~दिनेश ‘रवी’~
अधिकारको जमाना छ। अधिकार नखोज्दा धिक्कारीनु पर्छ। कुरो उही बोल्नेको पिठो बिक्ने हो। नबोल्नेको त बासमती चामल पनि बिक्दैन। अब आएर पुरुष अधिकारको कुरो जोडतोडले उठेको छ। नऊठोस पनि किन र? जसरी उडुस अधिकारले थलामै बसेर गलामै चुस्ने ग्यारेन्टीको माग उठायो त्यसरी नै पुरुष अधिकारले वारीपारी नारा जुलुस घन्कायो।
यो नारा लाग्न बाह्र बज्नै पर्दैन। “हार या जीत” जताबाट पनि नारा लाग्छ। हाम्रा नेता कुमारी बहादुर पुरुष अधिकार आन्दोलनका उच्च नेता हुन्। उनले नारिको कुमारी गुणलाई टपक्क टिपेर आफ्नो सिरानीमै थपक्क राखे। यत्रा बहादुर त अंग्रेजसँगको युद्दताका पनि भेटिदैनन। उनी नारी शोषणबाट सबभन्दा पीडित मान्छे रे! हुन पनि हो, तीनोटी नेप्टिचेप्टीलाई एकै लगनमा लश्करै घरभित्र हुलेथे। भोलिपल्टदेखी यिनी घरको आँगनमा टेक्नै नसक्ने भए। त्यही माथि बिहे गरेको महिनादिन नबित्दै तिनोटै लालाबालाहरु च्याहाँ च्याहाँ गर्न लागे। हो, उनै कुमारी बहादुरको कुरा गरेको। कुमारीहरुलाई कमारी बनाउने योजना उनको भागमै कमारो परेपछी टुंगियो।
यस्तो लौकिक नेता कुमारी बहादुरलाई जब दर्शन गरे- तब देखी म पुरुष अधिकारको कट्टर धुपौरेमा परेँ। उखानै छ- “अती गर्नु, अत्याचार नगर्नु।” घरमा खानपान देखी दशदानसम्म म आफैले गर्नुपर्छ। श्रीमतीज्यु त कर्मचारी मान्छे परीन्। आफु परीयो लाचारी मान्छे। उनको कर्मचारी भएर घरमा ड्युटी पुरा गर्छु। उनले कमाएर घरमा हुल्छिन्। अनी मेरो ड्युटी हेरेर तलब दिन्छिन्। “फरिया धोएको ज्याला यती। भाँडा माझेको ज्याला यती। गिलास फुटाएको यती कट्टा। दुध ल्याउन छुटाएको यती कट्टा।” अन्तमा साफानाफा सराबरी हुन्छ। म कत्रो पीडित मान्छे। उनको ठाउँमा म जागिरे परेको भए जानेकै थिएँ।
हो, म नारी शोषणबाट ज्यादै पीडित मान्छे। मेरी श्रीमतीज्यु सबभन्दा ठुलो शोषक परिन्। उनका गोली झैं तिखा आँखा देखेर तर्सन्छु। उनका झट्के बोली सुनेर पर्सन्छु। उनी अफिसबाट हिलजुत्तामा बेलुकी ट्याक ट्याक फर्कदा म “पानि!पानी!” भनेर प्याक प्याक पर्छु। उनी मेरा उपल्ला हाकिम परिन्। म तल्लो पियन परें। घरभित्र ऐन कानुन केही लागू हुँदैन। यहाँ त उनको एकछत्र राज्य छ। उनी एक्लै भएर केही फरक पर्दैन। मैले बोल्ने आधार के? सनक चढेपछी देखाइदिन्छिन दोस्रो बिहे। फोस्रो मायामा दाँयाबाँया नहेर्दा दु:ख पाएँ। भर उअनको परेपछी यत्रो भार सहनु पर्यो।
म कुमारी बहादुरको पुरुष आन्दोलनमा लागेको ठ्याक्कै बाह्रदिन वित्यो। यो बाह्र दिनमा ईन्द्रलाई पानी पारे जस्तो पो ताल भयो। केही छैन थोपा थोपा मिलेर सागर बन्छ। हाम्रो संगठनमा सातजना ठ्याम्मै पुगे। यो भन्दा बढीलाई समाबेश गर्दा त पदको भागबन्डा लाउनै मिल्दैन। फेरी पार्टी जस्तै संगठन फुट्ला भन्ने डर हुन्छ। सात जनामा तीनजना अल्पमत निस्केपनी केही लछारपाटो लाग्दैन। संगठन सदा मजबुत रहन्छ। म चाँही नेपाल पुरुष अधिकार महासंघको केन्द्रिय सचिब परें। अध्यक्ष त नेता कुमारी बहादुर “गोर्खाली” भइहाले। संस्थापक भएपछी हाम्रो केही जोड चलेन। “यो त मेरो भागै हो। सुत्केरिको निहुँ गरी भालेको टाउको खान पाउनैपर्छ।” कुमारी बहादुर “गोर्खालि”को अकाट्य तर्क छ।
“नारिको दारी हुन्छ?” यो तपाईंलाई सोधेको प्रश्न हो। दारिजुँगा भएको पुरुषलाई नारिहरुले थिचोमिचो गरेका छन। गोरु जोत्न होस् या भारी बोक्न होस्। नारिहरु पुरुषको नाम लिन्छन। भान्छामा बसेर आफूहरु खुसुखुसु मिठो चोखो निल्छन। यो जमानामा त्यहिमाथि नारी अधिकारको आँधिबेहरी चल्दा पुरुष अधिकार आधा नि चल्न नपाउने? आधा त के सिङ्गै अधिकार चल्छ। सिकाए सिकौती, पकाए बिगौती। यो काम नारिहरुले नै सिकाएका हुन।
नारिहरुले आफ्नो आन्दोलनमा पुरुषहरुलाई हुलेर ठुलो भुल गरे। यो दण्डको सट्टा पुरस्कार ठहरियो। हाम्रा कुमारी बहादुर नेता उही नारी आन्दोलनमा बोल्दाबोल्दै अचम्मसाथ तिनोटिका नेता बने। उनको आदर्श वाणी “कालिका नारी” पुस्तकमा थुप्रिएका छन। आज उनैले वाक्कदिक्क नारी आन्दोलन छाडे। पुरुष आन्दोलनमा पद र पैसा बाँडे।
अँ, हाम्रो कुमारी बहादुरसँग पैसा कताबाट आयो भन्नुहोला। उहाँको ठुलो विजनेस छ। नेपाली गुन्द्रुक, भुजुरी विदेश पुर्याउने। गुन्द्रुक, भुजुरीसङ्गै सुकुमारि प्याक गरेर कोलकाता मुम्बई पुर्याउछन। यत्रो विजनेसमा लागेका कुमारी बहादुर आन्दोलन सफल त भइहाल्छ नि। त्यही माथि म जोइटिङ्ग्रे जम्मु सचिवमा छु।
म बाहिर पुरुष अधिकारको जती नै फुइँ लडाए पनि भित्र मुसो ठहरिन्छु। आखिर दालभात डुकुको समस्या छ। मेरी श्रीमतीज्यु मेरो आन्दोलनलाई मुखभरी पिच्च थुकेर स्वागत गर्छिन। सानी छोरी बाउको सुरुवालभरी “सु” गरेर आन्दोलनलाई सघाउंछे। फ्यऔरे कुकुर गलामा ल्याप्प चाटेर पुच्छर सुघाउँछ। गोजिमा हात्तीको नोट देखेर श्रीमतीज्यु फलाक्छिन- “आज त पुरुष अधिकारले अधिकारै ल्याएछ। गोरु पनि ब्याएछ। मलाई क्यान्टिनमा टहलिने खर्छ त भै गयो।”
यती भनेर उनले फुत्त गोजिबाट नोट थुतिन। नोट थुत्दा गोजी नै ल्याफ्राक्क परेर झोल्लियो। “पैसा लगे त सकिहाल्थ्यो। गोजी नै च्यातिदिनु पर्थ्यो त?” मैले पहिलो पटक विरोध स्वरुप कराएँ। कसम हो। यो भन्दा पहिले कहिल्यै यसरी बोल्न सकेको थिइँन।
“ब्यङ्ग निबन्ध संग्रह- २०६२” – दिनेश ‘रवी’
प्रकाशक- विवेक सिर्जनशिल प्रकाशन प्रा. लि. काठमान्डौ
(स्रोत : Shabdahar )