कथा : भर्जिन पात्र

~निर्मल ज्ञवाली~Nirmal Gyawali

धेरै दिन भएको थियो नलेखेकेको ।

लेखौं लेखौं त लाग्छ, तर के गर्नु ? केहि कुरै फुर्ने होइन ।

अनि केहि दिन लेख्न छोडेपछि यस्तो लाग्छ, मैले लेख्नै विर्सिएँ । यो लेख्ने भन्ने काम कुन चराले गर्थ्यो, त्यो पनि बिर्सिएँ ।

हिजो जोश चढ्यो । जोश भन्दा बढी रिस चढ्यो, आफै माथि । नलेखेकोमा । यतिका दिन सम्म केहि पनि नकोरेकोमा ।

अझ जोश बाथरुम गएपछि पिकमा पुग्यो । यो जोश, रिस भन्ने कुरा पनि बाथरुममा छिटो मौलाउने रैछ । सावरको पानीको थोपा संगै सोचको वर्षा हुने थाल्यो । चट्यांङ्ग पर्दा बत्ति चम्के जस्तो । झिपिक्क आउने, अनि क्षण मै बिलाउने ।

दिमाग भरी कथाहरु आए । शिर्षकहरु आए । पात्रहरु आए ।

लाग्यो, धेरै कुरा आए । अब म धनी भएँ ।

तर, कुराहरु साउने भेल जसरी आए र त्यसरी नै बिलाए ।

केहि टिप्न पाइन । कपडा फेर्दासम्म सबै कुलेलाम ठोकिसकेका थिए । औंसीमा झुल्केको चोर जस्तो ।

बाथरुमबाट बाहिर निस्कँदा दिमाग शुन्य ।

दिमाग रित्तिए पनि मन मानेन । अनि निस्किएँ कथा खोज्न । मन बुझाउन ।

यत्रो ठुलो शहर, सिड्नी । लाग्यो, कति कथाहरु लुकेर बसेका होलान । आज एउटा त पक्कै समाउछु । गोरा अनुहारका बिचमा केहि त पक्कै भेटाउँछु ।

ट्रेन स्टेसन पुगेपछि घडी हेरें । अफिस जाने बेला भइसकेको रैछ । सोचें, कथा खोज्न शहर बरालिउँ कि अफिस जाउँ?

अलमलमा परें ।

“आज अफिस आउँदिन । म कथा खोज्न हिडें ।” भन्न पनि मिलेन । फेरी लाचार भएर अफिस हिडें । सोचें, आज पनि कथा नभेटिने भो ।

बिचमा पुगेपछि ट्रेनको खट्खट संगै एउटा सोचं आयो, आज अफिस मै गएर कथा खोज्छु । नजिकको तिर्थ हेला भने झैं, मेरै अफिसमा पनि कति कथा लुकेर बसेका होलान् । आज, सबलाई ओल्टाई पल्टाई गर्छु ।

***

अफिस छिर्दा बित्तिकै एउटी रिसेप्सनिस्ट देखिईन् । हुन त उनी सधै देखिन्थिन् । म छिर्ने बेला मुसुक्क हाँस्थिन् । तर मैले कहिले देखिन । देख्नु आवश्यक नै परेन । आज भने पहिलो नजर उसैमा अडियो ।

चाइनिज । सर्लक्क परेकी । पातली । साना-साना चिम्सा आँखा । कालो सिल्की कपाल । अर्ध फक्रेको जस्तो पातलो ओठ । सधै मुसुकराइरहने त्यो अनुहार ।

लाग्यो, यो अनुहार भित्र कति कथा लुकेका होलान् । चिन देखि यहाँ सम्म आइपुग्दा कति व्यथा थपिएका होलान् ।

हुन त यी चाइनिज अनुहार सिड्नीमा कुनै नयाँ होइनन् । जुन कुनामा गए पनि चिन्का चिन्की । तर आज यी रिसेप्सनिस्ट स्पेसल लाग्यो । लाग्यो, यिनमा ठुलै कथा लुकेको छ ।

“के छ हालखबर?” सधै सरासर आफ्नो कोठा तिर लाग्ने म, आज रिस्पेसन मै रोकिएर कुरा गर्न लागें ।

“सबै ठिक छ, तपाईंको ? “ उसले अलि अचम्म मानेर हेर्दै भनी । सायद कहिले कुरा नगर्ने म आज किन कुरा गर्न लाग्यो भनेर होला ? कतै लाइन हान्न त लागेको होइन ?

मलाई अब के सोधुँ के सोधुँ भो ? कता बाट के कुरा शुरु गरूँ भो ।

चाइनिजहरु भर्खरका देखिए पनि उमेर भने अनुमान गर्न सारै गाह्रो हुन्छ । पहिले एउटा डिजाइनर थिइ, भर्खर १५-१६ बर्षकी होली भनेर प्रसंगवस जिस्काएर सोधेको त ३८ बर्ष पो भनी । म त तिन छक । ३ ओटा त बच्चा नै रैछन् । चिनमा एउटा भन्दा बढी बच्चा पाउन नपाइने । त्यसैले बच्चाको रहर पुरा गर्न अष्ट्रेलियामा आएकी रे । त्यसैले सिड्नी शहरमा प्राय चाइनिजहरु ३-४ ओटा बच्चा प्राममा हालेर हिडेका देखिन्छन् ।

यसो सोचें, म्यारिड रैछ भने यो संग झन् धेरै कथा हुन सक्छ । “चाइनाबाट बच्चाको रहर पुरा गर्न अष्ट्रेलियाको यात्रा” कथाको प्लट पनि मनमनै तयार पारें ।

“आर यु म्यारिड?” मैले उत्साहित हुँदै सोधें ।

उ त रातै भई । यी चाइनिजहरु अलि लजालु र शंकालु हुन्छन् ।

त्यसै त नबोल्ने मान्छे, आज एक्कासी तँ विवाहित होस् ? भनेर सोधेको सिधैं लाइन हान्यो भन्ने पक्का भयो । नसोध्नु पर्ने कुरो शुरु मै सोधेछु जस्तो लाग्यो । एउटा कथा भेटियो जस्तो लागेको थियो । आफैले बिगारें ।

“सरी, सरी” मैले सहज बनाउन खोज्दै भने, “त्यत्तिकै सोधेको ।”

सरासर आफ्नो कोठा तिर लागें । बेकारमा सेक्सुअल ह्यारास्मेंटको केस हालिदीइ भने ।

बिहानै बिहानै झन् दिक्क लगाई चिन्कीले ।

***

“घर किन्ने भनेको । हिजो पेनरिथ तिर गएँ । मन परेन ।” संगै काम गर्ने म्याटले लन्च खाने बेला कुरा निकाल्यो ।

मलाई लाग्यो, यी गोरेहरुलाई घर, गाडी, इन्सुरेन्सका कुरा बाहेक केहि आउँदैन है ।

उ बोल्दै थियो । एक्कासी सोचं आयो, यो पनि त एउटा कथाको पात्र हुन सक्छ ।

अष्ट्रेलियन । गोरो । सर्लक्क परेको । अग्लो । लगभग साढे सात फिट । ४० बर्षको हाराहारीको ।

पर्फेक्ट क्यारेक्टर ।

लाग्यो, लौ कथा भेटियो ।

“अनि के भयो ?” मैले कुरा खोतल्ने हिसाबले भने ।

“दक्षिण पट्टि खोला रैछ । वास्टु अनुसार मिलेन ।” उसले निराश हुदैं भन्यो ।

म अचम्ममा परें । यो ‘वास्तु’ भन्ने हिन्दु ग्रन्थका कुरा यसले कहाँ बाट जान्यो । अहिले त साँच्चै लाग्यो, खतरा कथा भेटिने भो ।

“तैंले वास्तु कहाँ बाट सिकिस?” मैले कौतुहलता देखाउंदै सोधें ।

अनि मनमनै सोचें, कथाको शिर्षक “वास्तु र गोरे” । ढुक्क भएँ, एउटा कथा भेटियो ।

“म इन्डिया गएको थिएँ । केहि बर्ष अगाडि ।” उ भन्दै गयो, “वनारस आश्रममा एक महिना बसें, त्यहीं सिकें । मलाई कन्सेप्ट राम्रो लाग्यो ।”

“अनि” म उसलाई खोतल्दै थिएँ ।

“त्यहीँ वास्तु अनुसार घर मिलेन भनेको ।” उसले कुरा टुंग्यायो, “आज धेरै काम सकाउनु छ । म निस्कें है ।”

लौ, उ त हिड्यो । उ मात्र हिडेन, मेरो कथाको पात्र पनि लिएर गयो । पापी गोरे !

कथा अधुरै रहयो । अब जाबो उसको दुई लाइनमा के कथा बनाउनु ?

“एका देशमा एउटा गोरे थियो । उसलाई एक दिन घर किन्ने जोश चढेछ । मलाई कथा लेख्ने चढे जस्तै । घर हेर्न गएछ । दक्षिण पट्टि खोला रैछ । वास्तु अनुसार मिलेन । त्यसैले किनेन ।”

धत् यस्तो पनि कथा हुन्छ ? कुनै चार्म नै छैन । कुनै कन्फ्लिक्ट नै छैन ।

दिक्क लाग्यो, अनि म पनि निस्के ।

***

“यो विकन्डमा के छ तिम्रो प्लान?” लन्च खाएर अफिसमा गएर बस्नै आँटदा मेरो अगाडिको डेस्कमा बस्ने समान्थाले भनी ।

गोरेहरु काम पाउँदैनन् । विकन्ड आउनु एक हप्ता अघि देखि नै के छ त प्लान भन्दै हिड्छन् । विकन्ड बाहेक अरु केहि हुदैन कि क्या हो जीवनमा?

फर्केर यसो पुलुक्क हेरें । मुसुक्क हासें । सबै कुराको उत्तर नै किन दिनु पर्यो र !

झाल्ल्यास याद आयो । विकन्ड बाहेक अरु पनि त काम हुन्छ नि – कथा लेख्ने ।

सधै संगै काम गर्ने यो केटीलाइ त मैले मतलब नै गरेको रैन्छु । नजिकको तिर्थ हेला भनेको यहीं हो । एउटा पात्र त यहीं रैछ नि !

गोरी । ठिक्कको कद कि । न होची । न अग्ली । कालो कपाल । ओरिजिन, मेसोडोनिया । अहिले अष्ट्रेलियन नागरिक । जागिर मार्केटिंग ।

लाग्यो, पेर्फेक्ट क्यारेक्टर त यो पो हो ।

“म क्यानबेरा जाँदै छु घुम्न । तिमी ?” मैले हाँसेर कुरा शुरु गरें ।

“म त पार्टनरसंग ‘ब्लु माउन्टेन’ जाँदै छु ।” उसले मस्किंदै भनी ।

“अनि” मैले अरु कुरा खोतल्ने विचारले भनें ।

“जिन्दगी बोरिङ्ग छ ।” ओठ लेप्र्याउँदै उसले भनी, “पार्टनर संग झगडा परेको छ । त्यसैले उसले फकाउन लैजान लागेको ”

पर्फेक्ट कथा बन्ला जस्तो लाग्यो । प्रेम, रोमान्स, वियोग सबै मिश्रित । गोरेहरुको एउटा गजबको प्रेम कहानी ।

कथाको नाम पनि जुराएं – “गोरेको प्रेम र गोरेनीको जवानी”

उ हेर्दै उत्ताउली खाल्की थिई । यो नाम पर्फेक्ट हुन्छ जस्तो लाग्यो ।

“अनि” मैले उत्साहित हुँदै भने ।

“ह्या, छोडिदेउ । उसको के कुरा गर्नु?” उसले दिक्क मान्दै भनी, “आजको कति काम सकाउनु छ आफुलाई ।”

फेरि अर्को कथा जन्मन नपाउंदै तुहियो ।

भन न भन । म तेरो कथा लेख्छु, भन्नु पनि मिलेन ।

अनि यति दुई शब्दको के कथा बनाउनु?

शिर्षक राखेर मात्रै कथा हुने भए शिर्षक त पर्फेक्ट जुटाई सकेको थिएँ ।

दिक्क मानेर घर फर्कें ।

लाग्यो यो शहर मृत छ । यो शहरमा कुनै कथा बाँचेका छैनन् । यहाँ मात्र जीवित प्राणीका मृत आत्मा छन् । लेख्दिन अब कथा सथा ।

***

रातभरि उडुसले टोकेछन् । के गर्नु, उडुसलाई अष्ट्रेलिया आउन भिसा नचाहिने ।

मान्छेले घर फोहोर भने मात्रै उडुस आउँछ भन्थे । रगत खाने जातलाई फोहोर र सफाको के मतलब ? जहाँ रगत खान पाइन्छ, त्यहीं आउँदा रैछन् ।

कनाउदै सुतें । कनाउदै उठें । कनाउदै फेरी अफिस गएँ ।

अनि, अफिसमा पनि दिन भरि कनाउदै बसें । त्यो गोरेनीले हेर्दै थिई । वास्ता गरिन ।

एउटा कथामा त अटाउन सकिन, जिन्दगीमा कसरी अटाउली? त्यस्तोलाई के बाल दिनु?

दिनभरी ढाड उतै फर्काएर कनाएँ ।

कनाउँदै ट्रेन स्टेशन गएँ ।

कनाउदै त्यहीँ कोठा फर्कदैं थिएँ, जहाँ मलाई टोक्न उडुस पर्खेर बसिरहेका थिए । सम्झेर दिक्क लाग्यो ।

के गर्नु, कोठाको नाममा भएको त्यहीं एउटा हो । नगएर कहाँ जानु ?

दिक्क मान्दै घर आएँ । त्यसै त लेख्ने विषय नभएर रिसको पारो चढेको त्यही माथि उडुसले सर्कसको खेलाडी जस्तो बनाइदिए । कति बेला यता कनायो, कति बेला उता । टोक्न पनि सालेहरुले कनाउन नमिल्ने ठाउँ सम्म टोकेछन् । बाटोमा मान्छे हेरेर हाँस्दै थिए । यस्तै ताल हो भने, लेखक होइन चटके भने पक्कै बन्ने भएँ ।

सावर लिएँ । उडुसले टोकेको कम हुन्छ कि भनेर । के कम हुन्थ्यो । सालेहरुले भित्रै रगत सम्मै भ्रष्टाचार गरेका छन् । के गर्नु ? रगत धुन नमिल्ने ।

सावर लिँदा लिँदै दिमागका तार तन्किन थाले ।

नानाथरी कुरा खेल्छन् यो सावरमा पनि । रगत सफा नगरेपनि दिमागको जरा सम्मै पुग्छ कि क्या हो पानी?

एउटा कवि साथी थियो । भन्थ्यो, मलाइ त सावर लिंदा मात्रै कविता फुर्छ । म उसलाई “सावर कवि” भन्थें । तर के गर्नु, आफुलाई गतिलो कथा फुरेको होइन । फुरे पनि टिप्न सकेको होइन ।

सोचें, अब ल्यापटपलाई नै प्लास्टिकमा बेरेर नुहाउन पस्छु । कथा नसकिंदा सम्म नुहाई रहन्छु ।

धत्, सोंच पनि के के आउँछ यो नुहाउने बेला ?

म पनि एउटा विचित्र कै प्राणी हुँ कि क्या हो ?

एक्कासी अर्को सोंच आयो, म पनि त एउटा नलेखिएको भर्जिन कथा हुँ । आफै पनि त एउटा कथाको पात्र हुन सक्छु ।

छिटो छिटो सावर लिएँ । कपडा फेरें ।

अनि ऐनामा आफ्नै अनुहार हेरेर दंग परें । लाग्यो, एउटा विचित्रको कथा भेटियो । खोजे कै जस्तो पात्र भेटियो । भर्जिन पात्र ।

जोशिंदै कोठामा आएँ ।

अनि, कनाउँदै आफ्नै कथा लेख्न बसें ।

(स्रोत : Nirmal’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.