माओवादी युद्धको चरमसीमा सेलाए सि फक्ताङलुङ् अर्थात् कुम्भकर्ण हिमालको परिसर नियाल्ने वैदेशिक यात्रुहरु फ्याट्टफुट्ट रुपमा यता पनि देखा पर्न लागेका छन् । निकै वर्षदेखि ग्राभेल जीवन भोगेको वसन्तपुर–जिरी खिम्तीको यो हिमाली कच्ची सडक पछ्याएर आउने कुइरेहरु यो जिरी खिम्तीबजारमा अनौठा जन्तुझैं रमिते बन्छन् । जो आफैं रमिते हेर्न आएका हुन्छन् ।
तलतल गाउँमा आरु, नासपाती, आल्चा र पैंयुँ मनग्गे फुलेका छन् । वरिपरि हिमशिखरहरु सेताम्य फक्रिएका छन् । यता यो सानो चिया पसलमा उस्तै एउटा सुन्दर बैंश फूल फुलेको छ । लाग्छ– प्राकृतिक सुन्दरताको रसपान गर्न आएका ती एक हुल कुइरेले आफ्नो टार्गेट सफल भएको मानिरहेछन् । तिनीहरु खुसी देखिन्छन् ।
हिमाली हावापानीमा जे पनि मीठो त हुने नै भयो । अझ लेकाली उसिनेको आलु अकबरे खोर्सानी र टिमुरको चट्नीमा चोबेर खाँदा कति मीठो हुँदो हो ! त्यै आलु खान पल्केर पल्लो गेष्टहाउसबाट दिनमा दुई–तीन पल्ट ती एक परिवार कुइरेहरु यता धाउँछन् । चिया, भात र आलुको व्यापार खुब सप्रेको छ ।
छोरीको ‘हाई हेल्लो’ अंग्रेजीले बहुत काम गरेको देखेर साउनी मक्ख छे । आफ्नी छोरीलाई पढाएकोमा गर्व गर्छे । मनमनै ‘भर्खर दस कक्षा पढ्दै छे, यसलाई जति दुःख गरेर नि पढाउनै प¥यो !’ मनोसंकल्प कस्छिन् ।
‘तँलाई अंग्रेजी नि आउने भयो नि ! अब छोरीले गर्ने भयो’ आमाको लाढेप्यारले बैंसफूल मुकुराउँछिन् ।
अब ती अष्ट्रेलियनहरु झुमिन थालेका छन् । विशेष एउटा ठिटो कुइरे झनै झुम्मिएका छन् । कारण त्यै बैंसफूल थियो याने कि साउनीकी सत्र वर्र्षे छोरी । फूलजस्ती विचरीले तिनको भाषा संकेतले मात्र बुझ्छिन् । जाबो पहाडी गाउँमा सरकारी स्कूलमा एउटा अंग्रेजी विषय पढेर त्यति बुझ्नु नि ठूलै कुरो हो । उनले त जानेको हाई, हेल्लो, यस, नो मात्र हो । तर पनि सांकेतिक भाषा गर्दै नेपालीमै आफ्नो कुरो राख्छिन् । सानैदेखि पसलमा बसेर होला, उनमा खासै लाज–धक छैन । उनको अर्को विशेषता– उनको चहकिलो मुस्कान हो । कुइरे ठिटो मक्ख पर्छ । जसरी त्यो जिरी खिम्ती बजारका ठिटोहरु त्यसरी नै मक्ख पर्दथे ।
ती कुइरेहरुको बसाइँ आठौं दिन भैसक्यो । त्यो लाडे ठिटो अब कहीं जान मान्दैन । उसको जिद्धीले उनीहरुको त्यहाँको बसाइँ अझै लम्बिँदो छ । किनकि ऊ बाउआमाको प्रिय छोरो थियो । स्कूल भ्याकेसनमा उसैलाई घुमाउन तिनीहरु यहाँ आइपुगेका हुन् । उसको खुशीलाई अमाबुबाले आफ्नो मानेका छन् ।
जब ती कुइरे केटो देखा पर्दैनन्, अचेल हरेक पल बैंसफूलको नजर उतै गेष्टहाउसपट्टि फर्किन्छ । भनौं, उनलाई त्यो ठिटो नदेख्दा के नभए जस्तो, के हराए जस्तो, खाँदा पनि नखाएजस्तो हुन थालेको छ । हुन पनि यत्रो दिन उनीहरु आफ्नै मातृभाषामा बोलेर आफ्ना भावना साट्न सफल भैसकेका थिए । कुइरेले भनेको दुई वटा वाक्य उनले बुझ्थिन– ‘आई लाइक यु ! आई लभ यु !’
‘आच्ची ! यो कुइरेहरु कस्तो छाडा हुन्छन् नि !’
मुस्कानसहित उनको जबाफ हुन्थ्यो । साउनीलाई भने आफ्नो व्यापारसँग मात्र चासो थियो । बिचरीले के बुझुन् अंग्रेजी भाषामा मायाप्रेमका कुरा ! तर कुइरेका बाउआमाले भने त्यो कुरा बुझेका थिए । किनकि उनीहरुको संस्कार नै त्यस्तै ! त्यो ठिटोले आफ्ना बाउआमालाई स्पष्ट भनिसकेका थिए–
‘सी इज सो प्रेटी, आई लाइक हर, आई रियल्ली लब हर !’
उनीहरुले आफ्ना छोराको कपाल मुसारेर हौसल्ला दिन्थे ।
बाउआमालाई फोटोग्राफर बनाएर त्यो केटोले बैंसफूलसँग विभिन्न पोजमा बहुत फोटो खिच्यो । बिचरी ती बैंसफूलले भने मुस्कुराउनुसिवाय के स्टाइल नै जानुन् र !
आधा–सवा घण्टा दूरको तेह्रथुम बजार अर्थात् म्याङलुङग बजार आफ्ना बाउआमा जाँदा पनि त्यो केटो भने गएन । बैंसफूल छोडेर उसलाई कहीं जान मन छैन । अरु परिवार फर्केर नआउञ्जेलसम्म दुई दिन एक्लै बसे । तर उसलाई कुनै नियास्रो र एक्लो अनुभूत भएन ।
विनाभाषा ती दुई कलिला मनहरु गजबले जोडिसकेका थिए । मायामा भावनाको भाषा नै पर्याप्त हुँदोरहेछ । कैयौंले आकाशका जून–तारा झार्ने, आकाश–पाताल जोड्ने, बहु दिनरात पत्र–इमेल लेख्ने, जुवारी–पालममार्फत आफ्ना भावना साट्ने गर्दा पनि मायाको जड बाँध्न नसकेको पर्याप्त उदाहरण हामीहरुसँग छन् । तर ती नाना–प्रयास उनीहरुलाई खाँचो नै भएन । उनीहरु एकापसमा मन पराउँथे । माया गर्थे । जो चोखो थियो, पवित्र थियो । बिनाकसम र आश्वासनको सङ्लो माया थियो ।
तर, समयको प्रवाहले उनीहरुलाई पर्खिएन । भनौं ती कुइरेहरुको फर्किने समय आयो । उनीहरुले त्यो समय नै रोक्न नै सके, न समयले उनीहरुको मनको भाषालाई बुझेर नै सहानुभूति दिएर नै पर्खियो ।
चिया–नास्ता खाएर वसन्तपुरको गाडी समात्न पैदल यात्रा गर्दै जाने उनीहरुको निर्णय बन्यो । अब जूनजस्तो ती दुई अनुहारमा कुनै ज्योति छैन, भनौ ती कलिला–सुकिला मुहार कृष्णपक्षको रातजस्तो भएका छन् ।
सधैं एक पाथी जति उसिनेको आलु दन्काउने केटोले एउटा पनि मज्जाले खाएन । आफ्नो छोरोको वेदनालाई उसका बाउआमाले राम्ररी बुझेकाले चुपचाप मात्र हेरिरहे । साउनी भने अझै पनि उनीहरुको प्रेमको बारेमा सायद अनभिज्ञ नै थिइन् र त छोरीलाई काम अह«ाउँदै थिइन्– ‘जा ! छोरी, तल गाउँमा गएर कर्मीलाई भोलिको लागि खेताला बोला !’
आफ्नो हृदयको टुक्रा आफूलाई छोडेर जाने बेलामा कसरी त्यो मन त्यतिबेला नै उसलाई छोडेर खेताला खोज्न जान सक्थ्यो र ?
‘एकछिन पख्नुस् है, अलि पेट दुखेको छ । सञ्चो हुन्छ कि एकछिन बसेर जाउँला !’
उनले पहिलोचोटि आफ्नी प्यारी आमालाई झुटो बोलिन् । हुन पनि उनको अनुहार बिसञ्चोझैं देखिएको थियो । आमा पनि चुप लागिन् । पेट होइन, उनको मनमुटु भने भक्कानिएर फुट्लाझैं भएको थियो भित्रभित्रै । यतिखेर आफ्ना बडेमानका झोला ती कुइरेहरुले भिरिसकेका थिए । केटो पनि निन्याउरो भएर आफ्नो झोला ढाडमा बोकेर उँधोमुन्टे भएर उभियो ।
‘थ्याङ्क्यु’ सहित ती कुइरे केटोको बाउले साउनी र उनको छोरीलाई गोजीबाट पैसा निकालेर थमाए । ‘बाई’ भनेर बाटो लागे । केटोले पनि आफ्नी प्रेमिकाको हात समातेर सानो लकेट उनको हातमा थमाएर ‘बाई’ भने । यो ‘बाई’ शब्द एउटा विशाल क्षेप्यास्त्रजस्तो आफ्नो छातीमा बज्रिएझैं भयो । त्यो केटो आँशु पुछ्दै र बिदाइको हात हल्लाउँदै बाटो लागे । उनलाई आफ्नो प्रिय मान्छेको खुट्टा च्याप्प समातेर सधैंलाई राखुँझैं भैरह्यो । उनको कलिलो हातले गमलामा फुलेको लालुपातेको बोट यतिखेर खेलाउँदा–खेलाउँदै सबै भष्म माडी सकिएको रहेछ ।
अश्रुयुक्त नयनले पर–परसम्म नियाली रह्यो । त्यो केटो नि फर्किंदै हेर्दै अघि बढिरहे । अन्ततः कलंकझैं बनेर डिलमाथिको एउटा कटुसको पोथ्राले उनीहरुलाई छेलिदियो । वर्षौंदेखि त्यहाँ चुपचाप उभिएको त्यो कटुसको रुखलाई ढाली दिउँझैं भैरहेथ्यो । हातमा थमाइएको चिज के रहेछ ? भनेर यसो हेरिन् । त्यो त क्रस पारेर झुण्ड्याइएको जिसस क्राइष्टको लकेट रहेछ । जो आफैं टांगिएको झैं भैरह्यो ।
‘छुट्टिए पनि अंग्रेजी भाषा जानेको भए फेरि भेट्ने बाचा–कसम त गर्न सकिन्थ्यो’ भन्ने सोचिन् । फेरि सोचिन्– त्यत्रो केटाहरुले कति मीठो भाषामा बोलाउँदा–फकाउँदा, चिट्ठी–पत्र लेख्दा नि कहिल्यै त्यस्तो प्रेमको कुनै आभास नै भएन । भाषाविनाको प्रेम नै मीठो र चोखो हुँदोरहेछ । ‘प्रेम भाषा होइन, भावना रहेछ’ भन्ने बुझिन् ।
सबै भन्छन्– ‘अचेल बैंसफूल ओइलिएको छ ।’
यत्रो समयपछि अस्तिको राति साउनीले आफ्नी छोरीको एउटा गोपनीयता थाहा पाइन् ।
उनी बर्बराइरहेकी थिइन् सपनीमा– ‘अष्ट्रेलियाबाट तिमी मलाई लिन कहिले आउँछौ ?’
खगेन्द्र पन्धाक लिम्बू
तेह्रथुम, हालः थाइल्याण्ड
(स्रोत : Vishwanews.com)