जाडोले मुटु नै काँप्न थालेको छ । सायद माघको महिनामा पानी परेर होला यो पटक अलि धेरै जाडो मान्दैछु । अगेनामा हालेको दाउरा पनि निभ्न थालिसकेछन् । रातको नौ बजिसकेपछि अब अगेनामा खरानी हेरेर बस्नुको औचित्य रहेन । सुत्नका लागि बिस्तरा भएको कोठातिर लागें । बाहिर सिमसिम पानी परिरहेको छ । अलि–अलि हावा पनि छ त्यसैले होला मुटु नै छुने जाडोको अनुभूति भएको थियो ।
खुट्टातिर चिसो छ । सायद छानाबाट चुहिएको पानीले बिस्तरा भिजे छ क्यारे । निकै जाडो भएकाले होला त्यो चिसोलाई वास्ता नगरी सिरकमा गुटुमुटु परेर सुतें । सिरकले जाडो छेकेको थिएन । हुन पनि सिरक नै पुरानो भइसकेको थियो । कपास डल्ला परेर एक ठाउँमा जम्मा भएको थियो । कतै सिरकको खोल मात्र थियो त कतै कपासको भारी मात्र । सायद बाआमाहरु घर छुट्टिने बेलामा हाम्रो भागमा परेको बिस्तराको सिरक हुनुपर्दछ । नयाँ किन्ने त परैको कुरा भयो त्यसैलाई बनाउनेसम्म हैसियत छैन यतिबेला मेरो परिवारको । अझ भनौं यो त धेरै राम्रो सिरक मानिन्छ । बाआमाको बिस्तरामा भएको सिरकको हालत झन खराब छ तर पनि जाडोका महिना त हो नि भनेर चित्त बुझाउनुहुन्छ र सहनु हुन्छ जस्तोसुकै जाडो पनि ।
छानाको हालत पनि त्यस्तै छ । कहिले खुट्टातिर त कहिले टाउकोतिर पानी चुहिएर हैरान बनाउँदैछ । यो छानो पनि धेरै पुरानो भयो । छानो छाउने खर किन्ने पैसाको अभावले गर्दा यो पनि हामीलाई तर्साउने साधन भएको छ । घरको बनावटले त्यो घरधनीको आर्थिक हैसियत पत्ता लगाउँछ भन्ने ठिकै रहेछ । मेरो घरले मेरो पारिवारिक हैसियत बताउँदैछ । तर पनि गुजारा त यसैमा चलाउनु छ । सुत्न सकिनँ । भनौं चिसोले निद्रा लागेन भन्दा पनि पीडाले निद्रा लागेन । रातभर सोचिरहें के मेरो हैसियत पनि महलमा बस्ने बनाउन सक्दिनँ त ? के मैले पनि यो जाडोमा बिदेशी ब्लाङ्केट अर्थात् कम्बल ओढ्ने दिन आउँदैन होला त ?
सायद यसरी त पक्कै पनि आउँदैन किनभने हैसियत बनाउनलाई पैसा कमाउनुपर्दछ र पैसा कमाउन दुःख गरेर मात्र हुँदैन । ठाउँमा दुःख गर्नुपर्दछ र आयमूलक दुःख गर्नुपर्दछ भन्ने मलाई पनि थाहा थियो । तर, आयमूलक काम गर्न न म सँग लगानी थियो, न त मलाई सहयोग गर्ने हात । एकातिर घरको दयनीय आर्थिक अवस्था अनि अर्कोतिर हामी तीन भाइको पढाइलाई ख्याल गर्ने हो भने मैले केही न केही सोच्नैपर्ने थियो । बाआमाको मन हामी तीन भाइलाई पढाएर ठूलो बनाउनु थियो तर उहाँहरुको त्यो सपना साकार बनाउन हाम्रो पढाइप्रतिको मेहनतले मात्र पुग्दैनथ्यो । उच्च शिक्षा हासिल गर्न चाहिने आर्थिक बोझ मेरा बाले थेग्न सक्ने अवस्था थिएन । घरको सिरक अनि छानो टाल्न नसक्ने मेरो परिवारले हामीलाई शहरमा राखेर पढाउन सक्ने कुरै भएन । यिनै कुराहरुले गर्दा पनि मलाई रातभर निद्रा लागेको थिएन ।
कसलाई भनेर मन हल्का गरुँ ? मेरो दुःख कसलाई सुनाउँ ? दुनियाँ यति स्वार्थी छ कि अहिले म कसैलाई मेरो घरको सिरकको दशा सुनाएँ भने भोली बीच बजारमा उसैले मेरो सिरक र मेरो घरको खिल्ली उडाउँदै हाँस्नेछ । सुखमा साथ दिने हजार हुन्छन् तर दुःखमा साथ दिने कोही हुँदैनन् । यो कुरा सत्य नै हो । मन पागलजस्तै भएको छ घरको अवस्था देखेर तर म कसैलाई यो दुःख बताउन चाहन्नँ । अब के गरुँ त ? मनमा कुरा खेलाउँदै कलेज जान्थें अनि कुरा खेलाउँदै घर फर्किन्थें ।
“प्यारो भाइ दीपक धेरै–धेरै मायाँ । घरमा चिट्ठी लेख्दा तलाइँ पनि दुई शब्द लेख्न मन लागेकाले यो पत्र कोर्दैछु । भाइ तेरो घरको अवस्था मलाई राम्ररी थाहा छ । तँलाई यो मरुभूमिमा ल्याउन म चाहँदैन तर पनि त यता आउनुमा खुशी हुन सक्छस् भने मलाई तेरो पासपोर्ट र फोटोहरु पठाउनू, म यता तेरो लागि कोसिस गर्नेछु । धेरै के लेखुँ र भाइँ विचार गर्नु । मेरो भनाइ मान्ने हो भने पढाइभन्दा ठूलो केही होइन सकभर पढ्नु । ल त भाइ अहिलेलाई यत्ति मात्र ।” एक्कासी ध्रुव दाइको चिट्ठी मेरो हातमा प¥यो ।
कलेज जाँदा हातमा परेको चिट्ठीको कारणले गर्दा आजको पढाइ नै मैले बुझेन, सायद म के गरुँ भन्ने निष्कर्ष निकाल्न नसक्नुको कारणले हुनसक्छ । सबैले भन्थे विदेशको कमाइ खहरे खोलाको भेल हो, जो एक्कासी आउँछ अनि एकै छिनमा सुकेर जान्छ । विदेशको कमाइ पनि यस्तै हो उता हुँदासम्म कमाइ राम्रो हुन्छ तर यता आएपछि के खाम र के लाम हुन्छ तर यताको कमाइ भनेको मूलजस्तो हो जहिले पनि एकनासको । न कहिले कम्ति हुने न त कहिले धेरै हुने । म पनि पढाइ छाडेर ध्रुव दाइ हुनी जाउँ या यतै बसेर अध्ययन पूरा गरांै भन्ने निर्णय नै लिन सकेन । तर मलाई विदेश त जानु नै पर्दछ । अन्तिममा घर आउने बित्तिकै मैले यो निष्कर्ष निकालें । मन फुरुङ्ग भो किनभने अब मेरो परिवारलाई आर्थिक संकट पर्ने छैन र मेरा भाइहरुले भनेजस्तो शिक्षा लिन पाउने छन् ।
मेरो निर्णय मैले कसैलाई सुनाइन बरु म भित्रीरुपमा विदेशको तयारीमा लागें । जम्मा गरेको पैसाले पासपोर्ट बनाए अनि ध्रुव दाइलाई पठाइदिएँ । मेरो भाग्य हो या भनौं दुर्भाग्य सोचेभन्दा पहिले नै म दुबईतिर उडें ।
दुबई सपनाको शहर । हरेकले आफ्नो हैसियत सुधार्न रोज्ने शहर । तर, सपना देख्नु र विपनामा भोग्नु अलग–अलग कुरा र कर्म हुन् । मेरो कर्ममा पनि दुबई नै लेखेको रहेछ अनि सपनीमा देखेको मेरो उच्च हैसियत बनाउन यहाँ बिपनीमा मरेर खटिनु पर्दोरहेछ । दुःखको नाममा मानसिक तनावबाहेक शारीरिक परिश्रम नगरेको म यतिबेला कसैको आदेशमा १६ घण्टासम्म काममा खटिदैछु । बिहान अलिकति पराल खुवाएर दिनभर खेत जोत्न लगेको गोरुजस्तो दैनिकी भएको छ मेरो । मैले इज्जत गर्दा पनि मेरो बेइज्जती मैले सहनुपरेको छ । दुःख गरेको छु । सके जति तर तलब बुझ्दा त मन यति खुशी छ कि त्यो खुशी मैले लेखेर व्यक्त गर्न सक्दिनँ । दुःख गर्नेहरु सबैले भन्छन् जति सक्दो छिटो कमाऊ अनि नेपालमै गएर केही गर । म पनि त्यही सोचमा छु । पैसाको लागि के गरिनँ होला र दुःखको कुरा गरांै भने चिया र खबुस
(अरबी रोटी) खाएर महिनौ काम गरेको छु । त्यो बेला भातको स्वाद कस्तो हुन्छ भनेर चाख्न मन लाग्छ । अनि रमाइलोको नाममा प्रत्येक हप्ता मस्जिद गएको छु किनभने त्यहाँ गरीबलाई दुई चार रुपैयाँ खुशी मनले दिन्छन् । मैले पनि मुस्लिम ड्रेस लगाएर मस्जिद पुगेर नयाँ मुस्लिमको नाममा हात थापेको छु ।
धेरैले भन्थे लोभ नगर, लोभले गर्दा आप्mनो भगवानलाई धोका दिदैछस् । तर मैले भन्थें– हैन मैले भगवानसँग माफी मागेर मस्जिद जाँदैछु र मैले भगवानलाई धोका दिएको छैन बरु मैले त यी अरबीलाई धोका दिदैछु । हुन पनि म कोठामा भगवानको फोटोमा हात जोडेर माफी माग्दै मस्जिदसम्म पुग्थें । यो सबै मलाई मेरो घरको आर्थिक हैसियतले गर्न वाध्य बनाएको थियो ।
पैसा नचिन्नेहरु पनि थिए दुबईमा । दिनभर दुःख गर्ने अनि रात परेपछि मोजमस्ती गर्ने जमात पनि थियो नेपालीको । सायद तिनीहरुको घरमा राम्रो विदेशी ब्लाङकेट (कम्बल) थियो होला अनि घर पनि बाबुले नै पिलरवाला ठड्याएका थिए होला नत्र त तिनलाई पनि म जस्तो कञ्जुस बन्ने मन हुनुपर्ने हो नि हैन र ? मैले मनमनै प्रश्न गर्थें किनभने मैले अभाव के हो त्यो बुझेर दुबईमा पाइला टेकेको थिएँ । अभाव नबुझ्नेहरु रक्सी अनि तरुनीको नसामा रात बिताउन नै दुबईको महत्व बुझेका थिए ।
मान्छेलाई पैसाले पुग्दैन रे । सायद मलाई पनि नपुगेको नै हुनुपर्दछ । घरबाट आउँदा छानो टाल्ने अनि भाइहरुको पढाइलाई पुग्ने पैसा कमाउँछु अनि आउँछु भन्ने धारणा भएको मेरो मन यतिबेला अरु धेरै गर्ने योजना बनाउँदैछु । ती बुढा बङ्गाली अनि पाकिस्तानीहरुलाई हेर्छु । तिनीहरुका नाति पनि यतै छन् तर पनि तिनीहरुलाई पुगेको छैन पैसाले । सारा जिन्दगी अझ भनौं सुनौलो जवानीनै मरुभूमिमा बिताए तर पनि अझ कमाउने जोश छ । तर, कसका लागि कमाउने त ? बुढी माथि गइसकिन् रे, छोराबुहारी शहरमा बस्छन् रे अनि नाति पनि यतै दुबईमा काम गर्छ रे तर पनि एक बङ्गाली बाजेलाई अझै कमाउनु छ । मलाई पनि त्यस्तो नसा लागेको त छैन भनेर डर लाग्न थालेको छ यतिबेला ।
गर्दिनँ काम, अब जान्छु आप्mनै देशमा । यस्तो भावना मनमा हरेक दिनको डिउटी गर्दा आउँछ तर पनि नेपालमा गएर के गर्ने त ? हरेक नेपाली यता आउनलाई आतुर छ । अनि म भने हुँदाखाँदाको काम छाडेर किन नेपाल जाने नि ? मनमा फेरि कुरा खेल्न
थाल्छन् तर पनि म दुबई छोड्न सक्दिनँ किनभने मेरो लागि पैसा नै सबैथोक थियो, त्यसै कारणले गर्दा आज म यो मरुभूमिमा छु ।
(स्रोत : नयाँ युगबोध राष्ट्रिय दैनिक – शनिबारको सौगात – साहित्य विशेष)