पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?”
घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् !
घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने अरुअरु केटाहरूले होटलबाट नाम पाउँछन् । यसले पनि त्यो घोगे नाम उसले होटलबाटै पाएको थियो । बाबु–आमा हुनेहरूले पो न्वारान गरिदिन्छन् र नाम राख्छन् । त्यो फुटपाथमा उम्रिएको तितेपातीको कहाँ बाबु र कहाँ आमा ! कसरी हुक्र्यो, कसको के पथ्र्यो, कहिले जन्म्यो ? त्यो उसैका लागि शून्य छ । झिमझिम होटलले घोगे नाम राख्यो, दनदन होटलले गोल्डे नाम राख्यो, कविता होटलले धोक्रे नाम राख्यो । उसलाई नै थाहा छैन र निश्चय पनि छैन उसको के नाम हो ? हामीलाई चाहिएको एउटा पात्र हो, उसको कथा हो र उसको जीवन । हामी घोगे भनेर बुझौं, बस्, अरू सबै थोक उसमा छँदैछ ।
होटलको रालसिंगान खाँदा–खाँदा घोगेको मन सार अघायो । “बरु एउटा कुनै काम गर्न पाए पनि हुन्थ्यो ।” एक दिन घोगेका मनमा कुरा उठे । मानौं मरुभूमिका पोथ्रामा कोपिलो लाग्न आँट्यो ।
रातदिन होटलका जुठा भाँडा, फोहर, दुर्गन्ध र चिसामा घोगेको जीवन डुबेको छ । धुँवा, मैलो, कस र कसिंगरमा उसको समय बितेको छ । होटलमा बाबुसाहेबको खकार सोहोरेको छ । कडा परिश्रमसँग अनेक पीडा, यातना र चुटाइसमेत उसले बेहोरेको छ ।
“तिमी मेरो प्राण हौ प्यारी ! तिमी बेगर म बाँच्न सक्तिनँ ।” होटलका टेबुलमा भएको प्रेम–प्रकरण उसले सुनेको छ ।
“यसपटक हाम्रो पार्टीले सरकार बनाउँछ । अनि यस्ता गरीबका दिन फर्कन्छन् ।” नेताहरूका कुरा पनि होटलकै टेबुलबाट सुनेको छ ।
तैपनि घोगेका दिन उस्ताका उस्तै छन् । सधैं जुठो, सधैं पीडा, सधैं कष्ट ! फोहोरमा बाँच्नुपर्ने र मच्छडको टोकाइमा केही बेर सुत्नुपर्ने !
एक दिन मालिकसँग सामान किन्न गएको बेला घोगेले आफू जत्रै एउटा केटाले कराइ–कराई सामान बेचेको दृश्य देख्यो – त्यो कराइरहेको थियो – “आउनुहोस्, आउनुहोस् ! गुडनाइट मस्क्युटो म्याट लिएर जानुहोस् ।”
घोगेले केटोको प्रचार पटक्कै बुझेन ।
केटो फेरि करायो – “आउनुहोस् ! आउनुहोस् !! मच्छड भगाउने म्याट लिएर जानोस् ! मच्छडको टोकाइबाट मलेरिया हुन सक्छ । मलेरियाबाट बच्नुहोस् !”
घोगेले कुरा सुन्यो तर अर्थ बुझेन । उसलाई त्यही दृश्यपछि चाहिँ मनमा आशा पलाउन थालेका हुन् – “म पनि यस्तै व्यापार गर्न पाए ता !”
“साँच्चै मच्छडबाट जोगिएर एक निन्द्रा सुत्न पाए पनि त हुन्थ्यो ।” घोगेका मनमा अर्को उत्सुकता देखियो । उसमा धेरै थरीका इच्छाहरू जाग्न खोजे । तर उसलाई के थाहा होस् ती इच्छा पूरा गर्न के चाहिन्छ भन्ने कुरा ! उसले धेरथोर सम्झ्यो पनि – साहूले अलिकति पैसा पनि ता दिन्छ होला । त्यसबाट यस्तै एउटा दोकान खोल्न पाए त क्या मज्जा हुन्थ्यो !
साहूसँग केही अघि गएपछि उसका आँखामा त्यस्तै अर्को केटो देखापर्न गयो, जसले केही भिक्स र बेल्टहरू बेच्नलाई राखेको थियो । त्यो व्यापार पनि घोगेलाई बडो रमाइलो लाग्यो । उसको ध्यान त्यसतिर तानियो । होटलका लागि चाहिने सरसामान किन्न हिंडेका “मालिकका पछि–पछि छु” भन्ने पनि घोगेले बिर्सियो । उसका हिंडाइको क्रममा सहरको सडकका पेटीमा दोकान गर्न बसेका अरू केही घोगेकै समकक्ष ठहर्न सक्ने (उसको सोचाइमा) हरूका दोकानमा पनि उसका आँखा परे । घोगेका मनमा फेरि पनि इच्छाहरू मडारिए । घोगेले सहर देखेर पनि यस्तो अवसरहरूको दृश्य कहिल्यै देखेको रहेनछ । साहू अघि–अघि छ, घोगे पछि–पछि छ । घोगे आफू अनभिज्ञ भए झैं कति कुरा नजानेका र थाहा नपाएका पनि बजारभरि देख्यो । उसका आँखाभरि पेटीभरि ओछ्याएर बेच्न राखेका धेरै सरसामान र खुद्रे दोकान देखा पर्दै गए । घोगे सम्झँदै गयो ।
“आउनुहोस् ! आउनुहोस् ! दाल, चामल, नून, मसला सस्तो दाममा पाइन्छ । लानोस् ! लानोस् !!” घोगे बडो रवाफिलो भएर बसेको छ । उसको दोकानमा दाल, चामल, तेलहरू टनाटन राखिएको छ । ऊ ग्राहकलाई कराइ–कराई बोलाइरहेको छ । एक पटक घोगेले झलक्क सम्झ्यो । सम्झेका कुरा कसो मुखै खोलेर भनेनछ । ऊ अलि सतर्क भयो ।
“आ ! यत्रो ठुलो दोकानलाई पैसा बेसी चाहिन्छ ! बरु उही ठिक छ ।” उसले फुटपाथकै दोकान ठिक भन्ने निष्कर्श निकाल्यो ।
भारी बोकेर दोकानबाट होटेलसम्म जाँदा उसका मनमा बोकेको सामान लिएर लुसुक्क कतै भागेर दोकान थाल्ने विचार पनि आयो । साहू निकै पर पुगिसकेको छ । आँट गर्छस् त घोगे ? घोगेले घोगेलाई नै एक पटक सोधिहेर्यो, तर कुनै उत्तर पाएन । फेरि अर्कोतर्फ निस्कियो – “आ ! यत्रो धेरै सामान राख्ने ठाउँ काँ पाउनु ? उहीं सामान बेच्नु ठिक छ । उसलाई ता जता मन लाग्यो उतै राखेर बेच्यो । केको खाँचो !
“धत् दोकानै गरेपछि त्यस्तो खुजुरे कसले गर्ने !” यही ठिक छ । आफैं बोकेकै छु । कमाउँछु र थाल्छु । कसो, हुँदैन त ? अवश्य हुन्छ ।
निश्चय गरेपछि .. घोगेले एउटा फुटपाथमा भारी बिसायो र कराउन थाल्यो – आउनुहोस् ! सस्तोमा दाल, चामल, तेल, बेसन पाइन्छ । आउनोस्, आउनोस् !”
एकै छिनपछि साहूसँग पुलिस आयो ।
ऐले पुलिसले घोगेलाई डन्ठा लगाउँदै छ ।
अखिर कुटाइ खान पनि घोगे अभ्यस्त न छ – त्यसैले रुँदै–रुँदै दुखाइ खपिरहेको छ ! दारा किटिरहेको छ !
यथार्थ कुरा, पूर्णाङ्क १४, २०५७
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )