~बक्ररेखा~
मूर्तता – १
एउटा
माटोले भरिएको गमलामा
विर्यदान गर्नुस
र
हरेक दिन बिहान
एक लोहोटा पानी सेचन गर्नुस |
भोलिपल्ट
त्यो
एकाएक फूलको
रुपमा मुस्काउनेछ |
स्पस्टिकरण
ब्युत्पत्तिक्रमको सुचीअनुरुप
लगभग उस्तै हावा चलेको दिन/रातले
मेरो स्वागत गरेको थियो |
समय एक्कासी दिग्भ्रमित भइकन
मेरा हस्तरेखाहरुमा
किन तितरबितर भइ छरिएका होलान ?
कसैले जान्नु जरुरी देखेन |
हावा चल्न रोकिएन
बतास चल्यो
हुरी आयो
आंधीबेहेरी आयो
उडायो – सारा मान्छेहरु
बाँचे – निकम्माहरु
एउटा कविलाई दुइवटा पिडा एकैपटक भए
म किन बाँचे ? म किन बाँचिन ?
के अब म संसारभरीका भिरहरु एकैठाउँमा ल्याउने र तिनै भिरहरुमा गुरांश रोप्ने कुरा सोचम ?की टाउकोले टेकेर हिड्ने प्रयाशको एक अभुतपुर्व कल्पना गरम ?
मलाइ मेरो जिन्दगीले यत्ती धेरै प्रेम नगरेको भए हुन्थ्यो झैं लागीरहेको छ |म त्यो हूँ – जसमा एक असफल प्रेमीमा हुने गुण छ |
यो समयमा कविले एक मौन कबिता लेख्न सक्नुपर्छ |
मान्छेहरुको परम्परागत प्रस्तुतीकरणमा
मान्छेहरु मान्छेसंगै सहमत हुन सकेनन |
पर्खाइ र हेराईको – आधुनिकताले
आफ्ना अंगहरु त्यतिखेर देखि प्रदर्शनमा राखेको छ |
विद्वानहरु तिनै अंग पढ्छन – आफैंलाई विद्वान घोषणा गर्छन |
रहिसहरुले तिनै अंगको जुत्ता पहिरिन्छन |
हेर्नुहोस, यो सब मूर्तता हो | के भन्न बाँकी छ ? के अब म गरिबका कुराहरु मनमनै गुनेर यो खोजलाई गरीब बनाउँ ? म मा घमण्ड छ, लोभ, क्रोध, मोह, सप्पै सप्पै छ | जिजिबिशाको सुरुदेखि अन्त्यसम्म कुनै कुरो अमुर्त छैन | स्पष्ट छ | दर्शन छ | यसको भेद छ | गुदी छ | समकालमा मेरा मित्रहरु कबिता लेख्दैहोलान |
गजल कोर्दै या गीत गुनगुनाउदै होलान | म यस्तै गन्थन लेखेर बसेको छु | एक मुर्त गन्थन |
मैले मेरो आफ्नै अन्तरबार्ता दिइरहेको छु – यो बखत
मेरो शालीनता साक्षी छ
मेरो कवित्व साक्षी छ
जीवन सरलीकरणको यो गणीतमा
कुन सुत्र कहाँ, कसरी लाउनुपर्ने मैले जानेको छु |
यौवनको यो एकाद खण्डहरुमा
मैले पनि आफ्ना हात चलाएको छु |
यसरी एक कबिले हरेक दिन कबिता लेख्दा उनकी उनि उनको साथमा हुन्नन् |
उफ्फ़ यो कल्पनाशीलता पनि
एक लहर मात्र न हो -मुर्तताको |
तपाईं किताब पढ्नुहुन्छ
म जिन्दगी पढ्छु
तपाईं भगवानलाइ भगवान भन्नुहुन्छ
म मान्छेलाई भगवान भन्छु
तपाईं रुनुहुन्छ
म हाँस्छु
तपाईं सुतेर सपना बुन्नुहुन्छ
म ब्युझेर बिपना झेल्छु
तपाईं खुट्टाको लागि बाटो खोज्नुहुन्छ
म बाटोको लागि सक्षम खुट्टाहरु खोज्छु
तपाईं नरिसाउन आदेश दिनुहुन्छ
म अझै अलिकति रिसाउन अनुरोध गर्दछु
अब तपाईं मलाइ पागल भन्नुहुन्छ
म आफुलाई बक्ररेखा सम्झन्छु
तपैंको समय सुरु भयो अब |
(स्रोत : Bi Pra’s Facebook )