~गणेश खड्का~
यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…?
धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन्
र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन्
अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै
तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय बर्षाएर काँपिरहन्छ
पीडा-वेदनाले आकुल-व्याकुल मनहरुलाई तर्साउन बेखबर बारम्बार…
एकोहोरो आउने-जाने गरिरहन्छ निसङ्कोच निरन्तर
अनेकन अकल्पनीय र विभत्स दृश्यहरु छोडेर l
मेरो भर्जिन भूमिलाई च्यातेर छेद गरिदिने पापिष्ठ हो यो
घर,गोठ,मन्दिर,पाटीपौवा,देवालय,सङ्ग्रहालय,धरहरा…
हिमाल-पहाड,मधेस-तराई,पुल-पुलेसा,बाटो-घाटो
सबै-सबै भत्काएर भुर्कुट पारिदिने अधर्मी हो यो
महल-दरबार देखी झुपडी-याक्साहरु केहि नछोड्ने निर्दयी र क्रुर हो यो l
बिहेको जग्गेमा बसेका कत्ति बेहुलीहरुको सिउँदोमा पुग्नै लागेको सिन्दुर
छेउमा बसेकी लोकन्तिको सिउँदोमा पुर्याइदियो बेहुलाको हात हल्लाइदिएर
र बेहुलीको निधार भातखौरेको गोडामा हुर्याईदियो धङ्धङ्गे लाईदिएर
खास ढोग्नु त थियो उसकै बेहुलालाई पति परमेश्वर मानेर
घर भित्रिन लागेका कयौं दुलहीहरु सङ्घार नटेक्दै
सिकुवाको जाँतोमा पछारिए साँझमा
सुहागरात मनाउन ठिक्क परेका नव दम्पतिको सपनाको रात
बिथोलिदियो मच्ची-मच्ची हल्लाईदिएर रहरको खाट
सम्बन्धित ठाउँमा कोहि/केहि पुग्न सकेनन्, शिवाय चौरका टेन्ट बाहेक
यति चकचक गरेपछी पनि आफु चाहिं पsssर पुगेर बेजोडले जिउ मर्काउँदै
फेरी अर्को भयावह पराकम्पन छोडेर दुनियाँको सातोपुत्लो लिन्छ यो l
हात समातेर अँगालिंदै धरहरा चढ्ने किशोर जोडीको वैंशालु योजना
आफ्नो नवजात शिशुलाई स्तनपान गराउँदै सपना बुन्ने मातृवात्सल्यता
जन्मदिनको अवसरमा आफन्त र शुभचिन्तकहरुबाट
दिर्घायुको शुभ-कामना थापेर बर्थडे सेलेब्रेशनको लागि
भरखरै पार्टी प्यालेस पुगेका सम्भ्रान्त वयहरु
सडकपेटीमा सिमेन्टको बोस्ता उचालेर
बिरामी आमालाई सिटामोल खुवाउने धोको
हल गोरु नारेर माटोमा पसिना रोप्न लालायित जाँगरहरु
गाउँको अँध्यारो घर बन्दकी राखेर
उज्यालोको खोजीमा सहर पसेका तरुणहरुको आकाङ्क्षा
पाठशाला जाँदैगरेका देशका स-साना घाम-जूनहरुको बालशुलभ खुशी…
सन्तानको कमाईमा सास अल्झाइरहेका वृद्द-वृद्दाहरुको भरोसा
र, कत्ति-कत्ति-
काखहरु,कोखहरु,सिउँदोहरु,उमेरहरु,रहरहरु,चाहनाहरु,इच्छाहरु,सपनाहरु…..
जम्मैलाई क्षणभरमा सखाप पार्ने यो अदृश्य अस्तित्व
अव त आउँदैन होला भन्यो झन् सम्झी-सम्झी,झम्टी-झम्टी आइरहन्छ
र मान्छेको मन बेहिसाब हल्लाईरहन्छ हुरीले रुख हल्लाए जस्तो
केको रिस होला मान्छेहरुसँग यसको धितै नमर्ने यस्तो ?
नअघाएको सिंह जस्तो असत्ति यो भङ्जाहा भुइँचालो l
सम्झिन्छु,- म स्यानो हुँदा त्यो भुइँचालो गएको साल –
हजुरबाले सुनाएको यो भूमिभित्रको माछो र त्यसले हल्लाएको कानको कथा
पढ्दैछु/सोच्दैछु यो भुइँचालो पश्चात भूगर्भविदले दिएका तर्कहरु…
हे अचम्म ! कस्तो होला, यो पृथ्वीमुनि एकसाथ हिंड्ने जोडी प्लेट…?
जसले कम्पन पछी पराकम्पन गर्दै यो भूगोललाई झुलो-चकमक बनाउदैछ
र मान्छेका मन आफ्नो भन्दा ज्यादा रेक्टर स्केलमा हल्लाउँदैछ आफु जुधेर
फेरी यतिबेला अलिक ढुक्क छु यसकारण कि –
यहि भङ्जाहा भुइँचालोले गर्दा नै –
यहाँका भङ्जाहा मान्छेहरु थोरै भए पनि सज्ञानी हुन थालेका छन् l
( हाल : फ्रिगेट आइल्याण्ड , सेसेल्स l )
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )