कथा : सेतो सर्ट

~महेश्वर चापागाईं~

म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन ।

के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै सकी तैंले यति धेरै पढेर नि केहि गरिनस भने त हाम्रो दु:खको दिन जाला जस्तो छैन । बाबाले भन्नुभयो ।

बाबा म तपाईहरूले गरेजस्तै खेति किसानी गर्छु, तपाईहरुले जम्मा दुई वटा गाई पाल्नु भएको छ, म बीसवटा पाल्छु र त्यसलाई बढाएर सयवटासम्म पुर्‍याउँछु, तपाईंले ३/४ रोपनी जग्गामा खेति किसानी गर्नु भएको छ म ३० /४० रोपनी जग्गामा गर्छु र त्यसलाई ३००-४०० रोपनी जग्गामा फैलाउछु अनि नयाँ नयाँ खेति गर्छु। टनेलमा टमाटर उमार्छु ,कान्लामा कुरिलो रोप्छु,प्लाष्टिक हाउसमा कट फ्लाबर उमार्छु अनि दश बीस जनालाई रोजगारी दिन्छु । म खान्न प्राइभेट जागिर अनि सरकारी जागिर, जागिरको पैसाले घर धान्न नि पुग्दैन।

के सुन्नु पर्‍यो यो कानले ? आमाले कान थुन्दै भन्नुभयो होइन राजेशको बुबा के भन्छ यो राजेश, यही गाई पाल्न, खेत खन्न नै थियो भने तलाई किन एमएसम्म पढाएको ? यही भकारो फाल्न, गोबर सोर्न, घाँस काट्न, गाई चराउन पठाएको भए भई हाल्थो, हामीलाई पनि सुबिस्ता हुन्थ्यो, मेरो ढाड पनि भाँचिने थिएन । हेर बाबु तैंले त सेतो सर्ट र कालो पाइन्ट लगाएर सुकसुकाउँदो, सफा र चिटिक्क भएर घुम्ने कुर्सीमाथि बसेर गर्ने काम पो गर्नुपर्छ । सेतो सर्ट पाइन्ट लगाउने काम छोडेर त फेरि त्यही थाङ्गने हुने, धुस्रे फुस्रे हुने काम गर्ने हो ?

आमा नेपालका असी प्रतिशत मान्छेहरु किसान छन यहाँ शिक्षित मान्छेहरु खेती किसानी गर्दैनन, यहि भएर सोचेजस्तो उत्पादकत्व बृद्धि हुनसकेको छैन ,हाम्रो देशको हावापानी राम्रो हुँदा हुँदै पनि हामीलाई राम्रो उत्पादन गर्न सकेको छैन । मैले तपाईहरुले जस्तै पुरातन खेती गर्न खोजेको हैन आधुनिक ,नबिनतम खेती गरेर एउटा उदाहरण बन्न खोजेको हुँ ।

तँ जेसुकै भन ,यहाँ अझै आधुनिक खेति गर्ने वेला आएको छैन, साठी बर्ष यहि माटोमा सिगौरी खेलेको मैले जानेको छैन र ?’ भुँईमा निहुरिएर अलिक माटो हातमा लिएर बाबाले भन्नुभयो ‘यस्मा कति मल, माटो, बालुवा र पानी छ भन्न सक्छस त ? संगैको रायोको साग उखेलेर बाबाले थप्नुभयो ‘यी हेर त यस्को जरा ,पात सबै संग्लो छन तर किन यो फस्टाउन सकेन अलिक अगाडि बढेर गाईको आङबाट किर्ना झिकेर यसलाई मार्न के दल्नुपर्छ थाह छ तलाई ? यो सब त काम गर्दै गएपछि जानी हालिन्छ नी ? तपाईले नै जन्मदै यो काम गर्न जान्नु भएको हो र ?

हेर, राजेश मलाई मन थिएन होला र, दुईको ठाउमा चारवटा गाई पाल्न ? तर दुईको ठाउँमा चारवटा गाई पाल्ने बित्तिकै अर्को गोठ चाहिन्छ, अर्को मान्छे चाहिन्छ, चारवटा गाईको दूध कहाँ लगेर बेच्ने ? सधैं आफैं खाएर मात्र गाईलाई ख्वाएको दाना, ढुटोको पैसा के ले तिर्ने ? मलाई मन थिएन होला र ३० रोपनी जग्गामा खेती गर्ने ? पोहोर दुई रोपनी जग्गामा लगाएको टमाटर सबै डढुवा लागेर एउटा टमाटर पनि सद्दे भएन, यसपालीको गहुँ असिनाले चुटेर खेतमै झारिदियो त्यो बिऊ, ज्याला, मेहेनत सबै ऋण लागेको छ तैले जागिर खाएर तिर्नुपर्छ ।

तपाईले कहिले पानि आधुनिक तरिकाले सोच्नु भएन, प्रबिधिको सहि सदुपयोग गर्नु भएन, बजारको माग र आपूर्ति बुझ्नु भएन, बजारको अनुसन्धान र बिश्लेषण गर्नु भएन त्यसकारण तपाईले भनेजस्तो प्रतिफल पाउनु भएन । मैंले पढेको छु किताबबाट, बिज्ञबाट, नेटबाट सबै डाटाहरु संकलन गरेर के के गर्दा राम्रो हुन्छ र अधिकतम नाफा कमाउन सकिन्छ पत्‍ता लगाउन सक्छु अनि अधिकतम प्रतिफल प्राप्त गर्नुसक्छु म खेति किसानी गरेरै नै गाडी चढ्न सक्छु ।

होला तैंले धेरै किताबहरु फटाएको होला तर किताब फटाउनु भन्दा भोटो फटाउन पनि सजिलो छैन, तैंले जसरी २२ बर्ष लगाएर डिग्री लिएको छस हामीले पनि संगालेका छौं । एउटा मामुली ट्रयाक्टरको एकलाख बीस हजार रुपैयाँ पर्छ तैले जिन्दगीभर खेत जोत्दा पनि त्यति पैसा उठदैन फेरि कहाँबाट ल्याउछस एकलाख बीसहजार अनि तिर्छस त्यसको ब्याज, बजारको कुरा तलाई भन्दा बढी मलाई थाहा होला बीस माना दूध बेच्न तीन घण्टा हिँडेर हातमा झुण्डाउँदै शहर जान्छु र चारतला माथि चढेर आधामाना दूध बेच्छु । कतिले त त्यहि आधामाना दूध एक महिना खाएर पैसा नतिरि कोठा सर्छन, सरकारी डेरीमा दूध बेच्दा लागत पनि उठ्दैन् । एउटा राम्रो गाई किन्न सत्तरी हजारदेखि एकलाखसम्म लाग्छ । जम्मा सात महिना दूध दिन्छ, त्यसमाथि कहिले नाम्ले, कहिले चुर्ना, कहिले भ्यागुते, कहिले आङ खस्ने, पोहोर बाछा पाउँदा क्याल्सियम नपुगेर गाई तीन महिना थला बस्यो बाँसको भाटा हालेर उठाउँदै घाउहरुमा मलम दले । एउटा गाई किनेको पन्ध्र दिनमा नै मर्‍यो ।

तपाई जे सुकै भन्नुहोस म पनि त किसानको छोरा नै त हुँ काममा बिघ्न बाधा कहाँ हुन्न यस्तो भइरहन्छ नी रोग लाग्ने, मर्ने ! एउटा मर्छ अर्काले उठाउँछ । काम गर्न अगाडि नै बिग्रने डर लियो भने त कुनै पनि काम गर्न सकिन्न । मैंले धेरै सोचबिचार गरेर यो निर्णय गरेको हुँ म जागिर खान्न र खेति किसानी नै गर्छु ।

हुन त बढेको र पढेको छोराले भनेको कुरा किन नमान्नु छ र ? धेरै कल्पनाहरु गरेका थियौं, मुसाको छोरा मुसा नै अलिक भारी बिसाउला भनको त झन भारी पो थप्यो त? न गरि खानु न मर्न दिनु देखिन्छ के गर्नु होला ? छोरा होस भात भान्छा बार्दिन अरू हामीबाट केही हुन्न ? आमाले दिक्दारी पाराले भन्नुभयो ।

तपाईंहरु हेरिरहनु न मैंले दशबर्षको लागि तीस रोपनी जग्गा भाडामा लिएर खोर्सानी खेती गर्ने बिचार गरिसके त्यसको लागि त्यही भाडा सम्झौताको आधारमा साना किसान सहकारीबाट दुई लाख ऋण पनि मिलाइसके खाली तपाईहरुको स्विकृती मात्र लिन खोजेको, तपाईहरुले लामो पाठ पढाइहाल्नु भयो, राजेशले अलिक खुशी हुँदै उच्च स्वरमा भन्यो । त्यहाँ बाँसको टहरा पनि हालिसके, म अब पर्सभरी पैसा लिएर मात्रै घर आउँछु दुई महिनाको कुरा मात्रै त हो ।

राजेशले घण्टाको बाहृसय लगाएर ट्रयाक्टरले बारी जोत्यो, पुरा बीस घण्टा लागेछ खेत जोत्न कान्लै कान्ला थियो, पानी नजम्ने भनेर छानेको । बाहृसय भनेको घटाएर बीसहजार दियो र एउटा नोटबुकमा टिप्यो । एकाउण्ट पढेको हुनाले शुरुदेखि नै हिसाब प्रष्ट राख्ने बिचारले एक सय पचासमा एउटा रजिष्टर किनेको थियो र बाहिर रजिष्टरमा राजेश कृषि फर्म भनेर लेख्दै आफैं मुस्कुरायो । घरेलु र कर कार्यालयमा आठवटा फोटो, दश-दशका दुई वटा टिकट र दश हजार जति खर्च गरेपछि फर्म दर्ता भयो । भाडा जान आउन गरेर दुई दिनमा हजार सकिएछ अहिलेसम्म जम्मा जम्मी ३१ हजार १ सय ७० खर्च भएछ मनमनै गम्यो । बेलुका पानी परेकाले पानी लगाउनु परेन बेर्ना राख्यो, माथिबाट परालले छोप्यो, दिनभरि कोदाली चलाउँदा चलाउँदा हातमा ठेला उठेछ, हात गोडा फतक्क गलेछन अलिकति आमाले दिएको गुन्द्रुक भुलुक्क उमाल्यो, मिठो मानेर भात खायो र भुसुक्क निदायो ।

बिहानी पख मिठो निन्द्रा लाग्दै थियो चराहरु कराए, चराहरु झगडा गरिरहेका थिए, अलि अस्वाभाविक आवाज थियो केहि अनिष्टको आशंकाले जुरूक्क उठ्यो र बाहिर निक्लियो । सुगाहरु माटो उधिन्दै थिए, हिजो राखेको बिउ त सबै माथि निकालीसकेका थिए, एउटा लठ्ठी खोजेर सुगा लखेट्यो र मुख धुन गयो । मन मनै गम्यो, अहो अलिक अल्छि गरेको भए त सखापै पार्ने रैछन बाबाले त भन्नुहुन्थो एक्कासी बाबाको याद आएछ एकहप्ता भैसकेछ घर नगएको पन्ध्र मिनेटको बाटो पनि ईगोले गर्दा छिचोलिएनछ ,आमाले ओछ्यानमै चिया ल्याइदिनुहुन्थो, दूध चियाको पनि न्यास्रो लागेछ ।

मुख धोएर फर्कदै थियो सुगाहरु आइपुगेछन ब्याडमा, अहो आज शौचालय बस्न पनि देलान जस्तो छैन यसरी कति दिन रुघ्नुपर्ने होला ? एउटा सहयोगी राखु भनेको खान दिएर दश हजार चाहिन्छ रे बाहिर गए दिउँसो मात्रै ६ सय आउँछ बिहान बेलुकाको कामले छाक टर्छ कसले गर्छ दशहजारमा ? महिनावारी काम सजिलो भए बिचार गरौला भन्दै थिए। अब क्यासेटको रिल कहाँ बाट खोज्नुहोला थोत्रा बुख्याचा बनाउन्जेल कसले पालो दिन्छ ।

बेर्ना त राम्रो भएछ, मलाई नी दुई चार बोट दिन्छस कि ? आमाले साच्चिकै माग्नुभाको हो कि जिस्काउनु भएको थियो, साहै न्यास्रो लागेको थियो । तलाई साह्रै मिठो लाग्छ भन्दै घिउ, रोटी, आलुबोडीको तरकारी खान दिनभयो । रूखोसुखो खाएको थियो मिठो मानेर औला चाटेर खायो । तँ तँ आउँदा नि आइनस, निष्ठुरी रैछस मै आउनु पर्‍यो आमाले गनथन गर्नुभयो । देख्नु भयो नि फुर्सदै भएन, कसैलाई छोड्न पाइएन ?

खै दुई बहिनी र तँलाई हुर्काएकै हो आमाले अलि फुर्केर हेप्दै भन्नुभयो ।

अँ बुझ्दै छु आमा कति मिहिनेत गर्नुभएको रहेछ ।

ल म गएँ, बुआले नजा भन्दै हुनुहुन्थ्यो, कसैलाई नि नभन्नु नि म आएको, आमा जानुभयो।

उसले आमा ओझेल परेर पिपलको रूखले नछेलुन्जेल हेरिरह्यो, अनि हात हेर्‍यो सेतो सर्ट टाई लगा भन्नुहन्थो ।

ल नौ हजार दिनु, तीन महिनापछि काम हेरेर बढाइदिनु भर्खर काम गर्दैछ दशहजार चै दिन सक्दैन नि माइला ।

खै हार्न सकिन ? तर भिसा लाग्यो भने त दुबई जान्छु  नि महिनाको २५-३० हजार हुन्छ रे ।

भिसा नै लाग्यो भने त जालास नि, अहिले पैसा जोगाड गरेको छैनस, यसले ब्याड बनाएको पनि मिलेको रहेनछ, पानी जम्यो भने त खोर्सानीको जरा सबै कुहिन्छ, अलि भिरालो बनाएर ब्याड बनाउनु नि माइला ।

बाबालाई नभन्नु भन्दै हुनुहुन्थ्यो आमाले सबै भन्नु भएछ, बाबाले नि मन थाम्नसक्नु भएनछ बारी मै आउनु भएछ आखिर आमा बाबा जस्तो संसारमा को होला ? छोरा कै मन पो निष्ठुरी रै छ । बाबा आमाले भनेको मानिन, जिद्दि गरे तर यसपालिको कमाइले बाबालाई जुत्ता किनिदन्छु।

तँ त दुब्लाइछस त बाबु, यी माइलादाई काममा सिपालु छन् अब यही बस्छन तलाई फुर्सद होला नि अब त ? तलब चाहि मसंग लिन नआउनु, यो उस्कै काम हो ? राजेश फिस्स हास्यो, हेर्नु न कुलो फेरि अडियो (कुलोको पानीको भर परेको  बाँध फुटेर कुलो बन्द भएछ, एउटा मेसिन, बत्ती र पाइपको लागि बाबासँग पैसा माग्ने हिम्मत आएन ।)

यो बेर्ना कहिले रोप्ने होला ?

साँझ साँझ तिर रोप्नु, दिउँसोको घाममा सबै बेर्ना ओइलाउँछन, दुई-तीन बजेपछि घामको शक्ति घट्छ रातभरीको चिसो पाए एकदिनमै बेर्ना सर्छ । बाबाले भन्नुभयो, यी ला खाजा खानु, मेहेनत गरेको छस मेरो दु:ख झन बुझ्ने भइस ।

आफूलाई पैसाको उपरचोट परेको थियो, कसरी थाहा पाउनु भएछ पुरा पन्ध्र हजार । के को खाना खाजा मोटर किन्न पुग्ने भयो । बाबाको कमाई खाएकै हो के को शेखी गर्नु ।

ला आमाले पठाएको । घिऊमा मकै भुटेर पठाउनु भएको रहेछ । मलाई साह्रै मन पर्ने खाजा ।

अहो यो केटाले त गरेरै देखायो बा, हामीलेसम्म यस्तो खुर्सानी बनाउन सकेको थिएनौ पुरा दुई लाखको बेच्छ कि क्या हो यसले, काकाले भन्नुभयो । अनि पल्सर मोटरसाइकल किनेर गर्लफ्रेण्ड घुमाउने होला नी, काकाले कहाँबाट जान्नुभएछ यस्तो कुरा नि ? राजेशले आफ्नो उमेर गम्यो र पछाडि चिपिक्क टासिएकी रश्मिलाई सम्झियो । अहिलेसम्म त राम्रै छ यति नि नभए के दु:ख गर्नु कम्ता मेहेनत गरेको छु, आठ किलो त घटिसकेछु यी लुगा हेर्नुस, हात हेर्नुस ।

तेरा उमेरका अरु मोजमस्तीमा छन, तँ त नमुना भैछस यस्तो पो छोरा जन्माउनु आफ्ना त पैसा मागेर हैरान, पुर्ख्यौली जग्गा बेच्नु रे, लाछीहरु काकी भुत्भुत्ताउदै अगाडि बढ्नु भयो ।

कृषि प्राबिधिक त तीन दिन भयो बिदामा बस्नु भयो, अझै हप्ता दिन आउनु हुन्न ?

अनि अर्को प्राबिधिक ?

ऊहाँ त सेमिनारमा जानु भाको छ, खुर्सानी उत्पादन कसरी बढाउने भन्ने बर्ल्ड बैकको प्रोजेक्टमा ।

को छ त अफिसमा ?

हामी दुईजना पियन, के काम थियो कुन्नी ?

यो खुर्सानीलाई के भाको रहेछ?

अहो यो त डढुवा रहेछ, टिकटिके पनि रैछ ?

घाम चर्कियो बेसरी, यस्को त एक दुई दिनमै निदान भएन भने त यो चाँडै पुरै खेतिमा फैलिन्छ, खानलाई रोप्नु भाको हो ?

होइन बीस रोपनीमा ब्यवसायिक खेति गरेको ?

लौ बाबु, चाँडै गर्नुस यहाँको भर नपर्नुस सहानुभुति गर्दे भन्यो ?

कृषि बिभाग रे ? चाहिँदा कोहि पनि हुन्नन्, ढोकामा लात्तिले हान्यो पियनहरु चुप लागे सायद बानी परिसकेको थियो ।

दाई अस्तिसम्म चालिस रुपैयाँ किलो थियो अहिले कसरी बीसमा झर्‍यो ? अब खुर्सानीको सिजन सुरु भयो, तराई र भारतबाट पनि खुर्सानी आएको छ, त्यसको त पन्ध्र रुपैयाँ नी पर्दैन तपाईको लोकल भनेर त्यति भनेको ?

अनि बजारमा त सय रुपैयाँ किलो छ त?

हामीले तीस रूपैयाँ किलो दिने हो, उनीहरुले ज्याला भाडा जोडेर कतिमा बेच्छन हामीलाई मतलब हुन्न ?

यतिमा त मेरो ज्याला नि आउन्न ?

खोई बजार भाउ नै यस्तै छ, हामीले बढिमा बेच्न मिल्दैन । खुर्सानीको खाँचो छैन तपाई बेच्ने भए बेच्नुस नबेचे तपाईंको माल हामीले के भन्नु छ र ?

किन खुर्सानी त त्यसै छ त ? बाबाले चिन्ता गर्दे भन्नुभयो

मलाई ब्यङ्ग गरे जस्तो लाग्यो तै नी मैले जवाफ फर्काउन सकिन ।

मैले दूध खाने घरमा, पसलमा भनि दिएको छु, तीस रूपैयाँ किलो दिन्छन रे ।

जम्माजम्मी दुई-तीन सय किलो होला गाडी भाडा मात्रै दुई हजार रे । कहाँको मेहेनत, कहाँको बिऊ ? राजेश भुत्तभुतायो ? म बोकेर लगिदिन्छु, किन दिनु दुई दुई हजार, कतिमार खेप्छस, फेरि फेरी अरू कुनै काम गर्ने जाँगर पनि नआउला, मन भाँचियो भने त रसाउदैन त ? आमाले भन्नुभयो

तपाईहरुले त भन्नुभएकै थियो नी मैले जिद्धी गरेर र यस्तो ठाँउमा नि केहि गर्छु भनेर हुन्छ ?

किन निराश भएको, कति चाहिँ बिग्रियो होला र दश बीस हजार त घाटा भयो ? किन चिन्ता गर्छस काकाको छोराले पल्सर धुजा धुजा पारेर दुई लाख सिध्याएछ, जाँड खाएर चलाउँदा पछाडिको मान्छे र ऊ हस्पिटलमा छन् । कति खर्च गराउने हुन ? तैंले त काम गरेको होस, फुर्माइस गरेको होइन यो पाली भएन, नयाँ छस ढंग पुगेन अर्को पालि त भै हाल्छ नी । सबैभन्दा ठुलो कुरा त अनुभव हो पैसा तिरेर नि अनुभव किन्न सकिन्न ।

स्याबास तैंले कर्मको बाटो रोजिस, हातमा ठेला उठाएर जुन अनुभब संगालिस अब तैले कहिले पनि दु:ख पाउन्नस ।

मैले गाबिसबाट तेरो बाली बिमा गराएको थिए तेरो लागतको हिसाब किताब गरेर बिमा कम्पनिले क्षतिपूर्ति दिन्छ । तँ अब बेमौसमी टमाटर खेति गर, म पनि सहायोग गरौला आम्दानी राम्रो हुन्छ । दशहजारको जागिर खाएर के हुन्छ बर्षको पाँच सात लाख त टमाटरबाट मज्जाले कमाईदो रहेछ, आमाले भन्नुभयो ।

टमाटर, खुर्सानी मिल्दोजुल्दो हुन्छ खुर्सानीको अनुभव टमाटरमा काम लाग्छ । राजेशले हातमा हेर्‍यो, बाबालाई हेर्‍यो, आमालाई हेर्‍यो र तीन महिना अगाडि किलामा राखेको सेतो सर्ट र कालो पाइन्टलाई हेर्‍यो । यत्रो अनुभब गरिसके अब टमाटर खेतिबाट त कमाएरै छोड्छु मनमनै अठोट गर्‍यो ।

Mar 19, 2015

(स्रोत : Unn.com.np )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.