घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी आसमाया पनि सँगै छे, उसका निधारमा चाउरीका सात पत्रमा जीवनभरका हैरानी च्यापिएर बसेजस्तो देखिन्छ । कतै न कतै कसैले खानपिनको बन्दोबस्त गरेकै होला नि भन्ने निश्चिन्त भावमा हिँड्ने भरप्रसाद । एक रातको बास दिने भरेसम्म त कोही भेटिहालिन्छ नि यत्रो दुनियाँमा भनेर मन बुझाउने आसमाया । सद्दे हात-खुट्टा र ठीकठाक मनस्थिति बोकर भरप्रसाद र आसमाया वषौँदेखि यसरी नै भरैभर र आसैआसको चास्नी चाट्दै हिँडिरहेछन्-हिँडिरहेछन् । नयाँ नेपालको उद्गम यात्रामा सृष्टिको आधुनिकतम जोडी भरप्रसाद र आसमाया ।
भरप्रसाद बनेपछि कृषिप्रधान देशमा कुनै जिम्मेवारी धान्नुपर्ला भन्ने पनि पीर हुँदैन, भरैको खेती हलक्क सप्रिएर देखा पर्छ । आसमायाको आशावादी मनको त झन् के कुरा गर्नु, आसैआसमा बिहान घाम उदाउँछ र बेलुका अस्ताउँछ । नयाँ नेपालको लहडे नाराको जुल्फीछेदन अभियानमा आज थुप्रै भरप्रसाद र आसमाया कैँचीमार दौड हाँकिरहेछन् । बजारबाट किनेर कसैले घरसम्म ल्याएको सुन्तला-केरा फलादि कसैलाई छोडाउन लगाएर मुखसम्म खुवाउन लगाएर मात्र नपुगी चपाइदे सम्म भन्न सक्ने हविगत देखाउँछन् भरप्रसाद । ढुक्क ढकनीमा अडिग उनीहरू भरको खेतीमा पलेंटी शृङ्खला चलाउँछन् ।
‘जसको जोत उसको पोत’ क्रान्तिकारी विचारमा हदै लगनशील आसमाया कसैको घरमा एक साँझ दूध दुहुन जाँदाजाँदै सिङ्गो गाई नै हत्याउने आशामा आँखा तिखार्छन् । दानद्रव्य दिनेभन्दा सकेसम्म सर्याएर लिने जमानामा भर खोज्ने ध्याउन्नमा भरप्रसादहरू भकारी बोकेर घरघर र दैलोदैलो बुर्कुशी मार्छन् । भकारो साहोर्ने हुती नभएको ज्यानलाई दही-दूधको तलतलले हुरुक्क पारे पनि कुनै पीर छैन, टोल-छिमेकमा अम्खोरा वा जग ट्यास्स अघिल्तिर सार्दै ‘अलिकति पखालपुखुल होला नि साल्दिदी ?’ भन्दै भर परेमा खन्खाँचो टरिहाल्छ । सिन्का नभाँच्ने हातले परिआउँदा आफ्नो छाप्रो गाँस्नुपर्दा भने मगन्तेनारायणको दाँत देखाएर आठ/दस घना बाँस उचाल्ने हिम्मत कस्न कुनै कन्जुस्याइँ गर्दैन ।
भर पर्ने र आस गर्ने आदत जीवन अझै जिऊँ-जिऊँ गराउन पूर्णतः लाभदायक छ । किनभने यो सास्तीबेगरको जीवन धान्ने मेलो हो । आजको चरम आर्थिक मन्दीको समयमा अरू जेसुकै होस् तर जसोतसो जीवनमन्दी चाहिँ हुन नदिन सबै लागिपरेका देखिन्छन् । केवल अरूको औकात र अवस्थासामु पसारो परे पुगिहाल्ने हुनाले आजका भरप्रसाद र आसमायालाई जीवन नामको नशालु ट्याब्लेट सेवन गरिरहन कुनै बोझ हुनै सक्दैन । देश बनोस् नबनोस्, सबैजनालाई पवित्र स्वयम् सेवाबाट आफू बने पुगेको छ । आसमायाको पछ्यौरी वा कुर्ताको फुर्कोमा एक त्यान्द्रो आस झुन्डिनु नै वैतरिणी पार गर्ने लाइसेन्स प्राप्त गरेको मान्नुपर्ला । भरप्रसादको कमिज वा इस्टकोटको बायाँ खल्तीमा परिश्रम र लगनबाट आर्जित कमाइको साटो आरामको उपज टन्न हावा भरिनु नै नेपालको आधुनिक दर्पण मान्नुपर्ला । यस्तो स्थितिमा नयाँ नेपाल त कता-कता, छँदाखाँदाको झुत्रेझाम्रे नेपालै बिलाउन के बेर !
(सुविधा नगर, काठमाण्डौ)
http://clickdhaiba.blogspot.com
2010-04-01
(स्रोत : Khasskhass.com )