व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~SONY DSC

हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ ।

तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के पुङ्ग न पुच्छरको कुरा गर्न थालेको होला, काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर तर कुरो त्यसो होईन । मैले कुरा गर्न लागेको एकदम खाँटी कुरा हो सन्देह नगर्नुस् ।

यस टायर सँस्कृतिको बारेमा कुरा गर्न पाउँदा मलाई एकदम खुशी लागेको छ । अझ कोहि प्रायोजकको रुपमा मेरो सामु आउँछ भने म यसमा एकदिन पुरा भाषण दिन तयार छुँ र यसमा विद्यावारिधी समेत गर्न तयार छुँ । किनभने हामी सँस्कृतिको धनी त यसै छौँ त्यसमाथि हामी अर्को सँस्कृतिको परिचय दिँदै छौ त्यो हो टायर सँस्कृति । हजुर टायर सँस्कृति हाम्रो देशमा १५-१६ वर्ष अघि जन्मेको हो । हामीले वर्षौंदेखि मनाउँर्दै आएको सँस्कृतिको जन्म कहिले भएको हो मलाई थाहा छैन र सरोकार पनि छैन । सरकारको विरोध होस् या विरोधीको विरोध गर्न होस् टायर नबाली नहुने सँस्कृतिको जन्म भएको छ हाम्रो देशमा । यसबाट टायरको दोहोरो उपयोगपनि भएको छ । सवारी साधनमा सकुन्जेल टायरको प्रयोग गर्ने र त्यसपछि विरोध कार्यमा प्रयोग गर्ने । यसबाट पनि दोहोरो फाईदा एक काम नलाग्ने भनि फालिन लागेको टायरको पुनः प्रयोग, दोश्रो नयाँ सँस्कृतिको शुरुवात । हिन्दीमा एक उखान छ ‘आमके आम गुठलीके दाम’ । उखान हिन्दी भएपनि नेपालमा लागु हुन्छ भने हामी किन दङ्ग नपर्ने ?

मलाई लाग्छ यस टायर सँस्कृतिले नेपालमा टायरको धेरै नै खपत हुन थालेको छ । किनभने देशव्यापी विरोध कार्यक्रम महिनाको एक या दुई पटक भई नै रहेको हुन्छ । फेरि विरोध कार्यक्रममा अलि धेरै अन्तराल भएको खण्डमा एक न एक थरिलाई साह्रै नरमाईलो र बोर लाग्न थाल्छ । अनि विरोध गर्ने निहुँ खोज्न थालिहाल्छन् । र टायर बल्न शुरु भई हाल्छ । त्यसकारण अब त अमेरिका छोडेर नेपालमा गएर टायर उद्योग खोलौँ कि भन्ने विचार पनि म मा आएको छ । तर टायर उत्पादन सवारी साधनको लागी नभएर सडक प्रदर्शनकोलागी मात्र हुनेछ । तर खबरदार नेपालमा टायर खोल्ने विचारको सर्वाधिकार ममा मात्र सुरक्षित छ । नाफा खाने या पैसा कमाउने उदेश्यले मलाई उछिनेर यो उद्योग खोल्न जानु होला नी । बरु तपाईँलाई टायरको डिलरशीप लिन ईच्छुक हुनुहुन्छ भने मसंग सम्पर्क राख्नु होला ।

यो टायर सँस्कृति चाहे बुध्दिजिवी विद्यार्थी होस् या शिक्षकवर्ग होस्, चाहे ट्रयाक्सी चालकको समुह होस् चाहे कर्मचारी वर्ग होस्, चाहे ज्याला मजदुरी गर्ने वर्ग होस् सबैलाइ प्यारो छ । विरोधको न कुनै ठोस् आधार चाहिन्छ न कुनै प्रमाण नै । हल्लाको भरमा होस् या सल्लाहको भरमा होस् अन्धो पाराले विरोध गर्न पाए पुगीहाल्यो कारण टायर बाल्न पाईने भयो । मानौ टायर बलेको धुँवा नसुँघी निद्रै लाग्दैन अथवा खाएको नै पच्दैन । जुत्ता पसलमा काम गर्ने एक मित्रको घरमा जाँदा तिनले जुत्ता आफ्नो सिराननिर राखेको देखेर म छक्क परेँ । यो देखेर उनले भने ‘के गर्ने जुत्ता पसलमा काम गरेको भएर जुत्ता नसुँघी निद्रै लाग्दैन’ । हुन त ति मेरा मित्रले जिस्किएरै भनेका हुन् तर यो भनाई ठ्याक्कै नेपालमा लागु भएको पाउँदा मित्रको त्यो कुरा यहाँ नभनि बस्न सकिएन ।

त्यसैले आउनुस् हाम्रो चिनारीको रुपमा नयाँ सँस्कृति टायर सँस्कृतिको सबै मिलेर जगेर्ना गरौँ र देशलाई प्रदुषण सहित वातावरणलाई दुर्गन्धित बनाउन सहयोग गरौँ । विदेशमा बुध्द र सगरमाथा अनि सँधैजस्तो टायर बल्ने देश नेपाल हो र हामी टायर बाल्ने सँस्कृतिका नेपाली हौ भनेर चिनाऔँ ।

भर्जिनिया
2009-11-07

(स्रोत : Khasskhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.