म तिम्रो छेउमा बसेकी छु
आँखा चिम्लिएर ओछ्यानमा सुतेको
तिम्रो अनुहार हेर्दै
रुग्ण शरीर तर तिम्रो तेजिलो मुहार
यसले मलाई विगतमा कुदाउँछ
कुनै समय थियो
तिमी जल्दोबल्दो शरीर र साहसकी धनी
अन्याय र अत्याचारका विरुद्ध
महिला अधिकारको पक्षमा कुर्लदै
गाउँगाउँ वस्तीवस्तीमा पुग्थ्यौ
असहाय महिलाहरूको भरोसा र आड थियौ
तर, आज तिम्रो आफ्नै शरीरले
तिमीलाई साथ दिएन
आफ्नै पाउहरूले टेक्न मानेनन्
आफ्नै हातहरूले तिम्रो आदेश सुनेनन्
तिमीलाई खुवाउन, सुताउन, उठाउन
अरूको सहारा चाहियो
तिम्रो साहस, आँट र निडरता देख्ता
तिम्रो अवस्था यस्तो होला भन्ने
शायदै कसैले सोच्यो होला
तर, समयको खेल कसैले जान्दो रहेनछ
शरीरको हिसाबकिताब कसैले आँकलन गर्न सक्तैन रहेछ
तिम्रो जीवनको उतारचढावबाट
मैले त एउटा ठूलै पाठ सिकेकी छु
वृद्धावस्थामा बालापन फेरी फर्कन्छ भनेको सुन्थँे
कता कता हो जस्तो पनि लाग्न थाल्यो
बच्चालाई जस्तै
अरूले खुवाउनुपर्ने, चुठाउनुपर्ने
सुताउनुपर्ने, सरसफाइ गरिदिनुपर्ने
आफ्नै मनका सबै भाव व्यक्त गर्न नसकिने
लोलाएका र टोलाएका आँखा
सोच कता दृष्टि कता
कहिले होसका कुरा कहिले बेहोसीका ताना
तैपनि शरीर चलिरहँदो रहेछ
केही इच्छा आकांक्षा रहिरहँदा रहेछन्
व्यक्त अव्यक्त चाहना हुँदा रहेछन्
यस्तै रहेछ मानव जीवन
सबैले आफ्नैलाई यस्तो अवस्थाका लागि
तयार गर्न सक्नुपर्दो रहेछ
वृद्धावस्थामा धेरैका धेरै गुनासा र कचकच हुन्छन्
तर, तिमीलाई कसैसँग गुनासो छैन
कसैप्रति रिस, राग र अपेक्षा छैन
शान्त स्नीग्ध अविचलित सुतेकी छौ
बेलाबेलामा कहराइको आवाज
म तिम्रो आफ्नै अंश
नजिकबाट त्यसलाई बोध गर्ने प्रयत्न गर्दैछु
यो कस्तो आत्मबोध हो
ठम्याउने प्रयत्न गर्दैछु ।।
०००
(स्रोत : Souryadaily)

