व्यङ्ग्य : यसपाली म मन्त्री नहुने भएँ !

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म राणाकालको जमदार, अलिपछिको हल्दार । सात सालमा प्रजातन्त्र ल्याउन सक्रिय सेनानी । पन्ध्र सालमा चुनाव लडेको नेता । सत्र सालमा वक्तव्य दिई दीपावलीसमेत गरेको र समयको मागअनुसार जनताको सेवा गर्न त्यतै लागेको राष्ट्रसेवक । गाउँ फर्कका बेला व्यापक सामाजिक सेवा गरी सात पुस्ता तार्न पुग्ने कुम्ल्याएर सहर पसेको समाजसेवी । चुनावी नाटक मञ्चन गर्न बीचबीचमा सरकारी टिकटमा यताउति उडेको अभिनेता । अलिपछि त्यो पनि छोडेर प्रतिनिधि पठाई बुथ ढड्याकढुडुक पारी चुनाव जितेर पटकपटक मन्त्री भएको मान्छे !

खास कुरो के भने आफु परियो जन्मजातै मन्त्री हुने वर्गको मान्छे ! सरकारी जागिर खानेतिर कहिल्यै सोचिएन । सोच्नु पनि कसरी ? पढ्ने बेला गाउँघरका कुखुरा उडाउँदै ठिक्क भइहाल्यो । हामी कहाँ शैक्षिक योग्यता केही नचाहिने अनि परीक्षा अन्तर्वार्तासमेत केही नदिई सोझै बन्न पाइने, कहिलेकाही निवेदन हाल्न परे पनि विना परीक्षा तोकआदेशमै चल्ने एउटै मात्र पद, मन्त्री नै भएकाले मजस्ताले मन्त्री नभए के हुने त ? मन्त्री हुनलाई चाहिने खाटी योग्यता प्रभु रिझाउनु र विरोधी भिजाउनु मात्रै हो । त्यस कलामा मलाई उछिन्ने अहिलेसम्म कोही जन्मेकै छैन । मन्त्र विद्यामा मजस्तो चुपिचन्डाल कलाकारलाई मन्त्री हुन जुनसुकै पार्टी र व्यवस्था आए’नि फरक पर्दैन । इधरउधर गर्र्यो मन्त्री पक्का… !

पहिलेपहिले गाउँ फर्कको सिफारिसमा पजनीबाट मन्त्री बाँडिन्थ्यो । अलिपछि नग्ननृत्यका साथ गरिने चुनावी नाटकबाट मन्त्री बनाउन थालियो । छयालीससम्म यो क्रम जारी रहृयो । जे भए’नि मलाईचाहि फरक परेन । यतिबेला विरोध गर्नेजतिलाई प्रतिगामीको बिल्ला भिराइदिए झै त्यतिबेला जनताको कुरा गर्नेलाई विदेशीको बुई चढेकाको बिल्ला भिराइन्थ्यो । आफुले पनि त्यसै भनी खुब भाषण ठोकियो, प्रभु रिझाइयो, मन्त्री पड्काइयो । छत्तीसमा पहेंलातिर लागेर वृक्ष फडान र पार्टी हरान गरी बार पुस्ता तारियो । छयालीसपछि फरक होला कि भनेको त्यो पनि उति देखिएन । झन् दानदातव्यका आधारमा पो हुनथाल्यो । म उहिलेदेखि दान दिन पछि नपर्ने सारै दानी मान्छे । यसमा के छ र आफ्नो घरघरानबाट दिनुपर्ने भए पो ! दान दिनु भनेको अरूबाटै चढाइएको भेटी यसो मन्छाउनु त हो नि ! आफ्नो जाने होइन क्यारे !

छयालीसपछि पहिले जोडेको एउटा सानो हिस्सा फ्याकेर पुरानै साइनो लगाउँदै उतै गइयो । सुरुसुरुमा त चैतेसैते… भनेर अलि गिल्ला गर्थे तर त्यस्ताले मलाई छुने भए पो ! हुँदै जाँदा त्यही कब्जा जमाइयो । पुराना सक्कलीलाई पाखा लगाइयो, सबको नेता भइयो । पार्टी अदलबदल गर्ने र फुटाउने काम पर्याप्तै गरियो । मन्त्री हुन कहिल्यै बाँकी राखिएन— कहिले धम्क्याएर त कहिले पसारा परेर । कहिले धोएर त कहिले रोएर । कहिले थुप्रेर त कहिले उफ्रेर । कहिले नाचेर त कहिले हाँसेर । कहिले जनजातिको कोटाबाट त कहिले भलिभाँतीको कोटाबाट, कहिले दलितको कोटाबाट त कहिले फलितको कोटाबाट, कहिले मधिसेको कोटाबाट त कहिले पहाडेको कोटाबाट । हुँदाहुँदा स्वच्छ छवि कालमा समेत मन्त्री भएरै छाडियो । एउटै मान्छे कहीँ यस्तो पनि हुन्छ भन्ठान्नु होला । हुन्छ होइन, भइसक्यो । मेरो थर, रूपरङ्ग र बानीबेहोरा नै त्यस्तै छ क्या ! अनि किन नहुनु ? छेपाराले रङ्ग फेरेको देख्नु भा’छ नि । हो, त्यो काम त्यसले मबाटै सिकेको हो बुझ्नु भो !

यसो गर्दागर्दै सधैं सबै पार्टीबाट मन्त्री भइयो । कुनै मन्त्रालय बाँकी राखिएन । साढे साठीतिर उता पनि मजस्ता खप्पिसको अलि अभावै भएको बुझेर त्यतैतिर लागियो । जोगी महादेव त नोट भने’सि हुरुक्कै हुन्थे रे भने भोगी मनुवा बुरुक्कै नहुने कुरै भएन । सबलाई मनपर्ने राता नोट, मसँग त्यसको थाकाथाक । कुरा कथुर्न मलाई कसैले भेट्ने होइन । व्यक्ति र परिस्थिति हेरेर भाषण दन्काए’सि अरू के नै पो चाहियो र ? यस्तो कला भए’सि आफु मात्र होइन, स्वास्नीलाईसमेत मन्त्री बनाउन खासै कसरत गर्नु पर्दैन । आफ्नो त लिगल स्वास्नी नभएर पो त, अनेकतिर चहार्दै बाच्छी, कोरली, बुढीमाउ सबकासब भर्ना गर्न सक्षम साँढेभन्दा म पनि के कम छु र ? लेकालीदेखि औलालीसम्म, हिमालदेखि चुरेभावरसम्म उम्रिएजति एउटै भुत्लो कालो नभए’नि र पूरै सेतचिन्डे र थोते भए’नि सबले युवानेता भन्छन् । त्यसो भने’सि मन जुरुक्क, ज्यान बुरुक्क !

यतिखेरका प्रत्येक दिन ऐतिहासिक हुन थाले । विस्तारवादी–साम्राज्यवादीमा दरिएकाहरूकै रोहबरमा गरिएका विभिन्न बुँदे सम्झौता मात्र होइन शौचालय उदघाटनमा पुत्ने पनातिको न्वारानसम्म सबकासब ऐतिहासिक । एउटा बिचरो अन्तरिम भनिएको ख्याउटे संविधान लागू नै हुन नपाई दिनरात थिल्थिलिदो छ । ब्रहृमनालमा निसासिदो छ । उहिले ब्रहृमाले अति सुन्दर प्राणी बनाउने सुर गरी अनेकतिरका अनेक थोक जोडजाड गर्दा उँट बनेको रे भन्ने किंवदन्तीभन्दा पनि बढ्तै हुनलागिसक्यो बिचरो लोकतान्त्रिक अन्तरिम संविधान । बाख्राको पुच्छर काटी बोकालाई सजिलो भन्ने कुरा पनि बेकार रहेछ । मजस्ता ब्रहृमचारी राष्ट्रिय वृद्ध बोकालाई त पुच्छरले केही असर गर्दैन भने कुरकुरेको त कुरै भएन । चारकोरी पार गर्दा पनि मुख मिठ्याउन, राल चुहाउन र चुच्चा निमोठ्न छोड्या छैन भने नवप्रवेशी ठिटाठिटीको त के कुरा भो र ?

अँ, कुरा गरौ मन्त्रीकै । पछिल्लो पटक मन्त्रालय र मन्त्री बाँडफाँडको व्यापक बहार आयो । अब सेलाउलाजस्तो पनि छैन । मन्त्रीका लागि तँछाडमछाड गर्दै माथितिर दौडधुप गर्नेको सीमै रहेन । एकातिर मात्र हो र ? जताततै भागबन्डै भागबन्डा । यो मुला भागबन्डा पनि सारै चर्को । पहिले आठमा मिल्नुपर्र्यो । त्यसपछि आफ्नैभित्र हानाथाप ङ्यार्रङुर्र … । फिल्मी शैलीभन्दा पनि बढ्ता यथार्थ जीवनमै देखियो । हुन त भिसीसिसी, दुतसुत, आयुक्तगयुक्त, जेमसेमलगायत सबथोक बाँडचुँडभित्रै थिए र छन् पनि । ठूला पदको त के कुरा भो र पिउनसमेत भागबन्डामै । कति ठाउँमा त एउटाको हाकिम र अर्काको पिउन परेर हैरान । उता चाउरे जनता भने उस्ता उस्तै । औषधी लिन गएको मान्छे बिरामीको वार्षिकी भइसक्दा पनि नफर्केर उसैको काजकिरिया गर्नु परे झै अनेक पदहरू दिव्य एक वर्षदेखि खाली गरेर राष्ट्रको ठूलै ढुकुटी जोगाई लोकतन्त्रको व्यापक जगेर्ना गरियो । धन्य छ बाँडचुडको करामत !

आफुलाई अलिअलि भए पनि शैक्षिक योग्यता चाहिने पद पटक्कै मन पर्दैन । मन्त्री भए’सि पुगिहाल्छ । यसपटक गोलपोस्टको किल्ला अलि फरक भएकाले भकुन्डो हान्दै नयाँ नेतानेतीकहाँ पुगी नयाँ ढपले चाकडी बजाइयो । पुराना रसिद देखाइयो । नयाँ कटाइयो । त्यति गर्दा पनि पोर्टपोलियोबारे केही गोलमाल भए’सि झोँक चलेर नयाँ पाटी नै खोलियो आफ्नै अदक्षतामा । अहिले दलदर्ता गर्न दस हजार हस्ताक्षर चाहिने भए’सि कोठामा बसेर त्यति हस्ताक्षर पूरा गर्न पनि हप्तौ लाग्ने नै भयो, कागजमसीको नास ! दर्ता भएजति सबै दलका दसदस हजार मिलाउँदा पूरै मतदाताभन्दा बढ्ता हस्ताक्षर हुन पनि बेर छैन । दसका ठाउँमा पचहत्तरअसी हजारको हस्ताक्षर बुझाएको भन्ने पनि सुनियो । हुन त यसपालि उताकालाई चाहिँदो नागरिकता बाँडिएकै छ । सबैले त्यसैबाट काम चलाए भइहाल्छ !

दलदर्तापछि बार्गेनिङ सुरु… । नीतिनिर्माण भन्दै कोठा निर्धारणका लागि कैयौ रात बालुवाघाटमा मिटिङ गरियो । एउटाबाहेक रोजी मन्त्रालय लिने सर्तमा कुरो टुङ्ग्याएर फर्किएपछि मलाई एक्कासि मन्त्री नहुने विचार फुर्र्यो । तपाईं ठान्नुहोला— यसको चुकुल खुस्किएछ भन्ने तर त्यसो होइन । यसका पछाडि खास कारणहरू छन् । अहिलेको अन्तरिम काला“ कतै कसैको केही भरोसा छैन । न कामको ठेगान न कुराको टुङ्गो । दिनरात भोटेखेलको चकचकी । धोती खुस्किएकोसमेत पत्तो नहुने गरी रटान दिएर ढा“ट्नु पर्ने । जसजति आफु, अपजसजति ज्यापू गर्नुपर्ने बेला ! मन्त्रालयहरूको हालत पनि त्यस्तै, आफु खुसी केही गर्न पाउनु छैन । अनि किन हुनु मन्त्री ? कथंकदाचित भइहाले पनि जताततै खतरैखतरा ।

परराष्ट्र मन्त्री हौँ भने बढी विदेश सयर गर्दा प्लेनबाट लडेर मर्ने डर । भूमिसुधार मन्त्री हौँ भने राम्रो उर्वर भूमिजति बाँकी नै नरहेकाले केको सुधार गर्नु ? अलिअलि भएका पनि कब्जामै । भूमि नभएपछि कृषि मन्त्रीको कुरै भएन । वन मन्त्री हौँ भने वनजति उहिल्यै आफ्नै पालाँ सखाप, बँदेल हरिण तमाम । रक्तचन्दनजति उतै पटिका माथिकैले भ्याइहाल्छन् । फेरि रक्षासँग बोलाबोल र घम्साघम्सी हुने टन्टा । भौतिक योजना निर्माण मन्त्री हौँ भने भत्काइएकाहरू बनाएर साध्यै छैन । अर्थ मन्त्री हौँ भने अर्थजति उहिल्यै ॐ स्वाहा पारिहालियो, अलिअलि बाँकी रहेको पनि बन्दले मन्द तुल्याइहाल्यो ! गृह वा रक्षा मन्त्री हौँ भने मलाई बन्दुकेहरूसँग विश्वासै लाग्दैन, सुइँक्याइदेलान् भन्ने पिर । स्वास्थ्य मन्त्री हौँ भने एड्सफेड्सका कुरा छन् । फेरि अहिले आफ्नो स्वास्थ्य पनि उति ठीक छैन । यता डाक्टरले डेट पनि दिइसक्यो, यमराजले भेट दिन मात्र बाँकी छ । शिक्षा त झन् भिक्षाविना चल्नै गारो, जताततै स्वतः गरिदिनुपर्ने अनि खेलकुदमा चलाचल–खेलाखेल र कुदाकुद नै बढी । सामान्य प्रशासन मन्त्री हौँ भने अब कसैले कसैलाई नटेरे’सि कोमाथि शासन गर्नु ? स्थानीय विकास मन्त्री हौँ भने कब्जामुक्त गरी विकास गर्ने अवस्थै छैन । यातायात मन्त्री हौँ भने दिनरात सधैं किचानथिचान, आगजनी र क्षतिपूर्तिको खप्नै नसकिने टन्टा । उद्योग वाणिज्य मन्त्री हौँ भने जताततै घोटालै घोटाला । जलस्रोत मन्त्री हौँ भने नदीनाला उहिल्यै सुइयु पारिहालियो । श्रम मन्त्री हौँ भने गोला हाल्न पनि नपाइने भइहाल्यो, फेरि उता म्यानपावरले ढुट्याउलान् भन्ने पिर । सूचना तथा सञ्चार मन्त्री हौँ भने ठीक सूचना दिनै नमिल्ने, पत्रकारले गाली गरेर हैरान अनि मोबाइलमा लाइन लाग्नेले ठोक्लान् भन्ने डर । विज्ञान प्रविधि मन्त्री हौँ भने कुन दिन कन्टेनरको साँचो खोलेर उडाइदिने हुन् भन्ने त्राहिमाम । पर्यटन मन्त्री हौँ भने सधैंको बन्दले कुइराकुइरी आउने कामै बन्द । कुइरी नआए’सि त्यताको रौनक नै खत्तम । महिला बालबालिका मन्त्री हौँ भने यतिखेर छौँडाहरूले हेर्नै छोडिहाले, बालबालिकाले कलमकापीको सट्टा बन्दुकै समाउन थालिहाले । नयाँ शान्ति मन्त्री हौँ भने आफु परियो कान्तिपति । दलित, जनजाति, चुरे, भुरे, कन्दने, कोदे मन्त्री हौँ भने ती मन्त्रालय खोल्ने बारेमै गेजु भइरहेको छ । अहिलेलाई उपप्रमसम्म चल्थ्यो । त्यो पनि नम्बर वानको बखेडा झिकेर उडाइहाले । लौ न त जेसुकै होस् कुनै न कुनै मन्त्री हौँ भने पनि मिटिङमा बालुवाघाट जानै पर्ने । त्यहाँको भोजन भट्टले पहेंलिने डर, ज्यानको खतरा ।

यति मात्र होइन म मन्त्री नहुने अर्को मुख्य कारण कुर्सीको रखाइक्रम नमिलेर पनि हो । यसलाई मर्यादाक्रम भन्दा रहेछन् । हुन त मर्यादा कतै बाँकी नरहेपछि त्यसको क्रम नै के रहृयो र ? आफु परियो लुरिकान्ते वामपुड्के । पछाडि बस्दा देखिदैन, अगाडि नवप्रवेशीले नछोड्ने । सुरुमा त उचाइ, उमेर, तौल आदिका आधारमा मन्त्रालय बाँडफाँड गरी कम उचाइ र तौल अनि बढी उमेर भएकालाई अग्रपङ्क्तिमा राख्न जोड गरियो । यस पटकका लम्बु र झुण्डेहरूले त्यसलाई मानेनन् ती मभन्दा पनि चम्बु र सुँढे परेछन् । त्यो प्रस्ताव पारित भएको भए मन्त्री हुने पक्का थियो । म मुला लाज पचेको नकचरो प्रम, अध्यक्ष, सभामुख, उपप्रम भइसकेको मान्छे तैपनि जनताको सेवा गरी मेवा कुम्ल्याउन भने’सि मन्त्री, राज्यमन्त्री त के सहायक मन्त्रीसमेत हुन पछि नपर्ने वर्गमा परेँ ! तर यसपटकको परिस्थिति भने अलि फरक भएकाले म मन्त्री नहुने निर्णयमा पुगेको हुँ ।

जे होस् म पटकपटक गरी सब मन्त्री र मन्त्रालय भ्याइसकेको मान्छे । मजति धेरै मन्त्री भएको र नाक गिलाउँदा मात्र होइन चाक चिलाउँदासमेत विश्वभ्रमण गरेको मान्छे यहाँ त के दुनियाँमै कमै होलान् । यसोउसो गर्र्यो आफु पर्ने गरी क्राइटेरिया बनायो केही नलागे बाँदरवृत्ति अनुसरण गर्र्यो, ठाकठुक पार्र्यो मन्त्री भइहाल्यो । यो पुरानै चलन हो । अहिलेचाहिँ मन्त्री हुन सबतिर डरैडर एउटा प्रममा उति डर थिएन । बालुवाघाटमै बसेर सबलाई त्यहीँ बोलाई निर्देशन दिन पाइन्थ्यो तर त्यो चुच्चे छउन्जेल यो बुच्चेले पाउने सम्भावनै रहेन । हुन त उसको पनि डाक्टरी डेटको हल्ला छ । हेरौँ को पहिला हुने हो । ऊ पहिलो भए म दोस्रो, ऊ दोस्रो भए म पहिलो हुने पक्का । उता जानुभन्दा पहिले एकपटक फेरि जसरी पनि प्रम हुनु नै छ !

यसपालिलाई भैगो केही छैन, यो मन्त्रीमण्डल अन्तरिम त हो नि । मन्त्री हुन सारै मन लाग्यो भने बीचैमा खत्र्याकखुत्रुक गरौँला, नयाँ जुक्ति निकालौँला, भिडाउँला, फुटाउँला … । अहिले केही दिनचाहिँ स्वास्थ्यलाभका लागि आरामसाथ विदेशयात्रा गर्नु प¥यो । अलि डटफट हुनेबित्तिकै मलाई मन्त्री हुनबाट कसले रोक्न सक्छ र ? यताकाले यताउति गरे भने उतैबाट भिडाएर पनि मन्त्री पक्का । मलाई अहिले नै पद छोडेर त्यागी नेतामा नाम दरी पाप कटनी गरेर वैतरणीको बाटो क्लियर गर्नु छैन । पछि यमदूतले दुख दिन खोजे भने तिनले भनेकै मुद्रामा दुईचार बिटा थमाए’सि ती पनि मख्ख ! यसरी वरत्र मात्र होइन परत्र पनि मिलाइसक्या मान्छे एकपटक मन्त्री नहुँदा के फरक पर्छ र ।

अहिले केही दिनका लागि म मन्त्री नहुँदा कार्यकर्ताहरूले पटक्कै आत्तिनु पर्दैन । म मन्त्री नभए’नि जुनसुकै मन्त्रालयका ठेक्कापट्टा र नियुक्ति मेरै सिफारिसमा चल्छन् । म सबैतिर भ्याएको अनुभवी भएकाले कतिखेर कहाँ के खुल्छ वा नखुलाई भित्रभित्रै कसरी पजनी गरिन्छ भन्ने सब कुरा मलाई थाहा छ । त्यसैअनुसार ट्यामट्याममै कामकुरो मिलाइदिउँला । पहिले झैँ मेरो भाग हरण गर्नचाहिँ पाइने छैन नि ¤ नत्र पछि प्रम भए’सि देखौला बाउको बिहे !

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.