१८ अक्टोबर २०११
पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश। अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ। यही चुल्बुले मौसममा मैले धर्तिमा पाइला टेकेको भएर पनि होला शायद । मन फुर्फुर गर्दैछ चटारोले उतिकै चेपेकोछ ।केही दिने जेरुसलेम घुम्डुल्को तयारी जो गर्नुथियो। ‘एरुसलायम सेल जहाब'(सुनको जेरुसलेम) भनेर सम्पूर्ण याहूदीहरुले हृदयनत प्रार्थनागर्नेठाउँ, संसारका तीन ठुला धर्म उत्पती र बिकास भएको अपूर्ब पवित्रस्थल जहाँ दुनियाँका हरेक मान्छे जीवनमा एकपटक पुग्ने अभिलाषा राख्छन् यस्तो अदभूत ठाउँमा संयोगले पटकपटक पुगिसकेको छु तैपनी यो पटक केही खास छ जो केही दिने लामो बसाइ त्यही अदभूत रमणिय जेरुसलेमको छातीमा हुनेभएकोछ।
इजरायली बिहानको १०:१५ तिर कारले मोनोसोनको सानो बस्तीलाई पछाडि छोडेर मिजराखतिर(पूर्ब)हुइंकियो। ‘ओद मेया मितरिम पोने स्मोला'(अबको सय मिटरपछी देब्रे मोड) भन्दै फत्फताइरहेको अत्याधुनिक आदेशकर्ता(जी पि एस्)को अनुसरण गर्दै रामी एकसुरले कार हाँकिरहेकोछ भने चिपोरा उत्सुक मुद्रामा तर शान्त बसिरहेकोछिन अगाडिको सिटमा । म भने बानिअनुसार कानमा एम्पिथ्रीको एअरफोन कोचेर पछील्लो सिटमा खाँदिएको छु तर हातैमा सानो डायरी र कलम भने खडीखडाउछन् नयाँ कुरो देख्नेबितिक्कै टिप्न भनेर।
अलिक यता त आकाशमा बादलका अनेक बिम्ब देखिन थाले। कुशल कलाकारले कुँदेर राखेका आकृतिजस्ता लाग्ने कन्चन् सेता बादलका भुल्काभुल्की नियाल्दै सम्झनाको भन्ज्याङ तरेर म खुत्रुक्क आफ्नै धादिङ्गको थाक्रे पुगेछु वालवयमा चुल्बुलिन। दसैं तिहार ताकको कन्चन् आकाश नियाल्दै घण्टौँ बिताउंथेँ आकाशमा फिर्फिराइरहेका बादललाई मनमनै अनेक आकृतिमा ढाल्दै कल्पनागरेर। कतिपटक त बेसुरी केटी कती कामचोर हुनेभै ! भनेर आमाले कपाल उखेलिदिनुभएको सम्झना अझैपनी छ ।
रामजोर(रातो बत्ति) मा घ्याच्च कारले झट्का दिएपछी पो बिगतको भर्र्याङ्ग झरेर आजैको यथार्थमा टुप्लुक्किएँ। चिपोराको लम्बेतन गफ अगी सुरु भैसकेको छ। रामी सही थाप्दैछ। कारले गती लिएको लियै छ। वरीपरी स-साना थुम्के पहाडले जेरुसलेमा नजिकिन लागेको संकेत गर्दैछ। हामी ३५ मिनेट गुडिसकेकाछौँ। यसपालीको घुमाइमा सक्दो मज्जा लुट्ने मेरो धोको जो छ। इजरायली वर्क ल अनुसार बिदेशी कामदारले कानुनत: भिसा रिन्यु गर्न पाउने तोकिएको ४ बर्ष ३ महिनाको अवधी पारगरिसकेको छु। अबको इजरायली बसाइ भनेको चिपोराले मायागरुन्जेल र साच्चै भनुभने चिपोराले श्वास फेरुन्जेल हो। किनकी माया त उनले मलाई बिछट्टै गर्छिन भन्ने त थाहा छ नै। यस्तो कतिखेर कुम्लो बोकेर एअरपोर्ट हानिनुपर्ने हो भन्ने संत्रासी समयमा जतिसक्दो धेरै रमाइला ठाउँहरु घुमिसक्ने रहर हुनु अस्वाभाबिक पनि त होइन। सानै भएपनी बेहुली जस्तो चिरिच्याट परेको सुबिधासम्पन्न मुलुक इजरायलमा यस्ता मनोमुग्धकारी स्थान फेरी कती हुन् कती!
इजरायलकै नामिमध्यको एक पांचतारे होटल ‘मालोन एच जाइत’ (दि ओलिभ ट्री होटेल’)हाम्रो गुँड रहनेछ यो घुमाइको अवधिभरी जो चिपोराले केही हप्ता पहिलेबाट बुक गरिराखेको थिइन। दिनको १२ बजेतिर कारले हामीलाई होटलको ढोकामा पुर्यायो। चाडबाडको बेला परेको छ होटल पनि असाध्यै खचाखच रहेछ। आधाघण्टा त चेकइन मै लाग्यो। भब्य शानदार ओलिभ ट्री होटेल वास्तबमा एक ऐतिहासिक नमुनापनी रहेछ।### ईतिहास अनुसार करीब २००० बर्ष पहिले याहूदी राजा किङ्ग दबिद समयसमयमा त्यही ओलिभको रुखमुनी टहल्थे रे। पछी समयको अन्तराल पछी पनि उसैगरी समयचक्रको उतारचढाब हेर्दै उभीइराखेको त्यही ओलिभको रुखलाई ओरिपरिबाट घेरेर होटल बनाइएको रे। त्यसबेला देखी होटलको नाम पनि उही रुखकै नामले राखिएको रहेछ। अहिले त नयाँ अत्याधुनिक बिल्डिङ्ग छ नै तर स्थापनाकालको पिल्लर र भित्तो एकपट्टी अझै जस्ताकोतस्तै देखियो। र त्यही २००० बर्ष पुरानो ओलिभको रुखपनी उसैगरी ठिङ्ग उभिएर मलाईनै हेरिरहेझैँ लाग्थ्यो। यस्तो ईतिहासे ओलिभको रुख, होटल र अन्य धेरै जानकारी एकैछिनमा होटेलका म्यानेजर मिस्टर मेहेर बाट लिना भ्याइहालेँ। हंसिला मिजासिला मेहेरले अरुपनी निकै रमाइला प्रसंग बताए र मेरो देशबारे जान चाहे। ‘नेपाल’ भन्ने बितिक्कै फुरुङ्ग पर्दै भन्न भ्याए कि अहिले सम्म उनी नेपाल पुगेका छैनन रे तर निकट भबिस्यमै जाने सोच छ रे। साह्रै सारै सुन्दर देश है नेपाल त! भनेर मेहेरले भनिरहँदा म भित्रभित्रै जलिरहेकोछु पीडाले कि मेरो सुन्दर देश नेपालको अनुहारभरी चोटैचोट छ देशमारा नेताहरुले कोपरेर चिथोरेर। जती यिनिहरु विश्वमानचित्रमा गुगल सर्च गरेर नेपाल सुन्दर देख्छन त्यो यथार्थमा ईतिहास हुनलागिसक्यो। मेरो नेपाल त कुरुप बनिसकेकोछ, दुखिरहेकोछ भग्न अनुहार लिएर हिमाली फेदिमा। यि सबै तिक्त यथार्थ मुटुको एक कुनामा थन्क्याउँदै मेहेरको हात समातेरै धन्यवाद भनेँ र मेरो सुन्दर शान्त नेपाल एकपटक होइन पटकपटक आउन आग्रह गर्दै आफ्नो रुम तिर लाग्यौँ।
अगी काउण्टरबाट दिइएको कार्ड सुँघाइदिएपछी चुइँक्क गर्दै ढोका खुल्यो। आफु फ्रेस हुन्जेल हातेब्यागलाई लडाईंदिएँ सुकिलो बिस्तारामा। प्रतिक ढकाल दाइले भन्नुभएझैँ पैसो तिरेको बिस्तारामा आफुले नभ्याउंदा झोला ले नै पनि आराम गरोस् न हैन त ! एकैछिनमा तयार भएर लाग्यौँ यहुदिहरुको पुराना मध्यको एक प्रार्थनाघर हेर्न। ८० किलोको भारी ज्यान ठस्ठस पार्दै ढोकैनेर पुर्याएँ चिपोरालाई तर भित्र पो पस्न दिएनन् दुइजाना दारिवालहरुले। धर्ममा विश्वाश गरेपनी केही बेकारका अन्धबिश्वास म संधै नकार्छु तर यस्तो त मेरो धर्ममा मात्रै नभएर अरुमा पनि हुनेरहेछ। कट्टर यहुदिहरुका अनुसार मुलप्रार्थनाघर छिर्नको लागि महिला र पुरुषका लागि अलगअलग ढोका रहेछ हामी पुरुषका तिर पुगेछौँ। “असुर असुर! बिख्लाल लो याखोला। तिल्खि ले देलेत निसिम”(पाप लाग्छ! महिलाको ढोकाबाट जाउ!”) भन्दै दारिवालले हप्काएपछी लुरुक्क हामी फर्कियौँ अर्को बाटो। आखिर विश्वाश र कट्टरताको नाममा अतिबाद त जहापनी लागुहुनेरहेछ चाहे त्यो बिकशित मुलुक होस् या अबिकशित।
आहा! सुनैसुनको मोलम्बाजस्तो के के हो भित्र त! कती भब्य कती शानदार! कती खर्छ गर्न सकेका! अती मनोरम प्रार्थनाघरको द्रिश्यावलोकन गरिसकेपछी लाग्यौँ जेरुसलेम ओल्ड सिटी तिर।
पश्चिम जेरुसलेममा अवस्थित यो बजारमा लग्भग सबै मुस्लिम ब्यापारी छ्न् उसोर याहूदीहरुको सबाथ(शनिबारे धार्मिक छुट्टी)मा पनि यो बजार खुलानै रहन्छ। अन्यथा याहूदिहरु सबाथमा काम ठप्प गर्छन्। बजार, अफिस यहाँसम्मकी सार्वजनिक सवारी साधन समेत सबाथअवधिभरी खुल्दैनन्। यो ओल्ड सिटीको अवस्थिती हेर्दा मलाई हाम्रो भ्रिकुटीमण्डपको झल्को आयो। उस्तै लम्बेतन कतकता लमतन्न पसारिएको बजार। खुल्ला गरेर समान यताउता झुण्ड्याएर चिच्याइ चिच्याइ ग्राहकलाई बोलाइरहेका पसलेहरु अनी सामानको भाउपनी भ्रिकुटी मण्डपकै जस्तो सुरुमा चौबर भन्ने अनी बार्गेनिङ गर्दै दोबर या कहिले त एकरसम्म पनि झरेर बेच्ने।
घुम्दैगर्दा भाउगरीगरी बल्ल दुइओटा बाला किनेँ मैलेपनी भोली नेपाल गएपछी सारीचोलिमा लगाउँला भनेर। भोक लागिहाल्यो । घुमेर हेरेर आँखाले भोक नटर्ने फेरी। केही चारो त हाल्नै पर्यो । सानो पसलमा खाजा खाँदैगर्दा चिपोरा झन्डै त्यहीँ ननीदाएकी। बुढाबुढी मान्छे त्यतिको हिँड्दा नथाक्ने त कुरै भएन । अनी उनिलाई होटेलमा लगेर छोडेर हामी निस्कियौँ ‘रकेभेत काला'(फास्ट ट्रेन) हेर्न जो केही महिना पहिले मात्रै इजरायलमै प्रथमपटक सुरु गरिएकोछ र अहिलेसम्म निशुल्क यात्रा गर्न पाइने रहेछ।
तलचाही रेलकै जस्तै मसिना दुईओटा लिकमा घस्रिने अनी माथिचाही पहिलेपहिले हाम्रोमा भएको ट्रली बसको जस्तो तारमा झुण्डिएर बिजुली बेगमा हुइंकिने बसमा चढेपछी रमाइलो लाग्यो। अब हाम्रोमा भएको ट्रलिबसलाई ‘उहिलेउहिलेको’ नै त भन्नुपर्यो नि! आफुले गर्नु त छैन छिमेकीले उपहार दिएको संरचना समेत कुत्ताले बिष्टा भेटेझैँ हसुरेर सिध्याइहाले देशमाराहरुले। अब त ट्रलिबस हाम्रैलागी त ईतिहास भैसक्यो भने हाम्रा छोरानातीका लागि त नेन्डरथल मानवजातिको अस्तिपञ्जर भन्दापनी दुर्लभ हुनेनै भयो । के गर्नु! पिछडिएको देशको नागरिकको तक्दिर है! भाग्यले केही राम्रा कुरा देख्न मिल्दापनी उही आफ्नो देशको भलिभाँडसँग तुलना गर्दै मन अमिलो भैहाल्ने! मजालिनु त कता हो कता! आफ्नो देशको हविगत सम्झेर चुक्चुकाउनुपर्ने!
चिप्लेकिरो जस्तै लामो तर टकल्ल टल्किएको फास्ट ट्रेनले आवाज समेत नगरिकन कतिखेर हामीलाई पूर्बी जेरुसलेमको जाफ्फा’याफ्फो’ सिटिमा पुर्याइसकेछ। ‘एम लेस वण्डरिङ्गग’ भनेजस्तो बिनाकाम बिना गन्तब्य उही फास्ट ट्रेन हेर्नका लागि बत्तिएका हामी समय कटाउन एउटा ठिकैको कफिशपमा पस्यौँ। ढोकैमा एउटा जर्मन जस्तो देखिने बुढो मान्छे गीतार बजाउँदै हात थापिरहेको रहेछ। उफ्फ! मगन्तेहरुको भिडबाट उम्किएर यता आयको ‘म’ लाई यताका मगन्ते देख्दा अचम्म त लाग्दैन तर मनमनै भन्छु मगन्ते भनेको सबैदेशको गहना पो हुन कि क्याहो! आखिर सबैतिर हुनेरहेछन् बा! तर बिकसित देशको आधुनिक मगन्ते क्या! सुकिला र राम्रा लुगा जुत्ता लगाएर महङ्गै देखिने गीतार बजाइरहेको सभ्य मगन्ते! एक सेकेलेको ढ्याक दिउँ कि भनेको रामीले छेक्यो। गरिखाने हात खुट्टा भएकालाई किन दिनु! उस्कओ तर्क गलत थिएन ,मैले सेकेल खल्तिमै फर्काएँ।
साँझ ओर्लिन लागेछ होटल फर्किँदा। हतारहतार गरेर डाइनिङ्गहलको कार्यक्रम सकेपछी फेरी लागियो ‘मिग्दाल दबिद'(डेबिड टावर)मुन्तिरको ऐतिहासिक भग्न पर्खालमा साँझ थपक्क ओर्लिएपछी देखाइने बिशेष ऐतिहासिक जानकारीबारेको शो’ ओर भे कोली’ (उज्यालो र आवाज) हेर्न। प्रचिन याहूदी राजा डेबिडकै पालको मानिने एक भग्न टावर मुनिको भित्तोमा साँझपछी बिभिन्न बिधुतिय प्रकाश ठोकाइएर आवाज सहित याहूदिराज्य इजरायलको प्राचिन ईतिहासदेखी इजिप्सियन, रोमन, जोर्डनियन, टर्किस, ब्रिटिश लगायतले पटक पटक हमलागरेर आधिपत्य जमाउँदै कसरी इजरायलले उतारचढाब भोग्दै आजको इजरायल हामीमाझ छ भन्ने दर्शाउने महत्वपूर्ण यो शो हेर्न दैनिक ठुलो सङ्ख्यामा देशीबिदेशीहरुको घुँइचो लाग्दोरहेछ। यसबाट सबैलाई ऐतिहासिक जानकारी पनि हुने भयो। हर एक इजरायली तथा यहुदी साना नानीहरुले पनि उक्त शो हेरेर आफ्नो पुर्खाको बलिदान र आफ्नो माटोको महत्व मनन गर्न सक्छन भनेर पनि इजरायलीहरुले यस्तो काम प्रसस्तै गरेको देख्न पाईन्छ । यिनिहरु ईतिहासका हरएक घटना, चिजबिज र सम्झना बचाइराख्छन् भोलिसम्म गौरब गर्न, खबरदारी गर्न र देशप्रतिको माया अटुट राख्न। हाम्रोमा झैँ नितान्त निजी स्वार्थ पुरागर्न मन्दिरको मुर्ती देखी हावाइजहाजको टायर् समेत खर्लप्पै निल्ने यहाँँ पटक्कै गरिँदैन र त ६३ बर्षे ईतिहासमा इजरायल संसारको बिकशित् मध्यको मुलुकमा गनिदोरहेछ। हाम्रो दरिद्रताले यसरी हामीलाई पाइलाइपिच्छे खाडलमा जाक्दै इर्श्यामा जलाउँदोरहेछ पराइको सम्पन्न रस्तिबस्ती देखेको हरेक पटक। जो म पाइलाइपिच्छे अनुभुत गर्दै खरानी बनिरहेछु यतिबेला डेबिड टावरको मुन्तिर।
होटल फर्किंदा रातको १० नाघिसकेछ। चिपोरा त अघिनै लखतरान भएकिथीइन। एक एक कप ग्रीन टि सुर्क्याएर सबै आ-आफ्नो बिस्तारामा ढल्कियौँ । म भने प्रतिक ढकाल दाजु को प्रसिद्द पुस्तक ‘चिनको विचित्र चित्र’ मा एकछिन हराएँ। तर एकैछिन मात्रै हो है! अचार झैँ पुर्याइपुर्याइ पढ्नुपर्छ नेपाली पुस्तक यो कहरको बिदेशमा। चार पेज जती पढेर शिरानीमुनी थन्क्याएर निन्द्रादेबीकोमा प्रस्थान गरेछु छिट्टै नै।
१० अक्टोबर
बिहान अलिक अबेरै आँखा खुलेछ। हतारोमा खाजा भकुरेर लागियो ‘अम्युनिशन हिल’ तिर। ### सन् १९३० को पूर्वार्धतिर ब्रिटिशले इजरायलमाथी आधिपत्य जमाएको समयमा उत्तरी इजरायलको यही स्थानमा आफ्नो प्रहरी एकेडेमी खोलेको रहेछ र यस् ठाउँको न्वारन गरेको रहेछ ‘अम्युनिशन हिल’ भनेर। तर अहिलेका इजरायलिले यो ठाउलाई यतिको श्रद्दा र महत्व गर्नुको कारण भने त्यतिनै महत्वपूर्ण रहेछ। त्यो के भने अन्तिमपटक ब्रिटिश उपनिबेश बाट मुक्त हुन सन् १९४७-१९४८ मा भएको स्वतन्त्र संग्राम पछी इजरायल त स्वतन्त्र देश भएछ तर उत्तरी जेरुसलेमको हालको अम्युनिशन हिल लगायतको भुभाग जोर्डनले कब्जागरेछ सन् १९६७ सम्म। यसरी ईतिहासको त्यो कालखण्डमा २० बर्षसम्मा जेरुसलेम आधा इजरायली आधा जोर्डनियन भएर रहेछ। त्यसपछी सन् १९६७ जुन महिनामा छेडिएको ६ दिने युद्दमा १८२ बहादुर इजरायली सुरक्षाकर्मी तथा सर्बसाधारणले प्राण बलिदान दिएर र कैयौँ क्षत्बिक्षत भएर त्यो गुमेको आधा जेरुसलेम फिर्ता लिएका रहेछन्। उक्त १८२ जनाले ज्यान गुमाएकै स्थानमा १८२ वटै जैतुनका बिरुवा रोपेर लडाईंँसमयको भौगोलिक रुपरेखालाई जस्ताकोतस्तै राखेका रहेछन इजरायलिहरुले राष्ट्रिय मेमोरियल साइटको रुपमा। कतिसम्म भने त्यही स्थानमा सैनिक म्युजियम समेत बनाएर त्यो युद्दका अनेक सम्झना जस्ताकोतस्तै राखेकारहेछन बडो श्रद्दा गरेर। र हरेक बर्ष जेरुसलेम डे सेरेमोनी पनि यही स्थानमा मनाइँदोरहेछ राष्ट्रिय सम्मानका साथ्।
यिनले जती नै ईतिहासमा हामीले हण्डर ठक्कर नखाएपनी लडाईंं हाम्रोमा पनि भएको थियो। स्वाधिनता कायम राख्न हाम्रा पूर्खापनी यसैगरी लडेका थिए र शहादत प्राप्त गरेका थिए। फरक यती हो यिनिहरु ति बहादुरहरुले रगत बगाएर जोगाएको आफ्नो माटोको कण कणलाई प्राणभन्दा प्यारो मान्छन र ति बहादुरहरुलाई सदा हृदय रित्याएर श्रद्दा गर्छन्। हामी ईतिहास बिर्सन्छौँ, शहिदको बलिदानिलाई सम्झना समेत गर्दैनौँ र निहित स्वार्थको निमित्त आफ्नै देशको टुक्राटुक्रा बिक्री गर्छौं। जम्माजम्मी ६३ बर्षे इजरायल र अनन्त ईतिहास बोकेको नेपाल बिचको कल्पनाइ गर्न नसकिने असमानताको अनेक कारण मध्य यहिनै ठुलो कारण मैले अणुभब गरेँ हामी पिछडिनुमा। अम्युनिशन हिलको अवलोकन गरुन्जेल यस्तैयस्तै कुराले मलाई बिथोलिरह्यो।
चिपोरा बिचरी भसक्कै थाकिन् । लन्च पनी बहिरै भ्यायौँ । ति आर्मिका बंकर र ट्रेन्च घुम्दा त लखतरान पो भैएछ ! सिधै रुम फर्केर डङ्रङ्गै बिस्तारामा पछार्यौँ आफुलाई। निदाएछु पो म त भुसुक्कै। ओहो! साँझ परिसकेछ ,यतिबेला सम्म सुतेछु! डाइनिङ्ग हलमा निकैबेर गफिंदै खाना खाएपछी रुममा एक कप ग्रीन टि नसक्दै फेरी घुस्रिएँ बिस्तारामै।
२० अक्टोबर
आज त छिट्टै आँखा खुल्यो। ब्रेकफास्ट सकेर झोला तुम्बी बांध्यौँ। आज दिनको ३ बजेसम्म होटेल बाट चेकआउट हुनुपर्नेछ। आ! को फेरी घुमेर यतै फर्कियोस् ,,बरु अहिलेनै झिटिगुम्टी बोकेर होटेललाई बाइ भन्ने भनेर बाटो लागियो केही दिन बसेको एक प्रशिद्द इजरायली ऐतिहासिक होटेललाई छोडेर। बिहानको १० बज्यो। हामी यतिबेला इजरायली सबैभन्दा ठुलो म्युजियममा छौँ। म्युजियम यसैपनी ज्ञानर्वर्धक स्थल हो। झन यो म्युजियम त ईतिहासको विश्वाबिद्यालय जतिकै रहेछ। ओहो कती अचम्म लाग्दा चिजबिज !! तेर्हौँ शताब्दिमा मुर्दा राखिने कफिन जो ठ्याकै मान्छेकै स्वरुप जस्तो देखेर कम्ती अचम्म लागेन। पन्ध्रौं शताब्दीमा आबिस्कार गरिएको शिशाको सामान देख्दा कतिकक्षामा हो शिशा बन्न चाहिने तत्व(silica+soda+lime)सरले पढाएको सम्झिएँ।प्रथम शाताब्दीतिरका भाँडाकुँडा, चिजबिज र रहनसहनको अनेक भौगर्भिक सरसामानहरु बओड गहिरो खोज र अनुसन्धान गरी जतनले सजाइेको रहेछ। जहाँ सिङ्गो सृस्टिको आध्योपान्त जानकारी पाउन सकिने। दुर्भाग्य भनौँ यि सबैथोक हेर्न यहीँ आउनै पर्ने रहेछ। किनकी भित्र पस्दैगर्दा ‘तस्बिर खिच्न सख्त मनाहिछ” भनेर उर्दी जारी भएको थियो। म्युजियम भित्रैपनी ठाउठाउंमा म्युजियम सुरक्षाकर्मी तैनात छन् एसो मोबाइल झिक्यो कि बन्द गराउन आइपुग्छन्। मोबाइल क्यामेरा केही पनि प्रयोग गर्न नपाईने रे पुरै म्युजियम भित्र। ६५००० बर्ष पहिलेका हाम्रा पुर्खा नेन्डरथल जातिका अस्थिपञ्जर देख्दा विश्वासै लागेन सुरुमा त। घुम्दैजाँदा बार्हौँ शताब्दिका बुद्दको प्रतिमा देख्दा झ्वाट्ट फेरी नेपाल र नेपालीको गौरब सम्झेँ। यो प्रतिमा इजरायली सरकारलाई जापानले उपलब्ध गराएकोरहेछ । निकै पटक ओहोरदोहोर गर्दै म्युजियमको केही भाग घुम्दैगर्दा चिपोरा थाकिनउनको अनुसार यती बिशाल म्युजियम हेर्नकै लागिमात्रै चाँही एक दिनको समय काफी हो तर बुझ्नको लागि एक दिन पर्याप्त होइन भनेर घोषणा गरेपछी बहिरियौँ। चिपोरालाई बाहिरै शितलमा बसाएर हामी लाग्यौँ अर्कोतिर। ### फुलाइएको बेलुन जस्तो बडेमान सिमेन्टको तुम्बोमा चारैतिरबाट पानीको फोहोरा हानिराखेको देख्दा अचम्म लाग्यो। त्यसो त यो फोहोराले यसैगरी यो सिमेन्टे तुम्बोलाई चौबिसै घण्टा पखालिराख्छरे। किन त! तुम्बोको अर्को तिरबाट अन्डर्ग्राउण्ड पस्यौँ। भित्र त जलेका, च्यातिएका, पानीले धुमिल भएका अनेक टुक्राटुक्री किताबका पाना बडो जतन गरी शिशाका केशमा सजाइएको रहेछ।
प्रमाणिक हिसाबले पनि हिब्रु भाषा संसारकै पुरानो भाषा हो। हिब्रु ग्रन्थ ‘बाइबल’ बाटै संसारभरी भाषा छरिँदै बिकशित् भएको मानिन्छ। यसरी संसारको सबैभन्दा माउ भाषाका सबसे पुराना अस्तित्व अनेक खोज र अनुसन्धान गरी यहाँ ल्याएर सुरक्षित राखिएको रहेछ। र याहूदी धार्मिक मान्यता अनुसार उनिहरुकालागी सृस्टिको सबैभन्दा पवित्र चिज उनिहरुका धार्मिक ग्रन्थ हुन् र यिनिहरु भगवानko अराधाना गर्दा यिनै ग्रन्थलाई पूजा गर्छन्। त्यसैले यस्तो पवित्र चिजलाई हरसमय पवित्रनै राखिराख्नुपर्छ भन्ने मान्यता अनुसार उक्त बडेमानको सिमेन्टे तुम्बोलाई बाहिरबाट चौबिसै घण्टा पानीको फोहोराले धोएका रहेछन्। र भित्र चाँही पवित्र मानिएका ग्रन्थहरु राखिएको रहेछ। म सोचको भुल्को टेक्दै नेपाल पुगेंछु फेरी। हाम्रोमा टुप्पोबाट पलाएकाहरु आधुनिक भनाउने नाममा धर्म र संस्कार हुनुहुँदैन यो त अन्धताको ध्योतक हो भनेर कुर्लिन्छन्। यि! धर्मका नाममा केही निस्चित मान्यता र विश्वाश यहाँँ पनि त छ! जबकी संसारको बिकशित मध्यको एक मुलुक इजरायल आँफैँ हो। सत्य त यो हो कि धर्म संस्कार र केही निस्चित मान्यता संसारका हरेक सभ्य प्राणीले अवलम्बन गर्नैपर्छ किनकी मौलिक पहिचान भनेकै आफ्नो अलग धार्मिक, साँस्कृतिक मान्यता न हो।र दुनियाँका हरेक सभ्य र बिकशित् मानवसमाजले आफ्नोपहिचान कायम राख्नका लागि आफ्नो धर्मको निस्चित मान्यता, संस्कार र आस्थालाई अटुट राख्छन् यो यिनै मध्यको एक उदाहरण हो। हामी नेपाली यो अहिले बुझ्दैनौँ। देखासिकिको खोल ओढ्नु नै आधुनिकता र सभ्यता हो भन्दै हामी यतिबेला अन्धतामा कुदिरहेकाछौँ। समयले लामो फट्को मारेर धेरै पछाडि हामीलाई छोडेर हुइँकिसकेपछी एक समय हाम्रा चेत खुलेका बेला हामी पछुताउनेछौं आफ्नै हातले आफ्नो धार्मिक, संस्कारीक मान्यता र पहिचान नामेट गरेकोमा। त्यस बखत हामी त रहंदैनौँ तर हाम्रा भाबी सन्ततीले हाम्रो अन्धनक्कललाई दुत्कार्नेछन्। सिमेण्टे तुम्बो भित्रका सुरक्षित धार्मिक ग्रन्थ र बाहिरबाट त्यसलाई हरघडी पखालिरहेका पानीका फोहोरा नियाल्दैगर्दा यतिबेला मित्र गणेश खड्का लाई सम्झेकोछु। जो कुराकानीको शिल्शिलमा पटकपटक भन्नुहुन्छ,”दीप्स जी! हामीले जतिनै कराएर ढोंग गरेपनी सही मानेमा समाजले कोल्टे फेर्नको लागि साँस्कृतिक क्रान्ति नै हुनुपर्छ न कि संस्क्रिती भुलेर हामी सभ्य बन्नेछौँ।” गणेश जी! तपाईं कै जस्तो सबै नेपाली युवाको स्वच्छ सोच हुनेहो भने त सम्भब छ त्यो सार्थक क्रान्ति! तर त्यसो हुन अझै कती शताब्दी पर्खिनुपर्ने हो नेपालआमाले है!
बाहिर मुखैमा अर्कोपट्टी रहेछ ‘देगेम सेल यासान बेतमिग्दास’ भनेको (पुरानो प्रार्थनाघरको नमुना)। चारैतिर भिमकाय पर्खालले घेरीएको सानो क्षेत्रफलमा एउटा शहर, त्यसको मध्य भागमा एक भब्य प्रार्थनाघर को जस्ताको तस्तै नमुना बनाइएको रहेछ। ईतिहास अनुसार प्रथम शताब्दी ताका जेरुसलेममाथी रोमनहरुले कब्जागर्दा बेबिलोनियनले ध्वस्त पारेर पुन:निर्मित प्रार्थनाघर फेरी रोमनहरुबाट ध्वस्त गरिएको रहेछ जुन प्रार्थनाघर हालको जेरुसलेम ओल्ड सिटीमा अवस्थित सुनको छानो रहेको मुस्लिम मस्जिद उभिएकै स्थानमा थियो रे। जब प्रथम शताब्दिमा त्यो प्रार्थनाघर रोमनहरुबाट ध्वस्त भयो त्यसपछी देखी हालसम्म नै जेरुसलेमको छातीमा याहूदीहरुको मुख्य प्रार्थनघर बनेकोछैन। उनिहरु विश्वाश राख्दारहेछन् कि सही समय आएपछी एलोहिम (भगवान) को दूत आउनेछन् र उनैले रोमन बाट ध्वस्त मुख्य मन्दिर निर्माण गर्नेछन्। यो याहूदिहरुको अत्यन्त मार्मिक र अचम्मको विश्वाश रहेछ नत्र त संसारमै चमत्कार गर्न सक्ने यतिका सम्पन्न याहूदीहरुले जतिसुकै पैसा खर्च गरेर अर्को मन्दिर बनाउन सक्थे नै। तर संसारको एक अटुट आस्था भनेकै धर्मप्रतिको आस्था रहेछ र त प्रथम शताब्दीमा ध्वस्त भएको आफ्नो प्रमुख प्रार्थनाघर आज २१औँ शताब्दीसम्म पनि पुनर्निर्माण गरेकाछैनन् तर त्यो मन्दिर कस्तो थियो त भनेर सम्झना गरिराख्नको लागि ठ्याक्कै त्यही समयको मन्दिर, बजार र पर्खाल झल्काउने नमुना यहाँ म्युजियम नजिक बनाएर राखेका रहेछन्। त्यसैबेला देखी उही प्रार्थघरको सम्झना र श्रद्दामा त्यसैबेलाको आस्था बोकेको मानिने पर्खाल (हाल कोतेल भनेर चिनिन्छ) तिर फर्केर संसार भरिका याहूदिहरु श्रदानत: शिर निहुराएर प्रार्थना गर्नेगर्छन र अन्य धर्मावलम्बिहरुपनी आफुले वरदान मागेको कुरो कागजमा लेखेर यो पर्खालमा कतै घुसारेर छोड्यो भने त्यो प्राप्त हुन्छ भन्ने मान्यताले दिनहुँ हजारौँ श्रद्दालुहरुको भिड लाग्नेगर्दोरहेछ। ओहो यो सबै हेरिसक्दा त म पनि पो थाकेछु बहरगोरु दाएको जस्तोगरी। तैपनी समय संधै आफ्नो पातोमा हुन्छ र भन्या! पाएको मौकामा घुम्नुपर्छ नि हौ! लखतरान जिउ बोकेरै पनि लम्किएको छु यतिबेला ‘हा गान पेसेल'( मुर्तिको बगैँचा) तिर। आहा कती राम्रा कलात्मक ढुंगे आकृतिहरु! रामी कुन्नी कता लागेछ। एक्लै पो परेछु। यती राम्रो मुर्तीअगाडी उभिएर एउटा फोटो त खिच्नै पर्यो।### भोली सबैलाई देखाउनु जो छ! मुर्ती नियाल्दै गरेका एक जोडी इजरायली चुम्मा साट्दैरहेछन् मायापिर्ती बढाउनलाई होला। मस्किँदै गर्दा बोलाइदिएं,” स्लिखा! आतेम याखोलिम् तिचलेम एखात इत्मुना सेली इम पेसेल!” (माफ गर्नुस्! के तपाईंहरुले यो मुर्तीसङै मेरो एउटा फोटो लिइदिन सक्नुहुन्छ!”) ,” एन बाया” (नो प्रोब्लम) भन्दै ठिटो चाहिले मेरो पुन्टे क्यामेरा बाट दुई स्न्याप फोटो हान्दियो। धन्यवाद दिएर कुदेँ । रामी र चिपोरा गफिँदै मलाई पर्खिँदै रहेछन्। ओहो भोकले अगिबाटै गलाएको हो। कार स्रररर कुद्यो। मैले फर्केर अन्तिम पटक नियालेँ त्यो बडेमानको सिमेन्टे तुम्बोलाई। के थाहा जीवनमा फेरी कहिल्यै यो तुम्बोसङ्ग भेट होला या नहोला कहिल्यै।++++
(स्रोत : Shabdahar )