त्यो समय बेलुका सात बजे अनि दिन शनिवारको दिन थियो। जनवरीको अन्त्य तिर वोस्टनको जाडाको मध्य भए पनि यससाल पहिले पहिलेको तुलनामा त्यस्तो ज्यानमारा जाडो नभएको हुदा जाडाको मध्य भनिने चिसो पनि सह्य नै थियो। तीन महिना अघि सम्म हरिया पातहरुले झपक्क नुहेका रुखहरु पनि पतझडको पातलो पर्दा पनि बाकी नरहेर शिशीरको स्यांठमा नाङ्गै कामिरहेका थिए। शिवरात्रीको बेला पशुपती वरीपरी देखिने खरानी धसेका वावाहरु जस्तै हिजो परेको सिम सिम हिउले वरीपरीका रुखहरु सेतिएका थिए। सांझ परिसकेको हुदा रुखहरुको अवस्था देख्न नसकिए पनि चिसो स्यांठले कामेका ओठ जस्तै कामेका हांगाहरु भने ल्याम्प पोस्टको छायाले प्रष्ट देखिन्थ्यो। भर्खरै बाहिर बाट भित्र पस्ता भित्रको हिटरले तातो भएको सोफालाई पनि आफ्नो शरीरको चिसोले चिस्याउन खोजे जस्तो लाग्थ्यो।
हामी एकजना नेपाली मित्र को डेरामा पुगेर भर्खरै फर्किएका थियौं।सात आठ वर्ष देखि आफ्नी उमेरदार पत्नी र बालक छोरो अनि उमेर ढल्किएका बाबु आमा छोडेर घरवारी जोड्न र छोराको भविष्य रोप्न अमेरिका छिरेका ती मित्र अरु कतिपय मित्रहरु जस्तै कागज पत्र मिले पछि नेपाल गएर परिवार लिएर आउने प्रतीक्षामा वर्षौं अल्झिरहेका थिए। कागजपत्र नमिलेर र कल्पना को अमेरिका संग कुनै तवरले पनि मेल नखाने वास्तविक अमेरिकाको अनुहारले अल्मलिएका ती मित्रले भर्खरै नेपालबाट आउन सक्ने सवै भन्दा ह्रदय बिदारक समाचार (उहाको वुवा स्वर्गे भएको) सुन्नु परेको थियो। त्यो पीडाको जुत्ता आफूले पनि एक पटक भन्दा बढी लगाईसकेको ले एक पटक उहां समक्ष गएर सहानुभुतिका एक दुई शव्द व्यक्त गर्ने उद्देश्यले मेरा श्रीमान र मैले आफू बसेको ठाउबाट २० मिनेट जति ड्राईभिङको दुरीमा रहेका ती साथीलाई भेट्न जाने योजना बनाएका थियौं । मेरा देवर र देउरानी हामीलाई सर्प्राईज गर्न दुईघण्टाको दुरीबाट आएका हुदा हामीले उनीहरुलाई पनि ति साथीको डेरामा लिएर जाने निश्चय गरेका थियौ।
स्टप एन्ड सप नाम भएको ग्रोसरी स्टोरमा केहि बेर गाडी रोकेर केहि स्याउ, एक काईयो केरा, केहि सुन्तला र अलिकति फूल बोकेर अनि सहानुभुति लेखिएको एउटा कार्ड बोकेर हामी २० मिनेटमा ति साथीको घर पुग्यौं। तल गाडी पार्क गरेदेखिनै कसरी ती मित्र संग सामना गर्ने र के भन्ने बारे अन्यौल भएको मेरो मन कुनै परीक्षा भवनमा परीक्षा दिन छिरेजस्तो भईरहेको थियो। अमेरिकाको यो लामो वसाईमा अहिले हामी सहानुभुति प्रकट गर्न जान लागेको साथीको जस्तो दु:ख परेको यो पहिलो परिस्थिति थिएन र यो अन्तिम पनि हुन नसक्ने तथ्यको पुष्टिको लागि त्रिभुवन बिमान स्थलमा दिनहु मुलुक छोडेर बाहिरिने युबा जमातको तातीं नै हुन सक्छ। आफ्नो अनि आफ्ना बाबु आमाको सपना साकार पार्न संघारको दुवै तिर राखिएका भरी गाग्रीमा केहि पैसा फ्याकेर गलामा लर्किएका माला र निधारमा टासिएका अक्षता पहिरिएर सिमाना कटेका मध्ये थुप्रैजसोले आफूलाई ती सपनाबाट दिन प्रतिदिन टाढिएको पाएका हुन्छन् । एक हप्ता भनेर बिदेशिने हरु महिनौ, महिना भनेर बिदेशिनेहरु बर्षौं अनि वर्ष भनेर बिदेशिनेले दशकौं बिताउनु परे पछि नरोकिने नियतिको शिकार बाबु आमाले आफ्नो उमेर लम्याउन सक्तैनन् भने त्यस्तै नियतिको शिकार छोराछोरीले यो परदेश भालुको कन्पट बाट आफूलाई छुटाउन सक्तैनन्। अनि जानेले भन्दा पनि बस्नेले आफूलाई जीवनभर ग्लानीको आगोमा पिल्सिरहेको पाउछन्। यस्ता यस्ता परिस्थिति हुदा हुदै नियमित र स्वभाविक हुदै जान्छ, अनि घर भरि आमा बाबु, छोराछोरी , नाती नातिनी, हजुरबा हजुरआमा अघेनाको वरीपरि बसेर आगो ताप्ने, दशैमा पालो पर्खि पर्खि टिका थाप्ने आदी परम्परा दन्त्यकथामा भएको सुनकेशरी रानीको कथा जस्तै कितावमा र किम्बदन्तिमा मात्र सिमित हुन पुग्छ। यो परम्पराको पहिलो अध्यायका पात्र अहिले बिदेशमा हुनेहरुको लागि नया गोरेटो खन्ने पाईला शिथिल हुन पुग्छन्। कु समयमा नेपालबाट आउने त्यो एउटा फोन कलले परदेशी छोराछोरीको जीवन सधैको लागि बेग्लै बनाई दिन्छ।
“मेरी आमा खै के भएर हो रोएको रोयै हुनुहुन्छ” १५ वर्ष अगाडि एकदिन हामी भर्मन्ट को बर्लिङटनमा भएको बेला मेरी छोरीकि आठ वर्षकी भारतीय मुलकी साथी दिपाले भनेको त्यो बाक्य मेरा लागि र मेरा छोराछोरीका लागि हजारौं मिलको दुरीमा दुखिने पीडा को शुरवात भएको थियो। त्यसबेला मेरी छोरीकी साथीकी आमाले भर्खर दिल्लिमा आफ्नो बुबा स्वर्गे भएको समाचार सुनेकि रहिछ। समय बित्दै गए पछि वावु आमा गुमाएको ननिको समाचार अरु थुप्रै र आफैलाई पनि दुखाउने समाचारहरुको निरन्तरता हुन गयो। एक एक गर्दै यहा हुने हामी आमा बाबुले आफ्ना आमा बाबु गुमाएको समाचार सुन्छौं, अनि हाम्रा छोराछोरी “मेरी आमा या मेरो बुबा नेपालको फोन पछि रुदै हुनुहुन्छ ” भनीरहन्छन, उनीहरुका लागि हाम्रा आमा बा भनेको मेरी ममीको बुबा वा मेरा बुबाको ममी मात्र हुनेछन्।
गाडी पार्क गरेर घर भित्र पस्यौं , ती मित्र माथिल्लो तलामा बस्नु हुदो रहेछ। छेउमा भान्सा अनि यसो अर्को पट्टी सानो पलंग, सानो टेवुल कुर्सी अनि टेवुलमा डेल कम्प्युटर, कम्प्युटरको स्क्रिन सेभरमा आफूले दुई वर्षको छोडेको तर अहिले दश वर्ष पुगेको छोराको रातो टिसर्ट र निलो प्यान्ट लगाएको हंसिलो फोटो। पलंगको छेउमा एउटा ओछ्यान ओछ्याएको , त्यस ओछ्यान मा एउटा सेतो कम्मल ओढेर सेतो गंजी र त्यस्तै सुरुवाल लगाएर झोक्राएर बसीरहनु भएको हाम्रा ती मित्र महोदय । कपाल छुरानै नलागाएको भए पनि झन्डै खौरिए जस्तै गरी छोट्याएको। छेउमा एउटा प्लास्टिकको आरीमा सुन्तला, स्याउ, र अंगुर चुलिएका, हामीले लगेको समेतले त दोकान जस्तै भएको।
“छोरो भएर जन्मिएर सवै भन्दा प्रारम्भिक कर्तव्य पनि निभाउन पाईन” हामीले बोल्नु भन्दा पहिले उहाले रुन्चे स्वरमा भन्नु भयो।
“तपाईको वस बाहिरको कुरो पर्यो, यतिका बसिसके पछि कागजात आउनु अघि गएर तपाईका बुबाको सपना र छोराको भविष्यको ढोकामा ताला लगाउदा दिबंगत बुवाले नै पनि त मन दुखाउनु हुन्थ्यो होला”, मैले भनेको यो बाक्यले साधर दियो या अरु पिडा दियो त थाहा भएन तर त्यसबेला मलाई त्यो भन्दा सहि केहि भन्न आएन।
“घर छोडे पछि हामीले चुकाउने सवै भन्दा महंगो किमत यहि नै हो” मेरा श्रीमानले थप्नु भयो।
“अब त कागज आए पनि मैले जे सुकै पुरुषार्थ गरे पनि के अर्थ भयो र”,उहालाई भेटेर यहाको कुरा गर्ने , कोशेली लगिदिने र सके अमेरिका देखाउन ल्याउने भन्ने आकांक्षाको त अव जरै काटियो ” उहाले फेरि थप्नु भयो।
उहालाई संझाउन हामी संग यसबेला केहि थिएन, गत दस वर्ष देखि हामी दुवैजना यो पीडा वाट परिचित थियौं, ती मित्रलाई संझाउन केहि भन्नु आफ्नै घाउ उक्काउनु थियो। उहालाई अव संझाउन भन्नु पर्ने केहि थियो भने हामीले पहिले आफैलाई संझाउनु थियो।
अमेरिकाको एकान्तमा बोस्टनको एउटा टाउन हाउसको माथिल्लो कोठाको कुनामा भूईमा ओछ्याएको एउटा म्याट्रेस र घरि घरी देखा पर्ने यतै बनाएका ईष्टमित्रले हाम्रा ती मित्रलाई उनको जीवनको सवै भन्दा गहिरो दुखाई कम पार्न खोजि रहेका थियौं। ती मित्र पनि आफू भित्र अट्टाएको आफ्नु बिगत का पानाहरु एक एक गरि सवै सामु पल्टाउदै थिए,त्यस पानाका रचयिता आफ्ना स्रष्टा भर्खरै दिवंगत पितालाई संझिदै थिए,शायद आफ्ना बाबुलाई दिने उनको दागवत्ति त्यहि थियो, क्रिया त्यहि थियो र गरुड पुरान त्यहि थियो। दुई चार दिन झोक्राए पछि छेउको मन्दिरमा गएर भारतीय पुरोहितलाई टिका लगाएर केहि पानी अचाए पछि भोलि देखि काममा जानु पर्छ अनि जीवन उस्तै चलिरहन्छ, नेपाल गएर त्यो रित्तो पिरा न देखुन्जेल मनको एउटा कुनाका बाबु जिबितै रहने छन्।
हामी गह्रौं मन लिएर अनि आफ्नो आफ्नो त्यस्तै घाउ सुम्सुम्याउदै घर फर्कियौं। सातै मात्र बजेको भए पनि उज्यालो भोलि फर्किने वाचा गरेर अघि कतिबेला भागिसकेको थियो। सास फेर्दा लाग्ने कुईरो ले जाडाको उपस्थितिको पुस्टि गरिरहेको थियो। देवर देउरानी र हामी गाडि पार्क गरेर पछाडिको ढोका बाट भित्र पस्यौं। छिमेकिको घरहरु बाट आगो तापेको धुवा गनाईरहेको थियो। अलि अलि हावा चलेको थियो। खानाको तरखर गर्नु पर्ने भित्र हिटर खोलिराखेको ले पटक्कै जाडो थिएन तर बाहिरको जाडो हाम्रो शरीरमा अझै टासिईरहेको थियो।
हाम्रो घरको पछाडि को ढोका बाट भित्र पस्ने र निस्किने ढोका छ, अनि गाडि पार्क पनि त्यतैपट्टि गर्ने गरेको छ, अनि अगाडीको ढोका मुल ढोका भए पनि त्यति प्रयोगमा आउदैन। दिनमा एक पटक मेल(चिठि र केहि पार्सल) लिन भने त्यो अगाडीको ढोका नै प्रयोगमा ल्याईन्छ। किनभने भित्तामा भएको मेल बक्स अगाडिको ढोका संगै छ। बाहिर बाट आए पछि फोनमा म्यासेज सुन्ने र चिठि हेर्ने काम सवै भन्दा पहिले गरिने बानी अनुसार म भान्सा को बत्ति बालेर हतार हतार प्रेसर कुकरमा दाल बसाएर मुल ढोका तिर लागें चिठी के के आएछन् भनेर हेर्न। यति बेला मैले ज्याकेट चाहि फुकालेको थिएन तर जुत्ता चाहि फुकाली सकेको थियो। हावाले केहि पसांगिएको ढोका खोलेर बाहिर निस्किए, पल्लो घरको बिरालो पेटीमा बसिराखेको रहेछ, अध्यारामा त्यो खैरो बिरालाका आंखा चम्किरहेका थिए। मलाई देखेर बिरालाले “म्याउ ” गर्यो, शायद मेरी घरपटिलाई तिमीहरुले देख्यौ कि भनेर सोधेको थियो होला। म नजीकै गए पछि बिरालो कुदेर घरको अर्को ढोका तिर लाग्यो।
मेल बक्स भित्र केहि चिठिहरु थिए , अनि त्यहा ढोकाको छेउमा पहेलो खाम पनि थियो।पहेलो खाम केहि ठूलो भएको हुनाले मेल बक्समा नअट्टाएर ढोकाको छेउमा राखिदिएको रहेछ। अलिक शुरक्षित ईलाका भएको हुदा कोहि पनि घरमा नभएको बेला हुलाकीले पार्सलहरु यसै बाहिर छोडि दिन्छ र त्यस्ता पार्सलहरु अहिले सम्म हराएका पनि छैनन्। पार्सल गह्रौं थियो , बाहिर मेरो नाम ठेगाना अनि पठाउने को नाममा मेरा एकजना टाढाका नातेदारको नाम र ठेगाना थियो। मलाई त्यो पार्सलको आकार र वजन हेर्दा र पठाउने को नाम देख्ने बित्तिकै त्यो के हो थाहा भैसकेको थियो। हो, त्यो पार्सल नेपालबाट ल्याईएको थियो, त्यस भित्र किताव थिए, ती किताव भर्खरै छापिएको मेरो कविता संग्रह मेरो पहिलो सिर्जना थिए। भित्र गएर किताव फुकाएं, दिउसो कति बेला देखि बाहिर बसिराखेको त्यो पार्सल बाहिर चिसो थियो अनि भित्र का किताव पनि चिसा थिए, भर्खर पेट बाट निस्किएर नुहाईएको बालक जस्तै।
पाचवटा किताववाट एउटा किताव लिएर हातमा लिए, चिल्लो कागज मेरो हातमा टपक्क टासियो, किताव भित्र प्रेसको नया गन्ध गएकै थिएन। बाहिर को आफ्नो तस्वीर भएको पाना देखि शुरु गरेर मैले अन्तिम पाना सम्म पल्टाए, अक्षर केहि हेरिन, अहिले मलाई त्यो कितावको मुलायम स्पर्श र अघाउन्जेल यसलाई हेरिरहनमा नै अलौकिक आनन्द लागेको थियो।
मेरो पहिलो किताव, मेरो पहिलो सिर्जना, म अमेरिका बसि बसि नेपालमा छापिएको मेरो कविता संग्रह । मेरि परम मित्र ईन्दिराले पुरै जिम्मा लिएकी थिईन मेरो सो कितावको प्रकाशनमा । आफ्नी आमा या सहोदर बहिनीलाई जिम्मा लगाएको आफ्नो बालक जस्तै मैले मेरो सिर्जनालाई कितावीरुप दिन ईन्दिरालाई भरोसा गरेकि थिए। आफू नेपालमा हुन नसक्नु को विवशता र किताव छापिने प्रक्रियाको उत्सुकता एवं तयारी किताव को पहिलो साक्षात्कार म आफै त्यहा हुनु को सहि बिकल्प मेरी साथी ईन्दिरा थिईन्। मेरो शीशुलाई ईन्दिराले प्रारम्भिक सह्यार पछि मेरो काखमा सुम्पेकी थिईन्।
खोलिएको किताव ले दिएको प्रसन्नता मेरा देवर देउरानी र मेरा श्रीमानको अगाडी आधा भन्दा बढि लुकाएर “मेरो किताव आई पुगेछ ” भने। उनीहरुका लागि त ती कुनै अरु किताव भन्दा केहि मात्रामा मात्र विशेष थिए होला, तर मेरो लागि त भर्खरै आफ्नो कोखवाट जन्मिएको बालक नर्सले अस्पतालमा आफ्नो हातमा राखिदिए जस्तै थियो। नर्सले हातमा राखिदिएको बालक संसारमा सवै भन्दा सुन्दर र आकर्षक लागे जस्तै ती किताव मैले अहिले सम्म देखेका सवै किताव भन्दा सुन्दर थिए। नवजात बालकका चिम्लिएका आखा संसारमा सवै आखा भन्दा खुला लागे जस्तै त्यो किताव भित्र जे भए पनि नभए पनि मलाई विश्वमा अहिले त्यहि किताव नै उत्कृष्ट लागेको थियो। नबजात आफ्नो बालकलाई काखमा लिदा जस्तै मेरो शरीरको नशा नशामा रगत हैन तर संतुष्टि र अपनत्व बगेको थियो त्यो अपनत्वले मेरो शरीरलाई पैताला देखि टाउका सम्म रोमान्चित बनाएको थियो। त्यस्ता किताव निस्किएको यो पहिलो पटक थिएन र यस्तो किताव निस्किने यो अन्तिम पटक पनि थिएन। गोर्की को आमा, देवकोटाको मुनामदन, समज्युको मुकुन्द ईन्दिरा, भानुभक्तको रामायण सेक्सपियरको रोमियो जुलियट , परिजातको शिरीषको फूल जस्ता अभुतपुर्व कितावहरु देखिसकेको विश्व पुस्तक ईतिहासले यसपछिका करौडौं कितावको संख्यामा अर्को एउटा संख्या मात्र थपिएको पाउन सक्छ। अहिलेको लागि बास्तवमा तथ्य त यहि हो कि यो पुस्तकले पुस्तक भण्डारमा एउटा संख्या बढाएको छ। तर जनसंख्याको बृद्दीको बिस्फोटन हुने बेला मा जन्मिएको भए पनि मेरो छोरो मलाई अमुल्य लागेको थियो, सवै भन्दा विशिष्ट लागेको थियो अहिले यो किताव पनि त्यस्तै लागेको छ । पहिले जन्मिएको मेरो छोरो त्यसपछि छोरि र फेरि छोरो जन्मिदा उनीहरु पैताला देखि टाउका सम्म सवै सुन्दर लागेको थियो। अहिले को यो कितावको पनि आवरण देखि अन्तिम पातो सम्म मलाई सुन्दर लाग्यो, अति राम्रो लाग्यो।
मेरो कितावको आवरण गुणस्तर त्यस भित्रका कविताको स्तर सवै बारे मैले त मुल्यांकन नै गरेको छैन, त्यो त अरु कसैले गर्ने छन्, अहिले त मेरो सिर्जना मेरो किताव समस्टिमा सवै राम्रो। खुशी छचल्किएर पोखिने डर भैसकेको थियो। “कति राम्रो बालक” सुन्न हतारिएकी आमा जस्तै म हतारिएं, प्रसन्नताको मात बाड्न म उत्सुक भएं।
अरुले के भन्लान भनेर सबैको आखा छलेर म र मेरो नवजात किताव एकान्तमा पुग्यौं। कितावलाई हातमा लिएर मैले धित मरुन्जेल सुम्सुम्याएं। आफूले यो संसारमा सानो भए पनि डोव छोडेर जाने कुराले म आफु आफैमा गदगद् भए। मलाई चिन्ने र मलाई माया गर्ने र आदर गर्ने सवैले मेरो यो सिर्जनालाई पनि माया र आदर गर्ने छन् भन्ने सोचाई मात्रले पनि मलाई अनन्त आनन्द दियो। मेरो निरन्तरतामा मेरा छोरा छोरीले जस्तै यो कितावले पनि एउटा सानो अध्याय जोड्ने छ जस्तो मलाई लाग्यो यसले आनन्दित बनायो।
यो विश्वमा मलाई असाध्य माया गर्ने र मेरो खुशीलाई आफ्नो खुशीमा अनुबाद गर्ने दिबंगत बा आमा को काखमा यो भन्दा दुई दशक अगाडि सुम्पिएको नाति जस्तै यो किताव सुम्पिन पाएको भए उहाहरुलाई लाग्ने खुशीको कल्पना मात्रले रसाएका मेरा आंखाको डिलवाट तप्लक्क झरेका दुई थोपा आंशु कितावको आवरण पृष्ठमा भएको मेरो तस्वीरको गालामा झर्छन्। शायद आंशुका ती थोपाहरु भएर म संग सदैव रहिरहने उनै बा आमाका गहका आंशु पो झरेका थिए कि जस्तो पनि मलाई भान हुन्छ। भर्खर जन्म लिएको मेरो यो शिशुका सवै अंग सुन्दर सवै अंग कोमल।
कुनै न कुनै रुपले संसारमा आफ्नो पाईला छोड्ने बालककाल देखिको बृहत अभिलाषाको भवनको एउटै ईटा सहि यो मेरो सिर्जनाले कमसेकम केहि आरम्भ त गरिदियो। म नभए पनि म भएर मेरी अभिन्न मित्र ईन्दिराको सह्यार र सुसारले सकुशल जन्म लिन सफल मेरो सिर्जनाको एक थोपो मेरो मानसपटलमा महासागर भएर छरिएको छ, मेरो निरन्तरताको संभावना उर्लिरहेको छ।
December 27, 2008
(स्रोत : Ianws.org)