एक घण्टाको यात्रा
दुई पाङ्ग्रेका सीट
रीसै उठेर आउँछ
पोल्न थाल्छन् जब पिँध
टक्क अडिन्छु चिया घुम्तीमा
आराम दिन्छु टायरलाई
सम्झन्छु,
पसले कति संयमित
विहानदेखि बेलुकी
उभिएकै छन् उभिनुपर्ने
बसेकै छन् बस्नुपर्ने
संसार झेलेका छन्
खै कसरी चलेका छन्
चुपचाप छ सडक
मान्छेजस्ताको दोहोरीलत्त
छन् हतारको गन्तव्य खोजीमा
आउँछन् जान्छन्
उदाउँछन् हराउँछन्
उभिएकै छन् उनीहरू
चलेको छ पसल ।।
म देख्छु अलि पर्तिर
अनौठा घरहरू
मन्दिर रहेछन्
भित्र चिहाउँछु
हनुमान छन् दुर्गा छिन्
सुँडमा लड्डु च्यापेका लम्बोदर
अनि छन् लठ्ठ परेका महादेव
गदाको भार
बाघको गन्ध
मुसोको चकचक
सर्पको सकसक
देख्तिन उनीहरू बोलेको
कोही बोल्दैनन्
पस्छन् निस्कन्छन् मान्छेका हुल
सोध्दैनन् खबर
सुन्छन् चुपचाप मूर्तिहरू
याचना, धम्की, प्रलोभन र माग
एउटै पोज कति पट्यार लाग्दो
घुम्न निस्कन्छौ ?
अहँ बोल्दैनन्
सोच्छु,
तिनका पनि पोल्दो हो पिँध
उड्दो हो मन
उठ्दो हो रीस
कुण्ठा लिएर युगौंदेखि
किन छन् चुपचाप
मन शीतल हुन्छ
साँचो लाउँछु
एक्सिलेटर बटार्छु
अनि भन्छु- उनीहरूभन्दा मलाइ आनन्द छ ।।
विराटनगर, ३२ असार २०७१
(स्रोत : Bhim Ghimirey’s Blog)