~अज्ञात~
काठमाडौं, २ जेठ
मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने,
प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने,
सूर्यबहादुरले लाउँनै पर्ने र
शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी।
सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी
दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को समलिगीँ र
धोतीको विपरीतार्थी हो टोपी।
देउरालीको उकालीमा भारी बोक्दा पसीना पुछ्ने रुमाल हो टोपी
तराईका फाँटमा हलो जोत्दा पसीना ओभाउने पंखा हो टोपी
भावनामा बहकिँदा हिमालभन्दा अग्लो देखिने टोपी
राष्ट्रियतामा फराकिंदा समुन्द्रभन्दा फराकिलो देखिने टोपी
दशैंमा बाआमाको आशीर्वाद थाप्ने टोपी
तिहारमा चेलीबेटीबाट पाउने माया हो टोपी
नेपालीको सान गौरब हो टोपी !
मैले नबुझेको टोपी काठमाडौंको सिंहदरबारमा भन्दा
दार्जिलिंगको चौरस्तामा किन दौरा सुरुवाल र
गुन्यूं चोलीसँग ठाँटिन थालेको छ यो टोपी
अस्तिसम्म बहुमतमा पर्ने किन आज संरक्षणमा पर्दैछ यो टोपी
बौद्धिकताको घेराभित्र किन छिर्न सकिरहेको छैन यो टोपी
सबै खुला भई सके किन भूमिगत हुन खोज्दै छ यो टोपी
मैले चाहेको टोपी यसपालीको संविधानमा
दौरा सुरुवाल र गुन्यू चोली सँगैँ राष्ट्रिय पोसाकको रूपमा
धारा नत्भए उपधारामा छिरीदिए हुन्थ्यो यो टोपी
धेरै कुरामा पछि छौं राष्ट्रियताको पहिचान बनी दिए हुन्थ्यो यो टोपी
सभा गोष्टी र भेलामा सके सबैले नत्र
प्रमुख अथितिले पहिरिदिए हुन्थ्यो यो टोपी
मेरो खुइलिएको कुरूप तालुको सधै पाले बनी दिए हुन्थ्यो यो टोपी।
(स्रोत : Dainikee.com)