातीमा टाँसियो। त्यसमाथि सल ओढेको थियो।

‘भूकम्प आएर गइसक्यो, आँखा खोल त,’ मैले सामान्य बोलीमा भनेँ, ‘लात्ताले हानेर भगाइदिएँ।’

उसले देब्रे आँखा खोलेर मतिर हेर्यो । पसिनाले उसको अनुहार लपक्कै भिजेको थियो। पत्याएन। फेरि हातले आँखा छोपेर छातीमै टाँसियो। उसकै उमेरका अरू केटाकेटी कोही आमाको काखमा लुटपुटिएका थिए, कोही चौरमा खेल्दै थिए।

रेडियोमा भूगर्भविद्को बाइट सुन्यौं, ‘आफ्टरसकहरू आइरहन सक्छन्, त्यसैले खुला ठाउँमा बसौं, घरभित्र नछिरौं।’

त्यो ‘आइरहन सक्छन्’ भन्ने कुराले मनमा अर्को कम्पन ल्यायो— कहिलेसम्म?

भूगर्भशास्त्री भाइ भन्दै थियो, ‘गुजरात भूकम्पका बेला एक हप्तासम्म यस्ता आफ्टरसक आए, पाकिस्तानमा त एक महिनासम्मै चल्यो। नेपालमा भन्न सकिन्न।’

उसले यति भनिसक्दा थाहै नपाई मनको धरहरा ढल्यो। मेरो मुखभित्र पानीको अस्तित्व नै थिएन। यसरी सुक्यो— मानौं म मरुभूमिमा एक्लै लम्पसार परेको छु।

तीन जना हट्टाकट्टाले कताबाट टेन्ट लिएर आए। ती मान्छेलाई मैले पहिले कहिल्यै देखेको थिइनँ।

आकाशको गति ठिक थिएन। धुम्म बादल र चिसो सिरेटोले मनको ताप कसैगरी शीतल पारेनन्।

‘फेरि आयो…’ चौरमा जम्मा भएका एक हुल मान्छे चिर्रर चिच्याए।

औषधि व्यवस्था विभाग कारखानाको दक्षिणतिरको भवन थररर हल्लियो र केही इँटा खसे। इँटा खसेको देखेर मान्छेमा भयको ग्राफ फेरि चुलीमा पुग्यो।

टेन्ट तयार भयो। मान्छेहरु ह्वार्रर टेन्टमुनि थुप्रिए। मैले हतारहतार छोरा, सासू र बूढीलाई ल्याएर छेउतिर बसालेँ। यत्ति भए कमसेकम पानीबाट त जोगिन्थ्यो।

टेन्टमुनि असरल्ल पल्टिएका अनुहार हेरेँ। त्यहाँ हामीजस्ता ‘एलियन’देखि काठमाडौंका ‘एलिट’सम्म अटाएका थिए। छक्क परेँ। बबरमहलमा ठडिएका त्यत्रा महलका मालिकहरू चौरको एउटा टेन्टभित्र छिर्न मारमुंग्री गर्दै थिए। जीवनमा सायद पहिलोपटक भोगेँ— मान्छे जतिसुकै अग्लो र गगनचुम्बी महलमा बसे पनि उसलाई जीवनको कुनै न कुनै कालखण्डमा धर्ती झर्नैपर्छ।

टेन्टभित्र बसिरहेका पचासौं मान्छे अनेक धरातलका थिए। कोही घरबेटी थिए, कोही ठूला व्यापारी थिए, कोही विद्यार्थी र कोही डेरावाल थिए, कोही बाटामा मकै पोल्नेहरू थिए। तर, टेन्टमुनि सबै बराबर थिए— न कोही विशेष, न कोही साधारण। विपत्तिले मान्छेको धन, सम्पत्ति र सामाजिक प्रतिष्ठा हेर्दैन। यत्ति बुझे जीवनका आधा गुनासा हराउँदा रहेछन्।

यसअघि सहरले यस्तो विपत्ति कहिल्यै भोगेको थिएन। सायद त्यसैले पनि मान्छेले मान्छे चिनेनन्। मान्छे–मान्छेबीचको सम्बन्ध चिनेनन्। छरछिमेक चिनेनन्। घरघरका छिमेक र देशका छिमेक चिनेनन्। घरबेटीले डेरावाल चिनेनन्, डेरावालले घरबेटी चिनेनन्। व्यापारीले ग्राहक चिनेनन्, ग्राहकले व्यापारी चिनेनन्। एलिटले एलियन चिनेनन्, एलियनले एलिट चिनेनन्। संसारकै बलवान ठान्ने बाउभित्रको बल र ताकत छोराछोरीले चिने। स्पाइडरम्यान र हल्कभन्दा शक्तिशाली बाउ निमेषमै साधारण मान्छे बनेको देखे।

भूकम्प त्यस्तो दूत बनेर आयो, जसले हरेकलाई हरेकसँग साक्षात्कार बनाइदियो। हरेकले हरेकलाई चिने। एउटै टेन्टमुनि बस्दा सबैका दुःख र पीडा एउटै थिए। सबैको भोक एउटै थियो, सबैको तिर्खा एउटै थियो। जमिनमा गाडिएको एउटै टेन्टमुनि बस्न हरेकमा उस्तै लालसा थियो। मेरै घरबेटी मसँगै चौरमा बसेको देख्दा कताकता मन पुलकित हुन्थ्यो। लाग्यो— अब त उनले घर नहुनुको पीडा बुझ्छन् होला। अब त उनले हामीलाई ‘एलियन’ ठान्दैनन् होला।

‘लेनिन भाइ, ओढ्ने–ओछ्याउने सामान त ल्याउनुभा’छ नि?’ उनले भने, ‘हामीलाई त केही थिएन, केटाकेटीलाई गाह्रो होला। भन्नुस् है!’

सुरुदेखि नै मसँग ‘राशि’ नमिल्ने घरबेटीले नम्र लवजमा यसो भन्दा भावुक भएँ। हतारहतार घरबाट निस्किँदा गोजीमा पैसा थिएन। उनैले केही सय हातमा थमाइदिए र भने, ‘केटाकेटी भोकाएका होलान्, चाउचाउ र पानी ल्याउनुस्!’

कीर्तिपुरबाट बबरमहल कोठा सरेदेखि नै उनीसँग मेरो राम्रो सम्बन्ध थिएन। महिनामा एकपटक भाडा बुझाउँदा जम्काभेट हुन्थ्यो, कहिलेकाहीँ बाटामा देखेर फिस्स हाँस्थेँ। म चाहन्थेँ— उनीसँग मलाई कहिल्यै बोल्नै नपरोस्।

तर, आज उनी अर्कै मान्छे लाग्यो। मान्छे सधैं गलत हुँदैन। ऊभित्र अर्को मान्छे पनि हुन्छ। मेरा घरबेटीभित्रको ‘अर्को’ मान्छेको रूप मैले पहिलोपटक महसुस गरेँ। भूकम्पले उनीभित्रको ‘मान्छे’ जगाइदियो।

० ० ०

देशको विनाश देखेर आकाश टिलपिल थियो। र, १० बजे राति भक्कानिएर रोयो अनि हामीमाथिको टेन्ट लपक्क भिज्यो। निमेषमै पानी हामीलाई छाडेर गयो। तर, दिउँसो १२ बजे धरहरासँगै ढलेको मन कसैगरी उठेन।

शरीरबाट भोकको नशा उत्रिसकेको थियो। टेन्टभित्रका हरेक मान्छेको अनुहारबाट कान्ति र पेटबाट भोक हराएको थियो। सबैलाई अनिश्चित भविष्यले थिचेको थियो— मजस्तै। घरिघरि मान्छेको अनुहार पढ्थेँ। लम्पसार परेर आँखा चिम्लिएका स–साना केटाकेटी हेर्थें। बिरामी सासू र थकित बूढीलाई हेर्थें। भूकम्पले हल्लाइरहँदा काठमाडौं आइपुगेका दिदी र दुइटा भान्जालाई हेर्थें। भूकम्पबारे पढेर पहिलोपटक भोगिरहेको भाइलाई हेर्थें। मन बटारिन्थ्यो र टि्वटर खोल्थेँ। रेलभन्दा जोडले कुदिरहेको टाइमलाइनमा मुटु चिरिने खबर आउँथे र उत्तिखेरै थि्रजी अफ गर्थें। बबरमहल सडकमा निस्किएर देखेँ— त्यहाँ डिभाइडरमा ओछ्यान लगाएर पचासौं मान्छे सुतिरहेका थिए। काठमाडौंका सडक पनि यति सुरक्षित रहेछन्, त्यतिबेलै थाहा पाएँ।

जुस र बिस्कुटको भरमा सिंगो रात काट्नु थियो। असरल्ल पल्टिरहेका केटाकेटी ‘भोक लाग्यो’ भनेर कत्तिखेरै कराएनन्। वयस्कझैं उनीहरूबाट पनि भोक हराएको थियो सायद।

र, सुखद अचम्म पनि भयो। छेउमा प्लास्टिकको त्रिपालमुनि बसेका केही मान्छेले एकाएक भजन गाउन थाले। भजन सकिएर अन्ताक्षरी खेल्न थाले। पाँच–सात जनाबाट सुरु भएको अन्ताक्षरी २५–३० जनासम्म पुग्यो। कोही भन्दै थिए, ‘यत्रो भूकम्पबाट बाँचियो, अब सुर्ता लिएर फाइदा छैन। आउनुस् गीत गाम्।’

भयंकर ‘ट्रमा’ले थलिएका उदास मनमा सायद यो अन्ताक्षरी सञ्जिवनी बुटी बनिदियो। हाँस्न हराएका ओठमा मुस्कान देखियो। कसैले ‘तिमी र म घुम्न जाऊँ न…’ गाए, कसैले ‘तु मेरी लैला’ गाए। यस्तो लाग्यो— जतिसुकै विपत्तिमा पनि मान्छेले बाँच्न छाड्दैन। यस्तै स–साना खुसीले त मान्छेमा जीवनप्रति आशा जगाउँछ।

गीतैगीतको नशामा सिंगो रात कट्यो र नयाँ बिहानी सुरु भयो। आठ बजिनसक्दै छेउमै बस्ने बहिनीहरूले मासुभात पकाएर ल्याए। मेरा आँखा नखुल्दै छेउमै बाफ उडिरहेको भात र मासु देख्दा मनमा गाँठो पर्योल। यस्ता मनकारी मान्छे पनि यही धर्तीमा छन्, सम्झेर आँखा रसाए। २० घन्टादेखिको भोकले आहत भएको शरीरले दुई मुठी भात यसरी सोस्यो कि मानौं बालुवाको खानीमा कसैले दुई जग पानी हालिदिएको छ।

मैले अर्को पाठ सिकेँ— विपत्तिमा पनि सहयोग गर्ने यस्ता मान्छेलाई प्रकृतिले नै ‘भगवान्’ बनाएर पठाएको हो। मान्छे वाहियात ढुंगा पुज्दै हिँड्छन्!

० ० ०

जमिन घन्टा–घन्टामा हल्लिन्थ्यो। दोस्रो दिनसम्म यस्ता झट्का बानी पर्न थालिसकेका थिए। सामान्य बन्दै गए। दुई दिनदेखि चौरमा बसिरहेको छोरो लिएर कोठा गएँ। दराजबाट भुइँमा असरल्ल सिक्का र नोट देखेर ऊ टक्क अडियो।

‘बाबा, पैछी काँ राख्ने अब?’ उसले आफ्नै लबजमा सोध्यो।

भूकम्पले खुत्रुकेमात्रै त फुटाएको थियो हाम्रो, जिन्दगी सग्लै थियो। भनेँ, ‘अर्को किनम्ला नि बाबु। अनि के गच्चौ नि पैछीले?’

उसले भुइँका सिक्का मुठीभरि समात्यो र भन्यो, ‘अक्को पिगी ब्यांक किन्चु।’

मुसुक्क हाँसेँ।

‘अनि पिगी ब्यांक किनेर के गच्चौ?’ फेरि सोधेँ।

ऊ केही बोलेन। फिस्स हाँस्योमात्रै।

‘धेरै पैसा जम्मा गरेर के गच्चौ?’ हात कोट्याएर घच्घच्याएँ।

‘भूकम्पलाई दिन्चु बाबा,’ ऊ यत्ति बोलेर भुइँका पैसा टिप्दै प्लास्टिकमा हाल्न थाल्यो।

दुई दिनदेखि चाउरिएको मेरो अनुहार उसको बालापनले फेरि मुसुक्क हाँस्यो 🙂

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.