(१)
शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस्
गरिस्, थुप्रै गरिस्
मन मनमा ढ्याङ्ग्रो ठोकिस्
जीवनमा पटक पटक भूकम्प ल्याइस्
सडक तताइस्, निद्रा खोसिस्
सपना बाँडिस्, अस्थिर भविष्य दिइस्
थोरै चेतना दिएर ललिपप चटाउँदै
तन, मन, धन लिइस्,
कुना कन्दराबाट समर्थन भेटिस्
मुर्दा शान्तिको रट लगाइस्
र, पो अहिले थाङ्नामै सुताइस् ।
म तन्द्राबाट संसारमा आउँदा
त्यो कतै थिएन,
त्यति खेर मैले धुइँधुइँती खोजेँ
अझैसम्म पनि खोजिरहेकै छु ।
हँ, तपाईं नजिक लुक्यो कि !
हेर्दिनुस्, खोजिदिनुस्, पत्ता लगाइदिनुस्
कतै दक्षिणे बाघ आई चो¥यो कि !
कतै उत्तरे भालु आई लग्यो कि !
कतै लाजले भुतुक्क हुँदै हिँड्यो कि !
हो, ऊ आउनुअगि नै
मैले, म भइसक्नुपथ्र्यो
म, म हुनका लागि
यस जीवन युद्ध मैदानमा
आदिम कालदेखि कसरत गर्दै छु ।
तर, आजसम्म पनि
म, म हुन सकेको छैनँ
मैले युद्ध जितेको छैनँ ।
(२)
तपाईं भन्नुहोला–
दुनियाँ ठान्दोहोला–
स्मृतिमा बाँचिरहेकाहरु
जीवन युद्ध जितेका जितारू हुन्
दुनियाँलाई बदल्ने काममा
जीवन समर्पण गरेरै
आफूलाई स्मृतिको सूचीमा राखे
र, जनमनमा विराजमान भए ।
अहँ, भ्रम, ठुलो भ्रम
फेरि एक पटक भ्रमको आँधी ल्याएको मात्र हो
फेरि एक पटक शब्दखेती लगाएको मात्र हो ।
किनकि, आजसम्म त
मान्छे, मान्छे बन्न सकेको छैन
म, म हुन सकेको छैनँ
मैले युद्ध जितेको छैनँ ।
(३)
भीमसेन थापाहरुले जितेकै हुन् त ?
अब्राहम लिङ्कनहरुले दास मोचन गरेकै हुन् त ?
महात्मा गान्धीहरुले मुस्कान छरेकै हुन् त ?
अहँ, वर्तमानको एल्बममा देखिन्न ।
किनकि, रणजङ्ग पाँडेहरु, नाथुराम गोडसेहरु
अझै पनि हाँसिरहेकै छन्,
अझै पनि वरपर नाचिरहेकै छन्,
जोन विल्किस बुथहरु
अझै पनि बन्दुक तेस्र्याउँदै छन् ।
किनकि, भानुभक्तहरु, लक्ष्मीप्रसादहरु
नान्यदेवहरु, विद्यापतिहरु
सेक्सपियरहरु, होमरहरु
अझै पनि विभक्त भएर स्मृतिमा बाँचेका छन् ।
किनकि, यज्ञबहादुर थापाहरु, दुर्गानन्द झाहरु
शुव्रmराज शास्त्रीहरु, दिलिप चौधरीहरु
यत्ति मात्र कहाँ हो र,
लखन थापाहरु, रमेश महतोहरु
विभक्त भएर स्मृतिमा बाँचेका छन् ।
धिक्कार छ,
मलाई, तपाईंलाई र उसलाई
‘विद्यापत’, ‘बालुन’, ‘लाखे’ नाचका सट्टामा
हामी पाँडे, गोडसे, बुथ नाचहरु
हेर्नमै मक्ख र मस्त हुँदै छौँ
विभक्त रेखा तानेर
आफूलाई विजयी ठान्दै छौँ ।
अतः म चाहिँ, म हुन सकेको छैनँ ।
(४)
जिते र जितिरहेकै छन्–
भित्ताको पेन्डुलमले पनि,
प्राणदाता सूर्य किरणले पनि,
स्मृतियोग्य नरनारी कर्मले पनि,
मैथिली साहित्य परिषद्ले पनि,
सगरमाथा साहित्य परिषद्ले पनि,
किनकि, अझै पनि देखिरहेको छु,
हाम्रा जयत गौडहरु,
विद्यापतीय सांस्कारिक गीत गाइरहेका छन् ।
हाम्रा प्रेमर्षिहरु,
जनताको ढुकढुकीलाई सम्बोधन गरिरहेकै छन् ।
हाम्रा नारायण गोपालहरु,
‘आँखा छोपी नरोऊ’ भनिरहेकै छन् ।
हाम्रा प्रिय इच्छुकहरु,
जनइच्छालाई कविता बनाइरहेकै छन् ।
त्यस्ता गौडहरु, त्यस्ता प्रेमर्षिहरु
त्यस्ता गोपालहरु, त्यस्ता इच्छुकहरु
हाम्रा छायामोह, पाखण्डमोह र व्यक्तिमोहले
औँलामा गर्न सक्ने मात्र भएका छन्
र, पनि खबरदारी गरिरहेकै छन् ।
धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका लागि भनेर
आज काम, व्रmोध, लोभ, मोह, मद, मात्सर्यसँगै
लुटुपुटु भइरहँदा
हुन गएको एक विष्फोटले
मलाई हराइरहेछ,
तपाईंलाई पराजयको विष पिलाइरहेछ,
उसलाई असफलताको स्वाद चखाइरहेछ !
अतः म, म हुन सकेको छैनँ,
मैले युद्ध जितेको छैनँ ।
(स्रोत : शब्दाङ्कुर चैत २०७०)