~दिनेश ‘रवी’~
“शक्तिको अगाडि भक्तिको गाडी हाँक्नुपर्छ।” यो तप र तापबाट बनेको आदर्श उक्ती हो। यस्तो जुक्तियुक्त बाणी सित्तैमा कसैले सिकाउँदैन। यदी सिकाइहालेमा पनि सिकाउनु अघी तपाईंलाई केही त बिकाएको हुनुपर्छ। तपाईंलाई यस्तो रहस्यमय सत्य ओकलेको छु। यसलाई बिनावित्था खोकलेको नठान्नुस्। लौ त होश पुर्याएर शक्तिको अगाडि भक्ती गरौं।
यो संसारलाई सार दिन शक्ती झारबाट आएको होइन। खोर्सानी डढेको खार जस्तो पनि होइन। यो त स्वर्गको द्वार जस्तो हो। यसको सुत्राधार तर्फ फर्कौं। गर्जनमा त हामी सिंहलाई समेत माथ दिन्छौ। धाक भन्दा धक्कु झनै ठुलो देखिन्छ। हिंड्न लाग्यो भने खुट्टा लुलो भैदिन्छ। यसैले दुलोमा बसेर कोही ठुलो हुन सक्तैन। ठुलो हुन त कुलोमा बस्नुपर्छ। शक्तिपिठको तातो लाग्नुपर्छ। जम्जमाएर हुन्छ कि जुर्मुराएर हुन्छ जाग्नुपर्छ। अनी पो शक्ती सलबलिन्छ। वरपरको निन्द्रा खलबलिन्छ। वरपरको बाटो अल्मलिन्छ। त्यस्तो विश्वबिजयी शक्तिको भक्ती त गर्नैपर्छ।
उहिले-उहिले पुराण र कुरानको ठेली तयार हुँदा त यही शक्ती हावी भएथ्यो। चावी हुनेले झिटिझ्याम्टाको दावी गर्न पाउँछ नै। शक्ती हुने सारा शास्त्रकै मुली हो। सुलिमा पर्ने को त? हो, त्यही विना शक्तिका र विना भक्तिका ताइरे नामधारी सुलिमा पर्छन। शक्ती हुनेहरु चुलिमा पुग्छन। भक्ती गर्नेहरुले फुली पाउँछन। रामायण र महाभारतबाट विना शक्ती र विना भक्तिका कसले नाम कुम्ल्याएका थिए र? सोह्रसय गोपिनिलाई रखौटि बनाउने कृष्णजीले राम्रै सँग कृष्ण लीला मच्चाएथे। आफ्नी सितालाई काखी च्याप्न अनकनाउने रामले शक्ती बाटै रावणलाई लुरुक्क बनाएथे। यि रावण, दुर्योधनजस्ताका चर्चा वित्थैमा भएको होइन। यि पनि वस्तिका हस्ती हुन्। मोजमस्ती गर्दा अलिकती शक्ती चुहियो। त्यही शक्ती चुहिएको देख्ने महाशक्तिहरुले लछारपछार गरेर लाखापाखा लाइदिए।
अहिले विश्व यही शक्तिमा लेस्सिएको छ। शक्तिसम्पन्न देशहरुले शक्तिकै आडमा क्षमता बाँडफाँड गर्छन्। यस्तो शक्तिको अगाडि भक्ती गरेर गरिव देशहरुले जुत्ताको लेश फेर्छन्। यस्ता भक्तिमा फुलपाती कम भयो भने ती गरिव देशहरुको कन्तबिजोक हुन्छ। नाकाबन्दी र आँखाबन्दी अनेकथरी बन्दी लाएपछी मुख बाउनुपर्छ- “भोक लाग्यो! तिर्खा लाग्यो! गिर्खा आयो! स्वास्नि पायो! गाई ब्यायो!” यो सबै समस्या टार्न उही शक्तिशाली देश गुहार्नुपर्छ भने शक्तिको अगाडि भक्ती नगरि सुख पाइएला र?
तपाईं हाम्रो मूल मुद्दा भनेकै बाँच्नु हो। “बाँच र बाँच्न देउ।” आफू बाँचेर अरुलाई बचाउन कम्मर कस्नुपर्छ। दुई दिने रामछाँयामा आफ्नो माया त लागिहाल्छ नि, अनी पो दाँयाबाँया हेरिन्छ। उमेर बस्न कसैलाई मन हुँदैन। सुँघेर मात्रै त के साध्य? त्यसैले शक्तिको भक्ती गर्न बाध्यता आइपर्छ। पुर्खाको चर्खामा परेर हामीले हिउँद बर्खा नभनी शक्तिलाई पूजा गर्नुपर्छ। अघिपछी नारिको कत्रो अपमान! नवदुर्गा भनेपछी हामी थर्कमान। शक्तिस्वरुपा देवीको गुणगानको लेग्रो तान अभियान त्यतिकै आएको होइन। यसमा पुस्तौं पुस्ता बीचको कस्तो कस्तो साँठगाँठ छ।
यो शक्ती पाइनसक्नुको छ। जोशमा होश हुँदैन। तर जोस्सिने जो पनि निर्धाको अगाडि हो। बलियाको अगाडि जोस्सिनेको त कि मगज सट भएको हुनुपर्छ कि त कालले कुत्कुत्याएको हुनुपर्छ। नत्र भने प्रेशर हाइ हुनसक्छ। आफ्ना लालाबाला र लोग्नेस्वास्नी बिच झ्याम्मिएर बस्न कसलाई मन नहोला र? बाँच्नु छ भने बाँच्ने काईदा सिक्नुपर्छ। हाँस्नु छ भने हाँस्ने फाईदा बिक्नुपर्छ। यसको लागि उही शक्तिको शरण पर्नुपर्छ। “त्वम शरणम्” भन्दै हुरुरुरु शक्तिको किल्ला पुग्यौं भने मात्र यो जीवन सँग्लिन्छ। नत्र साउने भेल झै धमिलिन्छ।
जहाँ पनि “उपरवालाको करामत” भनेर माथिकालाई घान हाल्ने हाम्रो बानी शक्तिकै अंग हो। माथिकाले पनि झनै माथिल्ला तहलाई घान हालेर बह पोख्छन्। दह आफ्नो अगाडि जमेको कहाँ देखिन्छ र? शक्तिसँग कुस्ती खेल्न जाने को? त्यसैले शक्ती संसारकै देवता हो। जो अझै जिउँदो छ। सदा जिउँदो रहनेछ।
उखानै छ नि, “बलियो बाङ्गो बाघलाई मरञ्च्याँसे माघलाई।” बलियोबाङ्गोलाई हराउन बाघैले मात्र सक्छ। उसको अंगअंगमा शक्ती छ। ङिच्च पर्दा देखिएका धारिला दारा, जखरक्क परेका कैला लामा जुँगा अनी कक्रक्क परेर कुप्री परेका नङ्ग्रासंगै खाएपनी नखाएपनी रातै हुने मुखलाई देख्दा त माथिका उखानका बखान गर्न मन लाग्छ। शक्ती भेपछी बाघ चुर्मुरिन्छ। घुर्रघुर्र गर्जेर बसेकै थालामा मुर्मुरिन्छ। उता माघ जाडोशक्तिको पोख्त पुरुष पर्यो। त्यस्तो जाडोमा बालबच्चा र बुढाखाडाको सातो जान्छ। अब आ-आफ्नो ठाउँमा शक्ती बढेको प्रष्ट छर्लङ्गिन्छ। त्यतिखेर जस्तालाई त्यस्तै ढिंडोलाई निस्तै गर्नुपर्यो।
यत्रो शक्तिको आड लाग्नु अब हाम्रो पालो हो। दुईटा शक्तिको बीचमा पर्यौ भने हामीसँग अर्को उपाय छ। बल गर मितज्यु भन्दै दुवैलाई मित साईनो लाएर उचाल्नुपर्छ। दुवैको जुधाईमा बाच्छाको मिचाई हुनु भएन। दुवै लड्छन्। जित्नेको अन्तमा दवदवा भैहाल्छ। जोग्गिने यो उपायले छुट्टै आय पनि भयो। यानी कि यहाँपनी बिजनेस पोलिसी लागू भयो।
सरी! भन्नु नभन्नु बोलियो होला। यो त ब्यङ्ग हो। बुझ्ने तपाईंको भागमा छ। जसरी पनि बुझ्न सक्नुहुन्छ।
(स्रोत : Shabdahar )