कथा : बन्दी बुबालाई पत्र

~अनिल श्रेष्ठ~Anil Shrestha

बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकास । जेलका पर्खालहरुले मात्र होइन, बादल र कुहिरोको पातला पर्दाहरुले मन पनि कैद छ यतिबेला ।

साँघुरो छ जेल । जेलका चिसा छिँडीहरुजस्ता साँघुरा छन् बन्दीहरुलाई राखिने यी कोठाहरु । मुस्किलले ५÷७ जना अट्ने यो एउटा कोठा हामी १३ जना बन्दीहरुका लागि अहिले अर्को यातनागृह साबित भएको छ । चिसो बतासले मडार्दै ल्याएको नजिकैको पाइखाना र ढलको दुर्गन्धले नाकलाई झनै अरु असह्य बनाउँछ । हातमा एउटा साप्ताहिक पत्रिका छ । घरिघरि बेस्मारी नाकसम्म ठोस्सिन आइपुग्ने यो चर्को दुर्गन्धले मेरो पढ्ने क्रमलाई बिथोलिदिन्छ । र, म नाक छोपेर बस्छु । सासलाई थुन्छु । कम्बलले गुटुमुटिएर फेरि म त्यो परको फलामका बारहरुले छेलिएर बसेको आगन्तुक कक्ष बाहिर हेर्छु, जहाँबाट भर्खरै ड्युटीका प्रहरीले ट्वाङ्, ट्वाङ् घण्टी हिर्काउँछ ।

सधैं दोहोरिरहने यही एउटै क्रम । र, यो दुर्गन्धलाई वर्षौदेखि यातनापूर्वक झेल्दै आइरहेको मेरो जेलजीवन ।

कोठाभित्र कोलाहल छ । र, फेरि पनि एकतमास छ वातावरण । सबैका आँखाहरुले शुन्यता र उदासी पोखिरहेछ । सबैको मन विरानो छ । एक्लो, एक्लो । एक किसिमको खालीपन । कहिलेकाँही मनका कतिपय एउटै मिल्ने गाँठाहरुलाई एकै ठाउँ फुकाएर हामी सामुहिक रुपमा हाँस्ने गर्छौ । हाम्रो हाँसो पनि यो मुलुकको प्रशासनलाई मन पर्दैन । जासुस लाग्छ ।
यहाँ धेरैथरी थुनुवाहरु छन् । बन्दीहरु छन् । कसैका चोरी मुद्धाहरु छन् । कोही हत्या अपराधमा सजाँय काटिरहेका छन् । धेरैजसो चाँिह राजनैतिक मुद्दा छन् । राजद्रोही । सार्वजनिक अपराध ऐन अन्र्तगतको मुद्दामा समातिएर यहाँ ल्याइएकाहरु छन् । राजनीतिमा समातिएर यहाँ ल्याइएकाहरु भने अलि बढी बहिर्मुखी छन् । विद्रोही स्वभावका । उनीहरुका जीवनमुखी कुराहरु हुन्छन् ।
जेल भनेको त राज्यको अन्याय र विभेदपूर्ण शासनको प्रतिच्छाया पनि हो । एउटा न्यायपूर्ण राज्यभित्र त जेलको अस्तित्व नै रहँदैन पनि । राज्यले सुशासन दिने हो भने किन चाहियो जेल ? राज्यको असमान र विभेदपूर्ण व्यवहारले समाजमा विखण्डन पैदा गरिदिएको छ । अनि त्यही विखण्डनले समाजलाई बाँडिदिएको छ दुई चिरा पारेर । उँचनिच, ठुलोसानो, छुतअछुत, बलियो र निर्धा राज्यको शासनप्रणाली बनेको छ । अनि त्यहीँबाट शुरु भएको छ विभेद । बेरोजगारी, लुट, चोरी, डकैती, हत्या र नागरिक असुरक्षा राज्यको दैनिक सूची बनेको छ । कानुनले राज्यको पहँुचवालाहरुलाई छेकबार गर्दैन । जेल त निर्धाहरुलाई हो । निमुखालाई हो एउटा एकाग्रताबाट हटेर फेरि पत्रिका पढ्न बस्छु । आँखाहरु सर्सर्ती कुद्छन् पत्रिकाका समाचार र कोलमहरुमा । एउटा उत्सुकताले एउटा कोलममा गएर आँखाहरु फेरि टक्क अडिन्छन् । त्यहाँ लेखिएको थियो – ‘बन्दी बुबालाई पत्र ।’
शिर्षक आँखामा आएर बस्छ । चिठ्ठी थियो त्यो ।

प्यारो बुबा,
आज फेरि तपाईंका सम्झनाहरु मेरा आँखाहरु अघिल्तिर खेलिरहेका छन् । र, म यो एकान्तमा तपाईंका सम्झनाहरुसँग एकालाप गर्दैछु । धेरै दिनदेखि तपाईंको सुर्ताले छोइरहेछ । नजिकै हुनुभएको भए भन्नुहुन्थ्यो– ‘सुर्ता नगर ।’ मेरो गालामा स्नेहले चिमोट्दै तपाईं सधैंझैं भन्नुहुन्थ्यो होला – ‘यी पर्खालहरु पनि हाम्रा लागि एकदिन खुल्ला हुनेछन् ।’ तर सुर्ताले किन छाड्थ्यो ! जस्तै लाग्दैन भने पनि सुर्ताले आँखाहरुबाट चिहाउँथ्यो । कहिले आमाका आँखाहरुबाट । कहिले हजुरबाका आँखाहरुबाट । भाइबैनीका आँखाहरुले सधैं एउटा रिक्तता पोख्छ । घरभित्र जब अभावको बल मिच्याइँ चल्थ्यो अनि सुर्ता त बढ््थ्यो नै । तपाईंलाई जेल सरुवा गरेपछि झन् त्यो सुर्ता अरु बढेको छ । साल बितेछ, तपाईंसँग भेट टाढा भएको । निद्रामा सधैं बर्बराइ मात्र रहनुहुन्छ हजुरबा– ‘नानी तेरा बा आएजस्तो छ, ढोका खोली दे त ।’ आजकल आँखा उतिसाह्रो देख्नुहुन्न । टाढाको देख्न छाड्नु भएको छ । बेलुकी कोही घरको छेउबाट हिँड्यो भने सोध्नुहुन्छ– ‘को ? कान्छा हो ?’
कसैले स्वर दिए चिन्नुहुन्छ ।

ए………।’ हजुरबाको एउटा विरक्त स्वर पोखिन्छ अर्को ।

म सोध्दिनँ बुबा, तपाईं आराम हुनुहुन्छ ? कि हुनुहुन्न ? यो देशको कुशासनको जञ्जीरहरुले बाँधिएर एउटा सुदुर भूगोलको जेलभित्र तपाईंका यी दिनहरु कसरी कष्टपूर्वक बितिरहेका छन् ? त्यो मलाई थाहा छ । शासकहरु साँच्चै क्रूर हुन्छन् बुबा । तर जुनसुकै एकान्तवासको सजाँयले तपाईंको आस्था गाल्न सक्दैनन् भन्ने पनि मलाई थाहा छ ।
चिठ्ठीले एकैछिन् अँठ्यायो मलाई । छोरीले बुुबालाई लेखेको चिठ्ठी थियो । अनायासै छोरीका सम्झनाहरु आएर मेरा आँखाहरु अघिल्तिर खेल्छ । जब चिठ्ठी पढ्दै गर्छु छोरीको एउटा सग्लो चित्र चिठ्ठीका हरफहरुसँगै लुटुपुटिएर बस्छ ।
चिठ्ठीलाई अघि पढ्दै छु–
एउटा तन्मयसँग ।

यो बीसौं सदीको अन्त्यतिर आइपुग्दा पनि हामी उही मध्ययुगीन समयको बर्बर छायाँमुनि बाँच्न विवश छौं । देश लुट्नेहरुकै रजाइँ छ यहाँ । लुट्नेहरुकै शासन चल्छ । सामन्तहरु देश चलाइरहेका छन् । लुटाहाहरु शासक बनेका छन् । बन्दुकले देश चल्छ । र, नागरिकहरुको छातीमाथि शासकहरु सङ्गीन धस्छ । दिनदहाडै महिलाहरु लुटिन्छन् र नदीका किनारहरुमा मृत्युलाई वरण गरिरहेका हुन्छन् । लाहुर भर्तिकेन्द्रहरु खोलेर नेपाली छोराहरुलाई पराया बनाउँछ र विदेशी युद्ध भुमिहरुमा होम्छ । जसले मुलुकको लागि लड्यो उनीहरु तपाईंले जस्तै जेलका चार पर्खालहरुभित्र बन्दी बनेका छन् ।
बुबा, भर्खरै देशमा एउटा आन्दोलन चल्यो । धेरैले बलिदान दिए परिवर्तनका निम्ति । सहिदको रगतले आहाल बन्यो देश । देशले प्रजातन्त्र पायो रे भन्छन् । उही सामन्तहरुलाई सिरानमा हालेर प्रजातन्त्रको यो कस्तो परिभाषा आयो कुन्नि ! यो कस्तो उल्लासहीन प्रजातन्त्र हो ? सत्ता उही छ । तानाशाहहरु उही छन् । अन्याय र अत्याचार उस्तै छ । विवेकहीनहरु सरकार चलाउँछ । हामी नारीहरुले झोलामा खुर्सानीको धुलो र खल्तीमा ब्लेडका टुक्राहरु बोकेर आत्मरक्षाका लागि हिँड्नु पर्ने रे । यो देशको प्रधानमन्त्रीले हामीलाई भन्छ । कति निर्लज्ज छ बुबा यो देशको सरकार ! जब यो देशको कार्यकारी प्रमुख नै यति गैरजिम्मेवार बोल्छन् भने कहाँनिर छ यो मुलुकको न्याय र कानुन प्रणाली ? के हामी ठट्टाका पात्रहरु मात्र हौं ? हाम्रा विषयहरु ठट्टाका विषयहरु मात्र बन्छन् ? हाम्रा आवाजहरुप्रति कसैले संवेदनशील बन्नुपर्दैन ? हँसीमजाकको पनि त हद हुन्छ । के प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्तिप्रति जवाफदेही बन्नु पर्दैन ? हामी महिलाहरुले यो देशको प्रधानमन्त्रीले तुरुन्त राजिनामा दिनुपर्छ भन्यौं ।

हामी नेपाली महिलाहरुको अवस्था झनै कमजोर र दयनीय बन्दै छ । देशको आधा धर्ती ओगटेको हामी महिलाहरु भन्छौं । राज्यले महिलाहरुको समान अधिकारको कुराहरु गर्छ । फेरि पनि हामी दोहोरो शोषणमा छौं । पहिलो शोषण राज्यले गर्छ । दोस्रो शोषण धर्म र संस्कृतिको नाउँमा परिवारले गर्छ । अझै पनि म सम्झन्छु तपाईको एउटा किताबबाट पढेको शास्त्रको वाक्यांश –
“पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने,
पुत्रो रक्षति वाद्धक्ये, नस्त्री स्वातन्त्रय म¥हती ।”

अर्थात, नारीले सानो छँदा बुवाको, विवाहअघि दाजुभाइको, विवाहपछि लोग्नेको र वृद्ध अवस्थामा पुत्रको अधीनमा रहनुपर्छ । अर्थात स्त्री जातिले कहिल्यै स्वतन्त्र रहनु हुँदैन । स्त्रीले सधैं दासी रहनु । ओहो ! धर्मको यो विषसमान अहङ्कारहरुले घरभित्रै हामी महिलाहरुलाई कस्तरी डसिरहेछ । किन दिनदहाडै जलिरहेका छन् महिलाहरु ? किन महिलाहरुलाई दिसा खुवाएर सामाजिक बहिस्कार गर्छ समाज ? र, कसले चलाउँछ महिलाहरुको विरुद्ध यो विभेदकारी कानुन ? समाजको आवरणमा लुकिरहेका विषधारीहरु फँणा उचालेर किन ‘स्याँक्क’ ‘स्याँक्क’ डस्छ हामीलाई ?

प्यारो बुबा,

धेरै समयपछि तपाईलाई यो चिठ्ठी लेख्दैछु । सधैं तपाईंको अगाडि सरेर बोल्नै पनि धक मानेर लजाउँदै आमाको पछाडि लुकी हिँड्ने हुँ म । प्रायः घरबाट टाढा रहेर कमै घरमा उपस्थिति हुने तपाईका पदचापहरु मलाई नौलो लाग्थ्यो । घरभित्र तपाईको उपस्थिति प्रायः राती हुन्थ्यो । मेरो अर्धनिद्रामा रातको धमिलो उज्यालोमा तपाईको अनुहार खेल्थ्यो । बिहान व्युँझदा तपाईको उपस्थिति हराउँथ्यो । सपनाजस्तै लाग्थ्यो मलाई । आमाका सुक्सुकाइरहेको आवाज र तपाईंको गुन्गुन्गुन्गुन् मसिनो बोली बिहान धेरैबेरसम्म पनि मेरो कानमा गुञ्जिरहन्थ्यो । मैले जहिल्यै पनि तपाईका साउतीपूर्ण स्वरहरुलाई सुनेँ । मेरो कलिलो अज्ञानताले त्यसलाई बुझ्न सकेन । तर आज लाग्दैछ तपाई मेरो आदर्श बुबा मात्र हुनुहुन्न, मेरो महान गुरु पनि हुनुहुन्छ । तपाईंका पाइलाहरुलाई पछ्याउँदै एउटा परिवर्तनकामी समाजको पक्षमा मैले पनि लड्न सिकेँ । तपाईकी छोरी पनि ठूली भई अब । तपाईहरुको यो लडाइँ अब मेरो पनि लडाइँ भएको छ । तपाईंहरुको अन्याय र अत्याचार विरुद्धको यो आन्दोलनको मोर्चालाई अब मैले पनि मेरो मोर्चा बनाएको छु । हिजो पञ्चायती शासकहरुले झुठ्ठा मुद्दामा फँसाएका तपाई र तपाईका साथीहरु अहिले पनि जेलभित्र बन्दी जीवन बिताइरहनु भएको छ । हिजोका राजकाज ऐन ज्युँका त्युँ छ । तपाईका मुद्दाहरु किन खारेज हुन सक्दैनन् ? जसले यै प्रजातन्त्रको प्राप्तिका लागि जीवनभरि लड्यो, उनीहरु अहिले पनि जेलमा छन् । खै कहाँनिर छ उनीहरुका लागि यो राज्यको सम्मान ? के प्रजातान्त्रिक सरकारका मूल्यहरु यस्तै हुन्छन बुबा ! प्रजातन्त्रको रङ्ग यस्तै हुन्छ ?

महिला आन्दोलनकी थुप्रै दिदीबहिनीहरुको साथमा छु । कतैबाट पनि टुङ्गो लाग्न नसकेको यो अपुरो अपुरोजस्तो क्रान्ति, यो अधुरो अधुरोजस्तो लाग्ने सपनाहरु बोकेर हामी फेरि हिेँडिरहेका छौ बलिदानको बाटोतिर । साँच्चै अब मृत्युसँग पनि डर लाग्दैन । हामी जित्नेछौं, जितेरै फर्कने छौं ।

तपाईंकी छोरी
विद्रोहिणी

चिठ्ठी पढिसकेपछि त्यसै–त्यसै फैलिरह्यो छाती । त्यसै–त्यसै आँखा खुसीले छचल्किरह्यो । मन उडेर पुग्यो छोरीनिर । उसका साना खोबिल्टा परेका आँखाहरु पनि किन तेजस्वी लाग्दै थियो अहिले मलाई । उसको आँखाबाट आभा खेलिरहेको देखिरहेँ मैले । र, मलाई किन यस्तो लाग्दै थियो कि मेरी छोरी न्याय र समानताको यो आन्दोलनमा अग्रमोर्चामा लडिरहेकी छिन् ।
बाहिर दिन झरीले मलिनो बन्दै गइरहेको थियो । मेरो मन भने छ्याङ्ग थियो आज । चिठ्ठीले काउकुती खेलाइरहेको थियो मन । खुशीले चौडा पारेँ मैले आफ्नो छाती ।

‘साँच्चै छोरी ठूली भइछे है ।’ मेरो मनले सोच्यो

‘अब यो आन्दोलनको नेतृत्व उसले गर्छे ।’ मनले आँक्यो– ‘मेरी छोरी पक्कै साहसी छे । यो मुलुकको परिवर्तनको बाँकी कार्यभारको जिम्मा अब उसले आफ्नो काँधमा लिन्छे ।’
मैले उसको आँखामा झाँसीकी वीरङ्गना लक्ष्मीबाई देखिरहेँ ।

२०४८
जनसाहित्य

(स्रोत : Nepalisahityaghar.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.