शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई । नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन । किनकी उसलाई अरुलाई सहयोग गर्न पाउँदा आनन्द लाग्थ्यो । शान्ता नकुलकी गाउँले भाउजु थिई । शान्ता साँचैनै सुशिल र स्वाभिमानी थिई । शान्तालाई देखेर नकुल भन्छ ” ए शान्ता भाउजु, दाइको चिट्ठी आएछ । खै दिनुश त । तपाईंलाई सुन्न हतार । मलाई पढन हतार । “ शान्ता मनभरि पिडा लुकाएर आफनो हात अघि बढाउँछे । अनी नकुल अशिमको चिट्ठी पढछ – पुजनिय मेरी आमालाई पाउपरी ढोग । र साथै मेरी प्यारी जिवन सँगिलाइ अती न्यानो मुटु भरिको चोखो माया । अनी सबै मेरा मान्यजनहरुलाई धेरै धेरै सम्झना यो प्रदेशिको तर्फबाट । अनी मेरो गाउँले भाई नकुललाई पनि गर्ब ले भरिएको मिठो माया ।” आहा कती मिठा शब्द- शब्दका भोकालाई त साँच्चै भोक नै मेटाउने ।
तर शब्दले यहाँ भोकाको भोक र नाङ्गो आङ ढाकिदैन थियो। घरबारी साहुको नाउमा बन्दगी राखेको थियो । घरमा म्रित्यु कोरेर बसेकी बुढी आमा सधैं आशुमा डुबेकी थिई । तर आज पनी पैसा पठाउने कुरा चै लेख्न भुसुक्कै भुलेको थियो अशिमले । अनी शान्ता मनभरि उही पिडा र बेथा बोकेर नकुलको हातबाट चिट्ठी लिएर घरमा आउँछे । अनी सासु बोलाउँछे- शान्ता ए शान्ता । हजुर ! शान्ता पिडालाई लुकाएर बोल्छे । अनी के लेखेछ ह अशिमले चिट्ठीमा ? सासुले सोध्छे । शान्ता सबै राम्रो नै छरे । अनी पैसा कहिले पठाउँछ रे त ? सासुले थप जिज्ञासा राख्छे । शान्ता आफ्नु पतीको आडलिँदै भन्छे-आमा धेरै चिन्ता नगर्नु के । एकैचोटि सबै ऋण चुक्ता हुनेगरी पठाउनुहुन्छ रे । सासुको मन केही पल्लाई भए पनि शान्त बनाउँछे शान्ता । तर आफ्नु भने रातभरी आँसुको भल बगाएर। कहिले रितिदिदैनन उसका यि आँसु ।
हरे छोरीको कर्म हारेको जन्म भनेर उखान त त्यतिकै बनाएको होइन रहेछ बुढा पाकाले । आज पनि यिनै नाना थरी कुरामा चार-पर रातको मिर-मिरे प्रहर फाटेको थियो शान्ताको । अनी के बिहानको चिसो हावाले आँखा जोडन खोज्छे । तर सासुको खोकिले ब्युँझाउँछ उसलाई । अनी जुरुक्क बिछौनाबाट उठेर भान्सातिर लाग्छे । चुलो जोडेर तातो पानी बसाउँछे । केहीबेरमा नुन चिया बनाएर सासुछेउमा जान्छे र दुबै सासु बुहारी खान्छन । तर मनभरिको पिडा त बाँडेर रितिदैन र अरुलाई केही छीनलाई ढाँटे पनि आफ्नो मन आँफैसँग ढाँट्न नमिल्ने के गर्नु ।
चिया खाइसकेपछि शान्ता पत्कर टिप्न डोको बोकेर हिँड्छे । सासुको खोकी गाउँको निकै परसम्म एक तमासको छ । गाउँको हेल्पोस्टबाट त कती औषधी बोकेर खुवाको हो शान्ताले । तर निको भएको भने होइन । टाढा लैजाउ पैसाको अनिकाल कसलाई सुनाउनु । हात पसारेर माग्ने ठाउँपनी बाँकी थिएन । घरको दु:ख मुटुभरी बोकेर पैसा कमाउन प्रदेश लागेको पतिको पत्यो खबर थिएन । कती कहाली लाग्दो जिन्दगी । कस्तो बिडम्बना ! यो मनलाई बुझाउने ठाउँनै छैन। उही पतिको चिट्ठी कुरेको आज छ महिना भयो । तर कुनै खबर छैन । के ऊ साँचै कठोर मनको धनी पुरुष हो त ? साँच्चै मेरी आमाले भनेकी थिईन “ छोरामान्छेको आँखाले देखी माया मात्रा हुन्छ रे । के यो साँच्चै हो त ? शान्ता मनभरि कुरा खेलाउँदै पत्करको भारी पुर्याउँछे ।
हुनपनि हो, बिहे अघि त शान्ताले न अशिमलाई देखेकी थीइ न चिनेकी । बिहा गरेको २ महिना पनि राम्रो बित्न नपाई अशिम प्रदेश लागेको आज एक वर्ष हुनलाई पन्ध्र दिन बाँकी रहेछ । अब साहुको नाउँमा राखेको घरबारी पनि उसैले खाने पर्यो । शान्ता आँखाका बगेका आँशुका भेललाई पछ्यौराको फेरले पुछ्दै डोको बोकेर घरमा पुग्छे । तर उसको घरमा नकुल पनि थियो । अनी शान्ता आतिँदै नकुललाई सोध्छे “बाबु तपाईं यहाँ । नकुल भन्छ- हो भाउजु आमालाई जवरोले हन हन भएछ । मसँग औषधी थियो पुर्याउन आएको । अनी नकुलले भन्यो- भाउजु म अहिले लाग्छु पनि । आमको राम्रो ख्याल गर्नुहोला ।
गाउँमा हुन पनि शान्ताको परिवारको लागि नकुल त थियो एउटा दु:खमा साथ दिने । शान्तका न देवर न जेठाजु । न नन्द न आमाजु कोहि थिएनन । त्यसैले शान्ताका आमा बुवाले छोरीले सुख पाउँछे । धेरैको बुहार्तन खप्नु पर्दैन भनेर अशिमसित बिहा गरी दिएको रे । आमा बुवालाई आफ्नो काखबाट छोरीलाई पन्छाउन पाए साह्रै आनन्द । हुन पनि हुर्केकि छोरी घरमा राख्दापनि गाउँलेको कुराको ब्वाइँ ब्वाइँ हुन्छ । कस्तो सस्कार हो यो ? छोरीको त अस्तित्वहिन जिन्दगी । उसको त आफ्नो जिन्दगिनै छैन अरुको नामसित नजोडि ।
अनी सासु कराउँछे ” शान्ता ए शान्ता !! हजुर । “यहाँ मेरो नजिक आ-त “। ” किन आमा” ? साह्रै असल थिन शान्ताकी सासु । अनी शान्ता छेउमा पुगेपछि सासुले भनिन्- त्यो अशिमलाई एउटा चिट्ठी नकुललाई भनेर लेखन लगाएर पठा न बा । म त डाँडा पारीकी घाम । म मरेपछि तेरो बिजोक हुने पर्यो । शान्ताले आफनो हातले सासुको मुख छोपिदिँदै किन त्यस्तो अशुभ बोल्नु भएको नि भनी । के गर्छेस बाबै, यो नै सत्य हो कि सबैले यो संसार छोड्नै पर्छ एकदिन। तेरो मायाले म सधैं तँसँग नै कहाँ बस्न पाउँछु र बा । त्यसपछि शान्ता नकुलको घरतिर लाग्छे ।
नकुलको घरमा चाल चुल थिएन । ढोकामा ताल्चा ठोकेको थियो । तै पनि शान्ता केहीबेर पिँढीमा कुरेर बस्छे । केहीबेरपछि नकुल आएर भन्छ- ए शान्ता भाउजु कती खेर आउनु भएको नि ? शान्ताले जवाफ दिइन- एकैछिन अगाडि हो बाबु । अनी “आमालाई अली सञ्चो भयो ? “ ” छैन उस्तै छ छोराको धेरै चिन्ता लिनु हुन्छ त्यसैले होला ।” “अनी बाबु मता तपाईंलाई फेरी दु:ख दिन आएकी “ शान्ताले भनिन्। “के को दु:ख भाउजु ? यो जिवन त अरुको सेवा कै लागि जन्मेको हो नि भन्नुश न मैले के गर्नु पर्यो।” अनी शान्ताले आग्रह गरिन- तपाईंको दाइलाई एउटा चिट्ठी लेखिदिनुश न बाबु । आमा साह्रै बिरामी हुनुहुन्छ । चाडै घरमा आउनु रे भनेर । कतै आमा बिरामीको खबरले घरको याद आउँछ कि । ”
नकुलले स्विकार्यो- “हुन्छ भाउजु तपाईं धेरै चिन्ता नलिनुश । अर्काको देशमा कहाँ आफुले भनेर सोचेको जस्तो हुन्छ र भाउजु । केही सारो गाह्रोमा अड्किनु भयो होलानी । नत्र गाउमा छँदा त त्यती खराब मान्छे त होइन । अब उहाँलाई शहरको वातावरणलेनै खराब बनाएछ भने के जानौं भाउजु ।” त्यसपछि नकुल चिट्ठी लेखन तयार हुन्छ ।
दाई अशिम म गाउँले भाई नकुलको तर्फबाट दुबै हात जोडेर नमस्कारका साथै धेरै सम्झना । दाई कि तपाईंले गाउँ घर छोडेदेखि यि पाटी पौवा देउराली त सुन्ने भएकै नै छन । त्यो भन्दा पनि तपाईंको घरको हालत धेरै कमजोर छ । तपाईं गएदेखि आमा सधैंको बिरामी । घरबारी पनि साहुले भाका पुग्यो छोड्नु भनेको भन्यै छ रे । हामी गाउँले सबै छक्क परेका छौं कि एउटा असल र सिधा गाउँलेको छोरोको मनलाई प्रदेशले कसरी धमिलो बनाइदियो । आफ्नी जन्मदिने आमालाई र जन्मभुमिलाई नै चट्टकै भुल्नेगरि दाई ? ल दाई आमाको सुवास्थ धेरै कम्जोरी हुँदैछ । भाउजुको पनि उही हालत छ। यो चिट्ठी पाउने बितिक्कै घरमा आउनु होला। तपाईंको चिट्ठीको आसमा शान्ता भाउजुका धेरै दिन र रात बिते । तर तपाईंको चिट्ठी आएन । त्यसैले यो चिट्ठी लेखेको हो, ।
ल त उही गाउले भाई नकुल, ।
नकुलले चिट्ठी लेखेर शान्तालाई सुनाउँदै सोध्छन्- अनी भाउजु ठीक छ ? शान्ता भन्छिन – ठीक छ बाबु । र सारीको फेरमा गाठो पारेर राखेको चिट्ठी पठाउने पैसा नकुललाई दिँदै. बाबु तपाईंले यो हामीप्रति लगाएको गुण के गरी तिर्ने होलानी ? नकुलले भने- भाउजु त्यसो नभन्नुस न । किनकी एउटा मान्छेलाई दु:ख पर्दा अर्को मान्छे काममा आएन भने के गाउँ समाज भएर बस्नु त ।
त्यसपछि शान्ता घर आउँछे । सासु उहि सधैंको जस्तो लामु-लामु सास र खोकिमा रुमल्लिएर मुर्छा परेको पर्यै नै छिन् । बेसार राखेर पानी तताएर शान्ता सासुको छेउमा जान्छे । हातको अडेश लगाई सिरानीमा आड लागएर राखिदिन्छे । सासु आँखाबाट आशु झार्दै शान्तालाई हेर्दै भन्छिन -”तेरो साह्रै पाप लाग्छ होला मलाई शान्ता । तिनै शब्दमा रुम्मलिएर केही-बेर सासु बुहारी अघाउजी रुन्छन । तर कती रुने । दु:ख त जहाँको त्यहिनै छ । बिदिको बिधान र लेखेको लेखान्ता त नभोगी कसैलाई सुख छैन ।
सधैंको थला परेर ओछ्यानमा परेकी सासुले पनि आज यो पापी संसारबाट मुक्ती पाइन । तर अशिमको कुनै खबर आएन । उसलाई न यो धर्तिले खायो न आकाशले निलो कुनै थाहा भएन। सासुको दागबत्ती पनि शान्ताले नै दिई । गाउँलेको हरेक मुटु छेड्ने बचनलाई पनि सहेर जिन्दगिको लडाईं लडी शान्ता । तर भनिन्छ कि नारी धर्ती हो । हो नारी साँच्चै धर्ती हो । तर उसको पिँडालाई चै सधैं मुल्यहिन बनाइन्छ । सौन्दर्यताकी खानि हो नारी । मायाकी प्रतिमूर्ती हो नारी । तर असल कामको भागीदार हुनलाई चैं धेरै अभागीकी खानि हो नारी ? धेरै दु:खको भाग उसैलाई नै लगाइन्छ । कलङ्कित पनि उसैलाई नै पारिन्छ । आज शान्ता अशिमको एक त्यान्द्रो पोते र एक चिम्टी सिन्दुर मा बााधिएर बसेकी छे । तर अशिम आएन । आएन । ऊ फेर्केर आएन । कहिले पनि आएन………..
-गिता थापा, ईजरायल
(स्रोत : साहित्य संग्रहालय )