बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन ।
” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी ।
“ के ठानेकी छ्यौ निरु ! तिम्ले मलाई ! यती जाबो पनि बनाउन सक्तिन म भन्ठान्छ्यौ ? ! ” मिलनले अड्डी लियो तल झर्न मानेन ।
“ यस्तोमा त फुँइ नलगाउनोस्न भन्या ! हजुरलाई आनन्द आँउछ है यसरी तड्पाउन मलाई ! ” उ अब भने रुनै लागि । उस्को अनुहार निलो कालो रुन्चे देखेर मिलनलाई टिठ लाग्यो ।
“ लौ ! लौ ! तिम्रै जित भो ! ” भन्दै उ टेबलमाथि अड्याइएको कुर्ची बाट तल झर्यो ।
निर्मलाले टेबलमाथिबाट कुर्ची तल राख्दै भनी “यस्तोमा त मेकानिकलाई बोलाउनु पर्छ , हजुरले तालिम लिनु भा’ छ र ? ” उस्ले मनको डर पोखी ।
“ तिमी त सार्है कातर ! ” मिलनले निर्मलाको कपाल तान्दै भन्यो ।
भित्ते घडीले ” ट्बाङ् !” आबाज दियो । बिहानको ११ बज्यो ।
“ ए बाबु ! निरु ! खाना खाँदैनौ तिमेरु ! ”
तल भान्साबाट आमाको स्बर आयो ।
“ ओहो ! म त हजुरलाई खान बोलाउन आएकी थिए ! भुसुक्कै बिर्सेंछु ! ” उ तल भान्सातिरलागि , उ सँगै मिलन पनि आयो ।
“ सबैले खाए , मेरो त एक छाके हो , तल नानी का’ घ राँ ‘ (देवर देवरानी ) पुगेर आम्ला , तिमेरु खाओ र बज्यैलाई भान्सा उम्काइ द् याओ ! ” भन्दै आमा हिँडिन ।
खाना तातै थियो , निर्मलाले खाना पिर्के टेबुलमा राखिदीइन । सिमेन्ट भुँइमाथि बाक्लो गुन्द्री ओछ्याएको थियो । गुन्द्री अगाडि पिर्के टेबल थियो । निर्मलाले खानाको थालि पिर्के टेबलमा राखी दिई । मिलन पलेटी कसेर खानलाई बस्यो ।
” तिम्लाई खोइ त ? ”
“ हजुर लिँदै गर्नोस , ल्याइ हालेँ !” निर्मलाले पनि खाना पस्केर सँगै खान बसी । घरमा भान्से बज्यै थिईन तर खाने बेलामा निर्मला आँफै अघी सरेर दिन्थिन । मिलनलाई निर्मलाकै हातको खानुपर्थ्यो ।
“ मेथीको अचार बनाइनौ आज निरु ? ”
” ओहो ! कस्तो शुद्दी मेरो ! ” निर्मलाले जुठै हात निधारमा पुर्याइ । मिलनले निर्मलालाई हेर्दै मुसुमुसु हाँस्यो जिस्क्याउने भावले । उस्ले कुरा बुझी , झट्ट हात तल राखी अनि मेथिको लेतो अचार थालिको छेउमा राखी दिई र आफ्नो भागमा पनि राखी ।
मेथी र खुर्सानी सुख्खा भुटेर त्यसमा नुन मिसाएर पिँधेको धुलो पिठोमा पहाडीयाकागती निचोरेर बनाएको लेतो अचार खुब मन पर्थ्यो मिलनलाई ।
मेथिको अचारमा ट्बाक्क जिब्रो फड्कार्दै मिलनले भन्यो , ” आज तीनबजे हाम्रो मिटिङ्ग छ डाक्टरसँग , भुलेकी छैनौ होला नि निरु ! ”
“ त्यै सम्झिँदा सम्झिँदै त बनाएको अचार पनि दिन भुले नि हजुरलाई ! ”
“ यति धेरै चिन्ता पनि नलिउ निरु ! हुने हार दैब नटार ! ” उस्ले खाना सिध्यायो र बाहिर धारामा हात धुन निस्कियो ।
निर्मलाले बल गरी गरी खाना निली ।
“ निरु ! म साढे दुई बजेतिर आँउछु , तिमी तयार भई रहनु ! यसो फर्निचर पुग्नुपर्ला ! ” उ आफ्नो फर्निचर कारखाना गयो ।
२:३० तिर नै मिलन घर आईपुग्यो ।
उस्ले आमा – बहिनीहरु लाई हेर्यो देखेन ।
“ बज्यै ! आमा आई सक्नु भएन ? निरु खोइ ? ”
“ माथि छतमा सुइटर बुन्दै थिईन , मलिनो अनुहार छ दिनभरी नानीको ! ” बज्यैले भनिन ।
उु माथि गयो । निर्मला एकोहोरिएर सुइटर बुन्दै थिईन् ।
“ निरु ! ”
“हजुर ! ” उनी झस्किन ।
“ ३ बज्नै लाग्यो तिमी तयार भ ई छै नौ ? ! ”
“ ओहो ! म त भुसुक्कै बिर्सेंछु ! ”
उनी कोठामा पुगिन र छिनमै तयार भईन् जानलाई ।
“हे प्रभु ! यो रिपोर्टले ज्यान देओस ! ” निर्मलाले हात जोडिन् ।
मिलनले निर्मलाको हात समाउदै भन्यो ” हिम्मत राख निरु ! ”
~~~~~~~~
“ बुवा- आमा, दिदी , काका काकी सबैबाट दोस्रो विवाह गर्ने कुरा चलाई रा’नु भा’ छ , यसपाली पनि उस्तै रिपोर्ट आए हजुरले बंशको लागि पनि विवाह त गर्नैपर्छ ! ” निर्मलाले आँखा भरी आँशु लिएर भनिन् ।
“ निरु ! अनाथ आश्रमबाट बच्चा ल्याएर पाली ( पालन -पोषण गरी ) सन्तान बनाउन सक्छौ नि ! तिमीपनि बुवा-आमाले झैँ कुरा नगर है निरु ! ” भन्दै उस्ले निर्मलालाई पुन सम्झायो ।
उनिहरु दुबै आँगनमा आए । आमा-बहिनिहरु सबै आँगनमा आई सकेका थिए ।
आमा नाँङलोमा दाल केलाउदै थिईन , बहिनीहरु बुन्तुन गर्दै थिए ।
“ हामी रिपोर्ट लिन जाँदै छौँ , ” मिलनले बाईक स्टार्ट गर्दै भन्यो ।
“ त्यतिका ठाममा त देखाएकै हौ तिमरले ! गुरु जि ( ज्योतिष ) ले पनि यस्को ( निर्मलातिर इंगित गर्दै ) चि’नाँ सन्तान लेख्या छैन भन्दै थे ! नाती नातिनाको मुख नहेरी सास जाने भो मेरो !!! बुढी फत्फत्याउन थालिन् फेरि । निर्मला अँध्यारो भईन् ।
यस् पटकको रिपोर्टमा पनि निर्मलाकै तर्फबाट कम्जोरी देखियो । पाठेघर सम्बन्धि समस्या थियो । दिनभर मिलन र निर्मलाको जिउमा घाम लागेन । घरिघरि एकोहोरिरहन्थिन निर्मला । घरका परिवार – नातेदार सबैले सन्तानको लागि दोस्रो विवाह गर्न जोड दिईरहे ।
~~~~~~~
सधै झैँ दिन पिरमै बित्यो । अहिले निदाउने तरखरम थिए उनिहरु । निर्मलालाई औडाहा भईरह्यो – निन्द्रा लागेन । उठेर पर्दा खोली , झ्याल खोली । बाहिर जुनेली रात थियो साथमा बादल डम्म लागेकोले आकाश कहिले उज्यालो कहिले अध्यारो देखिन्थ्यो बतासका लहर संगै । निर्मला झ्यालमै टाँसिएर बाहिर हेर्दै थिई जून र बादलको लुकामारी । मिलनलाई पनि निन्द्रा लागेन । उ किताबमा ध्यान लगाउन खोजिरहेको थियो , सकेन . । बेडबाट उठ्यो र निर्मलाको शिरमा आफ्नो चिउँडो अड्याउदै बादलसंग लुकामारी खेलिरहेकी जूनमा भुल्न खोज्दै थियो एकतमास ।
चिसो बतास सरर उड्दै आयो । निर्मलाको कपाल मिलनको अनुहारभरि छरपस्टियो । भित्तामा झुन्डाइएको क्यालेन्डर फर्फराउदै उड्न थाल्यो । बतास धेरै नै चल्न थाले पछी उनीहरुले झ्याल बन्द गरे ।
दुबै बेडमा आए । मिलन बेडमा आड लगाएर बस्यो । मिलनको काखमाथि सिरानी अड्याउदै निर्मला बोलिन् , “जहाँ तहीँ देखायौ ! अब हामी सँग ***बिकल्प*** छैन ! सबैको मन उदास हुनुभन्दा हजुरले विवाह गर्नु भएको बेश ! ”
“तिमी कुन मुटु लिएर भन्दै छ्यौ निरु ! ” उस्ले निर्मलाको हात जोडले समाउँदै भन्यो ।
“ घर – परिवारको खुशीको लागि यो सानु मुटु के ठुलो ! ” उस्ले आफ्नो हातमाथिको मिलनको हातलाई सुम्सुम्याउदै भनी ।
“तिम्रो मुटु सानो छैन निरु ! त्यहाँ म पनि छु , तिमी दुख्दा म पनि दुख्छु ! कम्तिमा मेरै लागि त यसो नभन ! ”
“ म के गरुँ ! प्रभु ! ” निर्मलाले मिलनबाट सिरानी हटाएर बेडमा राख्दै पल्टिएर भनिन ।
मिलन पनि पल्टियो सिरानीमा र भन्यो , ” आफूलाई सम्हाल निरु ! जहाज डुबेको छैन ! हाम्रो त सन्तान न नभएको हो ! हामी सँग बिकल्प छन त्यस्को लागि । अनाथ आश्रम मार्फत हामी हाम्रो बिकल्प पुरा गर्न सक्छौ । ”
“ परिवारमा हजुर र म मात्रै छै नौ ! आमा – बुवा – सबै हुनु हुन्छ , सबैको मनले मान्नु पर्यो नि ! ”
“ जिन्दगी जिउने हामीले हो निरु ! के थाहा ! अर्को विवाह गर्दा भोलिका दिन हामी सबैले घरको शान्ती गुमाउछौ कि ! यो किन सोच्दिनौ तिमी ! ”
एकछिन् निर्मला केही बोलिन ।
फेरी मिलन आँफै बोल्यो , “दोस्रो विवाहले तिम्रो खुशी छिनिने छ , तिमी पिरको आहाल मा डुब्ने छ्यौ निरु ! ”
“ संसार बिश्बासमा अडेको छ ! हजुरको मायामा मलाई बिश्बास छ , मैले रुनु पर्दैन ! ”
” तिमीले सुनेकी छैनौ आमाहरुको कथा-ब्यथा ! आमा त पढे लेखेको हुनु भएन र त्यही ईतिहास तिमीमा दोहोर्याउन खोज्दै हुनुहुन्छ ! तिमी त पढे लेखेकी छ्यौ ! जानी जानी आफ्नो खुशीमा आगो लगाउन खोज्दै छ्यौ ! यती कम्जोर नबन यती छिट्तै निरु ! ”
“हजुरको मर्जी ! म त जताबाट पनि पिल्सिरहने नै हो ! ” अहिले चाँही उस्ले मनको दुखेसो यसरी पोखी ।
“तिमीले मेरो साथ दिनु पर्छ निरु ! म यो समस्याको समाधान गर्छु छिट्टै नै ” ।
यस्तै छलफल गर्दै दुबैले नमिठो रात बिताए ।
~~~~~~
बिहानीको उज्यालो सँगै परिवारका सबै सदस्य चिया पिँउदै थिए । मिलन दुधको चिया पिउँदैनथ्यो । उस्लाई अदुवा मिसाएको कालो चिया दिईन् निर्मलाले ।
“हाम्ले कुरा चलाई सक्या छौँ ! ति मेरले हुन्छ मात्रै भन्देओ , मन्दिराँ टिका टालो गरे पुग्छ भन्या छन उनर का तर्फा’ टि । ” मिलनतिर हेर्दै बोलिन् आमा ।
“ चाइने जो ! मर्दका २-४ जैरी स्बास्नी हुनु कुन ठुलो कुरो हो ! चाइने जो ! मेरै हेर अब ! यल्लाई ( आमातिर देखाउदै ) ल्याएकै हुँ मैले ! चाइने जो ! सबैलाई थाम थाम थुम थुम पारेर राख्न सकेकै हो ! त तँ तँ
जोइ टि—- !”
“ बुवा ” !!”
“ मिलनले वाक्य पुरा हुन दिएन । उ जुरुक्क उठ्यो र भन्यो ” हामी अनाथालयमा गएर बच्चा ल्याउने निर्णयमा पुगिसक्या छौँ ! ”
“के ! रे ! अनाथलयबाट ? !!! के भन्च यो ! ”आमाले मुख खुल्ला राखिन आँखा झिमिक्कै नगरि ।
चियाको गिलास नसिध्याउदै मिलन जुरुक्क उठ्यो र भन्यो ” म बाट दोस्रो विवाह हुँदैन ! जबर्जस्ती भो भने म घर छोडेर हिँडिदिन्छु ! ”
घरमा दिन दिनै गन्थन-खल्बल भइरह्यो । आमा-बुवा- घरका सदस्य सबै अब निर्मलासंग मुख फुलाउन थालिसकेका थिए । घोच्पेच पनि शुरु हुन थाल्यो । निर्मलालाई उठि सुख न बसी सुख थियो ।
यता मिलन अनाथलायमा कागजात तयार गर्दै थियो ।
~~~~
एक दिन उस्ले आमा र निर्मलालाई अनाथालय लिएर गयो ।
भर्खर दुई हप्तापनि नपुगेको बालिका च्याहा! च्याहा ! गर्दै थिई । त्यहाँ अन्य स-साना बच्चा बच्ची पनि थिए । भर्खरै जन्मिएका देखी लिएर हुर्कदै गरेका नानीहरु ।
च्याहा! च्याहा! रुँदै गरेकी नानीलाई निर्मलाले उठाएर काखमा बोकिन् । बालिकाले मुख आ-आ गरिन , सायद दुध खोजेकी थिइन । आश्रमकि धाइले बोत्तलमा दुध ल्याएर दिईन् । निर्मलाले दुध खुबाउन थालिन् । एकछिनमा आमाले नानीलाई हातमा लिएर खेलाउन थालिन् । बालिकाको मुस्कानसंगै आमा र निर्मलाको आँखा आँशुले भरियो । त्यहि मौकामा मिलनले भन्यो ” यिनको नाम यहाँ तुलसी राखिएको छ । म यहाँ ५-६ दिन देखी आई रहेको छु । यिनलाई नै मैले हाम्रो पहिलो सन्तानको रुपमा घर लैजाँदै छु । भोलीसम्ममा लैजान सकिन्छ । तपाईंहरुको हस्ताक्षरका लागि यहाँ ल्याएको थिएँ मैले ! ”
“अहिले नै लैजान मिल्दैन ! ” लाडिएको स्वरमा आत्मिक अनुरोध गरिन् निर्मलाले ।
आमाले पनि आशलाग्दो नजरले मिलनलाई हेरिन ।
मिलनको अनुहार उज्यालो भयो । मुसुक्क हाँस्दै बोल्यो, ” भोली सम्म धैर्य गर्नैपर्छ ” ।
~~~~~~~~~~~~~~~~~~~~~
“च्याहा! च्याहा ! च्याहा ! ”
” निरु ! ए निरु ! ”
” हजुर ! ”
” तेल तातेन ? ”
” ल्याएँ हजुर ! ”
निर्मलाले तेल तताएर ल्याईन् ।
” ते- ते बाबा ! ते – ते – ! ते – ते ते – ते ”
उमंगका साथ् तेल लगाउन व्यस्त भईन् आमा ।
छिमेकीहरु आँगनमा जम्मा भईरहेका थिए ।
एकै छिनमा निर्मलाले दुध पनि ल्याइन बोत्तलमा । आमाले ते-ते सिध्यायपछी निर्मलालाई दिईन तुल्सा ।
” तत – तत – तत ! ” गर्दै निर्मलाले दुध खुवाईन ।
बाताबरण आनन्दित भएको थियो सानी बालिका तुलसीको आगमनले ।
छिमेकी गुरुङ्नी बजुले मिलन तर्फ हेर्दै भनिन , ” यास्को पेटमा ता धेउता छ पो ! सापुई को पेटमा धेउता बासोस् यास्को जस्ताइ ! कान्छी पानि ले न ! निरुले लेई दुका पानि दे ना , तुलाई धेउताले हेर्चा ! ”
( यसको पेटमा त देउता छ पो ! सबैको पेटमा देउता बसोस यसको जस्तै ! कान्छी पनि ल्याएन ! निर्मलालाई दुख पनि दिएन , तलाई देउताले हेर्छ )
सफा मनकी गुरुङ्गि बजूसगै सबै गाउलेले बधाई दिए मिलन र निर्मलालाई .
February 1, 2014
(स्रोत : Lunasansar)