तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस्
कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस्
गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका
बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।।
भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका
भुलौ सारा हाम्रा मन कुमन बन्ने अवधिका
दुबैले बोलेका विषय सब फिर्ता लिन जुटौँ
बसौँ चाँडै झट्टै अब समय आफै पनि लिऔँ ।।
अहो ! कस्तो मैत्री विगत दिनको याद गरियोस्
दुबै मिल्दा केके सरलपन हुन्थ्यो सब मिलोस्
न ताक्थे अर्कैले बरु थरथरी ती सब थिए
जुटेका बेलाको रमझम असाध्यै कति थिए ।।
फुटाए हामीमा मन पनि सफा राख्न नदिई
अलग्गै बिस्तारै मन कुँडिन सक्ने गफ दिई
पलायो साँच्चै नै रिस कलहको बीज मनमा
दुबै लड्दालड्दै सकल सुख भाग्यो विजनमा ।।
उकासे अर्कैले कतिपय कुरा व्यर्थसितले
लगाए चुक्ली नै मन सुमन फाट्ने किसिमले
मिलेको त्यो बेला जति पनि नयाँ कार्य बनियो
फुटेको देखेर अब त यसरी हुन्न सुनियो ।।
जितेनौँ हार्यौँ नै जब फरक बाटोतिर पुग्यौँ
निभेको आगोमा परपर बसी ताप्न कसियौँ
न तात्यो बेलैमा बरु हिमसरि मौन बनियौँ
यही चाला हेर्ने सकल जनको दृष्टि परियौँ ।।
उही मिल्ने साथी परपर भई इष्ट गतिका
बनेछौँ बिस्तारै रिपुसरि दुबै दुष्टमतिका
सबै हँासो गर्छन् अब त मनमा छैन विषय
भुली थालौँ वार्ता युगलबिच आफ्नै सुखमय ।।
(शिखरिणी)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )