यात्रा साहित्य : नयाँ मुलुक घुम्न जाँदा

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो पछिल्लो छिमलमा राजाबाट चाकरीको बकस पाएर भर्ती भएका टीके सहायकमन्त्री यज्ञबहादुर बुढाथोकीको घर रहेछ । र, शाही नाट्यशालाका नाट्यकर्मी ती अभागी जवानहरू मन्त्री नामधारी यी छायाँ-मालिकको घर नामक पवित्र सम्पत्तिको रक्षा गर्न खटिएका पहिचानविहीन राजसी सेवकहरू रहेछन् ।

मलाई अचम्म लाग्यो, बसमाथि आक्रमण गरिहाल्ने मुद्रा धारण गरेका फौजी भाइहरूको यो तुफानी ग्वाग्र्वार्तीको अर्थ के होला ? गम खाएर मैले आपmनै ढङ्गले अर्थ लगाएँ, यो पनि नागरिकहरूका कोमल संवेदनामा आतङ्कको उही विषाक्त झीरले रोपेर तिनलाई जड तुल्याउने एउटा सैन्यवादी सनातन चेष्टा नै हो । चेष्टा तुरियो र अब भने हाम्रो टोली सबै संशय, सबै भय र सबै व्यवधानहरूलाई पछाडि छाडेर बाइरोडको बाटोमा धूलो उडाउँदै नयाँ मुलुकको सीमान्त क्षेत्रमा लुसुक्क भित्रियो ।

घोराहीदेखि त्यस्तै छ किलोमिटर पर दुईखोले भन्ने खोँचमा पुगेर थकित बस विश्राम गर्न अडियो । बसका गुरुजी कृष्ण केसीले बसका आपmना चेलाचपेटाहरूलाई भात खान हाफछुट्टी दिए । अनि, बिहानीपखको न्यानो घामको जीवनदायी रापबाट अपार आनन्द लिँदै हाम्रो टोलीले ६० रुपियाँ छाकका दरले रैथाने कुखुराको मासु र धानको स्वादिष्ट भात पेटभरि डम्पmयायो ।

रुखोसुखो वा मीठोमसिनोले गोजेरो जब टन्न भरिन्छ, विनोदप्रेमी शिव गाउँलेको अनुहार त्यसैत्यसै उज्यालिएर आउँछ । उनको जिब्रो पनि ठाडो हुन्छ । अनि, उनी टोलीको दिल बहलाउने कथा-किस्साको पन्तुरो फुकाउन थाल्छन् । यहाँ पनि फुकाए । कथामा कुनै रामबहादुर क्षेत्रीको प्रसङ्ग आयो । यी क्षेत्री हेटौँडा जिल्लाको पालुङ निवासी रहेछन् । महावाणीको रचना गर्नु यिनको गहिरो चाखको विषय रहेछ । पालुङ भेगका घरका भित्ताहरूमा लेखिएको यिनको महावाणीले भन्दोरहेछ, “भगवान् दाहिना भए कसैका बाउको केही लाग्दैन ।”

अर्थहीन महावाणीहरूको पीडादायी भारले निकैअघिदेखि आक्रान्त भएको अभागी मुलुक हो हाम्रो नेपाल । तर, अर्थ र राजनीति एवम् समाज र संस्कृति सबै नै भगवान्-भरोसामा चल्दै आएको यो आदिम मुलुकमा यी क्षेत्री कान्छाको महावाणीले भने हामीलाई भरपूर मनोरञ्जन दियो । र, यो महावाणी हाम्रालागि विकट बाटो काट्ने एउटा निःशुल्क सहारा पनि बन्यो ।

बस अलिबेर तेर्सो-तेर्सो गएर उकालो-उकालो मोडियो । म आँखाअगाडि पाखामा हेर्छु, सडक भन्नुजस्तो सडक नै त्यहाँ छैन । ठाडै उँभोतिर उठेको सडकको चौडाइ मुखियाको लगौँटीभन्दा सेख्खै मात्र ठूलो छ । सडकभरि कतै सहस्र खाल्डाहरू छन् र कतै ढुङ्गाहरूको ढाँड छ । जब मोड आउँछ, अत्यास मान्दै होस गुम भएको बसको इन्जिन डरले हठात् मूच्र्छा पर्छ । अनि, इन्जिनलाई स्टार्ट गर्न धुरिएर बसलाई पछिल्तिर बेस्मारी धकेल्नुपर्छ । बसको खलाँसी, १४-१५ वर्षको दूधेबालक भरतु घर्ती मगर, दुई-चार मिनेटको अन्तरालमा चलिरहेको बसबाट फुत्रुक्क तल र्झछ र कुद्दै गएर निहुरिएर पछाडिका चक्का हेर्छ । अनि, चक्कातिरको कुनै पुर्जा धसियो भनेर ऊ गुरुजीछेउ जोखिमयुक्त रिपोर्ट गर्छ । आपmनो पालो गुरुजी चाइने क्लचले गति छाड्दै गएको अनिष्ट सूचना हामी यात्रुगणलाई सम्प्रेषण गर्छन् ।

अत्यासले हेर्छु, मैझैँँ हाम्रो टोलीका छ भाइ यात्रुहरूका फुस्रा अनुहारमा अघि नै मृत्युको ताण्डवले रजगज राज गरिसकेको छ । तर, रैथाने भेगका यात्रुहरू भने निश्चिन्त छन् र निर्विकार छन् तिनका अनुहारहरू । लाग्यो, अपेक्षाकृत सुविधा र सुरक्षाबीच बाँचेका हामी काठमाडौँवासीहरूको जीवन र मृत्युको बीचमा एउटा लछुमनरेखा हुँदो रहेछ । तर, अभाव र सङ्कटले गाँजेको विशाल ग्रामीण भेगको विकट भूगोलमा भने त्यो रेखा छैन । त्यहाँ त जीवन र मृत्युमाझ पmयुजन अर्थात् अन्तरघुलन भएको छ । त्यताका मानिसहरू मृत्युसँग मौन सम्झौता गरेर मृत्युसँग जुधिरहेका छन् । हामी यताकाहरू मृत्युको डरले जीवनको मैदानबाट आपmनै मनको अँध्यारो गुफातिर हर्दम भागिरहेका रहेछौँ ।

कबाडी बस उँधो खन्मरिउँ कि उँभो उक्लुँ गर्दै र डोलायमान हुँदै सुस्त गतिमा घसि्रँदो छ । आपतकालमा डुब्दो मानिसले परालको त्यान्द्रो समातेझैँँ गरी हामी रामबहादुर क्षेत्रीको दर्शनको झिनो तन्तु समात्छौँ, भगवान् दाहिना भए कसैका बाउको केही लाग्दैन ! बसमा क्षेत्री बन्धुको बिछट्टको दर्शनमा घोलिएर खहरेदार हाँसोको रसमय पर्रा छुट्छ ।

मेराअगाडि दायाँतिरको सिटमा भास्वर ओझा गजधम्म बसेका छन् । बस डिलमुनि हाम्फाल्न खोज्दा टोलीका अरू मित्रहरू आतेसको भावमा जुरुक्क उठ्छन् र कतै उपि|mएर ज्यान जोगाउने दाउमा सतर्क मुद्रा धारण गर्छन् । तर, भास्वरबाबु अचल छन्, ती मौन छन् । यी युवा सके सोच्दा हुन्, मेरो जीउ सङ्कटकालमा झ्यालबाट छिर्ने ढाँचाको छैन । हतारमा यसलाई बोकेर कतै सुरक्षित थलोतिर पुर्‍याउन पनि गाह्रोगाह्रै छ । त्यसैले उनी रामबहादुरजीको दर्शनको डोरी समातेर शून्यमा तुन्द्रुङ्ग झुन्डिन विवश छन् ।

“भास्वरजी, बेचैन मन ठीकै त छ ?”

“ठीक छ, दाइ । रामबहादुर क्षेत्रीको जय होस् !”

हामी जहाँ छौँ, यो सीमान्त क्षेत्रको केवल नामधारी सडक हो । थाहा छ, सीमान्त क्षेत्र जहाँ पनि र जहिले पनि दुवै पक्षबाट यसैगरी उपेक्षित हुन्छ । नजिकै घोराहीमा आपmनै काँडेतारको साँघुरो बारभित्र कैद भएको निरीह राज्य यो बाटो मरम्मत गर्न उदारतासाथ हात बढाउँदैन । हात बढाए विद्रोहीहरूलाई सातुसामल, लत्ताकपडा, निर्माण सामग्री र दबाइमूलो लैजान सजिलो पर्ला भनी उसलाई डर होला । अनि, आफूले हात बढाए आफूमाथि आगो खन्याउन हेलिकप्टरमा सवार भई काठमाडौँवासी राज्य आइलाग्ला कि भनी विद्रोहीहरूलाई डर होला । र नै, घटघटमा र कणकणमा मृत्यु ओछ्याइएको यो पहाडी सडक दोहोरो उपेक्षाको उपध्रो चेपुवामा परी निसासिएको छ ।

आधासरो मरिसकेका फुस्रा ओठ लिएर बल्लतल्ल होलेरी डाँडामा पुगियो । र, रामबहादुरजीको दर्शनमा सामयिक सुधार गर्दै भनियो, बस सहिसलामत, गुरुजी दक्ष र एकाग्र अनि खलाँसी भाइ चलाख भए कसैका बाउको केही लाग्दैन ।

मृत्युको अँध्यारो उपत्यका छिचोलेर होलेरी डाँडामा टेक्न पुग्दा मलाई जीवनको उज्यालो र निस्पिmक्री फाँटमा निस्केको दिव्य अनुभूति भयो । मनोहर पर्वतीय नगरी बनाउन मिल्ने चिटिक्क परेको भूवनोट, आँखै टिप्ने तीखो न तीखो चमक भएका पैयुँका बोटहरू, कोमल टुसा हालेर छिटछिटो बढिरहेको मनै रमाउने गहुँबाली र मलिन सुस्केरासाथ आफैँसँग केही साउती गरिरहेको सल्लेरीको हल्का हरियाली, होलेरी वरपरको मनमुग्धकारी प्रकृति देख्दा मलाई लाग्यो, प्रकृति सुन्दर छ र मृत्युका व्यापारीहरूसँग जुधेर जीवन जिउनुको अर्थ उदात्त छ ।

हतार-हतार चियाको चुस्की लिइरहँदा मलाई होलेरीको रहस्य र रोमाञ्चकता भरिएको निकट अतीतको झल्याँस्स याद आयो । त्यसबेला विद्रोहीहरूले होलेरी चौकीबाट लगभग पाँच दर्जन प्रहरीहरूलाई केही परको नुवागाउँ पुर्‍याएका थिए । तिनको उद्धार गर्न भनेर यताबाट शाही सेना खटियो । र, नुवागाउँमा १० वर्षजतिको संसदीय राजनीतिको रहस्यमय नाटकको अन्तिम दृश्यको कुरूप र विद्रूप पर्दा उठ्यो । वायुपङ्खी सूचनाका ढाडमा चढेर राजधानीमा तिलस्मी घटनाका शृङ्खलाहरू प्रवाहित भइरहे । नुवागाउँमा विद्रोहीहरूले माइकबाट बन्धुत्वको भाकामा शाही सेनालाई गोली नदाग्न र फर्केर आपmनो बाटो लाग्न आह्वान गरे । सेनाले सोहीअनुसारको मुलायम भाकामा प्रत्युत्तर जनायो । तिनका माझ शान्त र सौम्य प्रकृतिको पत्राचार भयो । र, के के न उपद्रो, विध्वंस र उत्पात होला भनी भयावह मुद्रामा लख काटिएको घटना चुरोटको पातलो धूवाँझैँँ फास्फुस्स हावामा विलीन भयो ।

घटनाको नाटकीय परिणतिले ठूलो स्वरमा कष्टकर र कटु सन्देश सञ्चार गर्‍यो, राजा संवैधानिक भए र शाही सेना नेपाली सेनामा ढलान भयो भनी उत्ताउलिएर गरिएको अथक प्रचार सरासर मिथ्या हो । शाही सेनामाथिको परम्परागत लगाम सिंहदरबारका जनप्रतिनिधिलाई सुम्पिन न राजा तयार छन्, न त दरबारको घरेलु सेवकको दासवत दर्जा त्याग्न शाही सेना नै तयार छ । सिंहदरबारका हुस्सु कर्ताहरूको भ्रमको रङ्गीन बेलुन कुहिरोले ढाकेको नुवागाउँको धूमिल आकाशमुनि प्याट्टै फुट्यो । आपmनो आदेशलाई जब शाही सेनाले ठाडै अवज्ञा गर्‍यो, वृद्ध प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भ्रमको गाढा निन्द्राबाट झस्केर हठात् ब्युँझिए । अनि पराजय, अपमान र पश्चातापको हदै दुःखी मुद्रामा उनले पदबाट राजीनामा दिए । तर, आँखामा सत्तालिप्साको फुलो परेका सिंहदरबारका राजनीतिक खेलाडीहरूले नुवागाउँको नाटकको अन्तर्यमा त्यतिनैखेर ‘माघ १९’ को सत्तापलटको भ्रूण भने देख्न सकेनन् । सिकारी बिरालाले आपmनो तीखा दाँतले घरिघरि क्याप्पक्याप्प टोकेको तिनलाई चेत भएन, बिरालाले मनोरञ्जन लिँदै खेलाउनलाई एकछिन छाडिदिँदा भने तिनलाई मुक्तिबोध भयो । र, बिरालाका चरणमा अनुनय र विनय, चाप्लुसी र जदौ गर्दागर्दै निर्मम समयले लतारेर तिनलाई ‘माघ १९’ को कहालीलाग्दो पहरोमाथि पुर्‍यायो ।

मेरो मन होलेरीको उही कथाको वृत्तमा घुमिरहेछ, होलेरी डाँडाबाट अशक्त बस कर्कश आवाजमा कन्दै फेरि बाटो लाग्यो । बाटो अब तेर्सोतेर्सो छ । मृत्युको भय पछाडि नै छुटिसक्यो । जिज्ञासु नजरले घरका भित्तामा हेर्छु, त्यहाँ विद्रोहीको धेरै वर्षको कठोर निषेध र उपेक्षापूर्ण नाकाबन्दीपछि एमाले र जनमोर्चाको मलिन उपस्थितिको आभास हुन्छ । म भित्ताका ती नाराहरू १२ बुँदे सहमतिका सुखद सन्तानहरू हुन् भन्छु । हिजैसम्म त हो, सात दल र माओवादी नदीका दुई किनाराजस्ता थिए । आज निरङ्कुशतन्त्रको जनपिराहा पहाड एक्लै पन्छाउन नसकेर आपसी हारगुहारको मुद्रामा होलेरी डाँडामा यिनको पुनर्मिलन भएको छ । जीवनमा दीर्घ प्रतीक्षापछिको मिलन सदैव सुखकर हुन्छ । नभन्दै यो पनि छ ।

जतिजति अगाडि गयो, विद्रोहीहरूले यात्रामा छाडिगएका आफ्ना पदचिन्हहरू नजिक-नजिक देखिँदै जान्छन् । होलेरीमा विद्रोहीको प्रहारमा परी धूलिसात् भएको प्रहरी अड्डाको भग्न खण्डहर आँखामा पर्‍यो । सोचेँ, त्यो खण्डहरभित्र मृत र जीवित प्रहरीहरूका सुस्केराहरूका कसैलाई कतै सुनाउन नपाएका करुण कथाहरूको कत्रो चाङ् लागेको होला !

दहवन हाम्रो अल्पविश्रामको अर्को थलो बन्यो, जहाँ विद्रोहीहरूको विशाल स्वागतद्वार गर्वोन्नत मुद्रामा खडा थियो । स्वागतद्वारको तुलमा ‘शाही फासीवाद र पुरानो शिक्षा प्रणालीविरुद्ध जुझारु आन्दोलन, जनवादी शिक्षा र गणतन्त्रको पक्षमा १६औँ रोल्पा जिल्ला सम्मेलन’ लेखिएको पढेँ । नारा केही समय पुरानो रहेछ । अचेल विद्रोहीहरूको त्यो बस्तीमा झर्रो गणतन्त्रको स्थान ‘लोकतान्त्रिक गणतन्त्र’ ले लिइसकेको छ ।

“राज्यको प्रभावक्षेत्र अब निखि्रएको बुझियो, कसो सुधीरजी ?”

“किन र दाइ ?”

“हेर्नुस् न, यी स्वागतद्वार र तुल यहाँ कति दिनदेखि सगौरव सुरक्षित छन् ।”

सुधीरले सकारसूचक भावमा मुन्टो हल्लाए, “त्यो त हो ।”

म देख्छु, सुवासको अनुहारमा पातलो बेचैनीजस्तो केही भाव उत्रिएको छ, त्यहाँ एक प्रकारको आतुरता छ । उनी हाम्रा टोली नेता त हुँदै हुन्, अझ त्यसमाथि उनी भेटौँला भनी बाचा गरेको ठाउँमा सम्पर्क-सूत्रलाई भेटेर हामीलाई भिसाको चाँजो मिलाइदिने जानिफकार अगुवा पनि हुन् । उनी चालकको पछाडि जान्छन् । र, कानमा केही साउती गर्छन् । चालक गुरुजी बुझकी काइदाले मुन्टो हल्लाउँछन् ।

जाँदाजाँदा तीन बजेतिर त्रिवेणी खोलीमा पुगियो । यात्राका खली सुवासको भनाइमा यो खोलीसम्मको सडक सिंहदरबारले बनाइदिएको रहेछ । होलेरी डाँडादेखि त्यहाँसम्म सडक जेनतेन कामचलाउ छ । विद्रोहीहरूले हल्का मरम्मत र डेन्टिङ-पेन्टिङ गरी सडकलाई त्यो स्वरूपमा राखेका रहेछन् । यो पनि सुवासकै रिपोर्टिङ् हो ।

म त्रिवेणी खोलावारि खोलाको नयाँ पुल हेरेर उभिएको छु । अहिले यी हरफहरू लेखिरहँदा मेरा कर्णपटमा एक जना कमरेडको सानो लेक्चरको प्रतिध्वनि गुन्जिरहेछ । ती आपmनै कुरामा आनन्दित हुँदै मलाई भनिरहेका छन्, “बुझ्नु भो, दाइ ? ‘जनयुद्ध’ मा ध्वंसको एक चक्र पूरा भयो । र, अब ध्वंसको खरानीमाथि निर्माणका मुना पलाउन थालेका छन् । एउटा मुनो यही पुल हो ।”

“हजुर !”

“इच्छा भए ऊ त्यहाँ माथि गएर हेर्नुस् । त्यहाँ हाम्रो नयाँ माछापोखरी छ । त्यो अर्को, अलि झरझराउँदो मुनो हो ।”

“त्यो पोखरीको प्रयोजन के हो ?”

“त्यो एउटा नमुना हो ।”

“केको नमुना ?”

“त्यो कल्पनाशीलताको नमुना हो । त्यो नवीन उद्यमको नमुना हो । उसो त त्यो पछि जनतामाझ जाग्दै जाने सहकारी भावनाको प्रेरक पनि हो ।”

कमरेड पुलकित मुद्रामा र उच्च स्वरमा धाराप्रवाह सुनाइरहेका छन् । म ध्यानले सुनिरहेको छु । ती भन्छन्, “सीमित परम्परागत इलमबाहेक मानिसहरूलाई केहीमा चाख छैन । बरु हात पसारेर खाऊँ, नभए बरु भोकै मरुँ तर म नयाँ-नौलो केही नगरुँ । यस्तो अल्छी र लम्पट भावना जताततै व्याप्त छ । यो सामन्तवादको प्रभाव हो । दिमाग नखियाउने, दसनङ्ग्री नचलाउने, प्रयोग-परीक्षण नगर्ने, जोखिम नउठाउने, मर्नुपरे बरु भोकै हिरिक्क मर्ने, यो झुरझुत्रो सामन्तवादबाट आएको रोग हो । यस्ता पोखरीहरूले यो रोगको उपचार गर्छन् ।”

“कसरी ?”

कमरेड खुलाउँछन्, “यो पोखरीले तिनलाई गरे हुने रहेछ भनेर सिकाउँछ । यसले आपmना आँगनछेउका साधन-स्रोतबाटै आपmनो भाग्यको ढोका खुल्ने अर्ती-शिक्षा पनि दिन्छ । अनि, पछिपछि यो सहकारिताको उपयोगी साधन बन्न पनि सक्छ । मिलीजुली काम गरौँ, बाँडीचुँडी खाऔँ !” आँखा उठाएर हेर्छु, व्याख्याकार कमरेड आफैँ दङ्ग छन् । र, म बुझ्छु, विद्रोहीहरूले यो माछापोखरीलाई आपmनो ठूलै पौरख ठानेका होलान् ।

लेक्चर तुरियो र मेरा आँखा मित्र मण्डलीतिर फर्किए । म के देख्छु, त्रिवेणीवारि नजानिँदो सन्सनीको वातावरण छ । चालक गुरुजी आपmनो आसनको झ्यालबाट मुन्टो बाहिर निकालेर पछाडिको पसलतिर हेरिरहेका छन् । सुवास कन्दै माथिको पसलतिर जाँदैछन् । यात्रुहरू, खलाँसी र रैथाने जनहरूमा विचित्रको कौतुकमय भाव तरङ्गित भएको छ । वातावरणको गन्ध सुँघेर मैले लख काटेँ, सके सम्पर्क-सूत्रसँग गाँसिने थलो यही होला । नभन्दै हो रहेछ ।

सुवासले बस चढ्दै आपmनो पछिपछि आउने नयाँ अनुहारसँग भने, “चिनारी गरिहाल्ने कि ?”

“हैन, पछि गरौँला,” नयाँ अनुहार तर्किए ।

विद्रोही जगत्का सम्पर्क-सूत्र मेरो सिटअगाडि बसेका छन् । उनी उच्चस्तरीय सादा पोसाकमा छन् । उनी सनक्क परेका सुकिला छन् । उनका पुष्ट गालामा मधुर आभा छ । आँखामा स्वस्थ कान्तिको केही कमी छैन । उनी मदेखि एक फिटको दूरीमा छन् । मेरा आँखा अहिले छेवैको उनको देहमा पछाडि टाँसिएका छन् । तर, हाम्रो चिनारी हुन भने बाँकी नै छ । शुभमुहूर्तको जस्तो यो केको पर्खाइ होला ? ताल देखेर म छक्क पर्छु । हामी विद्रोहीहरूको पकड भएको आकाशमुनि छौँ । त्यहाँ चिन्ने, सुन्ने र सुराकी गर्ने कोही छैन । अनि ?

मलाई आजको एमाले हुनुअघिको मालेको कार्यशैलीको याद आयो । उसबेला पनि कहिलेकाहीँ यसै गर्थे । माथिबाट जिम्मेवार कमरेड आउनु भा’छ भनेर बडो महत्त्वका साथ साउतीको भाकामा मलाई सुनाउँथे । अनि, लुखुरलुखुर हिँडाएर मलाई एक-दुई घण्टा पर कतै पुर्‍याउँथे । अनि, चिनारी गर्ने बेलामा आफूसँग बाटाभरि हिँडेर आएको कुनै एक जना चटके माथिको जिम्मेवार कमरेड हुन्थ्यो । अनि, इतिहासको अर्को कालखण्डमा अहिले ?

हामीलाई बास बस्न सडकको पल्लो टुङ्गो तीला गाउँमा पुग्नु थियो । तर, हाम्रो मधौरु बस ५ बजेतिर हलचलै गर्न नसक्ने गरी बीच बाटामै थला पर्‍यो । हामी ओल्र्यौं । सम्पर्क कमरेड हाम्रा अनुहारमा आँखा नपरून् भनेझैँँ गरी सडकछेउमा उभिएर एकटकले उँधोतिर हेर्नथाले । मलाई कसोकसो असहज र सकस अनुभव भयो । लाग्यो, यी सोच्दा हुन्, म भनेको जीवनको नयाँ क्षितिज उघार्ने विरलाकोटी वीर हुँ । जब म खुकुरीको धारमा टेकेर नयाँ इतिहासका डोब बनाउँदै थिए, यी विलासवीरहरू चैनले मासु-भात खाएर पुरानो सत्ताको राजधानी काठमाडौँमा ढ्याउढ्याउ डकार्दै थिए । तसर्थ, यिनलाई अलिबेर नकुराई म किन आपmनो अमूल्य चिनारी प्रदान गरूँ ?

मान्छे छाँटका रहेछन् । मनमनै कुरा खेलाएँ, के सरदर माओवादीको शैली यही नै हो ? थाहा छैन । के क्रान्तिकारी कहलिन यस्तो अस्वाभाविक र अशोभनीय अभिनय गर्नैपर्छ ? त्यो पनि थाहा छैन ।

हामीलाई भिसा दिने सम्पर्क कमरेडको चाल देखेर सुवास भाइ चकित, थकित र आजित भए । उनको खिन्न अनुहारमा लज्जाको भावना लहरायो । अनि, उनले अलि कडा स्वरमा भने, “कमरेड, अब त चिनारी गर्नैपर्‍यो । अति भो !”

सुन्दर मुखाकृति, तीखा आँखा, स्वस्थ शरीर र भव्य लबाइ भएका कमरेडले मिलाउनका लागि हामीलाई पालैपालो आपmनो हात दिए । हस्तमिलनका साथसाथै हामी सबैले आ-आपmना नाम खुलायौँ । तर, कमरेडको नाम भने अझै गोप्य छ !

भास्वरको पालो घ्याच्च हात मिलाएर ठोस स्वरमा ट्वाक्क सोधे, “अनि यहाँको शुभ नाम ?”

निधारमा सङ्कोचका रेखी उतारेर नयाँ नाम जुराएझैँँ गरी कमरेडले नाम कृपा गरे, “म विकास ।”

लामो र उच्चाटलाग्दो प्रतीक्षापछि नयाँ मुलुकका नयाँ मित्रको दुर्लभ नाम सुनेर हाम्रो लघु टोली हर्षले त्यसैत्यसै गद्गद् भयो ।

January 07, 2006

(स्रोत : Majheri.blogspot.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.