लघुकथा : नयाँ जमानाकी अनुपमा

~किशोर नेपाल~Kishore Nepal

छोरी अनुपमाले सपनामा पनि सोचेकी थिइन, यस्तो होला भनेर। तर कहिलेकाहीँ सपनामा नसोचेको कुरा भइदिन्छ। बिहेको जग्गेमा बस्न मेहदीले हात सजाएर बसेकी छोरीको रहर र उत्सुकता एउटै घटनाले मारिदिएको थियो। ‘जन्ती नआउने भयो,’ छोरीले सुनी। उसका नौनाडी गले। चिटचिट पसिना आयो कन्चटमा। किन नआउने भयो जन्ती?

अनुपमाले बुझ्नै सकिन। पोहोर पनि यस्तै भएको थियो। बिहेको ठीक तीन दिनअघि केटाले उसँग बिहे गर्न इन्कार गर्दै भनेको थियो, ‘ऊजस्तो खेलीखाई गरिसकेकी केटीसँग बिहे गरेर आफ्नो जिन्नगी बर्बाद गर्नुछैन। योसँग बिहे गर्नैपर्छ भने ठेरी बजारको घर दहेजमा पाउनुपर्छ।’

खेलीखाई त उसले गरेकी नै थिई। त्यसमा के नै ठूलो कुरो थियो र? कन्या कलेजमा पढे पनि अनुपमाका धेरै केटा साथी थिए। ती सबैसँग उसको भावनात्मक र शारीरिक कुनै न कुनै प्रकारको लसपस थियो। दुईचार जनासँगको सम्बन्ध चुमा-चाटीबाट अघि बढेको थिएन भने दुईचार जनासँगको सम्बन्ध-यात्रा सफारी जिपमा चढेर दुईचार सय किलोमिटर परसम्म हुइँकिइसकेको थियो। अनुपमाका आफ्नै नैनी चचाले बनाउन लागेका अबधी सिनेमाको हिरोइन बन्ने आशामा ऊ सिनेमाका डाइरेक्टरसँग लोकेसन टुरमा लखनउ र बरेली गएकी थिई। फर्केर आएपछि दुईचार साता एक्टिङको ट्रेनिङमा पनि अल्भि्कई। नैनी चचाले फिल्म बनाए पनि ऊ हिरोइन बन्न सकिन। हिरोइनकी साथीको सानो रोलमा नै सन्तुष्ट भई। उसको अतिशय खेलकुद देखेर चिन्तित भएका बाबाले बिहेको कुरा उठाएपछि पहिले त ऊ रिसाए जस्तो गरेकी थिई। पछि बिस्तारै भौजीको कानमा भनिदिएकी थिई, ‘मलाई मन्जुर छ।’

त्यसपछि यो अबधी मूलको नेपाली केटो अवधेश फेला परेको थियो उसका लागि। अवधेशको चिनाटिप्पन लगन र राशि सबै जुरेका थिए अनुपमासँग। जुराउनेले भनेको थियो, ‘यिनको कोखबाट छोराको लस्कर लाग्नेछन्। यिनी सधँै दूधले नुहाउनेछिन्।’ जुराउनेको कुरा सुनेकी भौजीले ननद अनुपमालाई जस्ताको तस्तै सुनाइदिँदा मनमनै ऊ मख्ख परेकी थिई। अवधेशको अनुहार अलिकति घोडेपाराको भए पनि जिउ खाइलाग्दो थियो। छोरीका लागि उसका बाबाले दहेजको थुप्रो लगाइदिएका थिए। ज्वाइँसाहबका लागि मारुती अल्टो, छोरीका लागि प्लेजर स्कुटी, स्टेट बैंक अफ इन्डियामा छोरीज्वाइँका लागि २५ लाख भारुको एकमुष्ट शैक्षिक खर्च खाता, सम्धीका लागि मागअनुसारको बेग्लै सम्पत्ति, सम्धाइनका लागि तनिष्कको हिरा सेट- लल्लनजीले कुनै कसर बाँकी राखेका थिएनन्। गुनासोका लागि कसैलाई कुनै ठाउँ दिएका थिएनन्।
यति हुँदाहुँदै पनि जन्ती नआउने भएपछि अनुपमा थला परी। अब फेरि कोसँगको अफेयरको शिकार बन्यो मेरो बिहे? अनुपमालाई आफ्नो प्लेफुल जीवनको पछितो भयो। एक समय त ऊ गति छाडेरै प्रेममा लागेकी थिई। कुशीनगरको रतन अग्रवालले रतिरागात्मक भावनाको प्रचण्ड वेगमा उसलाई दिएको प्रेमोपहारको विसर्जन गर्न उसलाई निकै कठिन परेको थियो। तै भौजाइले उसलाई आफ्नी ममेरी बहनीको घर लगेर जोगाएकी थिइन्। बस्तीको एउटा डाक्टरले पाँच हजार रुपैयाँको तगडा फिस लिएर अनुपमाको पेटबाट तीन महिनाको गर्भ गिराइदिएको थियो।

यसपटकको घटना त्यस्तो थिएन। अनुपमाका हुनेवाला ससुरालाई नेपाल सरकारको पुलिसले रासन ठेक्का र व्यक्ति अपहरणको दोहोरो मुद्दामा पक्राउ गरेको थियो। प्रस्तावित ससुरा त्यतिखेर आफ्ना पाहुना पासासँग अबधी भाषामा गुफ्तगु गर्दै थिए। देश-परदेशका मानिससँग चिनापर्ची गर्दा ससुरा आफूलाई कहलिएको राजनीतिज्ञ बताउँथे भने उनका निकट छिमेकीहरू उनलाई तस्करको दलाल र कहलिएको फटाहाका रूपमा चिन्थे। छरछिमेकीले जसरी चिने पनि उनकै घरमा लाग्थ्यो मानिसको ओइरो। कुरा २५ करोडबाट सुरु गर्थे। बार्गेनिङ चल्दै जाँदा २५ लाखमा मान्थे। केरादेखि कतारसम्मका व्यापारमा हात हालेका थिए। आफ्नो द्वारमा आश्रयका लागि आएका आशामुखीहरूलाई सुनाएर मोबाइलमा देशका मन्त्रीदेखि मन्त्रीका ढोकामा पालो बसेका सन्त्रीसम्म सबैलाई थर्काउँथे। दूरसञ्चारको नेटवर्कले उनको आवाज थर्काइएको व्यक्तिको कानमा कहिल्यै पर्न दिँदैनथ्यो। कति रमाइलो!

जन्ती नआउने दुःखद खबर सुनेपछि उता अनुपमाका बाबा लल्लन जग्गेमा डङ्ग्रङ्ङ पछारिए। यसरी पछारिएर उनले अलिकति आफ्नो अभिनय क्षमता देखाएका थिए भने अलिकति तोडै परेको थियो। प्रस्तावित सम्धीको बारेमा उनलाई धेरै कुरा थाहा थियो। त्यसैले उनी घबराएका थिएनन्। लल्लनजी एकैछिनमा जागा भए। त्यसपछि मोबाइल उचालेर प्रस्तावित सम्धीलाई आश्वासन दिए, ‘बिलकुल नघबराउनुहोला। ममाथि एमएलएसँग कुरा गरेर ठ्याकठुक सबै कुरा मिलाइहाल्छु। अहिलेका लागि उतातिर तपार्इँ बिहे स्थगित गरिदिनोस्, यतातिर म स्थगित गरिदिन्छु। केटाले केटीलाई केटीले केटालाई मन मिलाएकै छन्…’

बाबाको आवाज कानमा परेपछि अनुपमाको मन चिसो भयो। उसले भौजीको कानमा बिस्तारै भनी, ‘उनीसँग अहिलेदेखि बसेर पछि बिहे गरे पनि के हुन्छ र? बसेपछि त बिहे पक्कै हुन्छ नि!’
भौजीले अनुपमाको अनुहारमा हेरिन्। उनको घुम्टोबाहिर नयाँ जमानाको उज्यालो छरिएको थियो।

(स्रोत : Nagariknews )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.