कथा : अवरुद्ध आवाजहरु

~गीता त्रिपाठी~Geeta Tripathi

” ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।” चिठीका केही अंश पढिसक्दा मेरा गहहरु टल्पलाउन थालिसकेका थिए, यस्तो लाग्थ्यो- यी अक्षरहरु मसीले होइन आँसुले लेखिएका हुन् । त्यसैले पूरै पढ्ने आँटै गर्न सकिन ।

छोराछोरीहरु ‘ठूलो ममीले विदेशबाट पठाएको चक्लेट कस्तो मीठो’ भन्दै रमाइरहेका थिए । मैले भने उनीहरुले थाहा नपाउने गरी अर्कोतिर फर्किएर आँसु पुछेँ । बेग्लाबेग्लै प्याकमा पठाइएका आ-आफ्ना नामका सामानहरुको पोको बढो उत्सुकतापूर्वक खोल्दै थिए दुवै । आफ्नो पोकोबाट एउटा गुलाफी रङ्गको लिपिस्टिक झिकेर हत्त न पत्त ओठमा दल्न थाली सीजू । उसलाई सानैदेखि लिपिस्टिक खुब मन पर्थ्यो तर अहिले नलागेको थाहा पाएपछि उसले मलाई गुहारी । कस्तो अचम्म ! त्यो त रबर पो रहेछ त । यो थाहा पाएपछि ऊ खङ्ग्रयाङ्-खुङ्ग्रुङ् भई, छक्क परी । भ्रमले ल्याएको रङ्ग एकैछिनमा रङ्गहीन भयो उसका लागि । मलाई पनि लाग्यो- भ्रमको आयतनमा फैलिँदै गइरहेका छौँ हामी मानिसहरु । सायद यस्तै एउटा भ्रमले होला तिमीलाई हामीबाट यति टाढा पुर्याएको पनि । किन किन मलाई संसारै एउटा भ्रमजस्तो लाग्यो त्यतिबेला ।

नौ डाँडा काटेर होइन, नौ खोली तरेर मात्रै पनि होइन कहाँ हो कहाँ अनन्त महासागरको अथाह सीमापारि नितान्त फरक शैलीको जीवन बाँचिरहेकी तिमी मेरा भूपरिवेष्टित् आँखाहरुबीच सधैँ सल्बलाइरहन्छ्यौ, मलाई आँसुको महासागरमा डुबाएर । आशीषले एकदिन भनेको थियो -“अन्टी ! ड्याडीले डि.भि. भर्नुभाको छ रे अर्कोसाल त हामी विदेश जाने रे !” मैले उसलाई मायाले हेरेँ र हासेँ । मलाई लाग्यो उसको यो बालसुलभ अभिव्यक्ति उसको बुबाको एउटा ठट्टा बाहेक केही होइन । केही समयपछि कान्छी बहिनी आएर भनिन्- ” दिदी ! आशीषहरु त अब अमेरिका जाने रे नि, उनीहरुलाई डि.भि.पर्यो रे !”

यति भनिसक्दा उनका आँखामा एउटा शून्यता छाइसकेको थियो । उनी निराश देखिन्थिन् तर मलाई भने तिमीहरु हामीलाई छाडेर कहीँ पनि जानसक्छौ भन्ने सोचाइ नै बेअर्थको लाग्थ्यो । मैले यो असम्भव कुरामा उदास हुनुपर्ने कारणै देखिन । अहिले चिठी हेर्दाहेर्दै म त्यो अतीतलाई च्याप्प समाउन खोजिरहेकी छु । प्रत्येक दिन मेरो निद्रासँगै जब बेहुली-घाम भित्रिएको नीलो आकाश खुल्छ, तिम्रो नेपालीमाया त्यही सगरमाथामा प्रतिबिम्वित भएको हेर्ने चाहना हुन्छ,जसलाई बर्षौं पहिले जाडोको न्यानो बिहानीमा हामीले देवीथानको डाँडामा उभिएर अन्य हिमश्रृङ्खलाका माझबाट अलग्याई मनमनै आरोहण गरेका थियौं । जून पनि तिम्रो आकाशमा कसरी उदाउँछ थाहा छैन तर यहाँ प्रत्येक नीलो रातमा तिम्रो सम्झनाको अभिषेक लिएर उदाउँछ र शान्तिको कामना गर्छ तर वियोगले बिथोलिएको मन कहिल्यै शान्त हुनै सकेन । मनको यही अशान्त प्रहरमा छोरो आँसु पुछ्दै उठ्छ र अवरुद्ध आवाजमा सकिनसकी सोध्छ -“ममी ! हामी आस्था दिदीलाई भेट्न कहिले जाने ?” यसैगरी एक-दुई दिन बिराएर उही पुनरावृत कहिले जाने भन्ने प्रश्नको छुराले ऊ मेरो समयलाई रेटिरहन्छ । उसले अझ बढी आफैलाई छिया-छिया पारेको छ । अनुत्तरित समाधानरहित प्रश्नको सुइरोले त्यो वियोगको वास्तविकतालाई उधिनेर ऊ त्यसरी नै रुन थाल्छ जसरी ऊ आजभन्दा डेढसाल पहिले बिदाइको अन्तिम क्षण आस्थाबाट अलग्गिन नसकेर रोएको थियो । पछ्याउँदैपछ्याउँदै ऊ एअरपोर्टसम्मै पुगेको थियो । फर्केर घर आइपुग्दा उसका दुवै आँखा बेस्सरी सुन्निएका थिए । स्कुल जानसक्ने अवस्थामा थिएन ऊ । फकाई-फुलाई स्कुल त पठाइयो तर उसको वियोगी आँखालाई ओभानो पार्ने कुनै रुमाल दिन सकेनौं हामीले । उसका साथीहरु भन्थे दिनभरि नै ऊ गगल्च्याएर रोइरह्यो रे । बेलुका घर फर्कंदा ऊ टाउको दुखेर अस्तव्यस्त भइसकेको थियो ।
यो डेढसालमा हामीबीच प्रशस्त टेलिफोन सम्पर्कहरु भए । इमेलका कपीहरु जोड्ने हो भने पनि एउटा उपन्यास नै तयार हुने सम्भावना छ तर मनका पानाहरु कहिल्यै भरिएनन् । प्रत्येक क्षणहरु एउटा अव्यक्त खालीपनले थिचिएर बितिरहे । यहाँ पलपल नै बषौँजस्तो भएको छ सायद भावनाको उष्णकाल भएर होला दिनहरु यति लामा भएका । अनन्त अन्योलका प्रश्नहरुसँग निस्सासिँदै आफैलाई ढाँटेर जवाफ दिन्छु ” ठूलोममीहरु अब छिटै फर्किनुहुन्छ । तिम्रो पत्र पढिनसक्दै यसपालिको तीज छेउलागेर गयो । रातारङ्गहरु पश्चिमी दुखान्तका त्रासद सङ्केत झैँ भएको यसघढीमा तिम्रो दूरताले झनै रङ्गहीन बनायो तीजलाई । तिमीले लेखिपठाएजस्तो कहाँ बित्यो र हाम्रा पलहरु । त्यस्तो भइदिएको भए सायद समी र सीजूका धेरै प्रश्नका जवाफहरु एकैचोटि मिल्ने थिए होलान् । चिठी अझै पढिसकेकी छैन । “…………आशिष् त ठूलो भयो, निसास लागे पनि खासै भन्दैन तर आस्था असाध्यै गर्छे । कहिलेकाहीँ सपनामा नेपाल गएर सबैजनालाई भेटेर म त रुँदै थिएँ, हजुरले उठ छोरी भन्दा त झसङ्ग भएँ भन्छे । कहिले एकपटक नेपाल गएर सबैलाई भेटेर आउँ न भन्छे ।” यतिबेला उसको चुलबुले अनुहार गम्भीर भएजस्तो झल्को लाग्यो मलाई । दुई-तीन बर्षे उसको उमेर आँखामा टाँसिन आइपुग्यो- ” बन्दा भन्ता कैते” गर्दै हिँड्ने त्यो सानी गुडिया मैले पढाउने स्कुलकी प्राथमिक तहकी छात्रा थिई,छुट्नेबेलामा । सबै साथीहरुलाई वरिपरि लगाएर ऊ जुनसुकै खेलको पनि नेतृत्व गर्थी र टिफिन टाइममा सबै शिक्षक-शिक्षिका उसको नेतृत्वशक्ति देखेर दङ्ग पर्थे । आज ती साथीका माझबाट ऊ हराएकी छ । एकप्रकारको रिक्तताले मन बतासिइरहन्छ । ऊ गएपछि मैले पनि स्कुल छाडिदिएँ । कहिलेकाहीँ कामविशेषले जाँदा त्यतै चउरमा रुखको छायामुनि बसिरहेकी छ कि जस्तो लागेर आँखा भरिन्छ । उसलाई भने समीप, सीजा, प्रवीण सबैसँग सपनामा भेट्नु परेको छ । कतिचोटि फोनमा ऊ हामीसँग बोल्नै सकिन न त यताका केटाकेटी नै ऊसँग बोल्न सके । दुवैतर्फ अदृश्य आँसु बगिरहे । वियोगको यो अत्यन्त पीडादायी नयाँसंस्करण मैले पहिले कहीँ देखेको थिइन ।

भारी मनले तिम्रो चिठीलाई फेरि निरन्तरता दिएँ- ” ……यहाँ काम गर्नुपरे पनि सबै कुराको सुविधा छ । जुन ठाउँमा गयो स्वर्गजस्तो छ । जताततै फूल बगैँचा हरियाली तर एउटै कुरा तिमीहरु कोही छैनौ । तिमीहरु कोही यहाँ भएको भए असाध्यै राम्रो हुन्थ्यो । …” आफ्नो पौरखी हात लिएर गएकी तिमी जहाँ गएपनि के कुराको असुविधा हुन्थ्यो र तिमीलाई । मनमनै तिम्रो सन्तोषी कर्मठ भावनाप्रति गौरवान्वित हुन्छु । तिम्रो प्रकृतिप्रेम देखेर अतीततिर फर्किन मन लाग्छ ।

त्यति टाढा पुगेर पनि तिमीमा नेपाली-पहाडी फूलको सौन्दर्य गढेको देख्दा भाव विभोर भएछु म । तिम्रालागि फूल बगैँचा र हरियाली कति प्रिय छन् । जिन्दगीले जताजता डोर्याउँछ त्यतै तिमी फूलको संसार सिर्जन्छ्यौ । तिम्रा स्पर्श पाएका गमलाहरुमा अहिले पनि तिमीजस्तै मुस्कुराइरहेछन् फूलहरु, म अलिकति पानी थपिदिन्छु मायाले । साँच्चै फूलहरुसँग तिम्रो आदिम सम्बन्ध छ आधुनिकताले परास्त गर्न सक्दैन तिम्रो फूलप्रेमलाई ।

जब तिमी -हामी गाउँमा थियौं सम्झ त, मूलबाटोबाट छुटिएर हाम्रो घरको गोरेटोको दायाँ-बायाँ फूलका लहरहरु कसरी उभिएका थिए । हामीलाई स्कूल जाँदा बिदा गर्ने र फर्कंदा खुसीखुसी स्वागत गर्ने तिनै राता पहेँला गुलाफी आदि रङ्गका फूलहरु नै त थिए । आज त्यो क्षण हामीसँग छैन, ती फूलहरु हाम्रा छैनन् तर त्यो सम्झना के तिमीले भुल्न सकेकी छ्यौ – तिनै फूलका बीचमा बसेर हामीलाई फूल झैँ हुर्काउने हाम्रा मालीलाई ? हामीले फूललाई माया गरेको देखेर फूलजस्तै मुस्कुराउने हाम्रा जीवनदातालाई ? समयले एउटापछि अर्को अदृश्य मोडबाट हिँड्न प्रेरित गरेको छ तिमीलाई तर फूलसँगको सामीप्य न यहाँ न त्यहाँ कतै पनि छुटाएको छैन । एल्बमहरु पल्टाउँछु, पूराना फोटाहरु हेर्छु, तिमीलाई प्रायः सबै नै फोटामा फूलको माझमा पाउँछु । तिमीलॆ सि.डि.मा बनाएर पठाएका नयाँ फोटाहरु नियाल्छु, देख्छु जताततै फूलको संसार । तिम्रो दृष्टिबाट हेर्दा त्यो ठाउँ पनि फूलैजस्तो लाग्छ मलाई । म आफूलाई तिमीसँग दाँजेर हेर्छु । एउटै दिदी-बहिनी भएपनि तिम्रो फूलको स्वभाव ममा कठोरजस्तो लाग्छ । तिमीले नै मलाई फूलको कोमलतासँग परिचित गराएकी हौ भन्ने कुरामा म स्पष्ट हुन्छु । त्यसैले घर वरिपरि फूलेका फूलहरुमा तिमी र तिम्रा परिवारको प्रतिबिम्व देख्छु । ऋतु परिवर्तन हुँदा फूलका रङ्ग र संख्यामा परिवर्तन आउन सक्ला तर फूलको स्वभावमा परिवर्तन आएको मैले कहिल्यै देखेको छैन । त्यसैले म तिम्रो सामीप्यमा फूल झैँ अनुभूत हुन सकूँ । भावनाको विशिष्ट क्षणमा तिम्रो उदासी यही अनुभूतिले हटाओस् भन्ने चाहना छ मेरो ।

तिम्रो चिठी मेरो हातमा छ तर सम्झनाको बादल उठेको मन तिमीसँगै सुदूरको यात्रामा निक्लेछ । अब भने तिम्रो स्नेहले उमारेका शब्दथुँगाहरु आँखैनेर स्पर्श खोजिरहेछन् । बाँकी थुँगाहरु भिजाएर मन हलुको पार्ने कोसिस गरिरहेछु ।

बालुवाटार, काठमाण्डौ

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.