जब उदांग भएर खुल्छ
विदेशी हस्तक्षेपमा देशको निरिहता,
जब सर्वांग नांगिन्छ
बलात्कार र हत्यामा मानवीयता,
जब छ्यांगै खुलिदिन्छ
लाजको पर्दा शासकहरूको,
तब
लाग्छ कसैले बन्द गरिदेओस्
मेरो समाजको आवरणलाई,
कसैले छोपिदेओस्
हाम्रो हिन मुहारलाई।
भ्रष्टाचारको ‘स्वाइन फ्लु’को
जब बिगबिगी बढ्छ
तब नैतिकताको ‘मास्क’ले
सबैको मुख बन्द गरिदिउँजस्तो,
बिखण्डनको गीत गाउँदै हिँड्नेको
जब चर्चा हुन्छ
तब राष्ट्रियताको रूमालले
सबैको आँखा बाँधिदिउँजस्तो
यस्तै लागिरहन्छ आजकाल।
त्यसैले आउ
बन्द गरौँ यो देशको सिमाना
ताकि हाम्रो आँगनमा गोली नखसोस्,
बन्द गरौँ खाडिको मरूभुमि देखाउने बाटाहरू
ताकि विदेशमा सस्तो पसिना
र स्वदेशमा महंगो आँसु नबगोस्
त्यसैले आउ सबै मिली
बन्द गरौँ आपसि दुश्मनि
रीसराग र द्वेष
बन्द गरौँ अन्याय र असमानता
र खुल्ला गरौँ यो प्यारो देश।
(स्रोत : Suresh Badal’s Facebook )