लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।
यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् ।
ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि जीवनजस्तै हो, सिङ्गो चक चेतनामा जीवित अर्थलाई यथार्थमा सजीवता दिन ब्लाकबोर्डमा घस्रिदाघस्रिदै छोटो हुन्छ । ज्यादै छोटो भएर लेख्न अप्ठ्यारो भएको टुक्रालाई मायालाग्दो दृष्टिले हेर्छ, मानौं त्यो धीत नमरीकनै फ्याँक्नुपरेको चुरोटको ठुटो हो । ऊ चकको टुक्रालाई फ्याँक्छ तर उसलाइृ लाग्छ ऊ आफै पनि त्यो चकको टुक्राझैँ फ्याँकिएको छ ।
चक र उसले आफ्नै जीवनको तुलना गर्न खोज्छ— केही समानताहरू भएको महसुस गर्छ । चक जुन उद्देश्यको निम्ति सृष्टि गरिएको हो, त्यो पूरा भइसकेको छ तर उसको सृष्टि कुन उद्देश्यको निम्ति गरिएको हो, ऊ ठम्याउन सक्दैन । भविष्य, केवल सिङ्गो भविष्यप्रति आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा ऊ आफ्नो सृष्टिको छाया हेर्न खोज्दछ । ऊ ब्लाकबोर्डमा उसैले लेखेको रेखाचित्र हेर्छ, ब्लाकबोर्ड, चक र डस्टर— ऊ ठम्याउन सक्तैन केका निम्ति उसको अन्त भइरहेको छ ?
कोठा, बिद्यार्थीहरू, झ्यालबाट बाहिर देखिने हरिया चउर, रुखहरू उसले बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन भएर हेरिदिन्छ । बगैचामा माली लगनसित फूलका बोटहरूलाई स्याहारिरहेको छ, गोडिरहेको छ । फूल सबैलाई प्यारो छ, तर फूलसित गाँसिएको गरिब मालीको श्रम र पसिना फूलको सौन्दर्यले ढाकिदिएको हुन्छ अनि फूलको बास्नामा मालीको पसिनाको गन्ध आयो भने मानिसहरूलाई फूल राम्रो लाग्दो होला ? श्रेणीको एक छेउमा बिद्यार्थीहरूको खासखुस कुराकानी गराइले उसलाई श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ । श्रेणी उसको संसार हो, अझ उपयुक्त भाषामा उसको युद्धभूमि, उसका हतियार चक, डस्टर, ब्लाकबोर्ड र आवाज । बिद्यार्थीहरूको अज्ञानता उसको दुस्मन, बिद्यार्थीहरूलाई बुझाउन सक्नु उसको विजय । ऊ फेरि पढाउन थाल्छ, पढाउन लाग्दा उसलाई अनुभव हुन्छ— ऊ नेता हो, हजारौँ मानिसहरूलाई आफ्नो विचारधारामा हिडाउने प्रयत्नमा भाषण दिइरहेछ, पिता हो आफ्ना छोराछोरीलार्इ ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको छ । पूर्णताको अनुभव उसलाई त्यसबेला हुन्छ जुनबेला ऊ श्रेणीमा उभिएको हुन्छ ।
उसको हातमा चक र डस्टर हुन्छ, पछाडि ब्लाकबोर्ड र अगाडि ध्यानपूर्वक सुनिरहेका बिद्यार्थीहरू, ऊ पीडापूर्ण, अभावग्रस्त यथार्थ संसारभन्दा हजारौ कोस टाढा हुन्छ ।
“मलाई सरलाको जस्तै फ्रक ल, बुबा ।”
“मलाई नीलो प्यान्ट ।”
“त्यो डाक्टरले लेखिदिएको औषधी ल्याउन नबिर्सनुहोला नि ।”
फ्रक, प्यान्ट, औषधि, अनन्त आवश्यकताहरू । सीमित र निश्चित तलब, भौतिकवादी विश्वमा हरेक चीजलाई ठोस रूप दिन सक्नुपर्ने । आफ्नो जहानपरिवारलाई माया गर्दछ, त्यो मायालाई फ्रक, प्यान्टमा परिणत गर्न सक्नुपर्ने । घर फर्कदा रोगी श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा चिया पाक्ने कुरै उठेन, सुर्ती तमाखु ल्याएदिएन भनेर बूढो बाबु उस्तै ठुस्किएको, केटाकेटीको कुरै गर्नु परेन । पढाउनेको छोरो पढ्नै नसक्ने हो कि ? बुझेर पनि बुझ्पचाउनुपर्ने, जानेर पनि नजान्नुपर्नेछ उसको यथार्थ संसार ।
ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले मेट्छ । ऊ फेरि ब्लाकबोर्डमा लेख्न सक्छ अनि मेट्न सक्छ तर आफ्नो निधारमा लेखिएको भाग्यलाई मेट्न सक्दैन । श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई सरसरती हेर्छ— मानौं ऊ त्यहाँ हराएको आफ्नो अस्तित्व खोजिरहेछ । कोही बिद्यार्थी नोट टिप्न तल्लीन छन् भने कोही झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका युवतीहरू हेर्नमा । ऊ सबैको ध्यानलाई अझ बढी आकर्षण गर्न अझ साह्रो कराउँछ, कराउने बानी भइसकेको छ, भटभटाउनु र बरबराउनु । ऊ बौलाहाझैँ बरबराइरहेको छ ।
झरनाझैँ ऊ आफैले बोलेको आफै बुझ्न सक्तैन कि झैँ गरेर । हाँसोको लहर फुट्छ सम्पूर्ण श्रेणीभरि, उसले आफूलाई जोकर अनुभव गर्छ । सतर्क हुन्छ— ऊ साँच्चै बौलाहा त रहेको छैन । ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू दिदै जान्छ, भन्दै जान्छ, कराउदै जान्छ । ऊ आफ्नो आवाजको उच्चतम बिन्दुमा पुग्दा अनुभव गर्छ— ऊ र हाटबजारमा बिज्ञापन गर्दै कराउनेमा फरक छैन, छ भने दुईमा एउटा कोठाभित्र कराउँछ अर्को बीच बजारमा ।
बूढो शरीरमा कराउँदा रगतको सञ्चार भएर हो कि ऊ आफुलाई तन्नेरी अनुभव गर्न पुग्छ । ऊ फेरि आफ्नो बिद्यार्थीजीवनलाई सम्झन पुग्छ, बिद्यार्थीजीवनका उसका सहपाठीहरू कोही मन्त्री भए, काही डाक्टर, प्रशासकीय हाकिम, ऊ भने अझै बिद्यर्थीहरूकै माझ बिद्यार्थीजस्तै दुःखी छ । उसले पढाएको बिद्यार्थीहरूसमेत हाकिम भएका छन्, कैयौं तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही अवस्था छ ।
आज उसलाई बिद्यार्थीजीवनका उसका आकाङ्क्षाहरूको सम्झना आउँछ— कति अकासिएका उसका आकाङ्क्षाहरू थिए । मुटु च्वास्स दुख्छ तर अब त मुटुको रोग भइसकेको उसलाई मुटु दुख्नु साधारणझैँ लाग्छ । झ्यालबाट ऊ बाहिर हेर्छ, आकाश धुम्मिएको छ— पानी पर्ने सम्भावना छ ।
आफ्नो सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस गर्छ । यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने बिद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् । श्रेणीका सम्पूर्ण बिद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ, ऊ उनीहरूको भविष्य निर्माण गरिरहेको छ, ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर । उसले बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार छ, अन्यथा उसले बुझेको कुनै प्रयोजन छैन— उसलाई यो राम्ररी थाहा छ । ऊ कराउदै जान्छ, उसको घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् ।
घन्टी बज्छ । सधैंझैँ चक र हाजिरकापी हातमा चयापेर ऊ श्रेणीबाट बाहिर निस्कन्छ । उसलाई अनुभव हुन थाल्छ, उसको घाँटी सुकिरहेको छ— पानी खान्छ । ऊ आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ । पानी पर्ने सम्भावना छ तसर्थ सब मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् । तर जब उसलाई देख्छन्, सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ, केही खराबी त छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो छ, टकटकाउँट, सितिमिति कहाँ चकको धुलो झर्ने हो र ! ऊ सम्झन्छ फ्रक, पेन्ट र औषधी, गोजी छाम्छ रित्तो छ, उसले रित्तै फर्कनुपर्ने हो, रित्तै फर्कन्छ ।
उसलाई लाग्छ अझै मानिसहरू उसलाई हेरेर हाँसिरहेका हुन्छन्— मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको ऊ एउटा हाँसो उठ्दो कार्टुन हो वा ऊ सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको छ, जसmाई देख्दा जो पनि हाँस्छ, ऊ ब्लाकबोर्ड, चक र डस्टर….
मानिसहरूको कठोर आँखाबाट लुक्न ऊ अझ छिटोछिटो लम्कन्छ ।
(स्रोत : Paniphoto.com)