नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही पनि छैनन्, तिमी त त्यहांको पुरानो मान्छे, मलाई एयरपोर्ट मै लिन आउनु है, मेरो ल्याण्डिङ त्यहीं परेको छ ।”
भर्जिनिया राज्यको फेयरफ्याक्स भन्ने ठाउंस्थित रमेशको सानो टाउन हाउसमा सरको प्रवेश हुन्छ । विदेशतिर फाट्टफूट्ट घुमफिर गरिरहेका भए पनि सरको यो पहिलो अमेरिका भ्रमण हो ।
“भोक लग्यो होला सर खाना खाउं है”—रमेशले नेपाली पाराको साग, आफैं फार्ममा काटेर ल्याएको खसीको मासु, चिकेन फ्राई आदि परिकारले स्वागत गर्छ ।
“रमेश, अमेरिकामा त सवै खाने कुरा नेपालकै जस्तो छ त? स्वाद पनि उस्तै । दही पनि छ?” मज्जाले खाना खांदै सर भन्दै हुनुहुन्छ— “मान्छे बस्ने घर चाहिं यहांका निकै साना हुंदा रहेछन् । तर निकै बान्की परेका ।” आदि इत्यादि ।
“सर थोरै राखौं है ।”
सरले खाना पो थप्न लागेछ भनेर अलिकति मात्रै है भन्नु मात्रै के भएको थियो रमेशले एउटा सिसाको गिलासमा धररर्र ….. ख्वाल्ल पारेर पेय पदार्थ पो हालिदिन्छ ।
“होइन । नगरौ न ।”
“केही गर्दैन सर, जिउ दुःखेको निको हुन्छ, फेरि यो त माल हो नि सर, रेड लेवल, ब्याक लेवल भन्दा पनि माथिल्लो ब्यु लेवल । सरको लागि भनेर स्पेसल ।”
अमेरिकाको राती हुंदा नेपालमा दिउसो हुने हुंदा सरलाई त्यति निद्रा लाग्दैन । त्यसमाथि त्यो ब्यु लेवलले जिउ चङ्गा हुनुको सट्टा झनै भारी पो हुन्छ ।
भोलि पल्ट विहानै हल्ला गर्दै रमेशले सरलाई आफ्नो गाडीमा राखेर अमेरिकाको राजधानी वाशिंगटन डि.सी.तिर लिएर जान्छ । बाटोमा उ फत्फताई रहेको छ— “जति लगाए पनि मलाइ चाहिं यस्तो चियापानहरुले छुंदैन के सर । देख्नु भयो त म कसरी आफैं गाडी कुदाई रहेको छु । ड्राइभिङमा चैं मलाई कसैले पनि भेट्दैनन् के सर ।”
रमेशले सरलाई डि.सी.का केही हेर्ने ठाउंहरु ह्वाइट हाउस्, क्यापिटोल विल्डिङ्ग, वाशिङ्गटन मन्युमेण्ट, लिंकन मेमोरियल आदि घुमाउछ । बाटै भरि चिसोमा फोटा खिच्दा अनि रमेशका थरी थरीका बढाईंचढाईं गरिएका फाइफुट्टीहरु सुन्दासुन्दै सरको टाउको फुट्ला झैं भएर दुख्छ । कानका जाली फुट्लान जस्तो हुन्छ ।
केही सरकारी अफिसहरुको अपैण्टमेण्ट र एकादुई नेपालीका कार्यक्रम बाहेक सरको अरु व्यस्तता खासै छैन अमेरिकामा । हातमा फोन छैन, देखेको कतै पनि छैन, आफ्नो सवारी साधन पनि छैन, जता हे¥यो उस्तै लाग्छ । रमेशको साथ नलागी सरको अरु उपाय नै छैन । रमेश भने सरलाई भेट्यो कि आफ्नै ठूलाठूला लम्बेतान् कुराहरु गरेर दिक्क लगाइहाल्छ ।
“देख्नु भो त सर, म गाउंबाट आएको केटो । अमेरिका छिरेपछि एक महिना मै ग्रिन कार्ड बनाएं । पैसा पनि अरु नेपालीले भन्दा धेरै कमाएं । काठमाडौंमा घर बनाएं । चितवनमा जग्गा किनें । अमेरिकामा पनि घर किनें । जागीर पनि रामै छ । गोराहरुलाई पनि काम लगाएर बसेको छु । यहांको लिकर कम्पनीको म्यानेजर भनेको त सरकारी जागीर बराबर नै हो नि । यहां त लिकरहरुलाई पनि सरकारले सोझै चलाएको हुन्छ ।” आदि ।
आज पनि सरका कानहरुले एकछिन् फुर्सद पाएका छैनन् । बरु अझै कति कुरा सुन्नु पर्ने हो भनेर कान तिखार्नु पर्ने स्थिति छ । रमेश घरि घरबाट बाहिर जाने र घरि भित्र आउने गरिरहेको छ । सांझ तिर अचानक उ हस्याङ्ग फस्याङ्ग गर्दै घरमा छिर्छ— “सरलाई आज यस्तो ठाउं घुमाउन लैजान्छु नि, हजुरले त अनुमान् सम्म पनि लगाउन सक्नु हुन्न । निस्किहालौं सर ।”
हुन त रमेशले त्यहीं नजिकै हो भन्दै थियो तर बरीव ४५ मिनेटको ड्राइभ गरेपछि उसले गाडी रोक्छ । भित्र दीपावली झैं झल्याक् र मल्याक् गरेर चम्किरहेका रङ्गीचङ्गी विजुलीका कीरण बाहिरबाट सजिलै नियाल्न सकिन्छ । मधुरो तर एकैचोटी मुटुमै छुने किसिमका दमाहा शैलीका बाजा गन्केको पनि नयां मानिसलाई बाहिरबाटै थाहा हुन्छ । ढोकामै रमेशले दश दश डलरका टिकट काट्छ र दुवै जना भित्र पस्छन् ।
“क्यान वी ह्याभ टु ।” रमेशले नेपालको फाइभ स्टार होटलको भट्टी जस्तो देखिने त्यो सुकिलो र सिसैसिसाले बनेको पसलमा बसेकी एक सेविकालाई भन्छ—“एस् अन द रक प्लिज ।” थुरिंदै आवाज आउछ—“ओ..के..।”
आंखै टिप्ला जस्ता ऐनाका प्रतिविम्बहरु, कुनाकुनाबाट चम्केका रंगीचङ्गी बत्तीहरु, चर्को चर्को स्वरमा गन्केका वेमौसमी संगीतहरु, थोरै कपडा अथवा कुनै बेला विना कपडै पनि नाचीरहेका परीहरु । सरले सोचेको र कल्पना गरेको भन्दा ठीक विपरीत गतिमा परिवेश अगाडि बढिरहेछ । रमेश त उही त हो । एक छिन पनि एक ठाउंमा बस्न सक्दैन । बेलाबेलामा मिलिक्क मिलिक्क हराइरहन्छ ।
खुट्टा पनि तर्लङ्ग झुण्डिने अग्लो कुर्सी र त्यो भन्दा निकै अग्लो टेवुलमा धेरै मानिसहरुको भीडमा सरको शरीर बसेको छ । घरि आधि निधाउने र झस्यांङ्ग भएर ब्युझिने क्रम जारी छ । केटीहरुको नाच्ने, जिउ बटार्ने अनि टेबुल टेबुलसम्म कुद्ने क्रम रोकिएको छैन । अलिकति खाली हुन नपाउदै सरको गिलास पुनः भरि भैहाल्छ । जति आज सरलाई आफैप्रति घृणा र आलस्य भइरहेको छ त्यति नै रमेशमा भने उत्साह र उमङ्गको शिखर चुलिंदै गएको छ । सरलाई घुमाउन पाएकोमा उ मख्ख छ । बुढा खुसी होलान् भनेर दङ्ग छ ।
रात ढल्दै जांदा अनि वेहोसी मै घुट्क्याएका रङ्गीन पेयहरुले जित्दै जांदा सर टेबुलमै मुण्टो लतारेर घुर्दै हुनुहुन्छ । उहां सपनादेखिरहनु भएको छ— “रमेशले उहांलाई आतिथ्यता गरेर पहिलो दिन जर्ज वाशिङ्गटन युनिभर्सिटी घुमाइदिन्छ । आज उहांलाई आफ्नै गाडीमा राखेर हार्वर्ड युनिभर्सिटी देखाउन बोष्टनतिर लिएर गइरहेको छ । उ हल्ला गरिरहेछ । सरको कान खाइरहेछ ।”
–गुणराज लुइटेल, भर्जिनिया, युएसए ।
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )